तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने एक्जिट पोलका प्रक्षेपण, मतगणना कहिले
भारतमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनसक्ने मतदान सम्पन्न भएपछिका प्रारम्भिक मत सर्वेक्षण अर्थात एक्जिट पोलहरूले देखाएका छन्।
विश्लेषकहरूले भने विभिन्न समाचार संस्थाहरूले गर्ने एक्जिट पोल विगतमा प्राय: गलत र निष्पक्ष नभएको पाइएको चेतावनी दिएका छन्।
यद्यपि तिनका सर्वेक्षणले आमनिर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) अगाडी रहेको देखाएको छ।
भाजपा, मुख्य विपक्षी दल कङ्ग्रेस पार्टी र क्षेत्रीय विपक्षी दलहरू सात चरणको चुनावका लागि चर्का अभियान चलाएका थिए।
जुन ४ तारिखमा चुनावी नतिजा सार्वजनिक हुनेछ।
कुनै एक दल वा गठबन्धनलाई सरकार बनाउनका लागि तल्लो संसद लोकसभामा २७२ सीट आवश्यक पर्छ।
भाजपा नेतृत्वको गठबन्धन न्याश्नल डेमोक्र्याटिक अलायन्स (एनडिए)ले उक्त बहुमत सीट पुर्याउने एक्जिट पोलहरूले जनाएका छन्। पोलहरूमा एनडिएले सदनमा झण्डै दुई तिहाई सीट पुर्याउने प्रक्षेपण गरेका छन्।
मतदान सकिएपछिको आफ्नो पहिलो प्रतिक्रियामा मोदीले एक्जिट पोलहरूको उल्लेखबिनै जित दाबी गरेका छन्।
आफ्नो दाबीको आधार प्रस्तुत नगरिकन उनले एक्समा लेखे: "म आत्मविश्वासका साथ भन्न सक्छु कि भारतका मानिसहरूले एनडिए सरकारलाई पुर्ननिर्वाचित गर्ने कीर्तिमानी सङ्ख्यामा मतदान गरेका छन्।"
विपक्षीले भारतमा निकै अविश्वसनीय हुने एक्जिट पोलका नतिजालाई खारेज गर्दै भाजपा सरकारले प्रतिद्वन्द्वीहरूलाई मौन बनाएको र उनीहरूलाई समान प्रतिष्पर्धाको मौका दिन अस्वीकार गरेको आरोप लगाएको छ।
एक्जिट पोलहरूले के भनेका छन्?
यस चुनावमा प्रधानमन्त्री मोदी प्रचण्ड लोकप्रियताका साथ आए तापनि उनको मुख्य प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कङ्ग्रेसका नेता राहुल गान्धी र विपक्षी दलहरूको गठबन्धनले आफ्नो लामो चुनावी अभियानका बेला उल्लेख्य माहोल बनाउन सकेको थियो।
यतिखेर छवटा एक्जिट पोलको औसत हेर्दा भाजपा नेतृत्वको एनडिएले ठूलो जित हासिल गर्ने देखिएको छ। तर त्यस्ता सर्वेक्षणहरू सधै भरपर्दा हुँदैनन्।
उनीहरूका छुट्टाछुट्टै प्रक्षेपण भिन्नभिन्न भए तापनि एनडिएले ३५५ देखि ३८० बीचमा सीट जित्ने अनुमान गरिएको छ।
विपक्षीहरूको 'इन्डियन न्याश्नल डेभलप्मन इन्क्लुसिभ अलायन्स' (इन्डिया)' नाम दिइएको गठबन्धनले १२५ देखि १६५ सीट बीचमा नतिजा ल्याउने ठानिएको रोयटर्स समाचार संस्थाले जनाएको छ।
आफ्नै आकलनमा भने भाजपाले झण्डै ३२७ सीट जित्न सक्छ जुन यसअघि उसले राखेको लक्ष्य ३७० भन्दा कम हो।
सन् २०१९ को चुनावमा भाजपाले ३०३ सिट जितेको थियो।
भाजपाले बनाएको गठबन्धन 'न्याश्नल डेमोक्र्याटिक अलायन्स'मा रहेका दलहरूले कुल ३५२ सीट जितेका थिए।
विशाल निर्वाचन
भारतको निर्वाचन प्रक्रिया लामो, विशिष्ट र रोमाञ्चक रहने कैयौँले बताउने गरेको पाइन्छ।
त्यहाँ योग्य मतदाताको सङ्ख्या नै ९६ करोड ९० लाख रहेको छ जुन संसारकै सबैभन्दा ठूलो सङ्ख्या हो।
निर्वाचनका लागि १५ लाख मतदान केन्द्र स्थापना र ५५ लाख विद्युतीय भोटिङ मसिन जडान गरिएका थिए।
निर्वाचन आयोगले १ करोड ५० लाख निर्वाचन र सुरक्षा अधिकारीलाई तालिम दिएर खटाइएको र उनीहरूको आवतजावतका लागि ४ लाख सवारी साधन प्रयोग गरिएको जनाएको थियो।
भारत संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। त्यहाँका २८ राज्य र ८ केन्द्र शासित भूभागहरूका प्रत्येक योग्य मतदाताले भोट खसाल्ने अवसर पाउँछन्।
यो अभ्यास डेढ महिनासम्म चलेको थियो।
साना राज्यहरू र सङ्घले शासन गरिरहेका भूभागमा एक दिनमै मतदान सम्पन्न भएको थियो भने कतिपय ठूला राज्यहरूमा दुईदेखि चार दिनसम्म मतदान चलेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।