तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नयाँ संसद् बैठककक्ष तयार नहुने भएपछि पहिलो बैठकस्थलबारे सचिवालयको योजना
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
नयाँ प्रतिनिधिसभा भवनमा जारी रहेको अन्तिम चरणको निर्माणकार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भन्दै अधिकारीहरूले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण र सुरुवाती दिनका बैठकहरू निर्माणाधीन परिसरमा रहेको एउटा सभाहलमा गरिने बताएका छन्।
निर्वाचन आयोगले चैत ५ गतेभित्र अन्तिम मतपरिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरिरहेको बताइरहँदा संसद् सचिवालयका अधिकारीहरूले चैतको दोस्रो साताभित्र नयाँ संसद् भवनभित्रको बैठक कक्ष र नजिकैको सभा हल तयार भइसक्ने अपेक्षा गरिएको बताएका छन्।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकले प्रतिनिधिसभाको नयाँ भवनको 'फल्स सीलिङ' लगाउनेसहितका काम सकिन केही समय अझै लाग्ने र अर्को हलबाट बैठक सञ्चालन हुन्जेल आगन्तुकहरूलाई प्रवेश दिन कठिनाइ आउनसक्ने बताए।
उनले बैठकस्थलका रूपमा प्रयोग गरिने हललाई अन्तिम रूप दिन आफूहरूले तीव्रताका साथ काम गरिरहेको बताए।
नयाँ सांसदहरू कहाँ शपथग्रहण गर्लान्?
प्रत्यक्ष निर्वाचनतर्फको मतगणना करिब सम्पन्न भइसक्दा अधिकारीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवारसम्म सम्पन्न गरिसक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताइरहेका छन्। तर अन्तिम मतपरिणाम चैत ५ गतेसम्म घोषणा गर्ने उनीहरूको तयारी छ।
नेपालको संविधानको धारा ९३ मा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ।
तर जेन जी आन्दोलनपछि देखिएको राजनीतिक सङ्कटमाझ भएको यो चुनावपछि निर्वाचित भएका जनप्रतिनिधिहरूको शपथग्रहण र प्रारम्भिक बैठकहरू भने अस्थायी स्थानबाट गर्नुपर्ने देखिन्छ।
आक्रोशित युवा प्रदर्शनकारीहरूले भदौ २४ गतेको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद् भवनसहित देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कैयौँ कार्यालयहरूमा आगजनी गरिदिएका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले नयाँ प्रतिनिधिसभा भवनको अन्तिम चरणको अन्तिम चरणका निर्माणसँग सम्बन्धित कामहरू नसकिने देखिएको भन्दै उक्त परिसरमा रहेको 'बहुउद्देश्यीय हल' मा प्रारम्भिक बैठकहरू आयोजना गरिने बताए।
उनी भन्छन्, "हामीले निर्माणाधीन प्रतिनिधिसभा तयार भइसक्ने अपेक्षा गरेका थियौँ तर त्यहाँको हल प्राप्त हुने अवस्था अब रहेन। उहाँहरूले उक्त परिसरमा नै रहेको एउटा बहुउद्देश्यीय सभाहल हप्तादश दिनभित्रै तयार पार्ने बताउनुभएको छ। हामी शपथग्रहणको आयोजना त्यही गर्छौँ र प्रारम्भिक बैठकहरू पनि त्यही गर्छौ।"
गिरिले नयाँ हलमा दर्शकदीर्घा नहुने भन्दै सीमित सङ्ख्यामा सञ्चारकर्मीहरूलाई व्यवस्थापन गर्न सकिने र बैठकको प्रत्यक्ष प्रसारणको सुविधा उपलब्ध गराइने सुनाए।
"प्रतिनिधिसभाको बैठक कक्षसञ्चालनमा आएपछि मात्रै हामीहरूले दर्शकहरूलाई पनि प्रवेश दिन सक्छौँ। कतिपय सामानहरू विदेशबाट पनि ल्याउनुपर्ने भएकाले उहाँहरूले उक्त कक्ष पूर्ण रूपमा तयार हुन केही समय लाग्ने बताउनुभएको छ।"
छैठौँ म्यादमा पनि ढिलाइ
सरकारले २०७९ साल मङ्सिरमा हुने नियमित संसदीय चुनावअघि नै बनाइ सक्ने गरी ठेक्का लगाइएको नयाँ संसद् भवन निर्माण सम्पन्न गर्ने म्याद पाँच पटक थपिसकिएको र अहिले छैँठौँ म्यादमा काम भइरहेको अधिकारीहरू बताउँछन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनलगत्तै नयाँ संसद्बाट बैठक सञ्चालन गर्ने भनिए पनि त्यो सफल हुन सकेको थिएन।
