लुम्बिनी प्रदेशमा कतिपय प्रभावशाली नेता यस कारण सांसद चुनिने छैनन्

लुम्बिनी प्रदेश
    • Author, फणीन्द्र दाहाल, माधव नेपाल
    • Role, बीबीसी न्यूज नेपाली, बुटवल

राष्ट्रिय राजनीतिमा लामो समययता प्रभावशाली भूमिकामा देखिएका कतिपय नेताबीचको प्रतिस्पर्धाका कारण लुम्बिनी प्रदेशका कैयौँ क्षेत्रमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन रोचक देखिएको छ।

किनकि आपसमा भिडेका तीमध्ये एक जना मात्रै संसद् छिर्न पाउनेछन्।

चुनावी प्रचार अभियान जारी रहँदा उम्मेदवारहरू घर दैलो अभियान र शुभेच्छुकको भेला आयोजना गरेर भोट माग्न व्यस्त छन्।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधिसभातर्फ ३४६ र प्रदेशसभातर्फ ४९५ उम्मेदवार छन्।

साढे ३२ लाख मतदातामध्ये अधिकांश ४० वर्ष भन्दा कम उमेरका छन्।

कूल मतदाता मध्ये आधा भन्दा थोरै कम महिला मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।

पहिले आफूले सघाएकासँग भिडिरहेका गृहमन्त्री

मत माग्दै गृहमन्त्री

तस्बिर स्रोत, Balkrishna Khand Secretariat

गृहमन्त्री बालकृष्ण खाण अघिल्लो चुनावमा आफ्नो दलले सघाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरासँग रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मध्ये एक ठानिने खाण यसअघि समानुपातिक प्रणालीबाट सांसद बने। गृहमन्त्री बन्नु अघिसम्म उनी कांग्रेसको प्रमुख सचेतक समेत थिए।

बोहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले साथ दिने घोषणा गरेका छन्।

स्थानीय चुनावमा उक्त क्षेत्र अन्तर्गत पर्ने ठाउँहरूबाट पाँच दलीय गठबन्धन भन्दा एमाले, जसपा र राप्रपाले बढी मत ल्याएका थिए।

गृहमन्त्री खाणले घरदैलो कार्यक्रमदेखि विभिन्न पेसागत र व्यवसायीहरूका भेलाहरूमा सम्बोधन गरिरहेका छन्।

अघिल्लो संसदीय चुनावमा एमाले र माओवादीले मिलेर निर्वाचन लड्ने निर्णय गरेपछि बोहरालाई समर्थन गर्नुपरेको उनले बताए।

त्यस बेलाको परिस्थितिलाई ‘सार्थक प्रयास’ को रूपमा चित्रण गरेका उनी अहिले राप्रपाप्रति नरम सुनिँदैनन्।

उनले भने, “त्यतिखेर राप्रपाले संविधान पनि मानेको थियो। अहिले त्यसका नेताहरूले संविधानका मूल अवधारणाहरूमा नै असन्तुष्टि जनाउनुभएको छ र सकेको दिन यो संविधान उल्टाउँछौँ भन्नुभएको छ। संविधान उल्टाउने विचार राख्नेसँग अहिले हाम्रो सहकार्य हुँदैन।”

दीपक बोहरा पटक पटक मन्त्री भइसकेका छन्

तस्बिर स्रोत, Deepak Bohara/Facebook

अस्वस्थ रहेका बोहराको चुनावी अभियानको नेतृत्व पूर्व गृह राज्यमन्त्री निरञ्जन थापाले गरिरहेका छन्।

जनताको जीवनस्तर उकास्ने र लुम्बिनी केन्द्रित पर्यटनका योजनालाई अघि बढाउने प्रतिबद्धता दुवै उम्मेदवारले गरेका छन्।

७२ वर्षका बोहराले अन्तिम पटक चुनाव लडिरहेको घोषणा गर्दै आएका छन्।

पञ्चायत कालदेखि गणतन्त्रसम्म मन्त्री भइसकेका बोहरा र खाणमध्ये एक जनालाई मात्रै अबको संसद्‌मा देख्न पाइनेछ।

एमाले नेता पौडेल ‘भाग्यमानी’ ठहरिएलान्?

