बिजुली नबेच्ने भारतीय अडानी समूहको चेतावनीपछि धमाधम बक्यौता तिर्दै बाङ्ग्लादेश

    • Author, अर्चना शुक्ला
    • Role, बीबीसी न्यूज, मुम्बई

भारतको अडानी पावरले बाङ्ग्लादेशसँग ८० करोड अमेरिकी डलर लिन बाँकी रहेको भन्दै विद्युत् आपूर्ति आधाले कटौती गरेपछि ढाकाले भुक्तानीमा तीव्रता दिएको छ।

दुई वरिष्ठ सरकारी अधिकारीहरूले बीबीसीसँग कुरा गर्दै अडानीलाई भुक्तानी दिने प्रक्रिया अगाडि बढाइसकेको बताएका छन्।

यो भारतीय समूहले बाङ्ग्लादेशले उपभोग गर्ने बिजुलीको १० प्रतिशत हिस्सा आपूर्ति गर्छ।

“हामीले भुक्तानीमा रहेका अवरोधहरू सम्बोधन गरेका छौँ र अडानी समूहलाई १७ करोड अमेरिकी डलरको 'लेटर अफ क्रेडिट' जारी गरिसकेका छौँ,” बाङ्ग्लादेश पावर डिभेलप्मन्ट बोर्डका एक वरिष्ठ अधिकारीले बीबीसीलाई भने।

अडानीले पूर्वी भारतमा रहेको कोइलामा आधारित प्लान्टबाट बाङ्ग्लादेशलाई १,६०० मेगावाट ऊर्जा निर्यात गर्ने गर्छ।

सो कम्पनीले नियमित विद्युत् अभाव खेपिरहेको बाङ्ग्लादेशमा विद्युत् कटौती गरिएको सम्बन्धमा बीबीसीका प्रश्नको जबाफ दिएको छैन।

भारतीय कम्पनीको 'चेतावनी'

बाङ्ग्लादेशी अधिकारीहरूका अनुसार उक्त भारतीय कम्पनीले नोभेम्बर ७ तारिखसम्म बक्यौता रकम नतिरेमा सम्पूर्ण निर्यात रोक्ने चेतावनी दिएको थियो।

तर बाङ्ग्लादेश पावर डिभेलप्मन्ट बोर्डका अधिकारीहरू आफूहरूले "पूरै आपूर्ति रोकिने अवस्था आइपुग्ने नठानेको" बताउँछन्।

बाङ्ग्लादेशका अधिकारीहरू बीबीसीसँग कुरा गर्दै क्रमबद्ध र नियमित रूपमा बक्यौता चुक्ता गर्दै भुक्तानी सङ्कट समाधान गर्न सक्नेमा आफूहरू विश्वस्त रहेको बताउँछन्।

अन्तरिम सरकारका ऊर्जा सल्लाहकार फोउजुल कबिर खानले भने, “हामीले भुक्तानी दिने क्रममा तीव्रता दिँदादिँदै पनि आपूर्ति कटौती गरिनुले हामी अचम्भीत र आश्चर्यचकित छौँ। हामी भुक्तानी गर्न र वैकल्पिक व्यवस्था गर्न तयार छौँ तर कुनै पनि ऊर्जा उत्पादकले हामीलाई बन्धक बनाउन वा ब्ल्याकमेल गर्न दिने छैनौँ।”

बाङ्ग्लादेशले जुलाई महिनामा ३.५ करोड अमेरिकी डलर, सेप्टेम्बरमा ६.८ करोड अमेरिकी डलर र अक्टोबरमा ९.७ करोड अमेरिकी डलर भुक्तानी गरेको उनले बताए।

बाङ्ग्लादेश यसअघिदेखि नै ग्रामीण भेगमा बढ्दो ऊर्जा अभावको सामना गरिरहेको छ।

राजनीतिक उथलपुथल

बाङ्ग्लादेश विद्युत्, कोइला र तेलजस्ता महँगा अत्यावश्यक आयातका लागि डलर आर्जन गर्न सङ्घर्ष गरिरहेको छ।

त्यहाँ गत अगस्ट महिनामा शेख हसिनाको सरकारलाई भङ्ग गराउने गरी भएको महिनौँको विद्यार्थी नेतृत्वको आन्दोलनले विदेशी मुद्राको सञ्चय खस्किएको छ।

हसिनालाई विस्थापित गरेको अन्तरिम सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग पहिल्यै रहेको ४.७ अर्ब अमेरिकी डलरको आर्थिक सहायता सम्बन्धी 'बेलआउट प्याकेज'बाहेक थप ३ अर्ब डलरको ऋण मागेको छ।

सन २०१५ को अडानी समूह र बाङ्ग्लादेशबीचको ऊर्जा सम्झौता शेख हसिनाको नेतृत्वमा भएको थियो। त्यसलाई वर्तमान अन्तरिम सरकारले "अपारदर्शी" बताउने गरेको छ।

एक राष्ट्रिय समितिले हाल ११ वटा यसअघिका सम्झौताको पुनर्मुल्याङ्कन गर्दै छ। त्यसमा अडानीसँगको यस सम्झौता समेत छ, जुन प्रायजसो "महँगो" भनेर आलोचित हुने गरेको छ।

अडानी पावरबाहेक भारतीय सरकारको स्वामित्व भएका एनटीपीसी लिमिटेड र पीटिसी इन्डिया लिमिटेडजस्ता कम्पनीहरूले समेत बाङ्ग्लादेशलाई ऊर्जा बिक्री गर्छन्।

बाङ्ग्लादेशको पावर डिभलप्मन्ट बोर्डका अधिकारीहरूले अन्य भारतीय ऊर्जा निर्यातकर्तालाई दिनुपर्ने बक्यौताको समेत आंशिक भुक्तानी हुँदै गरेको पुष्टि गरेका छन्।

बाङ्ग्लादेशको ऊर्जा सङ्कट

बाङ्ग्लादेशले कमी भइरहेको ऊर्जा अभावसँग जुझ्न ग्यास र तेलमा आधारित केही ऊर्जा कम्पनीलाई पुन: सञ्चालनमा ल्याउँदै छ। तर विज्ञहरूले त्यसले ऊर्जाको भाउ बढाउने बताएका छन्।

अहिले हिउँद आउन लागिरहेका बेला एअर कन्डिश्नरहरू नचल्ने भएकाले ग्रिडमा ऊर्जाको माग सहज हुने अपेक्षा गरिएको छ।

ऊर्जाविज्ञ तथा सेवानिवृत्त प्राध्यापक डा. अजज होसैन भन्छन्, “कोइलामा निर्भर अन्य प्लान्टहरू आधा क्षमतामा चलिरहेका छन् र डलर सङ्कटका कारण देशले पर्याप्त कोइला किन्न सकिरहेको छैन। त्यसैले अडानीबाट पहिल्यै कायम रहेको ऊर्जा आपूर्ति कायम राख्नु महत्त्वपूर्ण छ। यो स्थानीय उत्पादकका तुलनामा केही बढी महँगो हो, तर यो महत्त्वपूर्ण आपूर्ति हो।”

आफ्नो ऊर्जाको मिश्रणमा विविधता ल्याउन भन्दै बाङ्ग्लादेशले डिसेम्बर महिनामा आफ्नो पहिलो परमाणु ऊर्जा केन्द्र अगाडि बढाउने योजना बनाएको छ।

रुसी सहायतामा बनाइएको यस पूर्वाधारको लागत १२.६५ अर्ब अमेरिकी डलर रहेको छ। त्यो धेरैजसो लामो अवधिको लागि दिइने रुसी ऋणमा भर परेर निर्माण गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।