संसद सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइरालाले कोभिड महामरी र भूकम्पजस्ता कारणले निर्माणमा ढिलाइ भएको ठेकेदारले बताउने गरेको उल्लेख गरे।
संसदीय दलको कार्यालय, संसद् सचिवालय, राष्ट्रिय सभासहित विभिन्न संरचना रहने उक्त परिसरअन्तर्गत निर्माणका लागि झन्डै ६ अर्ब ४० करोड रुपैयाँबराबरको ठेक्का लगाइएको थियो भने सजावट र सुरक्षा प्रणालीसहितका लागि २ अर्ब ३४ करोड रुपैयाँजति छुट्याइएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकसमेत रहेका संसद् भवन निर्माणसम्बन्धी विशेष भवन आयोजनाका प्रमुख रोशन श्रेष्ठ नयाँ प्रतिनिधिसभा भवनमा 'फल्स सीलिङ' को काम जटिल भएकाले आफूहरू अहिले शपथग्रहण र बैठक सञ्चालन गरिने हलहरूको निर्माणमा केन्द्रित भएको बताए।
उनले भने, "हामीहरूले जे हिसाबले अपेक्षा गरेका थियौँ, त्यो हिसाबले काम गर्न सकिएन। त्यही भएर स्काफोल्डिङ (उचाइमा निर्माण कार्य गर्न बनाइने अस्थायी संरचना) गरेर राखेका छौँ।"
"फाल्गुन १५ गते माथिको काम सम्पन्न गरेर स्काफोल्डिङ खोल्ने र तल माइकहरू जडान गर्ने तथा अडिओभिडिओको काम गर्ने भन्ने सोचेको तर त्यो काम नसकिएको कारणले गर्दा प्रतिनिधिसभामा स्काफोल्डिङ लागिरहेको छ। वैकल्पिक व्यवस्था गर्नुपर्ने भएकाले त्यहाँ संसद्भित्र अर्को हल छ, त्यही भवनमा, त्यो हललाई तत्कालका लागि शपथग्रहण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक पर्यो भने एकदुई वटा बैठक पनि त्यही हलबाट बैठक गर्न सकिने गरी तयारी गरेका छौँ।"
उनले नयाँ प्रतिनिधिसभाको बैठक कक्ष फाल्गुन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य भएको भए पनि अहिलेको अवस्थामा त्यो काम कहिले सकिन्छ भन्न नसक्ने अवस्था रहेको सुनाए।
उनले उक्त भवनमा बिजुली, अग्निनियन्त्रण उपकरणलगायतका पूर्वाधार पनि जडान गर्नुपर्ने भन्दै रङ्गरोगनसहितका काम सकिएपछि मात्रै तल हलको काम गर्न सकिने बताए।
सम्पूर्ण भवनहरू लगभग सम्पन्न हुने चरणमा रहेको उल्लेख गरेका उनले प्रतिनिधिसभाको हलमा केही समय लागेकाले वैकल्पिक व्यवस्था गरेको र त्यसमा नै केन्द्रित भइरहेको जनाए।
प्रधानमन्त्री नियुक्ति र शपथग्रहणको प्रक्रिया के छ?
यसअघि संसद् सचिवालयले पत्र नै पठाएर प्रतिनिधिसभाको बैठक बस्ने ठाउँको व्यवस्थापन गरिदिन सहरी विकास मन्त्रालयलाई अनुरोध गरेको थियो।
फेब्रुअरीको पहिलो साता बीबीसीसँग कुरा गर्दै सहरी विकास मन्त्रालयका प्रवक्ताले एक महिनाभित्रै प्रतिनिधिसभाको हल तयार गर्ने लक्ष्यसहित दुई शिफ्टमा काम भइरहेको बताएका थिए।
जेन जी आन्दोलनअघि नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू बस्दै आएका थिए।
जम्मा ५९ सदस्य मात्रै रहेको माथिल्लो सदनको बैठक पछिल्लो समयमा सिंहदरबारस्थित संसद् सचिवालयभित्र रहेको राष्ट्रिय सभाकै पुरानो हलमा बस्दै आएको छ।
नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यस्तो नेताको अध्यक्षतामा मन्त्रीपरिषद् गठन हुनेछ।
यो व्यवस्थाअनुसार पछिल्लो चुनावमा झन्डै दुईतिहाइ सीट ल्याउने दिशामा उन्मुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ संसदीय दलको नेता चुनेसँगै सरकार गठनको बाटो खुल्नेछ।
अहिलेसम्म नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहको मिति स्पष्ट भइसकेको छैन् तर अन्तिम परिणाम घोषणापछि राष्ट्रपतिले अधिवेशनको आह्वान गर्ने र त्यसलाई ध्यान दिएर सांसदहरूको शपथग्रहण आयोजना गरिने जानकारहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।