हमासले गर्‍यो थप दुई बन्धकका अवशेष हस्तान्तरण, बाँकीका लागि 'समय लाग्ने'

गाजामा रेड क्रसको सवारी साधन र बन्धुकधारी हमास कार्यकर्ता

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासले बाँकी बन्धकका शव खोज्न विशेष किसिमका उपकरण आवश्यक पर्ने जनाएको छ
    • Author, बेर्न्ड डीबुसमन जुनिअर
    • Role, ह्वाइट हाउस संवाददाता
    • Author, हेलेन सुलिभन
    • Role, बीबीसी न्यूज

हमासले अमेरिकी मध्यस्थतामा भएको सङ्घर्षविराम सम्झौताअनुरूप थप दुई इजरेली बन्धकका शव हस्तान्तरण गरिएको तर खण्डहर अवस्थामा रहेको गाजामा बाँकी शव खोज्न विशेष उपकरण र समय आवश्यक पर्ने जनाएको छ।

उक्त समूहको सशस्त्र शाखाले आफू सम्झौताप्रति प्रतिबद्ध रहेको र पहुँचमा भएजति शव फर्काएको एउटा वक्तव्यमा भनेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासले सम्झौता पालना नगरे इजरेलले गाजामा पुन: कारबाही थाल्न सक्ने बताएका छन्।

एउटा वक्तव्यमा इजरेली प्रधानमन्त्रीको कार्यालयले रेड क्रसका माध्यमबाट बन्धकका शव भएका कफिनहरू प्राप्त भएको र अहिले आधिकारिक सनाखतको प्रतीक्षा भइरहेको जनाएको छ।

"आईडीएफ संवेदनशीलताका साथ व्यवहार गर्न र आधिकारिक सनाखतको प्रतीक्षा गर्न सर्वसाधारणलाई आग्रह गर्दछ जसबारे सबैभन्दा पहिले मृतकका परिवारजनलाई सूचित गरिने छ," उक्त वक्तव्यमा भनिएको छ।

बीस बुँदे शान्ति योजनाको कार्यान्वयनबारे थप जानकारी दिँदै वरिष्ठ अमेरिकी सल्लाहकारहरूले अमेरिकी सरकारले अहिलेसम्म बाँकी बन्धकका शव नफर्काएर हमासले सम्झौताको उल्लङ्घन गरेको विश्वास नगरेको बताएका छन्।

हमासले जीवित बन्धकहरूलाई रिहा गरेर सद्भावनापूर्ण कार्य गरेको तथा बाँकीलाई खोज्न र फिर्ता गर्न विभिन्न पक्षसँग काम गरिरहेको ती सल्लाहकारहरूको तर्क छ।

बुधवार राति फर्काइएका शवहरू बन्धकका भएको पुष्टि भयो भने पनि गाजामा बाँकी १९ को स्थिति अझै अज्ञात अवस्थामा रहेको हुने छ। गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले सबै २८ जना मृत बन्धकका शव फर्काउनु पर्ने थियो।

तर एउटा वक्तव्यमा हमासको सशस्त्र शाखाले "बन्धकका बाँकी शव खोज्न र तिनलाई फिर्ता गर्न निकै प्रयत्न र विशेष उपकरणको खाँचो पर्ने र यो अध्याय बन्द गर्न निकै मेहनतका साथ काम गरिरहेको" भनेको छ।

यसअघि इजरेलले बन्धक रिहाइबारे "सम्झौता नगर्ने" र आफ्नो "अभियान पूरा नभइसकेको" बताएको थियो।

इजरेली रक्षामन्त्रीले पुन: युद्ध सुरु हुने स्थितिमा गाजामा हमासलाई परास्त गर्न "विस्तृत योजना"को तयारी गर्न आफूले आईडीएफलाई निर्देशन दिएको बताएका छन्।

बुधवार वरिष्ठ सैन्य अधिकारीहरूसँगको बैठकपछि इजरेल काट्जले हमासले शान्ति योजना कार्यान्वयन गर्न अस्वीकार गरे सेना कारबाहीका निम्ति तयार रहनु पर्ने बताए।

हमासले मङ्गलवार फर्काएका चारमध्ये एउटा शव बन्धकको नभएको इजरेलले बताएसँगै पछिल्ला शवहरू बुझाइएका हुन्।

इजरेल र हमास दुवैले स्वीकार गरेको ट्रम्पको सङ्घर्षविराम योजनामा सोमवार मध्याह्नसम्म सबै ४८ बन्धकलाई हस्तान्तरण गरिसक्ने उल्लेख थियो। हमासले सबै २० जीवित बन्धकलाई सोमवार नै रिहा गरिसकेको छ।

उक्त सम्झौताले हमास र अन्य प्यालेस्टिनी गुटहरू निर्धारित समय सीमाभित्र सबै शवहरू खोज्न सक्षम नहुन सक्ने स्वीकार गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।