प्रत्येक एनपीएल टोलीसँगै प्रहरी अधिकृत, सट्टेबाजीको निगरानी भइरहेको दाबी

नेपाल प्रिमिअर लीग एनपीएलको खेल मैदान

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

जारी नेपाल प्रिमिअर लीग (एनपीएल)मा 'स्पट फिक्सिङ'का लागि नेपाली खेलाडीहरूलाई प्रस्ताव गरेको आरोपमा पक्राउ परेका दुई व्यक्तिहरूको सट्टेबाजी ('बेटिङ') गर्ने समूहसँगको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

एनपीएलमा सहभागी खेलाडीलाई प्रायोजन गर्ने बहानामा इन्स्टाग्राममार्फत् सम्पर्क गरेर अनुचित प्रभावमा पार्न खोजेको आरोपमा एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए।

"अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ," उनले भने।

सट्टेबाजी चलाउने गिरोहले दलालमार्फत् खेलाडीहरूलाई प्रयोग गरेर खेलका निश्चित परिणाम आफूले भनेअनुसार बनाउने क्रियाकलापलाई 'फिक्सिङ' भनिन्छ।

यस्तो 'फिक्सिङ'का आधारमा निश्चित समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल्ने गर्ने गतिविधिबारे प्रशासन र अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी निकाय आईसीसीलेले निगरानी गर्ने गरेका छन्।

निगरानीका लागि खेलाडीसँगै प्रहरी

नेपाल प्रिमिअर लीग एनपीएलका खेलाडीसँगै प्रहरी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाल प्रिमिअर लीग एनपीएलका खेलाडीसँगै प्रहरी अधिकृतहरू खटिएका छन्

नेपाल प्रिमिअर लिग एनपीएलमा पनि खेलाडीहरूलाई प्रलोभनमा पारेर आफूले चाहेजस्तो नतिजा निकाल्न सक्ने जोखिम कम गर्न प्रत्येक टोलीसँग सम्पर्कव्यक्तिका रूपमा प्रहरी अधिकारी पनि परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

"नेपाल क्रिकेट सङ्घले आयोजना गरेको एनपीएलका टीम र खेल अधिकारीहरूलाई आईसीसीको एन्टीकरप्शन टोलीले सबै कुराको ब्रीफिङ गरेको हुन्छ," क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्।

"सँगसँगै सम्पर्क अधिकारीका रूपमा नेपाल प्रहरीले खटाएका अधिकृतहरू पनि हुनुहुन्छ।"

नेपाल प्रहरीका प्रवक्ता काफ्लेका अनुसार एनपीएलका आठ वटै टोलीमा रहेका प्रहरीका सम्पर्क व्यक्तिसँगै खेल भइरहेको मैदान क्षेत्रमा पनि प्रहरीले निगरानी गरिरहेका छन्।

"हामीले प्राविधिक जनशक्तिसहितको निगरानी गर्ने टोली बनाएका छौँ। सादा पोसाकमा टोली मैदानमा पनि हुन्छ र अनलाइन तथा सामाजिक सञ्जालका माध्यमको पनि निगरानी गर्छ," उनले भने।

"प्रत्येक क्रिकेट टोलीमा हामीले लिएजोन अफिसर तोकेका छौँ। उनीहरूले खेलाडीलाई सुरक्षादेखि अनुचित प्रभावका कुरा वा गलत गतिविधि हुन्छ कि भनेर पनि निगरानी गर्छन्।"

प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका दुई जनाको प्रलोभनबारे पनि क्रिकेट टोलीसँगै खटिएका आफ्ना अधिकृतलाई खेलाडीहरूले जानकारी दिएको प्रहरीले बताएको छ।

आईसीसीले यस्ता प्रस्तावबारे आफ्नो भ्रष्टाचारविरुद्धको निकायमा सूचना दिन खेलाडीहरूलाई अनिवार्य गरेको छ। आईसीसीको आचारसंहिताअनुसार यस्तो सूचना नदिने खेलाडीहरू उसको निलम्बनमा पर्न सक्छन्।

'बेटिङ' सञ्जाल खोज्दै प्रहरी

नेपाल प्रिमिअर लीग एनपीएल

तस्बिर स्रोत, RSS

'स्पट फिक्सिङ'को विषयमा अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउ परेका व्यक्तिहरूले खेलाडीलाई प्रलोभमा पारेर 'बेटिङ' अर्थात् सट्टेबाजीका लागि प्रयोग गर्ने माध्यमबारे अनुसन्धान भइरहेको छ।

