तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्धमा ज्यान गुमाउने केही व्यक्तिका आफन्त डीएनए नमुना दिन काठमाण्डूमा
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डीएनए नमुना सङ्कलन गराइदिन रुसले नेपाली पक्षलाई पत्राचार गरेको अधिकारीहरूले बताएका छन्।
परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका अनुसार युक्रेनमा युद्धबन्दी बन्न पुगेका तथा बेपत्ता भएका नेपालीका परिवारका सदस्यको पनि डीएनए नमुना उपलब्ध गराइदिन रुसले अनुरोध गरेको छ।
रुसी विदेश मन्त्रालयको अनुरोधमा मस्कोस्थित नेपाली दूतावासले गरेको आग्रहअनुसार नमुना दिन केही प्रभावित परिवारका सदस्य काठमाण्डू आइसकेको विभागका कानुन अधिकृत कृष्णप्रसाद बस्यालले बीबीसी न्यूज नेपालीलाई बताए।
नेपाली राजदूतावासले १५ जनाको शव पहिचानका लागि परिवारका सदस्यको डीएनए नमुना सङ्कलन गर्न गत मार्च १४ मा आग्रह गरेको थियो।
युक्रेन युद्धमा मारिने नेपालीको सङ्ख्या अझ बढेको विवरण यही साता स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।
डीएनए परीक्षणका लागि नमुना दिन राजधानी आएका केही व्यक्तिले आफूले बेहोर्नुपरेको समस्याबारे बीबीसीसँग कुरा गरेका छन्।
यसैबीच रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको दाबी गर्दै आएको छ। रुसमा ठूलो सङ्ख्यामा नेपाली नागरिकहरू सम्पर्कविहीन बनेको बताइए पनि सरकारी निकायसँग यकिन तथ्याङ्क भने छैन।
'घरमा बाबुआमा एक्लै रोइरहनुभएको छ'
रुसले थप १५ जना मृतक नेपालीको नाम पठाएको बताइएको छ। परराष्ट्र मन्त्रालयले यस अघि १९ जना नेपालीको युद्धका क्रममा मृत्यु भएको पुष्टि गरेको थियो।
नमुना सङ्कलन गर्न काठमाण्डू बोलाइएका परिवारका सदस्यहरूले भने विभिन्न प्रक्रियागत अन्योल देखिएको भन्दै सहजीकर गरिदिन सरकारलाई आग्रह गरेका छन्।
खोटाङका टेकराज बस्नेत कन्सुलर विभागको आग्रहमा आफू काठमाण्डू आएको चार दिन भइसकेको तर नमुना दिन नपाएको बताउँछन्।
"घरमा बाबुआमा एक्लै रोइरहनुभएको छ, म नमुना दिन भनेर काठमाण्डू आएको यतिका दिन भइसक्यो तर कसैले चासो नै दिँदैन। अझै कति यहाँ बस्नुपर्ने हो अन्योलमा छु," उनले भने।
उनी गत कात्तिक महिनादेखि रुसी सेनासँग सम्पर्कविहीन भएका क्षितिज बस्नेतका जेठा दाइ हुन्।
मृतक घोषित भई अन्तिम संस्कार गरिएका, सेनामा भर्ना भएर परिवारको सम्पर्कमा नरहेका तथा लडाइँका क्रममा युक्रेनको कब्जामा रहेका नेपालीहरूको परिवारको डीएनए परीक्षणका लागि अनुरोध गरिएको बताइएको छ।
डीएनए जाँचको अवस्था
कन्सुलर विभागका अनुसार अहिलेसम्म डीएनए नमुना सङ्कलनका अनुरोध गरिएकामध्ये सात परिवारका सदस्य नमुना दिन तयार भएका छन्।
विभागका कानुन अधिकृत बस्यालका अनुसार डीनए नमुना परीक्षण गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार भइसकेको छ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला वा अन्य कुनै अस्पतालमा प्रभावित परिवारका सदस्यहरूको नमुना सङ्कलन गरिने बताइएको छ।
तर डीएनए नमुना सङ्कलनका लागि सिफारिस भएकामध्ये मोरङका विकास राईको परिवारले भने डीएनए नमुना परीक्षण नगराउने भएको छ।
'सरकारी असावधानी'
विकास राईका दाइ जशुधन राईका अनुसार आफ्नो भाइ जीवितै रहेको प्रमाणित भए पनि शव पहिचानका लागि डीएनए नमुना सङ्कलनका लागि बोलाइएको बताउँछन्।
उनी भन्छन्, "मेरो भाइ युक्रेनको मिडियाले सार्वजनिक गरेको एउटा भिडियोमा बोलेको देखिएको छ। हामीले उसलाई चिनिसकेका छौँ तर सरकारले डीएनए नमुना दिन भनेको छ, जीवित मान्छेका लागि किन डीएनए परीक्षण गर्ने?"
