तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल, भारत, बाङ्ग्लादेश विद्युत् व्यापारको आर्थिक र कूटनीतिक महत्त्व के छ?
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशमा विक्री गर्ने सम्झौतामा नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूले हस्ताक्षर गरेसँगै अधिकारीहरूले दक्षिण एशियामा क्षेत्रीय ऊर्जा व्यापारको ढोका खोलेको उक्त सहमति यसै वर्षबाट कार्यान्वयन गरिने बताएका छन्।
नेपालमा अघिल्लो सप्ताहान्तको भीषण वर्षाले निम्त्याएको बाढी पहिरोले विद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएका विवरणका माझ लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौतामा तीन देशका अधिकारीहरूले हस्ताक्षर गरेका छन्।
सुरुमा झन्डै १ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा नोक्सान भएको बताएका अधिकारीहरूले अहिले धेरै वटा आयोजनाहरू पुन: सञ्चालनमा आएको उल्लेख गरेका छन्।
बाङ्ग्लादेशमा राजनीतिक उथलपुथल हुनुअघि नै तीन देशका अधिकारीहरूले सो सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका थिए तर उक्त घटनाक्रमले त्यसमा केही विलम्ब भएको थियो।
नेपालको नेपाल विद्युत् प्राधिकरण, भारतको एनपीटीसी विद्युत् व्यापार निगम र बाङ्ग्लादेशको बाङ्ग्लादेश पावर डेभलप्मेन्ट बोर्डबीच भएको उक्त सम्झौताको हस्ताक्षर समारोहमा बाङ्ग्लादेशकी वातावरण, वन तथा जलवायु सल्लाहकार सैयदा रिजवाना हसनले पनि सहभागिता जनाएकी थिइन्।
ऐतिहासिक सम्झौता
जलस्रोतमा अपार सम्भावना भएको देशका रूपमा चित्रण गरिने गरिएको नेपालले भारतबाहेक अन्य तेस्रो देशसँग विद्युत् व्यापारको सम्झौता गर्न लागेको यस घटनालाई अधिकारीहरूले ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन्।
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले बीबीसीसँग भने, “पहिला हाम्रो भारतसँग (विद्युत्) लिने भन्ने थियो। तर अहिले हामीले आफूलाई चाहिएको बेला लिने र उसलाई चाहिएको बेला दिने गरेर दोहोरो व्यापार गरिरहेका छौँ। यो सम्झौताका कारण तेस्रो देशमा पनि हाम्रो बिजुली पुग्छ। यो ठूलो उपलब्धि हो।”
उनले क्षेत्रीय विद्युत् व्यापार अघि बढाउने प्रतिबद्धताहरू जनाइएको उल्लेख गर्दै त्रिपक्षीय सम्झौतालाई त्यसको एउटा पाटोका रूपमा हेर्नुपर्ने बताए।
उनी थप्छन्, “हामी क्षेत्रीय ग्रीडहरू बनाउने, क्षेत्रीय व्यापारहरू गर्ने भन्दै आएका छौँ। त्यसको एउटा कदमका रूपमा यसलाई हेर्नुपर्ने हुन्छ। पहिला दुई देशमा थियो भने अब तीन देशमा पुग्यो। त्यो हिसाबले यो महत्त्वपूर्ण छ। अहिले परिणाम सानो नै भए पनि आगामी दिनमा हाम्रो उत्पादनहरू बढ्दै छ। प्रसारण लाइनहरू थप्ने कामहरू गरिदैँछ।”
बुधवार नेपाल र बाङ्ग्लादेशका ऊर्जा सचिव स्तरीय संयन्त्रको बैठक बसेको थियो जसले त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा बिहीवार अपराह्न हस्ताक्षर गर्ने निर्णय लिएको थियो।
कस्ता फाइदा छन्?
