छाडिए इजरेली बन्धक र हिरासतमा रहेका प्यालेस्टिनी, ट्रम्पले भने- मध्यपूर्वका निम्ति 'ऐतिहासिक बिहानी'

तस्बिर स्रोत, EPA
- Author, टम बेनेट
- Reporting from, जेरुसलेम
इजरेली र प्यालेस्टिनीहरूले सोमवार ठूलो सङ्ख्यामा भएको बन्धक र बन्दीहरूको सट्टापट्टाको खुसियाली मनाएका छन्। यसलाई गाजामा दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य तर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
युद्ध समाप्त गर्न अमेरिकाले मध्यस्थता गरेको योजनाको पहिलो महत्त्वपूर्ण चरणमा हमासले सबै जीवित बन्धकहरूलाई रिहा गर्यो भने इजरेलले करिब २,००० जना प्यालेस्टिनी बन्दी तथा हिरासतमा राखिएकाहरूलाई छाड्यो।
रिहा भएका बन्धकहरूलाई परिवारजनले अङ्गालो हालिरहँदा र हर्षले रुँदा तथा चिच्याउँदाको वातावरण भावुक देखिन्थ्यो।
त्यस्तै अर्कापट्टि इजरेली कारागारबाट रिहा भएका प्यालेस्टिनी सवार बसहरू गाजा र अधिनस्थ वेस्ट ब्याङ्कमा पुग्दा भिडले खुसीसाथ झण्डा फहराउँदै स्वागत गरेको थियो।
बन्धक रिहाइको ठीकअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इजरेल पुगेका थिए। इजरेली संसद्लाई सम्बोधन गर्दै उनले दुई वर्षभन्दा लामो समयदेखि गाजामा राखिएका बन्धकहरूको रिहाइले मध्यपूर्वमा नयाँ युगको ऐतिहासिक बिहानीको सङ्केत गरेको बताए।
त्यसपछि उनी शिखर सम्मेलनका निम्ति इजिप्टको शर्म अल-शेखतर्फ प्रस्थान गरे। त्यहाँ उनको गाजा शान्ति योजनाको अर्को चरणबारे २० भन्दा धेरै नेताहरूसँगको बैठक तय थियो।
सम्मेलनमा इजिप्ट, कतार, टर्की र अमेरिकाले सङ्घर्षविराम सम्झौताको 'ग्यारेन्टर'का रूपमा घोषणामा हस्ताक्षर गरे। उक्त सम्झौताले दुई वर्षदेखिको युद्धलाई अन्त्य गर्ने उद्देश्य राखेको छ। उक्त युद्धले गाजालाई खण्डहर बनाइदिएको थियो।
तर कुटनीतिक उत्सव र पारिवारिक पुनर्मिलनहरूबीच सङ्घर्षविरामलाई दीर्घकालीन बनाउन अझै पनि धेरैथरिका चुनौतीहरू देखिन्छ।
ट्रम्पको २० बुँदे शान्ति योजनाका आउँदा चरण जटिलताहरूले भरिएका छन् र त्यसमा अघि बढ्न गहन छलफलहरूको खाँचो देखिन्छ।
शुक्रवारदेखि सङ्घर्षविराम लागु भएसँगै र सप्ताहान्तमा गाजामा मानवीय सहायता बढाइएसँगै सम्झौताको पहिलो चरणअन्तर्गत सोमवार बन्धक तथा बन्दी रिहाइ कार्य पूरा भएको हो।
"म अत्यन्तै भावुक र खुसी भएकी छु," रिहा भएसँगै सोमवार आफ्नो पार्टनर एरिअल कोनेओलाई भेटेकी बन्धकमध्येकी अर्बेल येहुदले भनिन्।
बन्दी रिहाइकार्य एक हदसम्म योजनाअनुरूप नै अघि बढे पनि हमासले केवल चार मृतकका शव फर्काउने बताएसँगै इजरेली बन्धकका परिवारजन आक्रोशित भएका छन्।
इजरेली सेनाले विधिविज्ञानशालाको परीक्षणमार्फत् तीनको पहिचान यकिन गरेर मात्रै परिवारजनलाई जानकारी दिइने बताएको छ।
त्यस्तै सम्झौताअन्तर्गत इजरेलले अभियोगबिना हिरासतमा राखिएका करिब १,७०० जनालाई रिहा गर्यो।
आफ्नो छोरासँगको पुनर्मिलनपछि एक प्यालेस्टिनी महिलाले अन्तत: आफ्नो हृदयलाई शान्ति मिलेको बताइन्।
"साँच्चै भन्नुपर्दा दु:ख भए पनि यो खुसी र आनन्द अवर्णनीय छ.... आज हामी यहाँ खुसीयाली मनाउन आएका हौँ," एक प्यालेस्टिनी व्यक्तिले भने।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले स्वागत गरेसँगै ट्रम्प संसद्लाई सम्बोधन गर्न पुगेका थिए। कुनै अमेरिकी राष्ट्रपतिले इजरेली सदनलाई सम्बोधन गरेको सन् २००८ पछि यो पहिलो पटक हो।
"इजरेलीका लागि मात्र नभइ प्यालेस्टिनीका निम्ति पनि लामो र पीडादायी दुस्वप्न अन्त्य भएको छ," त्यस क्रममा उनले भने।
उनले सम्बोधन गरिरहँदा केहीले "ट्रम्प, ट्रम्प, ट्रम्प..." को नारा गुञ्जाएका थिए।
यद्यपि ट्रम्पलाई प्यालेस्टिनी राज्यलाई मान्यता दिनुपर्ने माग गर्दै एक विपक्षी सांसदले छोटो समयका लागि अवरोध गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








