विपिन जोशीको शव आज काठमाण्डू आउँदै, नेपाली सेनाले घरसम्म पुर्याउने

तस्बिर स्रोत, EPA
इजरेली सेनाका अनुसार हमास समूहले "बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका" नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदै छ।
काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारी र परिवारजनले बीबीसीलाई बताएका छन्।
काठमाण्डूबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्याइने मन्त्रालयका प्रवक्ताले बताए।
"दिउँसो २:३० बजे शव आइपुग्ने गरी व्यवस्थापन गरिएको छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले विमानस्थल नै गएर विपिनप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ," मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।
"त्यसपछि नेपाली सेनाको संयोजनमा विपिनको शवलाई उनको गृहनगरमा पठाइने छ।"
विपिन जोशीको घर कञ्चनपुरस्थित भीमदत्त नगरपालिका-३ विचपुरी माल्लिकार्जुन टोलमा रहेको छ।
मङ्गलवार अन्तिम संस्कार
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट नेपाल फर्केपछि इजरेलबाट शव नेपाल आइपुग्ने गरी प्रक्रिया थालिएको थियो।
विपिनका ठूलोबुवाका छोरो किशोर जोशीका अनुसार उनका काकी पद्मा र बहिनी पुष्पा घर फर्किसकेका छन्।
"सोमवार नै अन्तिम संस्कार भ्याइन्छ जस्तो देखिँदैन। काठमाण्डूमा पनि उहाँहरू [नेपाल सरकार] ले श्रद्धाञ्जलि कार्यक्रम गर्ने भन्नुभएको छ। त्यसैले मङ्गलवार अन्तिम संस्कार गर्छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

किशोरका अनुसार गाउँमै महाकाली नदी किनारमा विपिनको दाहसंस्कार गरिने छ।
इजरेली सेनाले विपिन जोशीको मृत्युबारे उनकी बहिनी पुष्पा र ठूलोबुवाका छोरा किशोर जोशीसँगै नेपाली राजदूत धनप्रसाद पण्डितलाई सामूहिक कलमार्फत् गत सोमवार बिहान जानकारी गराएको थियो।
मृतकमध्ये विपिनको शव रहे वा नरहेको अन्योलबीच गत सोमवार राति नै हमास समूहले विपिनसहित चार जनाका शव बुझाएको थियो।
इजरेलमा श्रद्धाञ्जलि कार्यक्रम
विपिन जोशीको शव नेपाल पठाइनुअघि इजरेलमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो।
बेन गुरिओन विमानस्थलमा आयोजना गरिएको कार्यक्रममा इजरेली सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली राजदूतावासका अधिकारी, इजरेलमा कार्यरत नेपाली र हमास समूहद्वारा बन्धक बनाइएका व्यक्तिका परिवारका प्रतिनिधिहरूसहितको उपस्थिति थियो।
समाचार संस्था रोयटर्सका अनुसार त्यहाँ उपस्थित अधिकारीहरूले 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरेल गएका विपिनप्रति सम्मान व्यक्त गर्दै उनलाई बचाउन नसकेकोमा दु:ख व्यक्त गरेका थिए।
इजरेल पुगेको तीन साता नबित्दै सन् २०२३ को अक्टोबर ७ मा हमास समूहको भीषण हमलाका क्रममा बन्धक बनाइएका विपिन जोशीको भिडिओ सार्वजनिक भएपछि उनी जीवितै रहेको आस परिवारजनले अन्तिम समयसम्म गरेका थिए।

तस्बिर स्रोत, Reuters
पहिला के भएको थियो?
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी पनि मारिएका थिए।
अधिकारीहरूका अनुसार त्यति बेला पनि इजरेल सरकारले नै सबै शवहरू नेपाल पठाइदिएको थियो।
शवहरू बुझ्न मृतकका परिवारका सदस्यहरूसँगै तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदका साथै नेपालका लागि इजरेलका तत्कालीन राजदूत हनान गोदर काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
त्यहाँबाट शवहरू विभिन्न जिल्ला लगेर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको थियो।
अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।
कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए।
गत साता बीबीसीलाई दिएको एउटा अन्तर्वार्तामा विपिनका एकजना साथीले हमास समूहले आफूहरू बसेको बङ्करमा ग्रिनेड प्रहार गरेको र त्यसमध्ये एउटा विपिनले टिपेर बाहिर फ्यालिदिएका कारणले आफूहरू बाँच्न सफल भएको बताएका थिए।
"हमासले बङ्करभित्र फ्यालेको दुई ग्रिनेडमध्ये एउटा विस्फोट भएको थियो, जसका कारण म घाइते भए। सायद त्यहाँ दुइटै पड्किएको भए म पनि यसरी बोलिरहेको हुन्थिनँ। उसले गर्दा नै हामी बाँचेको जस्तो लाग्छ। उसले साहस देखाएर बमबाहिर फ्याल्यो," टीकापुरबाट धनबहादुर चौधरीले भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