केही दिनअघि युक्रेनले नेपालसहित विभिन्न देशलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्दै आफ्नो नियन्त्रणमा रहेका पाँच नेपाली नागरिकलाई सार्वजनिक गरेको थियो।
राईका अनुसार सार्वजनिक भिडिओमा नेपालीहरूलाई पनि बोल्न लगाइएको र युद्धबन्दीको रूपमा रहेका विकास राईले रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडिओ टिकटकमा देखेर आफू पर्यटक भिसामा रुस पुगेको बताएका छन्।
राईले आफ्ना भाइ जीवित रहेकोले उद्धार गरिदिन समेत सरकारसमक्ष आग्रह गरेका छन्।
कन्सुलर विभागले प्रभावित परिवारका सदस्यहरूले नमुना दिन नखोजे आफूहरूले कर गर्न नमिल्ने र उनीहरूको सहमतिमा मात्र प्रहरीलाई पत्राचार गर्ने जनाएको छ।
पीडितका तर्फबाट सहजीकरण गरिरहेकी कृतु भण्डारीले प्रभावित परिवारको पीडा र संवेदनशीलतामा सरकारी निकाय गम्भीर नबनेको बताउँछिन्।
उनी भन्छिन्, "डीएनए नमुना सङ्कलनका लागि कहाँ जाने, कसलाई सम्पर्क गर्ने, के कस्ता कागजपत्र चाहिने जस्ता विषयमा प्रभावित परिवारहरूलाई स्पष्ट जानकारी नै छैन। सहजीकरणका लागि सम्पर्क व्यक्ति नतोकिदिँदा उनीहरू यताउता भौँतारिन बाध्य छन्।"
डीएनए के हो?
डीएनए ‘डिअक्सिराइबोन्यूक्लेइक एसिड’को सङ्क्षिप्त रूप हो। यो जैविक तत्त्वमा मानिसको आनुवंशिक सूचना अनुबद्ध हुन्छ। जीवको वृद्धि, प्रजनन र सबै जैविक क्रियासँग सम्बन्धित निर्देशन डीएनएले बोक्छ।
हाम्रो शरीरमा हुने लगभग सबै कोषको मध्य भागमा डीएनए हुन्छ। मानिसको शरीरमा हुने डीएनएको लम्बाइ जोड्ने हो भने त्यो झन्डै दुई मिटरजति पुग्छ।
डीएनएका ससाना भागलाई जीन भनिन्छ। मानिसका अधिकांश गुणलाई निर्देशित गर्ने एक जोडा जीन आफ्ना आमाबुवाबाट आएका हुन्छन्।
मानिसको शरीरमा झन्डै २३,००० वटा जीन हुन्छन्।
डीएनए परीक्षण किन?
मानिसले आफ्ना पितापुर्खाबाट डीएनए पाएको हुन्छ। समरूपी जुम्ल्याहा दाजुभाइ वा दिदीबहिनीमा बाहेक अरू व्यक्तिमा हुने डीएनए फरक भए पनि रगतको नाता पर्ने मानिसहरूको डीएनएमा समानता हुन्छ।
त्यसैले डीएनए परीक्षण गरेर नाता पर्ने नपर्ने निर्क्योल गर्नुलाई सबैभन्दा वैज्ञानिक विधि मानिने विज्ञहरू बताउँछन्। आमा, बुबा, छोरा, छोरी वा हजुरबुवा, हजुरआमा तथा नातिनातिनाबाट नमुना लिन सकिन्छ।
कुनै पनि व्यक्तिको जैविक तथ्य पत्ता लगाउन मात्र हैन, विधिविज्ञान तथा अपराध अनुसन्धान र पुरातात्त्विक अध्ययनमा पनि डीएनए परीक्षणको विधि अवलम्बन गरिन्छ।
डीएनए परीक्षणका लागि छाला, कपाल, रगत तथा अन्य जैविक तरल पदार्थसहित शरीरको कुनै पनि अङ्गको नमुनाको लागि प्रयोग गर्न सकिन्छ।
शव मात्र हेरेर अनुहार चिन्न नसकिने अवस्थामा डीएनए परीक्षण गरी मृतक को हो भनी चिन्न र निजका आफन्तलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्न सकिन्छ।
नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको पार्थिव अवशेषबाट नमुना सङ्कलन गरी जीवित आफन्तहरूको डीएनएसँग तुलना गर्ने गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।