गाजामा युद्धविरामपछि भग्नावशेषबाट शवहरू निकालिँदै

तस्बिर स्रोत, Reuters
गाजामा युद्धविराम कार्यान्वयनमा आएर इजरेली फौजहरू कतिपय क्षेत्रबाट हटेपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट शवहरू निकालिरहेका छन्।
अवस्था अज्ञात रहेका प्यालेस्टिनीहरूलाई खोज्न भग्नावशेषहरू हटाउने कार्य भइरहेको गाजास्थित हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले जनाएको हो।
उसका अनुसार गाजाभरि ९,५०० प्यालेस्टिनीको अवस्थाबारे थाहा हुन सकेको छैन। गाजामा युद्धविराम कार्यान्वयनमा आएको शनिवार दोस्रो दिन शुरू भएको छ।
भग्नावशेषभित्र रहेका सबै शव निकाल्न आवश्यक उपकरण आफूहरूसँग नरहेकाले इजरेलसँग समन्वय गरिदिन एजेन्सीले रेडक्रससँग समेत आग्रह गरेको छ।
सिभिल डिफेन्स एजेन्सीले आफ्नो उद्धार कार्यसम्बन्धी पछिल्लो विवरण उपलब्ध गराएको छ।
बन्धक रिहाइको प्रतीक्षा
उसका अनुसार युद्धविराम कार्यान्वयनमा आएयता गाजा सिटीमा तीन लाख मानिसहरू फर्केका छन्। तर उत्तरतर्फ आएका प्यालेस्टिनीहरू बस्नका लागि न त त्रिपाल छ न त घरहरू नै छन्।
इजरेली आक्रमणका कारण गाजा सिटी र उत्तरबाट करिब सात लाख मानिसहरू विस्थापित भएका छन्।
त्यहाँ र आसपासका केही क्षेत्रमा भीषण हवाई बमबारीका साथै सेना पनि प्रवेश गरेको थियो।
हमास र इजरेली सेनाबीच दुई वर्ष चलेको युद्धका कारण धेरै घरहरू ध्वस्त भइसकेका छन्।
सहायता सामग्री बोकेका सयौँ ट्रकहरू गाजातर्फ पठाउन तयारी अवस्थामा रहेका सहायता संस्थाहरूले बताएका छन्।

तस्बिर स्रोत, Reuters
युद्धविरामअन्तर्गत हमासले बाँकी रहेका सबै इजरेली बन्धकहरू रिहा गर्नुपर्ने छ भने त्यसको बदलामा इजरेलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने छ।
इजरेलले गाजाबाट कैद गरेका १,७०० जना तथा करिब २५० कैदीबन्दी रिहा गर्ने तयारी गरेकामा हमासले थप कैदीहरू रिहाका लागि दबाव दिइरहेको बीबीसीले बुझेको छ।
सिभिल डिफेन्स एजेन्सीले उद्धार तथा राहत अभियानका क्रममा १५० वटा शव भग्नावशेषबाट निकालिएको जनाएको छ।
तर ती शवहरू निकालिएको यकिन मितिबारे केही उल्लेख गरिएको छैन। मानिसहरू पहिला नै भग्नावशेषभित्र फसेका हुन सक्ने ठानिएको छ।
शनिवार एकाबिहानदेखि समस्यामा परेको भन्दै ७५ वटा कल आएको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ।
सुरक्षा बल बोलाइयो
इजरेली फौज हटेपछि हमासले गाजामा पुनः आफ्नो नियन्त्रण कायम राख्न आफ्ना करिब सात हजार सुरक्षाकर्मी फिर्ता बोलाएको स्थानीय स्रोतहरूले जनाएका छन्।
उसले सैनिक पृष्ठभूमिका पाँच नयाँ गभर्नरहरू समेत नियुक्त गरेको छ। उनीहरूमध्ये केही हमासको सशस्त्र एकाइका कमान्डर रहेका बुझिएको छ।
विवरणहरूमा जनाइएअनुसार फोन र टेक्स्ट मेसेजमार्फत् उनीहरूलाई परिचालित हुन भनिएको छ।
सुरक्षाकर्मीहरूलाई आगामी २४ घण्टाभित्र परिचालित हुने उनीहरूलाई पठाइएको टेक्स्ट मेसेजमा उल्लेख छ।
गाजाबाट प्राप्त विवरणहरूका अनुसार हमासका सशस्त्र एकाइहरू विभिन्न जिल्लामा परिचालित भइसकेका छन्।
तीन महिना पुग्ने खाना
संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी सहायता निकायले गाजामा प्यालेस्टिनीहरूलाई तीन महिनासम्म पुग्ने खाद्यान्न आफूसँगा रहेको जनाएको छ।
यूएनआरडब्ल्यूएकी सञ्चार निर्देशक जुलिअट टूमाले "भोकमरी नियन्त्रणका लागि सहायता वितरण गर्नु महत्त्वपूर्ण" रहेको बताइन्।
संयुक्त राष्ट्रसङ्घ समर्थित खाद्य सुरक्षा निकायले गत अगस्टमा गाजा र आसपासका क्षेत्रमा भोकमरीको अवस्था पुष्टि गरेको थियो।
व्यापक रूपमा देखिएको खानेकुरा अभावलाई सम्बोधन गर्न तत्काल सहायता पुर्याउन अनुमति दिनुपर्ने माग टूमाले दोहोर्याइन्।
गाजा सम्झौताको पहिलो चरणका शर्तबमोजिम युद्धविराम कार्यान्वयनमा आउनासाथ हरेक दिन सहायता सामग्री बोकेका ६०० वटा ट्रकहरू पुग्नुपर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