पाँच वर्षका लागि भएको यो सम्झौता अन्तर्गत बर्खायाम मुख्य गरी जुन १५ देखि नोभेम्बर १५ सम्मको अवधिमा नेपालले विद्युत् बाङ्ग्लादेशमा विक्री गर्नेछ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यथास्थिति बिजुली बाङ्ग्लादेशमा पुर्याउन नपुग्ने भएपनि त्यसलाई परिवर्तन गरेर पहिलो प्राथमिकतामा ढाकालाई विद्युत् उपलब्ध गराइनुपर्ने जनाए।
उनी भन्छन्, “पहिलो कुरा, बाङ्ग्लादेशको दर रेट भारतभन्दा बढी छ। दोस्रो कुरा, वैदेशिक मुद्रा र विदेशी विनिमयको कुरा पनि भयो। बाङ्ग्लादेश हाम्रो दोस्रो बजार भयो। भारतमा दिन छाडेर पनि हामीले बाङ्ग्लादेशलाई दिनुपर्छ।”
यो सालको लागि बाङ्ग्लादेशलाई विद्युत् विक्री गर्न अब ४५ दिनमात्रै रहेको जनाउँदै उनले भने, “नोभेम्बरको अन्त्यसम्म मात्रै हामी दिइसक्छौँ, त्यो बेला हामीले भारतमा दिने बिजुली नै काट्नुपर्ने हुन्छ। नोभेम्बरको अन्त्यतिर नेपालमा नै पनि गाह्रो हुन्छ। बाङ्ग्लादेशलाई दिने भनेको बिजुली २४ घण्टे हो। बेलुका पुगेन भने भारतबाट हाम्रा लागि किनेर ल्याएर भने पनि बाङ्ग्लादेशलाई बिजुली दिनुपर्छ।”
नदी प्रणालीमा आधारित जलविद्युत परियोजनाहरू भएकाले बर्खायाममा नेपालमा बिजुलीको उत्पादन बढ्ने गर्छ। तर हिउँद याम लागेसँगै उत्पादन घट्छ र नेपालले आन्तरिक माग धान्न भारतबाट बिजुली किन्ने गरेको छ।
नेपाललाई कति आम्दानी?
नेपाल र बाङ्ग्लादेशले सन् २०१८ मा ऊर्जा क्षेत्र सहकार्यबारे एउटा एमओयूमा हस्ताक्षर गरेका थिए। त्यसको ६ वर्षपछि अहिलेको सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूबीचका प्राविधिक छलफल र त्यसमा राजनीतिक नेतृत्वहरूले व्यक्त गरेका प्रतिबद्धतापछि तीन देशबीचको क्षेत्रीय ऊर्जा व्यापारको खाका निर्धारण भएको हो।
सहसचिव चटौतका अनुसार भारतीय प्रसारण पूर्वाधारहरू प्रयोग गरेर नेपालबाट बाङ्ग्लादेशमा विद्युत् पुग्नेछ र त्यसका लागि भारतको एनपीटीसी विद्युत् व्यापार निगमलाई निश्चित शुल्क बुझाउनुपर्नेछ।
उनले भने, “त्यसका दरहरू निर्धारण भएका छन्। उता प्रसारण लाइनका लागि शुल्क तिर्नुपर्ने हुन्छ। हाम्रो ढल्केवरबाट मुज्जफरपुरको जुन प्रसारण लाइन छ त्यसबाट हामी विद्युत् पठाउँछौँ जुन बाङ्ग्लादेशसम्म पुग्छ।”
मुजफ्फरपुरबाट नेपालले निर्यात गरेको बिजुली बहरमपुरहुँदै बाङ्ग्लादेश पुग्ने भनिएको छ।
यसअघि नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले नेपालले बाङ्ग्लादेशलाई बेच्न लागेको विद्युत्को मूल्य प्रतियुनिट ६.४ अमेरिकी सेन्ट तय गरिएको बताएका छन्। त्यो अहिलेको सटही दर अनुसार प्रति युनिट ८ रुपियाँ ६२ पैसा हो।
अधिकारीहरूले बाङ्ग्लादेशलाई बिद्युत् विक्री गरेर नेपालले प्रत्येक वर्ष दुई अर्ब रुपैयाँसम्म प्राप्त गर्न सक्ने बताएका थिए।
अघिल्लो आर्थिक वर्षमा नेपालले भारतलाई विद्युत् विक्री गरेर १६ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको थियो। उक्त अवधिमा नेपालले १७ अर्ब ८४ करोड रुपैयाँको विद्युत् भारतबाट किनेको थियो।
नेपालले बर्खायाममा भारतलाई बिजुली बेच्ने गरेको छ। मध्य अगस्टअघिको एक महिनामा १ अर्ब ५० करोड रुपैयाँको विद्युत् विक्री गरेको नेपालले ४० करोड रुपैयाँको विद्युत् भारतबाट खरिद गरेको थियो।
कहिलेबाट विद्युत निर्यात?
