नेपाली फ्रेन्चाइज लीगमा विदेशी खेलाडीहरूको जगजगी

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाल प्रिमिअर लीग एनपीएल सिजन २ मा विदेशी खेलाडीहरूको दबदबा चलिरहेको छ। टोलीहरूबीच राम्रा खेलाडीहरू भित्र्याउने होड लीग प्ले अफ चरण प्रवेश गरेपछि पनि जारी छ।
विराटनगर किंग्समा खेल्न ढिलो भए पनि फाफ डु प्लेसी आइपुगे भने पोखरामा जेसन रोय आइपुग्दा टोली बाहिरिने सङ्घारमा पुगिसकेको थियो। खेलाडी मात्र होइन, कमेन्टेटर र होस्ट सम्ममा पनि विदेशी नामहरूले आकर्षण थपेको देख्न सकिन्छ।
कीर्तिपुर क्रिकेट मैदानमा एभरेस्ट प्रिमिअर लीग (इपीएल) का बेला होस्, पोखराको पोखरा प्रिमीअर लीग पीपीएल होस् वा सुदूरपश्चिमको धनगढीमा हुने धनगढी प्रिमिअर (डीपीएल) मा, यूएईका अलराउन्डर रोहन मुस्तफा नेपाली फ्रेन्चाइज लीगहरूमा खुबै छाए।
नेपाली फ्रेन्चाइज लीगमा यो विदेशी आकर्षण कहिले देखि सुरु भयो ?

बाबरदेखि अंशुमन
नेपालमा फ्रेन्चाइज क्रिकेट लीगको सुरुआत सन् २०१६ मा इपीएलमार्फत् भएको हो। फ्रेन्चाइज क्रिकेटको जग बसेको उक्त सालमा कुनै विदेशी खेलाडी राखिएको थिएन।
अर्को वर्षदेखि भने टीममा विदेशी खेलाडी राख्ने चलन सुरु भयो। त्यति बेला हङकङ क्रिकेटमा धूम मच्चाइरहेका बाबर हायात र अशुंमन रथको उपस्थितिले फ्रेन्चाइज क्रिकेटको रौनक नै बदलिदियो।
पारस खड्काको नेतृत्वमा उत्रिएको विराटनगर वारियर्स र शरद भेषावकरको भैरहवा ग्लाडियटर्सबीच भएको फाइनलमा पारसको टोलीले बाजी मार्दा फाइनलका नायक हङकङका अंशुमन रथ भएका थिए। उनले ४१ रन बनाएका थिए।
पहिलो पटक उत्रिएका विदेशी खेलाडीहरूमा अंशुमनपछि हङकङका बाबर हायतले सर्वाधिक रन बटुलेर नेपाली समर्थक माझ छाप छोडे।
त्यो बेला खेलेका पुनीत मेहरा अहिलेको एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट, जयकिशन कोल्सावाला कर्णाली याक्सबाट तथा सन्नी पटेल र जोन सिम्पसन काठमाण्डू गोर्खाजबाट अहिले पनि एनपीएल सीजन २ खेलिरहेका छन्।

पहिलो सीजनमा विदेशी आकर्षण बढेपछि अर्को वर्षहरूमा विदेशीको सङ्ख्या मात्र बढेन, चर्चित खेलाडीहरूको सङ्ख्या पनि बढ्यो।
आयरल्यान्डका तत्कालीन कप्तान पल स्टर्लिङ र केविन ओब्रायन, स्कटल्यान्डका तत्कालीन कप्तान कायल कोयट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी, नेदरल्यान्डका रायन तेन दोयसचात जस्ता चर्चित खेलाडीहरूको प्रवेशले फ्रेन्चाइज क्रिकेटको रौनक ह्वात्तै बढ्यो।

तस्बिर स्रोत, CAN
जिल्ला जिल्लामा पनि
यी विदेशी खेलाडीहरू इपीएलपछि डीपीएल र पीपीएलमा छाएका देखियो।
पुनीत मेहरा पीपीएलका उच्च रनकर्ता बनेका थिए भने सन्नी पटेल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो भएका थिए।
डीपीएलमा युएईका मुस्तफाले फाइनल जिताउँदै प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए।
डीपीएलका आयोजक प्रमुख सुभाष शाही भन्छन्, "विदेशी खेलाडीहरूको उपस्थितिले डीपीएलको वातावरण नै भिन्न बन्यो। उनीहरूलाई हेर्न दर्शकहरू खचाखच हुन्थे। सुदूरपश्चिममा क्रिकेट बढोत्तरीमा यसले धेरै नै मद्दत गर्यो।"
डीपीएलले दक्षिण अफ्रिकाका जोन्टी रोड्सलाई ब्रान्ड एम्ब्यासडर बनाउँदा डीपीएलको चर्चा थपिएको थियो।

