यो वर्ष 'कम जाडो हुने', मनसुन लम्बिँदा कस्तो असर

- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
यस वर्षको हिउँद याममा तापक्रम बढ्न सक्ने पूर्वानुमान गरेका अधिकारीहरूले आगामी तीन महिनामा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले अक्टोबरदेखि डिसेम्बर महिनासम्मको मौसमको प्रक्षेपण गरेको छ। उक्त प्रक्षेपणअनुसार अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने छ।
गत वर्ष पनि नेपालभरि वार्षिक औसतभन्दा बढी अधिकतम र न्यूनतम तापक्रम मापन गरिएको थियो। अधिकारीहरूले जलवायु परिवर्तनका कारण यस्तो प्रवृत्तिले निरन्तरता पाइरहेको जनाएका छन्।
अधिकारीहरूका अनुसार यस वर्षको मनसुन बहिर्गमन हुने समय लम्बिएकाले असोज १५ गतेदेखि पुस १६ सम्म सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको हो।

कस्तो प्रक्षेपण सार्वजनिक भएको छ?
यो प्रक्षेपणका अनुसार नेपालका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ।
विभागले निकालेको सूचनाअनुसार कोशी प्रदेशको उत्तरी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती प्रदेशको पूर्वी र दक्षिणी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
कोशी प्रदेशको मध्यभूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशको उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
न्यूनतम तापक्रमको आकलन गर्दै विभागले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।
कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको मध्यभूभाग, गण्डकी प्रदेशका मध्य तथा पश्चिम भूभाग, गण्डकी प्रदेशको मध्य तथा उत्तरी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

गत वर्ष नेपालमा औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सिअस थियो जुन वार्षिक अधिकतम तापक्रम भन्दा ०.६ सेल्सिअसले बढी हो।
औसत न्यूनतम तापक्रम चाहिँ १५.६ सेल्सिअस रह्यो जुन वार्षिक सामान्य न्यूनतम तापक्रमभन्दा ०.५ प्रतिशतले बढी थियो।
गत वर्ष १,५७०.४ मिलिमिटर वर्षा भएको थियो। गत वर्ष डिसेम्बरदेखि फेब्रुअरीसम्मको अवधिमा औसतभन्दा कम वर्षा भएको थियो भने देशको अधिकांश भूभागमा पानी नपर्दा चरम सुक्खा अनुभव गरिएको अधिकारीहरूले बताएका थिए।
अहिले ती महिनामा हुने वर्षाको प्रक्षेपण गरिएको छैन। तर आगामी डिसेम्बर महिनासम्म देशभरि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
लुम्बिनी प्रदेशका पूर्वी भूभाग, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश भूभाग र मधेश प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहको जनाइएको छ।
बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखी ४५ प्रतिशत रहेको जनाइएको छ।
मनसुन लम्बिँदा कस्तो प्रभाव
नेपालमा साधरणतया अक्टोबर २ मा मनसुन अन्त्य हुन्छ। तर यो वर्ष मनसुन लम्बिने सङ्केत अधिकारीहरूले यसअघि नै दिएका थिए।
गत वर्ष जुन १४ मा नेपाल प्रवेश गरेको मनसुन अक्टोबर १५ मा बाहिरिएको घोषणा गरिएको थियो।
अक्टोबर ६ तारिखमा मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका थोरै स्थानबाट बाहिरिएको अधिकारीहरूले बताएका छन्।
मनसुनी वायु कमजोर हुँदै गएको भन्दै अधिकारीहरूले केही दिनमै अन्य स्थानबाट पनि मनसुन बाहिरिने जनाएका थिए।

तस्बिर स्रोत, RSS
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले तापक्रम वृद्धि हुने भए पनि यो अवधिमा उल्लेख्य परिमाणमा वर्षा नहुने बताइन्।
“मनसुन बहिर्गमन हुने मिति जुन पछिपछि धकेलिएको छ, यसले गर्दा वर्षा तानिएको हो। पूर्व र मध्यनेपालमा त्यो हुने देखिएको छ। कहिलेकाहीँ बङ्गालको खाडी वा अरब सागरमा बन्ने चक्रवातका कारण पनि यस्तो हुन्छ।”
तीन महिनामा अधिकतम र न्यूनतम तापक्रम दुवै वृद्धि हुने भएकाले त्यसको असर देखिने उनले बताइन्।
“जाडो यामको तापक्रम अलिकति बढ्ने नै देखिएको छ। जस्तो हामी माइनसतिर जाने भन्छौँ नि, त्यो अवस्था देखिँदैन।”
उनले आफूहरूले सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीहरूलाई ‘ध्यान दिएर’ नै अहिलेको प्रक्षेपण गरेको जानकारी दिइन्।
विभागले निकालेको सूचनामा पूर्वी प्रशान्त महासगरमा विकसित हुने एन्सो (एल निन्यो एन्ड सदर्न असिलेशन), हिन्द महासागरमा विकसित हुने द्विध्रुवीय प्रणालीको अवस्थालाई समेत विचार गरिएको जनाएको छ।

अहिले प्रशान्त महासागरमा एन्सो "तटस्थ अवस्था" मा रहेको र डिसेम्बरसम्ममा ला निन्याको अवस्था देखा पर्ने विज्ञहरू बताउँछन्। एल निन्यो र ला निन्या भनेका जलवायु प्रणाली एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) का भिन्नभिन्न अवस्था हुन्।
एल निन्यो भनेको एउटा जलवायु प्रणाली हो जुन पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर हुन्छ।
यो अवस्था हुँदा पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुन्छ।
एल निन्यो हुँदा नेपालमा बर्खा याममा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने हुन्छ।
एल निन्योको अवस्थाले वायुको दिशा र शक्ति दुवैलाई प्रभाव पार्दा औसतभन्दा कम पानी पर्ने विज्ञहरू बताउँछन्।
भूमध्यरेखीय पूर्वी अथवा मध्य प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम हुनुलाई नै ला निन्याको अवस्था भनिन्छ।
ला निन्या हुँदा भने नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ र तापक्रम कम रहन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








