युक्रेनसँग लडाइँ रोक्न पुटिनले राखे केही सर्त, ट्रम्पले के भने

रुसका राष्ट्रपति पुटिन

तस्बिर स्रोत, EPA-EFE/RFX/SHUTTERSTCOCK

तस्बिरको क्याप्शन, युद्धविरामबारे पुटिनले आफ्ना केही प्रश्न रहेको बताएका छन्
    • Author, जेम्स ल्यान्डल र ग्याब्रिएला पोमरोइ
    • Role, बीबीसी न्यूज

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यस्तो युद्धविरामको प्रकृतिबारे "प्रश्न" बाँकी रहेको बन्दै केही कडा सर्तहरू अघि सारेका छन्।

युक्रेनले यो साताको सुरुमा ३० दिन लडाइँ रोक्न तयार हुँदै अमेरिकासँग सहमति गरेपछि पुटिनले प्रतिक्रिया दिएका हुन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई "कुटिल" भन्दै रुसविरुद्ध अझ आर्थिक प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ।

पुटिन के चाहन्छन्?

मस्कोमा बिहीवार आयोजिt पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावबारे भने : "विषय सही हो, यसलाई हामी समर्थन गर्छौँ। तर छलफल गर्नुपर्ने केही प्रश्नहरू छन्।"

युद्धविरामले "दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने र सङ्कटको जरोको समाधान हुनुपर्ने" पुटिनले बताए।

"हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ," उनले भने। "सायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला।"

"तीसदिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुने छ," पुटिनले भने। "हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नुपर्छ।"

जेलेन्स्की र ट्रम्प

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, शान्ति स्थापनाको विषयमा केही समय अगाडि जेलेन्स्की र ट्रम्पको सार्वजनिक चर्काचर्की परेको थियो (फाइल तस्बिर)

पुटिनका अनुसार विवादको एउटा विषय रुसको कुर्स्क क्षेत्र हो। त्यहाँ युक्रेनले गत वर्ष अतिक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो।

पुटिनका अनुसार कुर्स्क अहिले पूर्णरूपमा रुसको नियन्त्रणमा आइसकेको छ र त्यहाँ युक्रेनी फौजलाई "तितरबितर" पारिएको छ।

"उनीहरू त्यहाँबाट जान खोजिरहेका छन्। तर हाम्रो नियन्त्रण छ। तिनका सामग्रीहरू त्यत्तिकै छाडिएका छन्।"

"कुर्स्कमा युक्रेनीहरूसमक्ष दुईवटा विकल्प छन् – आत्मसमर्पण या मृत्यु।"

युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे: "ती ३० दिन कसरी उपयोग गरिन्छ? के युक्रेनका निम्ति पुन: परिचालनको मौका दिएर? पुन: सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर? वा ती केही पनि हुँदैनन्? अनि अर्को प्रश्न – तिनको नियन्त्रण कसरी हुन्छ?"

"लडाइँ रोक्ने आदेश कसले दिन्छ? कुन मूल्यमा? २,००० किलोमिटर क्षेत्रमा सम्भावित युद्धविराम उल्लङ्घन भएको कसले निर्क्योल गर्छ? यी प्रश्नका समाधानका निम्ति दुवै पक्षबाट गहन काम हुनुपर्छ। युद्धविराम लागु कसले गराउँछ?"

जेलेन्स्कीको आशङ्का

भिडिओ सम्बोधनमा जेलेन्स्कीले पुटिनले सोझै नाइँ नभने पनि युद्धविराम प्रस्तावलाई "व्यवहारमा उनले अस्वीकार गर्ने तयारी गरेका छन्" भने।

"यो युद्ध लम्ब्याइराख्न र युक्रेनीहरूलाई मारिराख्न चाहन्छु भनेर पुटिनले राष्ट्रपति ट्रम्पलाई सोझै भन्न डराएका छन्।"

रुसी नेताले यति धेरै पूर्वसर्त राखेका छन् कि "केही पनि अगाडि नबढ्ने" जेलेन्स्कीले बताए।

दुई पक्षबीच स्पष्ट विभाजन

पुटिनको टिप्पणी र जेलेन्स्कीको प्रतिक्रियापश्चात् दुवै पक्षका अडानमाझ अब स्पष्ट विभाजन देखा परेको छ।

युक्रेन दुई चरणको प्रक्रिया चाहन्छ - चाँडै हुने युद्धविराम र त्यसपछि दिगो समाधानका वार्ता।

रुसचाहिँ यी दुवै विषयलाई छुट्ट्याउन चाहँदैन। एउटै समझदारीले सबै मुद्दा निर्क्योल होस् भन्ने उसको भनाइ छ।

