विपिनको शवपेटिकामा प्रधानमन्त्रीले ओढाइन् राष्ट्रिय झण्डा

हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव उनी कब्जामा परेको २ वर्ष १३ दिनपछि नेपाल आइपुगेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको सैनिक वाहिनी परिसरमा आयोजित 'शोक सभा'मा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेकी थिइन्।
फ्लाइ दुबईको विमानबाट अपरान्ह विपिनको शवको अवशेष नेपाल ल्याइएको अधिकारीहरूले बताएका हुन्।
विपिनप्रति श्रद्धाञ्जलि अर्पण गर्न विमानस्थलमा मन्त्रीहरू र उच्च पदस्थ पदाधिकारी पनि उपस्थित थिए।
उक्त समारोहमा सरकारका मन्त्रीहरू, उच्च अधिकारीहरू साथै नेपालस्थित इजरेली राजदूतको पनि उपस्थिति रहेको थियो।
विपिन जोशीको पार्थिव शरिरमा श्रद्धान्जली अपर्ण गर्दै प्रधानमन्त्री कार्कीले उनको आत्माको चिर शान्तिको कामना गरेको र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरेली सरकारको तत्वावधानमा मृतक जोशीको शव नेपाल ल्याइएको हो।
परराष्ट्र मन्त्रालयले दुई वर्षअघि बन्धक बनाइएका जोशीको रिहाइका लागि सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै प्रकारका प्रयास र पहल गरेको उल्लेख गरेको छ।

नेपाली सेनाको स्काईट्रकले शव धनगढी पुर्याउने
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, "अपराह्न ४ बजे हाम्रो स्काईट्रकमार्फत् शव धनगढी पठाउन लागेका छौँ। त्यसपछि स्थानीय युनिटले बाँकी व्यवस्थापन गर्ने छ।"
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बीबीसीसँग कुरा गर्दै मङ्गलवार विपिनको अन्तिम संस्कार गरिने बताए।
उनले भने, "नेपाली सेनाको स्काईट्रकबाट धनगढी विमानस्थलमा ल्याएर शववाहनमार्फत् शवलाई उनको घरमा पुर्याउँदै छौँ। भोलि परिवारले अन्तिम संस्कार गर्ने कार्यक्रम छ।

तस्बिर स्रोत, Reuters
उनले विपिनका परिवारका सदस्यहरू भीमदत्त नगरपालिकामा पर्ने घरमा नै रहेका भन्दै आफूले पनि परिवारका सदस्यहरूलाई भेटेर सम्मान र समवेदना व्यक्त गर्ने बताए।
"भोलि अन्त्येष्टि गर्दा म अनि सबै सुरक्षा निकायका अधिकारीहरू पनि उपस्थित हुन्छौँ। त्यो हाम्रो दायित्व पनि हो," उनले भने।
हमासको कब्जामा परेपछि विपिनको मृत्यु कसरी भयो भन्ने तथ्य स्थापित गर्न सहयोगी हुन सक्ने भन्दै उनको शवको नेपालमा पुन: परीक्षणको विषय उठेको भए पनि त्यसबारे सरकार, सेना वा परिवारका सदस्यले यो समाचार प्रकाशित गर्ने बेलासम्म केही बताएका छैनन्।

तस्बिर स्रोत, EPA
कसले कसरी सम्झे
ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुकमा बन्धक अवस्थामा विपिनको हत्यालाई 'एउटा होनहार युवा अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रुर हिंसाको सिकार बन्नुपरेको' घटनाका रूपमा चित्रण गरेका छन्।
उनले भनेका छन्, "तर, त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। विपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गौरवान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैँ जीवित रहनुहुने छ।"
मन्त्री घिसिङले विपिनको निधन दुःखद समाचार मात्र नभएको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, "यो हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको, हाम्रो प्रणालीको एउटा डरलाग्दो ऐना हो। एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपनाहरू, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ। यस्तो अवस्थाको अन्त्य गरी हरेक नेपालीले नेपालमै बसेर स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविष्य देख्ने अवस्था सिर्जना गर्नेतर्फ हामी सबै एक भएर लाग्न म आमनेपाली जनसमुदायमा अपिल गर्दछु।"

