'हाम्रो काख त रित्तियो तर देश नरित्तिओस्, फेरि रगत नबगोस्'

योगेन्द्र न्यौपानेको काजकिरियाको दशौँ दिन उनका बुवा युवराज र आमा लक्ष्मी न्यौपाने। बीचमा एउटा सानो टेबलमा योगेन्द्रको तस्बिर अङ्कित श्रद्धाञ्जलि सन्देश भएका दुइटा फ्रेम

तस्बिर स्रोत, Saubhagya Neupane

तस्बिरको क्याप्शन, योगेन्द्र न्यौपानेका बुवा युवराज र आमा लक्ष्मी न्यौपाने
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सरकारले घोषणा गरकेो राष्ट्रिय शोक दिवसकै दिन बुधवार योगेन्द्र न्यौपानेको सिन्धुलीस्थित घरमा उनको काजकिरियाको कर्म चल्दै थियो। जेन जी आन्दोलनका क्रममा १० दिनअघि भाद्र २३ मा काठमाण्डूमा प्रहरीले प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको हो।

शोकमा डुबेका परिवारजनले मृत्युसंस्कारको दशौँ दिनको काम गर्दै गर्दा सिन्धुलीको गोलन्जोरबाट उनका एक आफन्तले परिवर्तनका लागि योगेन्द्रले बगाएको रगत खेर जान दिनु नहुने र त्यसका लागि खबरदारी गरिरहनुपर्ने धारणा बीबीसीसँग राखेका छन्।

युवा पुस्ताका आन्दोलनकारीहरूले गरेको प्रदर्शनमा शहीद भएका २३ वर्षीय योगेन्द्र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहमा अध्ययनरत थिए र लोकसेवा आयोगको परीक्षाका तयारी पनि गर्दै थिए।

उक्त आन्दोलनमा सहभागी भएर ज्यान गुमाउनेहरूलाई शुक्रवार पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले शहीद घोषणा गरिसकेको छ। सरकारले जेन जी आन्दोलनका क्रममा व्यक्त भएको भावनाअनुरूप अघि बढ्ने जनाएको छ।

योगेन्द्रलाई उनका आफन्तहरू "देशभित्रै केही गर्ने सोच राखेका युवक"का रूपमा चित्रित गर्छन्। उनीहरूका अनुसार उनी युवाहरूले नेतृत्व गरेको आन्दोलन भएकाले यस पटक प्रदर्शनमा गएको हुन सक्ने ठान्छन्।

सरकारी सेवामा कार्यरत रहेका सौभाग्य न्यौपाने नातामा योगेन्द्रका हजुरबुवा पर्छन्।

सिन्धुलीबाट उनले बीबीसीसँग टेलिफोनमा भने, "आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदै छ, पीडा भइरहेको छ। राज्यले जतिसुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन। तापनि राज्यले सम्झेको छ, शहीद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ।"

"तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो - राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए... अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस्। देश परिवर्तनतर्फ अघि बढोस् र हाम्रो परिवारबाट बगेको रगतको सार्थकता प्रमाणित होओस् हाम्रो अपेक्षा यही नै हो।"

अब फेरि यस्तो नहोस्

सुलभराज श्रेष्ठका बुवा नरेन्द्र शिक्षण अस्पतालबहिर

तस्बिर स्रोत, Pritam Roy

तस्बिरको क्याप्शन, काठमाण्डूमा मारिएका नेपालगन्जका सुलभराज श्रेष्ठका बुवा नरेन्द्र श्रेष्ठ यो आन्दोलनले आफ्ना सबै सपना चकनाचुर पारिदिएको बताउँछन्

आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाएका नेपालगन्जका २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको घरमा पुगेर आफन्त र स्थानीयवासीले श्रद्धाञ्जलि दिएका छन्।

सुलभका बुवा नरेन्द्र श्रेष्ठ भन्छन्, "छोरो पढाइमा साह्रै अब्बल थियो। त्यसैले पहिलेदेखि नै इन्जिनियर बनाउने मेरो इच्छा थियो। छोरोले मेरो चाहना र आफ्नो पूरा गर्दै थियो, काठमाण्डू इन्जिनियरिङ कलेजबाट भर्खर स्नातक तह पास गरेर स्नातकोत्तरमा भर्ना हुने तयारीमा थियो। यो आन्दोलनले सबै सपना चकनाचुर भयो।"

