युक्रेन ३० दिन युद्धविराम गर्न तयार, अमेरिकाद्वारा सैन्य सहयोग पुनर्बहाली

मार्को रुबियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युक्रेन युद्धविराम गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री रुबियोले जानकारी दिए
    • Author, माइया डेभिज
    • Role, बीबीसी न्यूज

साउदी अरेबियामा अमेरिकासँग भएको वार्तापश्चात् युक्रेनले तत्काल ३०-दिने युद्धविराम गर्ने वाशिङ्टनको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो विषयलाई अब उनले रुस समक्ष प्रस्तुत गर्ने भन्दै 'आगामी कदम लिने पालो अब मस्कोको' भनेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त 'सकारात्मक' प्रस्तावमा रुसलाई मनाउने जिम्मा अमेरिकाको रहेको बताएका छन्।

चर्काचर्कीपछिको पहिलो वार्ता

मङ्गलवार जेद्दाह सहरमा भएको वार्ता जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएपछि दुई पक्षमाझ भएको पहिलो छलफल थियो।

एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले तत्कालै युक्रेनसँग खुफिया सूचना आदानप्रदान अनि सुरक्षा सहयोग पुनर्बहाली गर्ने भनेको छ। ह्वाइट हाउसमा चर्काचर्की परेपछि वाशिङ्टनले ती सहयोग रोक्का गरिदिएको थियो।

"दुवै प्रतिनिधिमण्डलले आ-आफ्ना वार्ता टोली बनाएर युक्रेनको दीर्घकालीन सुरक्षा प्रदान हुने गरी दिगो शान्तिका निम्ति तत्काल वार्ता थाल्ने सहमति गरेका छन्," अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा भनिएको छ।

जेद्दाहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री रुबियोले रुसले यो प्रस्ताव स्वीकार गर्ने अपेक्षा रहेको बताए।

युक्रेन 'आक्रमण रोकेर कुराकानी थाल्न' तयार रहेको भन्दै उनले यदि रुसले यो प्रस्ताव अस्वीकार गरेमा 'शान्तिको बाटोमा अवरोध को रहेछ भन्ने हामीलाई थाहा हुने छ' भने।

जेलेन्स्की र ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, झन्डै दुई साताअघि ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की परेको थियो

"आज हामीले गरेको प्रस्तावलाई युक्रेनीहरूले स्वीकारे। अर्थात् तत्काल युद्धविराम र शान्तिवार्ता थाल्न राजी भए," उनले भने।

"अब हामी यो प्रस्तावलाई रुसीहरू समक्ष प्रस्तुत गर्नेछौँ। हाम्रो आशा छ उनीहरूले पनि हुन्छ भन्ने छन्। अब पालो उनीहरूको।"

कस्तो युद्धविराम

यसअघि जेलेन्स्कीले हवाई र सामुद्रिक क्षेत्रमा मात्र सीमित युद्धविरामको प्रस्ताव गरेका थिए। तर अहिले युक्रेनले सहमति जनाएको ३०-दिने युद्धविराममा जमिनको युद्ध समेत रोक्ने विषय परेको छ।

जेलेन्स्कीले जेद्दाहमा भएको 'रचनात्मक' वार्ताका निम्ति ट्रम्पलाई धन्यवाद दिएका छन्।

एक भिडिओ सन्देशमा उनले रुसले 'युद्ध रोक्ने वा निरन्तर जारी राख्ने'बारे अब स्पष्ट पार्नुपर्ने बताए।

"अब पूर्ण सत्यको समय आएको छ," जेलेन्स्कीले भने।

मस्कोले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। मङ्गलवार क्रेम्लीनले आफूलाई वाशिङ्टनले युक्रेनसँगको वार्ताबारे बताएपछि मात्र टिप्पणी गर्ने जनायो।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा अतिक्रमण गरेको थियो। युक्रेनको करिब २० प्रतिशत भूभागमा अहिले मस्कोको नियन्त्रण छ।

सहमतिबारे ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले कुरा गर्ने भन्दै त्यस (युद्धविराम सहमति)मा पुटिनले सहमति जनाउने 'आशा' व्यक्त गरे।

"रुससँग हाम्रो भोलि ठूलो वार्ता हुँदैछ। आशा गरौँ त्यहाँ राम्रा कुराकानी हुने छन्," ट्रम्पले भने।

उनले अब जेलेन्स्कीलाई फेरि वाशिङ्टनमा निम्त्याउन आफू खुला रहेको पनि बताए।

ड्रोन हमला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो साता मस्को क्षेत्रमा युक्रेनले ठूलो ड्रोन हमला गरेको छ

यसबीच अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा महत्त्वपूर्ण भनिएको 'खनिज सम्झौता' चाँडोभन्दा चाँडो गर्न ट्रम्प र जेलेन्स्कीबीच समझदारी भएको पनि उल्लेख छ।

अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा उसलाई आफ्नो देशको 'रेर अर्थ' खनिज भण्डारमा पहुँच दिने युक्रेनको प्रस्ताव थियो तर ह्वाइट हाउसमा चर्काचर्की परेपछि उक्त प्रस्ताव अगाडि बढेको थिएन।

विदेशमन्त्री रुबियोका अनुसार यो विषय मङ्गलवारको वार्ताको अजेन्डा थिएन। त्यसबारे अमेरिका र युक्रेनका सम्बन्धित विभागहरूले काम गर्ने उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।