'हमासको ग्रिनेड बाहिर फ्याँकेर विपिन जोशीले मेरो ज्यान बचाएका थिए'

तस्बिर स्रोत, Dhan Bahadur Chaudhary
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
इजरेलमाथि हमासले आक्रमण गरेको दिन आफूहरू बसिरहेको बङ्करमा ग्रिनेड प्रहार गरिएको त्यो कहालीलाग्दो क्षण सम्झिँदा कैलालीको टीकापुरका धनबहादुर चौधरी आफ्ना प्रिय साथी विपिन जोशीको अनुहार झलझली देख्छन्।
सन् २०२३ को अक्टोबर ७ को झिसमिसेमै हमासले आक्रमण थाल्दा उनीहरू दक्षिण इजरेलको गाजानजिकै रहेको किबुज अलुमिम फर्ममा बसिरहेका थिए।
इजरेल सरकारको 'लर्न एन्ड अर्न' कार्यक्रममा सहभागी हुन कृषि विषय लिएर स्नातक तहको अध्ययन पूरा गरेका नेपालीहरू त्यहाँ पुगेको जम्मा २५ दिन भएको थियो।
'सुरक्षित ठानिएको बङ्करभित्रै बम'
सत्ताइस वर्षका धनबहादुरले बीबीसीसँग भने, "त्यो दिन बिहान साढे ६ बजेको थियो। माथिबाट मिसाइलहरू जान थालेपछि हामी कोठाबाट भागेर घरअगाडि रहेको बङ्करमा गयौँ। त्यो ५-१० फिटको दूरीमा थियो र माथिबाट बम खस्यो भने केही हुँदैन थियो। त्यसको आधा घण्टादेखि १ घण्टाको अवधिमा स्थल आक्रमण सुरु भयो।"
उनले थपे, "हमास [का लडाकु]हरू त्यहाँ सोझै भ्यान नै लिएर आए। बङ्करबाहिर नै बन्दुकहरू चल्न थाल्यो। बन्दुक डुङडुङडुङ बाहिर चल्दा हामी आत्तियौं। हामी कराउन थाल्यौँ।"
उनले त्यस बेला दुई जना आफ्ना साथीहरू बङ्करबाट बाहिर निस्किएको र उनीहरूले आफूहरू नेपाली भएको भन्दै कराएको सम्झिए।
"उनीहरू 'वी आर नेपाली, वी आर नेपाली' भन्दै निक्लिए। त्यसपछि उनीहरूले गोली खाए। अनि हामी झन् आत्तियौँ। एक जनाको ठाउँको ठाउँ ज्यान गयो। अर्को एक जना बङ्करमा आएर बेहोस भयो। एकछिनमा ऊ पनि बित्यो। त्यसपछि दुईवटा बम बङ्करभित्रै आइहाल्यो।"

तस्बिर स्रोत, Picture Courtesy: Dhan Bahadur Chaudhary
हमासले बङ्करभित्र फ्यालेको दुई ग्रिनेडमध्ये एउटा विस्फोट भएको थियो, जसका कारण धनबहादुर घाइते भए। अर्को ग्रिनेडलाई हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीले आफ्नो ज्यान दाउमा लगाएर बङ्कर बाहिर फ्याँकेको धनबहादुर बताउँछन्।
चौधरी भन्छन्, "सायद त्यहाँ दुइटै पड्किएको भए म पनि यसरी बोलिरहेको हुन्थिनँ। उसले गर्दा नै हामी बाँचेको जस्तो लाग्छ। उसले साहस देखाएर बमबाहिर फ्याल्यो। त्यसपछि फेरि उनीहरू पछि हटे। सायद अर्कोतिर गए होला। दुइटा बम आइसकेपछि आधा एक घण्टासम्म केही पनि भएन।"
उनका अनुसार त्यसपछि इजरेली प्रहरीहरू त्यहाँ आएका थिए। जसले विपिनसहित १० जना नेपालीहरूलाई अर्को बङ्करमा लिएर गएका थिए। त्यो नै आफूहरूबीचको अन्तिम भेट भएको उनले सुनाए।
"म चाँहि घाइते भएर हिँड्न नसकेर पहिलो बङ्करमा नै बसेँ। ऊ चाहिँ अर्को बङ्करमा गयो। अर्को बङ्करमा पनि दुईपटक आक्रमण गरेर उसलाई समातेर लग्यो भन्ने कुरा बेलुका उद्धार गरिएपछि मैले साथीहरूबाट थाहा पाएँ।"
जब विपिनले ग्रिनेड टिपेर बाहिर फ्याँके
विपिनले ग्रिनेड बाहिर फ्याँक्दा निरन्तर बन्दुक पड्किरहेको उल्लेख गरेका उनले विपिनको समूह पनि सुरक्षित रूपमा झन्डै ६० मिटर टाढा रहेको बङ्करमा पुगेको तर त्यहाँ हमला हुँदा उनी बन्धक बनेको र केही साथीहरूको ज्यान गएको उल्लेख गरे।
हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा त्यहाँ रहेका १७ नेपालीमध्ये १० जनाको ज्यान गएको थियो भने धनबहादुरसहित चार जना घाइते भएका थिए। उक्त युद्ध सुरु भएयताका दुई वर्षमा अन्तिम क्षणसम्म पनि विपिन जीवित रहेको हुनसक्ने इजरेलका अधिकारीहरूले बताएका थिए भने उनको रिहाइका लागि नेपाल सरकारले विभिन्न पक्षसँग बेलाबेला कुराकानी गरेको थियो।
सोमवारदेखि लागु भएको इजरेल-हमास सङ्घर्षविराम सम्झौताअन्तर्गत बन्धक बनाइएकामध्ये २० जनालाई जीवितै रिहा गरिएको थियो। त्यसलगत्तै हमासले विपिनको मृत्यु भएको पुष्टि गर्दै उनको शव इजरेललाई हस्तान्तरण गरेको थियो।