विष्णु पौडेल

तस्बिर स्रोत, Madhav Nepal

२०६२/२०६३ को परिवर्तनपछि रुपन्देहीबाट निरन्तर संविधानसभा र प्रतिनिधिसभामा निर्वाचित भएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई यस पटक कतिपयले ‘भाग्यमानी’ उम्मेदवार भनिरहेका छन्।

सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ सहित तीन जनाको उम्मेदवारी निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै खारेज गरेको छ।

त्यो निर्णयपछि पौडेलबाहेक स्वतन्त्र र साना दलका एक दर्जन जति उम्मेदवार उक्त क्षेत्रमा प्रतिस्पर्धामा छन्।

बुटवलस्थित उनी बसिरहेको घरमा साँझ अबेरसम्म पनि कार्यकर्ता र शुभेच्छुकको चहलपहल देखिन्छ।

तीन महिनादेखि चुनावमा केन्द्रित रहेका पौडेलले संसदीय निर्वाचनमा जीत र हार दुवैको अनुभव आफूसँग रहेको भन्दै मतदाताबाट निरन्तर साथ पाउने अपेक्षा राखेको बताए।

२०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पाबाट पहिलो पटक संसद्मा निर्वाचित भएका उनी २०५६ सालको चुनावमा पराजित भएका थिए।

दोस्रो संविधानसभा चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका पौडेल वाम गठबन्धनले चुनावमा लगभग दुई तिहाइ हासिल गरेसँगै नेकपा गठन हुँदा दलको महासचिव बनेका थिए।

तर पछिल्लो एमाले महाधिवेशनबाट उपाध्यक्ष बनेका उनी सहितका यो क्षेत्रका एमाले उम्मेदवारहरूले तत्कालीन नेकपाको सरकारसँग जोडिएका अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गर्नु परिरहेको छ।

त्यस्ता आरोप लगाउनेहरूले पुष्टि गरेर देखाउनुपर्ने जवाफ बीबीसीलाई दिएका पौडेलले आफूले कुनै दबाव महसुस नगरेको बताए।

पौडेललाई पराजित गर्नका लागि सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गरेको छ।

चुनावी प्रतिष्पर्धा

तस्बिर स्रोत, Madhav Nepal

एउटै पार्टीका पूर्व सहकर्मीबीचको भिडन्त

सडक
तस्बिरको क्याप्शन, सडकको स्तरोन्नति जस्ता प्रतिबद्धता नेताहरूले गरेका छन्

केपी ओलीका चर्को आलोचक रहेकै कारण टिकट नपाएका भनिएका एमालेका पूर्व नेता घनश्याम भुसाल नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मासँग चुनावी मैदानमा भिडेका छन्।

अघिल्लो संसदीय चुनावमा विश्वकर्माले रुपन्देही क्षेत्र नम्बर १ मा कांग्रेसका प्रतिद्वन्द्वीलाई करिब आठ हजार मतले हराएका थिए।

त्यस बेला माओवादी केन्द्रको पनि समर्थन पाएका विश्वकर्माले यस पटक सत्तारुढ पाँच दलीय गठबन्धनले समर्थन जनाएका भुसालको सामना गरिरहेका छन्।

यसअघिको चुनावमा भुसालले रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेसले समर्थन गरेका राप्रपा उम्मेदवार बोहरालाई पराजित गरेका थिए।

अहिले आफ्नो निवास समेत रहेको क्षेत्रमा चुनाव लडिरहेको भन्दै त्यसका कारण चुनावी सफलता मिल्नेमा उनी आशावादी देखिन्छन्।

एउटै पार्टीका पूर्व नेताहरूको भिडन्त यो प्रदेशका अन्य जिल्लाहरूमा पनि छ।

गुल्मी क्षेत्र नम्बर २ मा एमाले नेता गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री चुनावी मैदानमा छन्।

विगतमा एउटै दल एमालेमा रहेका शान्ता चौधरी, मेटमणि चौधरी र गङ्गा चौधरी सत्गौवा दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार छन्।

नेकपा एमालेका ठाकुर गैरे र नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नम्बर २ मा प्रतिस्पर्धामा गरिरहेका छन्।

