अमेरिकी राष्ट्रपति ट्रम्प इजरेलमा, सर्वोच्च नागरिक पदक दिइने घोषणा

इजरेली प्रधानमन्त्रीसँग डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

हमासले बन्धकहरू मुक्त गर्न थालेकै बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इजरेल पुगेका छन्। इजरेल जानुअघि उनले गाजाको "युद्ध समाप्त भएको" बताएका थिए।

सङ्घर्षविराम सम्झौताअनुरूप हमासले सबै इजरेली बन्धकहरूलाई हस्तान्तरण गर्न थालेको छ। पहिलो खेपमा मुक्त भएका सात इजरेली नागरिकहरू इजरेली सीमाभित्र पुगिसकेका छन्।

उक्त प्यालेस्टिनी समूहसँग ४८ बन्धकहरू फिर्ता गर्न स्थानीय समयानुसार सोमवार दिउँसो १२:०० बजेसम्मको समय छ। ती ४८ मध्ये २० जना जीवितै रहेको ठानिएको छ। बदलामा इजरेलले २५० जना प्यालेस्टिनी बन्दीहरू र हिरासतमा लिइएका १,७०० भन्दा धेरैलाई रिहा गर्ने बताइएको छ।

इजरेल प्रस्थान गर्ने क्रममा ट्रम्पले "युद्ध सकिएको" र "सङ्घर्षविरामको स्थिति कायम रहने" बताए। "म युद्धहरू समाधान गर्नमा र शान्ति स्थापना गर्नमा राम्रो छु," उनले थपे।

इजरेलमा ट्रम्पले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई भेट्ने र इजरेली संसद्लाई सम्बोधन गर्ने ठानिएको छ।

ट्रम्पलाई सम्मान

इजरेल जानका निम्ति एअर फोर्स वनमा चढ्नुअघि ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेल जानका निम्ति एअर फोर्स वनमा चढ्नुअघि ट्रम्पले सञ्चारमाध्यमहरूसँग कुरा गरे

इजरेली राष्ट्रपतिको कार्यालयले इजरेल सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई देशको सबैभन्दा ठूलो नागरिक पदकबाट विभूषित गर्ने घोषणा गरेको छ।

हमासले बन्धक बनाएका ४८ जनाको मुक्तिका लागि ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि उनलाई सम्मानित गर्न लागिएको हो। इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसद्‌मा हुने भेटमा ट्रम्पलाई त्यसबारे औपचारिक जानकारी दिने छन्।

यद्यपि उक्त पदक अहिले नभई पछि दिइने छ।

इजरेल जानुअघि ट्रम्पले नेतन्याहूसँग आफ्नो "निकै राम्रो" सम्बन्ध भएको बताए। नेतन्याहूलाई "युद्धकालीन राष्ट्रपति"को सङ्ज्ञा दिँदै ट्रम्पले भने, "उनले निकै राम्रो काम गरे। उनीसँग मेरो केही मतभेद पनि रह्यो तर त्यो चाँडै सुल्झियो।"

इजरेलबाट उनी इजिप्ट प्रस्थान गर्ने छन्। त्यहाँ उनले मध्यपूर्वमा शान्ति स्थापना गर्नेसम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने छन्।

उक्त सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरसहितका विश्वनेताहरू सहभागी हुने छन्।

तेल अभिभमा 'सुखद खबर'को प्रतीक्षा

बन्दी रिहाइको समाचारको प्रतीक्षामा रहेकाहरू

तस्बिर स्रोत, Reuters

ठूलो सङ्ख्यामा इजरेलीहरू तेल अभिभको 'होस्टेजेज स्वायर'मा जम्मा भएका विवरणहरू आएका छन्। त्यहाँ जडान गरिएका ठूल्ठूला 'स्क्रिन'हरूमा बन्धक रिहाइका दृश्यहरू प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।

बन्धक तथा बेपत्ताका परिवारसम्बन्धी 'फोरम'ले केही बेरअघि सामाजिक सञ्जाल 'एक्स'मा एउटा तस्बिर पोस्ट गरेको छ जसमा बन्धक रिहाइको प्रतीक्षामा रहेका सयौँलाई देख्न सकिन्छ।

"उक्त स्थल बन्धकहरूको प्रतीक्षामा छ," ती सामग्रीहरूमा भनिएको छ।

दुई वर्षपछि ती बन्धकहरूलाई छाड्न लागिएको हो।

गाजामा तनाव

गाजा सडक

तस्बिर स्रोत, AFP via Getty Images

यसैबीच गाजा सिटीमा हमासका सुरक्षा बल र दुगमुश समूहबीच भीषण झडप हुँदा कम्तीमा २७ जना मारिएका विवरणहरू आएका छन्। यसलाई उक्त क्षेत्रमा इजरेली कारबाही समाप्त भएपछिको सबैभन्दा हिंस्रक आन्तरिक टकरावमध्येको ठानिएको छ।

स्थानीय स्रोतहरूका अनुसार दुगमुशतर्फका १९ र हमासतर्फका ८ जना मारिएका हुन्।

इजरेली फौजले हालसालै खालि गरेको गाजाका क्षेत्रहरू हमासले आफ्नो सुरक्षा बलका सदस्यहरूलाई परिचालन गरेको थियो।

गाजा सिटीको सब्रा क्षेत्रमा शक्तिशाली दुगमुश समूहका बन्दुकधारीले हमासको विशेष फौजका दुई जनालाई गोली हानेर मारिदिएपछि तनाव बढेको विवरणहरू आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।