तस्बिर स्रोत, Getty Images
धनबहादुर उक्त खबरले आफूलाई स्तब्ध पारेको बताउँछन्।
उनले भने, "हामीले पछिल्लो दुई वर्षमा उसको अवस्था पत्ता लगाउन धेरै पहल गर्यौँ। तर अहिले जे खबर आयो, हामी सबै नेपाली शोकमा छौँ। म पनि शोकमा छु, के भनौँ, के गरौँ जस्तो लाग्छ। जतासुकैबाट फोन र म्यासेज आएको छ, हेरौँ कि नहेरौँ त्यस्तो भइरहेको छ। बोल्न पनि गाह्रो भइरहेको छ।"
इजरेली सेनाले मङ्गलवार विपिन जोशीबारे 'युद्ध सुरु भएको प्रारम्भिक महिनामा नै बन्धक अवस्थामा उनलाई मारिएको हुन सक्ने' बताएको थियो। तर यसलाई स्वतन्त्र ढङ्गले पुष्टि गर्ने कुनै आधार छैन।
धनबहादुर थप्छन्, "यदि त्यस्तै भएको हो भने अन्तर्राष्ट्रिय समुदायले हमासलाई किन र कसरी त्यस्तो भयो भनेर उसलाई जबाफदेही बनाउनुपर्छ। बन्धक बनाइएपछि बनाइएको भिडिओमा पनि विपिनले आफू नेपाली भएको भनेर भनेको नै छ। कसरी र किन मारियो भन्ने कुराको जबाफ आउनुपर्छ।"
इजरेलले विपिनको परिवारलाई सहयोग गर्नुपर्ने बताएका उनले घाइते भए पनि आफूले नेपाल सरकारबाट केही सहयोग भने नपाएको बताए।
विपिन मृत्युको खबरपछि शोकको माहौल
विपिनको परिवारका सदस्यहरूले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएका छैनन्। तर उनका ठूलोबुवाका छोरा किशोर जोशीले विपिनको रिहाइका लागि राष्ट्रसङ्घसमक्ष पैरवी गर्न अमेरिकामा रहेका उनका आमा र बहिनी बिहीवार नेपाल फर्कन लागेको बीबीसीलाई बताए।
सोमवार विपिनको घरमा बीबीसीका स्थानीय संवाददाता पुग्दा त्यहाँ ताला लागेको थियो।
विपिनका बुवा बोल्न सक्ने अवस्थामा नरहेको र परिवार शोकमा डुबेको किशोरले बीबीसीलाई बताए।

