आन्तरिक हिंसाको बढ्दो चिन्ताबीच हमासद्वारा गाजामा लडाकु परिचालन

शनिबार गाजा सिटीमा देखिएका हमासका सदस्यहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिबार गाजा सिटीको सडकमा देखिएका हमासका सदस्यहरू
    • Author, रुश्दी अबुअलूफ
    • Role, गाजा संवाददाता

इजरेली फौजले हालसालै खालि गरेको गाजाका क्षेत्रहरू हमासले आफ्नो सुरक्षा बलका सदस्यहरूलाई परिचालन गरेको स्थानीय स्रोतहरूले जनाएका छन्। ती क्षेत्रमा आफ्नो पुनः नियन्त्रण जमाउन उसले ७,००० सदस्य तैनाथ गरेको बताइएको छ।

प्यालेस्टिनी समूहले पनि पाँच जना नयाँ गभर्नर नियुक्त गरेका छन्। ती सबै सैन्य पृष्ठभूमिका छन्। जसमध्ये केही पहिले आफ्नो सशस्त्र समूहको ब्रिगेड नेतृत्व गरेकाहरू छन्। फोन र टेक्स मेसेजबाट परिचालनको आदेश दिइएको बताइएको छ। 'इजरेलसँग सम्बद्ध र अपराधीहरूबाट गाजालाई मुक्त गर्ने' उद्देश्य रहेको र २४ घण्टाभित्र स्थितिको जानकारी दिन लडाकुहरूलाई निर्देशन दिइएको समाचारहरूमा जनाएको छ।

गाजाबाट प्राप्त खबरहरूका अनुसार हमासका सशस्त्र इकाईहरू विभिन्न जिल्लाभर परिचालन गरिएका छन्। कतिपयले गैर फौजी पोसाक लगाएका छन् भने अन्य गाजा प्रहरीको निलो पोसाकमा देखिन्छन्।

गाजा सिटीको विभिन्न क्षेत्रमा व्यापक रूपमा ध्वस्त भएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गाजा सिटीको विभिन्न क्षेत्रमा व्यापक रूपमा ध्वस्त भएको छ

गाजा सिटीको सब्रा क्षेत्रमा शक्तिशाली दुगमुश समूहका बन्दुकधारीले हमासको विशेष फौजका दुई जनालाई गोली हानेर मारिदिएपछि तीव्र रूपमा तनाव उत्पन्न भएको थियो।

ती मध्ये एक जना हमासको सशस्त्र इकाईका वरिष्ठ कमान्डर इमाद अकिलका छोरा थिए, जो अहिले समूहको सैन्य गुप्तचर निकायको प्रमुख छन्।

उनीहरूको शव सडकमै छाडिएको थियो। जसले आक्रोश निम्त्यो र हमासद्वारा ठूलो सशस्त्र प्रतिवादको सम्भावना बढाइदिएको छ।

त्यसपछि हमासका सदस्यहरूले एउटा ठूलो इलाकालाई घेराबन्दी गरेका थिए जहाँ मेशिन गन र विस्फोटक पदार्थहरू साथमा लिएका ३०० भन्दा बढी दुगमुश सदस्यहरू लुकेर बसेको विश्वास गरिएको थियो।

हमासले आइतबार बिहान दुगमुशका एक सदस्यलाई मारिएको छ र अन्य ३० जनालाई अपहरण गरेको बताइएको छ।

हमासको कब्जामा रहेकाहरूको रिहाइको प्रतीक्षासँगै कैयौँ अवस्थाबारे चिन्ता पाइन्छ
तस्बिरको क्याप्शन, हमासको कब्जामा रहेकाहरूको रिहाइको प्रतीक्षासँगै कैयौँ अवस्थाबारे चिन्ता पाइन्छ

दुगमुशले विभिन्न हतियार युद्धका बेला हमासको भण्डारबाट लुटेका थिए भने वर्षौँदेखि अन्य धेरै उनीहरूको कब्जामा थिए।

