प्रदेशसभा निर्वाचन: लुम्बिनीले मुख्यमन्त्रीमा नयाँ अनुहार पाउने

सङ्घीयताको अभ्यास सुरु भएको दोस्रो कार्यकालमै लुम्बिनी प्रदेशले मुख्य मन्त्रीमा नयाँ अनुहार पाउने भएको छ।
यसअघिको पहिलो कार्यकालमा एमाले नेता शङ्कर पोखरेल र माओवादी नेता कुलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व गरेकोमा यी दुवै नेता अहिले मुख्यमन्त्रीको प्रतिस्पर्धाबाट चुनाव अघि नै बाहिरिएका छन्।
करिब तीन वर्ष एमाले नेता शङ्कर पोखरेल र त्यस पछि माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेकोमा लुम्बिनीको अबको प्रदेशसभामा यी दुवै नेता देखिने छैनन्।
एमाले नेता पोखरेल प्रतिनिधिसभाको लागि दाङ जिल्लाबाट उम्मेदवार बनेका छन् भने केसीले यस पटक कुनै पनि क्षेत्रबाट टिकट पाएनन्।
भित्री तयारी
यी दुवै नेता बाहिरिएपछि लुम्बिनीको अबको मुख्यमन्त्रीलाई लिएर नेताहरूले भित्रै भित्र तयारी गरेको पाइए पनि भावी मुख्यमन्त्री भनेर कुनै पनि दलले औपचारिक रूपमा आजसम्म मुख भने खोलेका छैनन्।
तर अनौपचारिक रूपमा भने नेताहरूले आआफ्नो तरिकाबाट चाहना व्यक्त गर्ने गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताए।
"साथीहरूले चाहना राख्नु स्वाभाविक हो। मैले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदार ठानेको छु," पुनले भने।
"तर त्यसका लागि पहिले चुनाव जित्नु पर्यो, चुनाव जितेपछि संसदीय दलले जसको पक्षमा निर्णय दिन्छ उही बन्ने हो।"

तस्बिर स्रोत, RSS
नेकपा एमालेले पनि मुख्यमन्त्रीको बारेमा निर्णय नगरिसकेको सो पार्टीका प्रदेश कमिटिका अध्यक्ष राधाकृष्ण कँडेलले बताए।
"यसको निर्णय चुनावको नतिजा पछि मात्र हुन्छ," उनले भने।
अहिले नेपाली कांग्रेसमा मुख्यमन्त्रीको लागि पुन सहित वीरेन्द्र कनौडिया, डिल्ली चौधरी, अब्दुल रज्जाक लगायतको नाम चर्चामा छ भने एमालेमा भोजप्रसाद श्रेष्ठ, लीला गिरि, घनश्याम पाण्डे लगायतको नाम चर्चामा छ।
त्यस्तै माओवादी केन्द्रबाट सुदर्शन बरालको नाम चर्चामा छ।
लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्यहरू छन्।