तस्बिर स्रोत, The Hostages Families Forum/Handout via REUTERS
अक्टोबर ७ मा सार्वजनिक एउटा भिडिओमा विपिनलाई गाजास्थित अल-सिफा अस्पतालमा हिँडिरहेको देखिएको थियो। त्यसको एक वर्षसम्म उनको परिवारले जीवनको कुनै सङ्केत पाएको थिएन। तर बन्धक अवस्थामा सन् २०२३ को नोभेम्बरमा लिइएको ठानिएको एउटा भिडिओ इजरेली सेनाले सार्वजनिक गरेपछि परिवारले त्यसलाई उनी जीवित रहेको सङ्केतका रुपमा लिएका थिए।
युद्धविराम हुनुभन्दा केही घण्टाअघिसम्म पनि परिवारका सदस्यहरूले त्यसलाई 'जीवन रहेको प्रमाण'का रूपमा उल्लेख गरेका थिए र चमत्कार हुने आशा राखेको बताइरहेका थिए।
विपिनको शवलाई यसै साताभित्र नेपाल ल्याइपुर्याउने तयारी भएको भए पनि अधिकारीहरूले त्यसबारे केही बताइसकेका छैनन्। मङ्गलवार इजरेलको विदेश मन्त्रालयका महानिर्देशक एडन बार-ताल र नेपालका परराष्ट्रसचिव अमृतबहादुर राईबीच भएको टेलिफोन कुराकानीमा शव हस्तान्तरण प्रक्रियाबारे पनि छलफल भएको थियो।
इजरेलको विदेश मन्त्रालयले विपिन जोशीको परिवारलाई ज्यान गुमाएका इजरेली नागरिकसरह अधिकार र सुविधा दिइने उल्लेख गरेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले विपिनको मृत्युको खबरबाट स्तब्ध भएको भन्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
उसले भनेको छ, "विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ।"
इजरेलबाट सकुशल फर्किएका धनबहादुर र उनका साथीहरूले छिट्टै विपिनको घर गएर परिवारका सदस्यसँग भेटवार्ता गर्ने इच्छा राखेका छन्।
धनबहादुर भन्छन्, "हामी विपिनलाई सधैँ सम्झने छौँ। उसको परिवारलाई भेट्न जाने पनि हाम्रो योजना छ। उहाँहरूलाई सम्हाल्ने, साथ सहयोग दिने प्रयास हामी पनि गर्ने छौँ।"
उनले थाईल्यान्डसहितका देशहरूले कूटनीतिक पहलबाट आफ्ना देशका बन्धक हमासबाट मुक्त गराएको भन्दै त्यसमा नेपाल सफल नहुनु कूटनीतिक कमजोरी रहेको पनि उल्लेख गरे।
नेपालको परराष्ट्र मन्त्रालयले यसै साता विपिनको सकुशल रिहाइका लागि आफ्ना तर्फबाट 'यथासम्भव सबै किसिमका प्रयासहरू गरेको' उल्लेख गरेको थियो।
अधुरो रह्यो विपिनको सपना
कन्चनपुरको भीमदत्त नगरपालिकाकाका विपिन र कैलालीको टीकापुरका धनबहादुरको पहिलो भेट सन् २०१८ मा सुदुरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह अध्ययन गर्दा भएको थियो। उनी विपिनलाई एक मिलनसार र देशभित्रै केही गर्ने भावना भएको साथीका रूपमा सम्झन्छन्।
उनले भने, "एउटै क्लासमा बस्ने र सँगै पढ्ने साथी हो। हामी सँगै फुटबल खेल्थ्यौँ। घुम्ने, रमाइलो गर्ने साथी थियो। सङ्गीतमा पनि रुचि राख्ने, हाँस्ने खेल्ने साथी थियो। कोहीसँग पनि मनमुटाव राख्दैनथ्यो।"

तस्बिर स्रोत, Dhan Bahadur Chaudhary
इजरेलमा पनि आफूहरू 'वल्लोपल्लो कोठा' मा बस्ने गरेको सुनाउँदै उनले खेलकुद र गीतसङ्गीतले आफूहरूलाई थप नजिक बनाएको उल्लेख गरे।
उनले थपे, "हामी एकदमै धेरै फुटबल र बास्केटबल खेल्ने गर्थ्यौँ। ऊसँग राति ११-१२ बजेसम्म पनि खेल्ने गर्थ्यौँ। घटना भएको दुईतीन दिनअघि मात्र हामी दुवैको बिदा थियो। हामीले दुईतीन घण्टा कुरा गरेका थियौँ।"
त्यो कुराकानी दुवै युवाहरूले देखेको सपनामा केन्द्रित थियो। धनबहादुर सम्झन्छन्, "बडी बनाउने, जिम जाने र कमाएर मोबाइल किन्ने कुराकानी भएको थियो। 'म त आईफोन किन्छु, गितार किन्छु यार। गीत गाउनुपर्छ, म्यूजिक भिडिओ बनाउनुपर्छ' भन्थ्यो उसले।"
उनले थपे, "हामीहरूले सँगै बसेर एउटा गीत पनि गाएका छौँ। 'ए साथी तिमी कहाँ छौँ भनन' भन्ने गीत पनि गाएका छौँ। एक महिना नपुग्दै त्यस्तो घटनामा हामीहरू पर्यौँ।"
उनले इजरेलमा बस्दा केही आम्दानी हुने आशमा आफूहरू त्यहाँ गएको भन्दै त्यहाँबाट फर्किएर नेपालमा नै केही उद्यम गर्ने इच्छा दुवैले राखेको पनि उनले सुनाए।
उनी थप्छन्, "एघार महिनाको कोर्स थियो। बाहिर जाऔँ अनि अलिकति कमाइ हुन्छ भन्ने सोच सबैको थियो- मेरो पनि, विपिनको पनि। त्यसपछि नेपालमा फर्किएर कि त मास्टर्स अध्ययन गर्ने, कि उद्यम गर्ने भन्ने नै सोच थियो। कि त लोकसेवा गर्नुपर्छ, कि त कृषिसम्बन्धी व्यापार गर्नुपर्छ भनेर उसले पनि भन्थ्यो।"
कम्मरमुनिको भागमा ग्रिनेडको छर्रा लागेर घाइते भएका धनबहादुर हाल त्रिभुवन विश्वविद्यालयमा कृषि विषय लिएर स्नातकोत्तर अध्ययनरत छन्। उनी कृषिसम्बन्धी प्रयोगात्मक अध्ययनका लागि अहिले आफ्नै गाउँमा छन्। उनले अध्ययन पूरा गरेपछि लोकसेवा आयोगको परीक्षा दिने लक्ष्य राखेका छन्।
"म त नेपाल फर्किएर अहिले पनि पढिरहेको छु। तर त्यो बेला हामीले गरेका कुराहरू अब सपना नै रहे।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