युक्रेन रुसमाथि आफूले दबाव बढाउन सक्ने ठान्छ। रुसले समय खेर फालिरहेको देखाउन सकिन्छ भन्ने उसलाई लाग्छ।

रुसलाई चाहिँ उसको आधारभूत चिन्ता बनेको नेटो विस्तार र युक्रेनको सार्वभौमसत्ताको विषय उठाउने मौका आएको विश्वास छ।

तर यसले राष्ट्रपति ट्रम्पसमक्ष एउटा समस्या उब्जिने छ। उनी सकेससम्म छिटो, केही दिनमै, युद्ध रोक्न चाहन्छन्।

तर पुटिनले उनको चाहना पूरा हुन देलान् जस्तो देखिँदैन।

डोनल्ड ट्रम्पले के भने

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुस युद्धविरामका लागि सहमत हुनेमा आशावादी छन्

युद्धविरामका विषयमा पुटिनले बोलेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिक्रिया व्यक्त गरेका छन्। ह्वाइट हाउसमा बोल्दै उनले आफू रुसका राष्ट्रपतिलाई भेट्न इच्छुक रहेको र पुटिनले ३०-दिने युद्धविरामको प्रस्तावमा सहमत हुन "उचित काम गर्ने" आशा व्यक्त गरे।

"हामी रुसबाट युद्धविराम होस् भन्ने चाहन्छौँ," ट्रम्पले भने।

त्यसअघि ह्वाइट हाउसस्थित ओभल अफिसमा नेटोका महासचिव मार्क रूटसँगको बैठकपछि ट्रम्पले युद्धविरामका विषयमा आफूले युक्रेनसँग विस्तारपूर्वक कुरा गरेको संवाददाताहरूलाई बताए।

"हामी युक्रेनसँग आफूले राख्ने र गुमाउने जमिन र जमिनका खण्डहरू अनि अन्तिम सहमतिका अन्य सबै विषयवस्तुबारे छलफल गर्दै छौँ," ट्रम्पले भने।

उनका अनुसार "अन्तिम सहमतिको धेरै विवरणबारे छलफल" भइसकेको छ।

युक्रेन नेटो सैन्य गठबन्धनमा संलग्न हुने विषयमा ट्रम्पले "त्यसको उत्तर के हो भन्ने सबैलाई थाहा छ" भने।

क्रेम्लिनले अमेरिकी प्रस्ताव अस्वीकृत गरेको थियो

रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको तस्बिरमा कुर्स्क क्षेत्रमा बन्दुक बोकेर हिँड्दै गरेका एक रुसी सैनिक

तस्बिर स्रोत, Russian Defence Ministry

तस्बिरको क्याप्शन, रुसले कुर्स्क क्षेत्र आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ

ट्रम्प प्रशासनले अमेरिकी भुक्तानी प्रणालीमा अझ कडाइ गरेपछि अन्य देशलाई रुसमा उत्पादित तेल र प्राकृतिक ग्यास किन्न कठिन भएको छ।

पुटिनले बोल्नुअघि उनका निकट सहयोगी युरि उशाकोफले अमेरिकाले प्रस्तुत गरेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका थिए।

बुधवार क्रेम्लिनले पुटिनले कुर्स्क क्षेत्रमा भ्रमण गरेको देखिने भिडिओ सार्वजनिक गरेको थियो। उक्त भिडिओमा उनले सैन्य पोसाक लगाएका थिए। रुसले पछि आफूले सुद्जा सहर फेरि आफ्नो नियन्त्रण कायम गरेको जनाएको थियो।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण गरेको थियो। अहिले युक्रेनको २० प्रतिशत भूभाग रुसको कब्जामा छ।

हजारौँ सैनिकको मृत्यु

युक्रेनसँगको युद्धमा अहिलेसम्म रुसी सेनाको पक्षमा लडेका ९५,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको बीबीसीले सङ्कलन तथा पुष्टि गरेको तथ्याङ्कले देखाउँछ। तर वास्तविक सङ्ख्या त्योभन्दा धेरै हुन सक्ने ठानिएको छ।

यद्यपि रुसले आफ्नो पक्षमा हताहत भएका सैनिकको सङ्ख्या सेप्टेम्बर २०२२ पछि सार्वजनिक गरेको छैन।

युक्रेनले गत डिसेम्बरमा युद्धमा ज्यान गुमाउने सैनिकहरूको सङ्ख्या अद्यावधिक गरेको थियो। युक्रेनी राष्ट्रपतिले त्यतिबेलासम्म ४३,००० सैनिक र अधिकारीहरूको मृत्यु भएको स्वीकार गरेका थिए।

तर पाश्चात्य देशका विश्लेषकहरू घटाएर सङ्ख्या देखाइएको ठान्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।