अफ्रिदीको आगमन
नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै छाप छोडिरहेको थियो।
नेपालमा हुने फ्रेन्चाइज लीगमा दर्शकको क्रेज देखेर विदेशी खेलाडीहरू आउन उत्सुक भएको उनीहरू बताउने गर्थे।
यसै क्रममा सन् २०२० को संस्करणमा वेस्ट इन्डिजका चर्चित खेलाडी क्रिस गेल नेपालमा आउने भए। पोखरा राइनोजबाट खेल्ने सो समाचारले नेपाली क्रिकेट वृत्त तरङ्गित भएको थियो।
तर कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सो वर्ष खेल नै नभएपछि उनको नेपाल भ्रमण तुहियो।
यद्यपि उच्च स्तरीय खेलाडी आउने क्रम भने जारी नै रह्यो। बाङ्ग्लादेशका तत्कालीन कप्तान तमिम इकबाल, श्रीलङ्काका उपुल थारांगा र दमिका प्रसाद, जिम्बाब्बेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद सहजाद र रहमानुल्ला गुरवाज ठूला नाम थिए।
सबैभन्दा चर्चाको विषय भने पाकिस्तानका सहिद अफ्रिदीको आगमन थियो। काठमाडौँ किंग्सबाट खेलेर उनले कीर्तिपुर मैदानमा खेल्दा फ्रेन्चाइज क्रिकेटको चर्चा खुबै भयो।

विदेशी कमेन्टेटर
अहिले एनपीएलमा कमेन्ट्री गरिरहेका आइरिश एन्ड्रयू लेनर्ड र भारतका मिखाइल बास्वानीको सुरुआत एभरेस्ट प्रिमिअर लीगबाट भएको हो।
त्यति बेला नेपालमा फ्रेन्चाइज क्रिकेटको क्रेज यति बढेको थियो कि भारतका चर्चित हर्ष भोग्ले पनि नेपालमा आएर कमेन्ट्री गरे।
अहिले एनपीएलमा भारतका चर्चित कमेन्टेटर आकाश चोपडा सामेल भएका छन्।
एनपीएल धमाका

अहिले नेपाल क्रिकेट सङ्घकै आयोजनामा एनपीएल चलिरहँदा अन्तर्राष्ट्रिय खेलाडीहरूको दबदबा कायम छ। एउटा टोलीमा ६ विदेशी खेलाडी समावेश गर्न पाउँदा कम्तीमा ४८ विदेशीहरू एनपीएलमा खेलिरहेका छन्।
जसमा अहिले टेस्ट खेलिरहेका चार खेलाडीहरू न्यूजील्यान्डका जिम्मी निशम, अफगानिस्तानका गुलबद्धिन नैव र नाजिबुल्लाह जाद्रान अनि अस्ट्रेलियाका क्रिस लिन छन्। त्यसबाहेक न्यूजील्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डु प्लेसी, इङ्ल्यान्डका जेसन रोय जस्ता खेलाडीको उपस्थितिले खेलमा रोमाञ्च थपिरहेको देखिन्छ।
गत वर्ष भारतका शिखर धवनले कर्णाली याक्सबाट खेल्दा एनपीएलको 'ब्रान्ड भ्यालु' ह्वात्तै वढेको थियो। त्यस्तै वेस्ट इन्डिजका ब्रायन लाराले नेपाल भ्रमण गरेर एनपीएललाई थप चर्चा दिलाएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले अहिले एनपीएललाई पूर्ण मान्यता दिएको छैन र टेस्ट खेलेर २ वर्ष नपुगेका ४ जना खेलाडीलाई मात्र स्वीकृति दिएको छ।
क्यानले यो निषेध हटाउन प्रयास गरिरहेको छ। यदि अर्को वर्ष यो निषेध हटेमा कुनै पनि टीमले ताजा विदेशी खेलाडी ल्याउन पाउने छ।
त्यसो भएमा एनपीएलको चर्चा झन् बढ्ने पक्का रहेको आकलन गर्नेहरू छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