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार तत्कालै बाङ्ग्लादेशमा विद्युत् निर्यात गर्नका लागि अवरोध छैन्।
उनले भने, “जुन मार्गहरूबाट पठाउने हो त्यसमा अवरोध छैन। बाढी र पहिरोका कारण क्षति पुगेकामध्ये धेरै जलविद्युत परियोजना पनि फेरि सञ्चालनमा आइसके।”
उनले अझै पनि ४५६ मेगावटको माथिल्लो तामाकोशी र काबेली करिडोरका कतिपय पूर्वाधारमा क्षति पुगेको जनाए। तर त्यसले बाङ्ग्लादेशलाई विद्युत् विक्री गर्न बाधा नपुर्याउने प्रष्टयाए।
“व्यावसायिक औपचारिकताहरू पूरा गरेपछि कुन दिनबाट बिजुली बाङ्ग्लादेशमा निर्यात गर्न थाल्ने भन्ने हामी घोषणा गर्नेछौँ।”
बाङ्ग्लादेश भारत सम्बन्धको ताजा अवस्थाको असर के?
बाङ्ग्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा नै त्रिदेशीय विद्युत् व्यापारको खाकालाई तीनै देशका अधिकारीहरूले अन्तिम रूप दिएका थिए।
विद्यार्थी आन्दोलनले उग्र रूप लिँदा गएको अगस्ट महिनामा पदबाट राजीनामा दिएकी हसिना भागेर भारतमा शरण लिएकी थिइन्।
हालै न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन गएका बेला हाल बाङ्ग्लादेशमा अन्तरिम सरकारको नेतृत्व गरेका मोहम्मद युनुस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थिएन।
युनुस र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो भने मोदी र ओलीबीच पनि भेटवार्ता भएको थियो।
शेख हसिनाको सरकारसँग विगतमा नजिकको सम्बन्ध कायम राखेको भारतले हाल हसिनालाई शरण दिइरहेकोमा बाङ्ग्लादेशमा कैयौँले असन्तुष्टि जनाउने गरेको पाइन्छ।
यस्तोमा भारत र बाङ्ग्लादेशबीचको सम्बन्धमा देखा परेको उतारचढावले विद्युत् व्यापार सम्झौताको कार्यान्वयनमा असर पार्ने कतिपय ठान्छन्।
कूटनीतिक लाभ लिने अवसर
तर नेपालको ऊर्जा मन्त्रालयका प्रवक्ता चटौत तीनै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेकाले कार्यान्वयन सहजै अघि बढ्ने बताउँछन्।
उनले भने, “सम्झौता भएपछि एक दुई वटा औपचारिक प्रक्रियाहरू पूरा गरेर त्यसको कार्यान्वयन हुन्छ।”
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक शाक्य पनि त्रिपक्षीय विद्युत व्यापारलाई भारतले एउटा कूटनीतिक औजारका रूपमा प्रयोग गर्ने तर त्यसको कार्यान्वयनमा कुनै बाधा नपुर्याउने ठान्छन्।
उनले भने, “सन् २०१८-२०१९ मा भारतको बिहार र उत्तर प्रदेश राज्यका कतिपय ठाउँमा लोडसेडिङ्ग हुँदा पनि नेपालमा जति विजुली चाहिन्छ दिनू भन्ने भारतको नीति थियो। म सन् २०१५ मा विद्युत व्यापारका लागि जाँदा पनि उहाँहरूले मेरै अगाडि पनि त्यस्तो निर्देशन दिनुभएको थियो। यो भनेको एउटा कूटनीति पनि हो र रणनीति पनि हो।”
नेपालले अहिले भारतलाई धेरै बिजुली विक्री गरिरहेको सन्दर्भमा भारतले यहाँको बिजुली बाङ्ग्लादेशलाई पनि विक्री गर्न दिएर कूटनीतिक हिसाबले फाइदा प्राप्त गर्न खोज्ने शाक्य जस्ता कतिपय पूर्व अधिकारीहरू ठान्छन्।
उनले थपे, “भारत र बाङ्ग्लादेशको सम्बन्ध राम्रो छैन भने पनि मलाई लाग्छ भारतले अहिले नेपालको विद्युत बाङ्ग्लादेशमा जान दिन्छ। अप्ठेरो गर्नु पनि हुँदैन र गर्यो भने त्यो भारतको गलत नीति हुन्छ।”
आगामी नोभेम्बर महिनामा हुने भनिएको बिमस्टेक देशहरूको शिखर सम्मेलनको मौका पारेर भारतीय प्रधानमन्त्री मोदी र बाङ्ग्लादेशका प्रमुख सल्लाहकार युनुसबीच छलफल हुनसक्ने खबरहरू प्रकाशमा आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।