तस्बिर स्रोत, Reuters
अघिल्लो साता विपिनको मृत्यु पुष्टि भएपछि उक्त खबरले आफू मर्माहत भएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी थिइन्।
उनले विपिन ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाहरूको 'उज्ज्वल प्रतिनिधि' रहेको भन्दै सबै नेपालीहरूले उनको रिहाइका लागि एकचित्तले कामना गरिरहेको स्मरण गरेकी थिइन।
"उहाँ फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुने छ भन्ने हाम्रो कामना थियो। सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ। …उहाँको निधनको खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ।"
प्रधानमन्त्रीको समवेदना सन्देशमा विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने पनि उल्लेख गरिएको थियो।
दुई वर्षको पर्खाइले दिएको पीडा
विपिनको मृत्युको खबर आएसँगै भिमदत्त नगरपालिका वडा नम्बर ३ मा अवस्थित चपुरी मालिकार्जन टोल मात्रै होइन्, सिङ्गो गाउँ स्तब्ध रहेको र उनको परिवारका सदस्यहरू शोकमा डुबेको हाम्रा स्थानीय संवाददाता हिक्मत रावलले जनाएका छन्।
''विपिन परिवारका एक्लो छोरो, सबैको साहरा थियो, तर आज यस्तो भयो," विपिनका ठूलोबुवाका छोरा किशोर जोशीले भने। उनले भोलि मात्रै महकाली नदीमा अन्त्येष्टि गरिने जानकारी दिए।
वडा नं ३ का अध्यक्ष गगन भण्डारीले गाउँ टोल स्तब्ध भएको बताए। उनले भने, ''विपिनको मृत्युले सबैलाई रुवाएको छ। गाउँ, टोलवासीको मन मुटुमा बसेका विपिनलाई सम्झेर नरुने कोही छैन। दुई वर्षको पखाइले झन् पीडा दियो।''
सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहको अध्ययन पूरा गरेका विपिन २३ वर्षको उमेरमा इजरेल सरकारको 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत ११ महिने छात्रवृत्तिमा इजरेल पुगेका थिए।

तस्बिर स्रोत, EPA
खेलकुद र गीत सङ्गीतका शौखिन उनले केही रकम आम्दानी गर्ने, नेपाल फर्किएर उद्यम थाल्ने र म्युजिक भिडिओहरूमा खेल्नेजस्ता सपना देख्ने गरेको उनका एकजना नजिकका साथी धनबहादुर चौधरीले अघिल्लो साता बीबीसीलाई बताएका थिए।
इजरेल पुगेको तीन हप्तापछि हमासले अक्टोबर ७, २०२३ मा गरेको हमलामा विपिन बन्धक बनाइएका थिए। इजरेल र हमासबीच भएको सङ्घर्षविराम सहमति अन्तर्गत उनको शव हमासले इजरेललाई गएको सोमवार हस्तान्तरण गरेको थियो।
तेल अभिभको बेन गुरिओन विमानस्थलमा आयोजित एउटा विशेष समारोहमा विपिनप्रति अन्तिम श्रद्धान्जलि व्यक्त गरिएको थियो। त्यसपछि उनको शव नेपाल पठाइएको थियो।
विपिनको बाहदुरीको चर्चा
युद्धविराम सम्झौताअन्तर्गत हमासले दुई वर्षदेखि नियन्त्रणमा राखेका २० जीवित इजरेली बन्धकहरू रिहा गरेको थियो। त्यसको बदलामा २ हजार प्यालेस्टिनी बन्दीहरू रिहा गरिएका थिए।
तर हमासको नियन्त्रणमा रहेको अवस्थामा ज्यान गुमाएका अन्य बन्धकहरूको रिहाइ सुस्त भएको भन्दै इजरेलले टिप्पणी गर्दै आएको छ भने युद्धका कारण ध्वस्त भएको गाजाका भग्नावशेषबाट शवहरू उत्खन्न गर्नुपर्ने भएकाले त्यसले केही समय लिइरहेको इजरेलले बताइरहेको छ।
अक्टोबर ७ मा सार्वजनिक एउटा भिडिओमा विपिनलाई गाजास्थित अल-शिफा अस्पतालमा हिँडिरहेको देखिएको थियो। त्यसको एक वर्षसम्म उनको परिवारले जीवनको कुनै सङ्केत पाएको थिएन। तर बन्धक अवस्थामा सन् २०२३ को नोभेम्बरमा लिइएको ठानिएको एउटा भिडिओ इजरेली सेनाले सार्वजनिक गरेपछि परिवारले त्यसलाई उनी जीवित रहेको सङ्केतका रूपमा लिएका थिए।

तस्बिर स्रोत, Getty Images
युद्धविराम हुनुभन्दा केही घण्टाअघिसम्म पनि परिवारका सदस्यहरूले त्यसलाई 'जीवन रहेको प्रमाण'का रूपमा उल्लेख गरेका थिए र चमत्कार हुने आशा राखेको बताइरहेका थिए।
अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।
कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए।
गत साता बीबीसीलाई दिएको एउटा अन्तर्वार्तामा विपिनका एकजना साथीले हमास समूहले आफूहरू बसेको बङ्करमा ग्रिनेड प्रहार गरेको र त्यसमध्ये एउटा विपिनले टिपेर बाहिर फ्यालिदिएका कारणले आफूहरू बाँच्न सफल भएको बताएका थिए।
"हमासले बङ्करभित्र फ्यालेको दुई ग्रिनेडमध्ये एउटा विस्फोट भएको थियो, जसका कारण म घाइते भएँ। सायद त्यहाँ दुइटै पड्किएको भए म पनि यसरी बोलिरहेको हुन्थिनँ। उसले गर्दा नै हामी बाँचेको जस्तो लाग्छ। उसले साहस देखाएर बमबाहिर फ्याल्यो," टीकापुरबाट धनबहादुर चौधरीले भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