बुवा नरेन्द्र श्रेष्ठका अनुसार क्रिकेटमा रुचि राख्ने सुलभ ठूलो भएर "देशकै सेवा गर्ने" तर देशमा भइरहेको भ्रष्टाचारको अन्त्य र सुशासन कायम होस् भन्ने चाहन्थे।

सुलभका ठूलाबुवा राजन श्रेष्ठ भन्छन्, "यो अन्दोलनका धेरै भौतिक क्षति भयो, त्यो त सरकारले पुनर्निर्माण गर्ला। तर हाम्रो घाउ ठिक गर्न सक्दैन। हाम्रा छोराजस्तै देशभरि धेरै छोराहरूले बलिदान दिए, हाम्रा काख रित्तियो। अब राज्यले जे गरे पनि हाम्रो कोख त भर्न सक्दैन।"

सुलभराज श्रेष्ठको परिवार शोकमा डुबेको छ। उनको निवासमा सम्मान प्रकट गर्दै राखिएको फोटो फ्रेम।

तस्बिर स्रोत, BBC/Bimala Chaudhary

आयुष थापाकी आमा पुनम नेपालगन्जकै एउटा निजी कम्पनीमा बजार प्रतिनिधिका रूपमा काम गर्छिन्।

उनी भन्छिन्, "जेठी छोरीको बिहे भइसक्यो। एउटा मात्र छोरा थियो उसले पनि जेन जी आन्दोलनमा बलिदान दियो। अब त हाम्रो घर नै शून्य भयो।"

आयुष थापा विद्यार्थी भिसामा भदौ २७ गते फ्रान्स जाने भनेर काठमाण्डू आएका थिए।

तर त्यसको चार दिनअगाडि भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर उनको ज्यान गयो।

परिवारका अनुसार फ्रान्सबाट अध्ययन पूरा गरेर नेपालमै फर्किने र समाजमा केही गर्ने आयुषको इच्छा थियो।

शहीद घोषित आयुष थापाकी आमा भन्छिन्, "छोरो त अब फर्केर आउँदैन। तर मेरो छोरोजस्तै सबै युवाले चाहे जस्तो देशमा सुशासन कायम होस्, भ्रष्टाचार नहोस् र फेरि पनि यस्तो आन्दोलन गर्ने अवस्था सिर्जना नहोस् भन्न चाहन्छु।"

ढल्यो परिवारको खम्बा

गत साता सुनसरीको इटहरीमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भयो। मारिनेमा इनरुवा तित्रीवनका २२ वर्षीय अभिषेक श्रेष्ठ थिए।

उनी स्थानीय बर्गर हाउसमा काम गर्थे। तर वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा भएका उनले केही दिनअघि उक्त काम छोडेका थिए। उनले एउटा म्यानपावर कम्पनीलाई रु ९०,००० बुझाइसकेका पनि थिए। आन्दोलनको दिन पनि उनी "बर्गर हाउसमा हिसाबकिताब मिलाउन" भन्दै इटहरी गएका थिए।

अभिषेकका बुवा झक्करबहादुर श्रेष्ठ तीन महिनाअघि मात्रै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए।

इटहरीमा ज्यान गुमाएका अभिषेक श्रेष्ठ बर्गर हाउसमा काम गर्थे। यो तस्बिरमा उनले पहेँलो रङ्गको टीशर्ट लगाएका छन्

तस्बिर स्रोत, Family Handout

तस्बिरको क्याप्शन, इटहरीमा ज्यान गुमाएका अभिषेक श्रेष्ठ वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए

घटनापछि घर फर्किएका झक्करबहादुरले बीबीसीसँग भने, "घरको भरथेग गर्ने उमेरको छोरो गुमाउनुपर्दा आफू र परिवारलाई सम्हाल्नै गाह्रो भएको छ।"