"यिनीहरूले कुन माध्यमबाट बेटिङ गराउँछन्? हामीले अनुसन्धानबाट पत्ता लगाउनुपर्ने मुख्य विषय नै त्यही छ," उनले भने।

पक्राउ परेका दुवै जना हालै मात्र भारतबाट नेपाल आएको अनुसन्धानमा खुलेको छ। तीमध्ये एक भारतीय नागरिक र अर्की भारतमा बस्दै आएकी नेपाली युवती भएका कारण उनीहरूको सम्बन्ध अन्तर्राष्ट्रिय सट्टेबाजहरूसँग रहेको हुन सक्ने प्रहरीको आशङ्का छ।

"एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडी पनि आएका छन् र पक्राउ परेका व्यक्तिमध्ये पनि एक जना भारतीय रहेका कारण यसमा स्वदेशी वा विदेशी सञ्जाल भए नभएकोबारे हामीले अनुसन्धान गरिरहेका छौँ," महाशाखाका प्रवक्ता आचार्य भन्छन्।

"पक्राउ परेका व्यक्तिहरूबाट पनि यसको खोजी भइरहेको छ र यस्तै समूह अरू पनि हुन सक्ने र अन्य खेलाडीहरूलाई पनि प्रस्ताव गरेका हुन सक्नेबारे पनि हाम्रो अनुसन्धान जारी छ।"

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तीन वर्षअघि भएको नेपाल टी२० लीगमा 'स्पट फिक्सिङ'को आरोपमा केही क्रिकेटरहरूलाई पक्राउ गरेको थियो। उनीहरूलाई पछि अदालतले सफाइ दिएको थियो।

अपराध संहिताको दफा १२५ ले जुवासँगै सट्टेबाजीलाई गैरकानुनी परिभाषित गरेको छ। यस्तो कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनमा उल्लेख छ। तर कतिपय नवीन प्रविधिको प्रयोग गरेर हुने यस्ता चलखेलको अनुसन्धान गर्न प्रशासनलाई चुनौती हुने प्रहरी अधिकारीहरू बताउँछन्।

सीआईबीले अहिले जारी एनपीएलमा पनि सूक्ष्म अनुसन्धान र निगरानी भइरहेको बताएको छ। "सुराकी परिचालन, इन्टरनेटका स्रोतहरू र सादा पोसाकका प्रहरी परिचालन गरेर सूचना सङ्कलन गर्ने काम सीआईबीले पनि गरिरहेको छ," सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले भने।

क्यान के गर्दै छ

नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीहरू

तस्बिर स्रोत, RSS

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 'फिक्सिङ', 'बेटिङ'जस्ता क्रियाकलापमा खेलाडीहरूको संलग्नतालाई गम्भीर अपराधका रूपमा लिने गरेको छ।

आईसीसीको आचारसंहितामा भ्रष्टाचार विरुद्धको न्यायाधिकरणले 'फिक्सिङ'मा संलग्न भएको अवस्थामा खेलाडीहरूलाई कम्तीमा पाँच वर्षदेखि आजीवन प्रतिबन्धसम्म लगाउन सकिने उल्लेख छ। त्यसै गरी बेटिङमा संलग्न भएका खेलाडीहरूलाई आईसीसीको न्यायाधिकरणले एक वर्षदेखि पाँच वर्षसम्मको प्रतिबन्ध लगाउन सक्छ।

प्रवक्ता लामा आईसीसीको नियमअनुसार नेपालमा पनि भ्रष्टाचार हेर्ने स्वायत्त विभाग क्यानमा पनि भएको बताउँछन्।

"आईसीसीले मान्यता दिएको एन्टिकरप्शन यूनिट विश्वभरिकै क्रिकेटमा हुन्छ। हाम्रोमा पनि आईसीसीका प्रतिनिधिहरू छन्," उनले भने।

"क्रिकेट टोली र क्रिकेटसँग जोडिएका अधिकारीहरूको निगरानी पनि त्यसले गरिरहेको हुन्छ।"

लामाका अनुसार नेपाली खेलाडीहरू बस्ने होटेलमा पनि २४ घण्टा सुरक्षा र बाहिरी व्यक्तिहरूसँगको सम्पर्क तथा भेटघाटको निगरानी गर्ने व्यवस्था गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।