तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा फेरि आक्रमण, आईएईएद्वारा संयम अपनाउन आग्रह
- Author, इयान एकम्यान
- Role, बीबीसी न्यूज
संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले "ठूलो पारमाणविक दुर्घटना" निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ।
रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ।
आक्रमणमा तीन जना घाइते भएको बताइएको छ।
युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
बारम्बार चेतावनी
अहिले रुसको कब्जामा रहेको ६ वटा रिएक्टरहरू भएको उक्त विशाल ऊर्जा केन्द्र दुई देशबीचको युद्धको अग्रपङ्क्तिमा छ।
संयुक्त राष्ट्र सङ्घीय निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले बारम्बार यस्ता आक्रमणविरुद्ध चेतावनी दिँदै आएको छ।
आईएईएका प्रमुख रफाएल ग्रोसीले आइतवारको ड्रोन हमलालाई उक्त ऊर्जा केन्द्रले खेपिरहेको "लापरबाहीपूर्ण" गतिविधि र "पारमाणविक सुरक्षामा बढ्दो खतरा" भनेका छन्।
दक्षिणी युक्रेनस्थिति जापोरीजा ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र हो।
पछिल्लो आक्रमणको क्षति
रुसी फौजले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण सुरु गरेको केही दिनपछि नै उक्त केन्द्र आफ्नो नियन्त्रणमा लिएका थिए।
अहिले पनि जापोरीजा परमाणु ऊर्जा केन्द्र रुसी नियन्त्रणमै रहेको छ।
जापोरीजाबारे जानकारी भएका विज्ञहरूको टोलीसमेत रहेको आईएईएले पछिल्लो आक्रमणका कारण उक्त ऊर्जा केन्द्रमा एउटा रिएक्टरसहित भौतिक क्षति भएको पुष्टि गरेको छ।
उक्त केन्द्रको रुसी प्रशासनले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएको छ।
आईएईएले आक्रमणबाट भएको क्षतिका कारण पारमाणविक सुरक्षामा सम्झौता नभएको बताएको छ।
तर उसले "यो रिएक्टरको नियन्त्रण प्रणालीलाई कमजोर पार्नसक्ने सम्भावित गम्भीर खालको घटना भएको" चेतावनी दिएको छ।
आईएईएले के भन्यो?
ग्रोसीले ऊर्जा केन्द्रको "प्रमुख रिएक्टर नियन्त्रण संरचनामा कम्तीमा तीन पटक प्रत्यक्ष प्रहार" भएको बताए।
"यो हुनु हुँदैन," उनले भने। "कसैले पनि पारमाणविक केन्द्रविरुद्ध आक्रमणबाट कुनै पनि सैन्य वा राजनीतिक लाभ प्राप्त गर्न सक्दैन।"
रुस र युक्रेन दुवैले बारम्बार एकअर्कालाई उक्त ऊर्जा केन्द्रमा गोलाबारी गरेको र गम्भीर दुर्घटनाको जोखिम निम्त्याएको आरोप लगाउँदै आएका छन्।
रुसी प्रशासनले आक्रमणमा युक्रेनी सशस्त्र बलको हात रहेको बताएको छ भने युक्रेनले त्यो आरोपलाई अस्वीकार गरेको छ।
युक्रेनले के भन्यो?
युक्रेनको मुख्य गुप्तचर निर्देशनालयका प्रवक्ता एन्ड्री युसोभले युक्रेन्सका प्राभ्दा न्यूज वेबसाइटलाई भने, "केन्द्रमा भएका कुनै पनि सशस्त्र उत्तेजक गतिविधिमा युक्रेन संलग्न छैन।"
उनले उक्त केन्द्रलाई "रुसले अवैध रूपमा कब्जा गरेको," पनि बताए।
उनले रुसले नै हमला गरेर पारमाणविक केन्द्र, सर्वसाधारण र वातावरणलाई खतरामा पारेको आरोप लगाए।
गत महिना आईएईएले केन्द्रमा रहेका उसका विज्ञहरूको टोलीले एक सातादेखि हरेक दिन विस्फोटनको आवाज सुनेको बताएको थियो।
त्यसबेला ग्रोसीले भनेका थिए, "दुई वर्षभन्दा लामो समयदेखि युक्रेनमा पारमाणविक सुरक्षा निरन्तर खतरामा छ। हामी पारमाणविक दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न मद्दत गर्नका लागि सबैखाले काम गर्न कटिबद्ध छौँ। त्यस्तो दुर्घटनाले मानिस र वातावरणलाई हानि गर्छ र त्यो युक्रेनमा मात्र सीमित रहँदैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।