परम्परागत प्रतिद्वन्द्वीबीच भिडन्तको निरन्तरता

गुल्मी क्षेत्र नम्बर १ मा भइरहेको कांग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धाप्रति पनि धेरैको चासो पाइन्छ।

यसअघि तीन पटक यी दुई नेता चुनावमा आमुन्नेसामुन्ने हुँदा दुई पटक ज्ञवालीले जितेका थिए।

पछिल्लो संसदीय चुनावमा ज्ञवालीले साढे सात हजार मत अन्तरले भण्डारीलाई पराजित गरेका थिए।

प्रदीप ज्ञवाली

तस्बिर स्रोत, RSS

पूर्व मन्त्री र निवर्तमान उपसभामुखबीच भिडन्त

पुष्पा भुसाल उपसभामुख निर्वाचित भएकी थिइन

तस्बिर स्रोत, RSS

नेकपा विघटनपछि नेकपा एमालेमै रहेका पूर्व मन्त्री तथा पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख पुष्पा भुसालबीच अर्घाखाँचीमा प्रतिस्पर्धा भइरहेको छ।

त्यहाँ दुई वटा संविधानसभा निर्वाचन र पछिल्लो संसदीय चुनावमा माओवादी केन्द्रका रायमाझी विजयी भएका थिए।

एमालेका सचिव रहेका रायमाझीले अघिल्लो निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीभन्दा १८ हजार भन्दा बढी मत ल्याएका थिए।

हाल रायमाझीलाई चुनौती दिइरहेकी भुसाल अर्घाखाँची क्षेत्र नम्बर २ बाट पहिलो संविधानसभा चुनावमा विजयी भएकी थिइन्।

अघिल्लो संसद्मा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी उनी कांग्रेसको सचेतक र पछि प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन्।

दाङमा महराको बहिर्गमनसँगै नयाँ प्रतिस्पर्धा

यस पटक दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र माओवादी केन्द्रकी रेखा शर्माबीच प्रतिस्पर्धा भइरहेको छ।

विगतमा दाङ हाल चुनावी प्रतिस्पर्धामा नरहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको पकड रहेको जिल्ला मानिन्छ।

यसपालि सत्ता गठबन्धन शर्माको पक्षमा उभिएको छ।

पहिलो संविधानसभा चुनावमा दाङका पाँच वटै क्षेत्रमा तत्कालीन नेकपा माओवादीले जितेको थियो।

दोस्रो संविधानसभामा आइपुग्दा सबै सिट कांग्रेसको पोल्टामा पुगे पनि पछिल्लो संसदीय चुनावमा दाङका दुई क्षेत्र एमालेले र एउटा माओवादी केन्द्रले जितेका थिए।

डलर अर्बपति र त्रिपाठीबीचको प्रतिस्पर्धा

नवलपरासीबाट चार पटक संसदीय निर्वाचन जितेका जनता प्रगतिशील पार्टी नेपालका नेता हृदयेश त्रिपाठी र नेपालका एक मात्र डलर अरबपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन्।

त्रिपाठीसँग भिडेर उक्त क्षेत्रमा सक्रियताका साथ अभियान चलाइरहेका चौधरी पहिलो पटक प्रत्यक्ष चुनाव लडेर निर्वाचित हुने कोसिसमा छन्।

यसअघि उनलाई नेकपा एमालेले पहिलो संविधानसभामा पुर्‍याएको थियो।

पछिल्लो संसदीय चुनावमा उनी समानुपातिक प्रणाली अन्तर्गत नेपाली कांग्रेसबाट संसद् बनेका थिए।

अघिल्लो चुनावमा नेकपा एमालेको सूर्य चिन्ह लिएर लडेका त्रिपाठीले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा पाँच हजार मत बढी ल्याएका थिए।

चुनावी प्रचारमा मोटरसाइकल चढेर आफूलाई अरू उम्मेदवार भन्दा अझै सामान्य व्यक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको देखिएका चौधरी र संसदीय राजनीतिका पुराना खेलाडी त्रिपाठीबीचको प्रतिस्पर्धा रोचक देखिन्छ।

डलर अर्बपति विनोद चौधरी