गाजामा युद्ध अन्त्य भएपछि कसले शासन गर्ने भन्ने बढ्दो अनिश्चितताबीच हमासको सम्भावित परिचालन आम रूपमै अनुमान गरिएको थियो।

यो एउटा यस्तो मुख्य विषय हो कि त्यसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको आरम्भलाई जटिल बनाइदिन सक्छ। जुन योजनामा हमासको निःशस्त्रीकरणको बुँदा समेटिएको छ।

विदेशमा रहेका हमासका एक अधिकारीले सुरक्षा परिचालनको खबरबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर उनले बीबीसीलाई भने, "हामी इजरेल समर्थित चोर र मिलिसियाको कृपामा गाजालाई छोडिदिन सक्दैनौँ। हाम्रा हतियार वैध छन्… कब्जाको प्रतिरोध गर्न, र जबसम्म उनीहरू रहिरहन्छन्, उनीहरूको नियन्त्रण जारी रहनेछ।"

गाजामा प्यालेस्टिनी प्राधिकारमा वर्षौँसम्म सेवा गरेका एक अवकाशप्राप्त सुरक्षा अधिकारीले उक्त क्षेत्र अर्को चरणको रक्तपाततर्फ उन्मुख हुने डर आफूलाई रहेको बताए।

"हमास परिवर्तन भएको छैन। उसले अझै पनि हतियार र हिंसा नै आफ्नो अभियान जीवित राख्ने एक मात्र अस्त्र हो भन्ने विश्वास गर्दछ," उनले बीबीसीसँग भने, "गाजा हतियारले भरिभराउ छ। लुटेराहरूले युद्धको समयमा हमासको भण्डारबाट हजारौँ हतियार र गोला बारुद चोरेका छन्, र केही समूहहरूको निम्ति इजरेलबाट हतियार आपूर्ति भएको छ।"

कैयौँ हप्ता पछि पहिलो पटक मानिसहरू आवासीय क्षेत्रमा प्रवेश गरेको देखियो जहाँ उनीहरूका निवास बाँकी थिएनन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कैयौँ हप्ता पछि पहिलो पटक मानिसहरू आवासीय क्षेत्रमा प्रवेश गरेको देखियो जहाँ उनीहरूका घर बाँकी थिएनन्

उनको भनाइमा त्यो गृहयुद्धको विशेषता भएको परिस्थिति हो। "हतियार, निराशा, अराजकता, र एउटा चिराचिरा परेको र थकित जनसङ्ख्यामाथि पुन:नियन्त्रण आतुर अभियान।"

गाजामा बस्ने मानवअधिकारकर्मी खलिल अबु शम्मालाले हमासले क्षेत्रमाथिको नियन्त्रण हस्तान्तरण गर्न स्वीकार गर्छ कि ट्रम्पको शान्ति योजना कार्यान्वयनमा अवरोध गर्न खोज्छ भन्ने हेर्न बाँकी छ।

उनी भन्छन्, "त्यहाँ निस्सन्देह धेरै गाजावासीहरूमा सम्भावित आन्तरिक भिडन्तको व्यापक त्रास छ। किन कि विद्यमान कैयौँ परिस्थितिले त्यसलाई भड्काउन सक्छ।"

आफूमाथि परेको गम्भीर दबाबले गर्दा शान्ति योजना स्वीकार गर्न हमास बाध्य भएको उनको बुझाइ छ।

"सुरक्षा मामिलामा आफ्नो संलग्नता जस्ता कुनै पनि उपायबाट आफ्नो प्रभाव कायम राख्ने उसको निरन्तरको प्रयासले अन्ततः सम्झौतालाई जोखिममा पार्न सक्छ र गाजाका बासिन्दाहरूलाई अझ भयानक पीडामा धकेल्न सक्छ भन्ने मेरो ठम्याइ छ," उनी भन्छन्।

युद्ध विरामपछिका यी घटनाहरूले दुई वर्षको विनाशकारी द्वन्द्वका कारण थिलथिलो भइसकेको गाजाका बासिन्दाहरूमा गहिरो चिन्ता उत्पन्न गराइदिएको पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।