"शहीद घोषणा भइसकेकाले सरकारले छोराका एउटा शालिक बनाइदिओस् ताकि पछिसम्म नेपाली जनताले उनको बलिदानबारे थाहा पाइराखून्। जेन जी आन्दोलनमा उठाएका सवाललाई राज्यले सम्बोधन गरोस्।"

परिवारसँग जग्गाजमिन नरहेको र समान्य घर मात्रै भएकाले वैदेशिक रोजगारीमा जानुपरेको भन्दै श्रेष्ठ परिवारले कान्छा छोरालाई सरकारी जागिर उपलब्ध गराइदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन्।

युवा नेतृत्वमा आउनुपर्ने अपेक्षा

जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा छोराको शवमाथी शोकाकुल अवस्थामा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, शोकाकुल अवस्थामा जेन जी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा

लामो समय राजनीतिक अस्थिरताबाट गुज्रँदै आएको नेपालमा भदौ १९ गते सरकारले विभिन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएसँगै व्यक्त भएको असन्तुष्टि युवा आक्रोशमा बदलिएको थियो। त्यसमा मूल रूपमा भ्रष्टाचारको अन्त्य र युवा पुस्तामा राजनीतिक नेतृत्व सुम्पिनुपर्ने माग उठेको थियो।

पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीसँगको झडपमा कम्तीमा १९ जनाको ज्यान गएपछि दोस्रो दिन स्थिति नियन्त्रणबाहिर गएको थियो। अन्ततः त्यो दिन दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छोडेको घोषणा गरे। नेताहरूका सरकारी र निजी आवासमा आगजनी र तोडफोड हुन थालेपछि प्रधानमन्त्री र मन्त्रीहरूलाई नेपाली सेनाले उद्धार गरेको थियो।

नेपालको इतिहासमा कहिल्यै नदेखिएको स्तरको हिंसा र अराजकता उक्त दिन सडकमा देखियो जसका क्रममा संसद्‌ भवन र सिंहदरबारसहित देशभरिका सयौँ कार्यालय तोडफोड र आगजनी भयो।

कैयौँ व्यापारिक र सञ्चारमाध्यमका भवनमा आगजनी भयो। उक्त आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन। हालसम्म तीन प्रहरी र १० कैदीबन्दीसहित ७३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

तर यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, आन्दोलनकारी प्रदर्शनकारीका अगुवाहरूसहितको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको छ। प्रतिनिधिसभा विघटन भएको छ र आगामी फाल्गुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिएको छ।

आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारले राज्यले लोकतान्त्रिक बाटो छाड्न नहुने भन्दै समयमा नै चुनाव गराएर अहिलेको सङ्कटपूर्ण अवस्था पार लगाइने अपेक्षा गरेका छन्।

शहीद आयुष थापाकी हजुरआमा नेपालगन्जस्थित घरमा

तस्बिर स्रोत, BBC/Bimala Chaudhary

तस्बिरको क्याप्शन, आन्दोलनमा ज्यान गुमाएका प्रदर्शनकारीहरूलाई सरकारले शहीद घोषणा गरिसकेको छ

योगेन्द्र न्यौपानेका आफन्त सौभाग्य न्यौपाने भन्छन्, "चाँडै जनताबाट म्यान्डेट पाएको सरकार बनोस्। अनि त्यसले नेपाल परिवर्तनको दिशामा छ, सकारात्मक कार्यहरू भइरहेका छन् भन्ने आशाको भावना युवा पुस्तामा पनि जगाओस्। अर्को पटक युवाहरूले फेरि यसरी नै रगत बगाउनुपर्ने परिस्थिति नबनोस्।"

"नेपाल लोकतान्त्रिक शासन व्यवस्था भएको देश हो। हामीले निर्दलीय व्यवस्थाको कल्पना पनि गरेका छौँ। तर युवाहरूले जुन परिवर्तन र भ्रष्टाचार अन्त्यका लागि आवाज उठाइरहेका थिए, त्यसलाई सम्बोधन गरिनुपर्छ। व्यक्तिवादको जुन सिन्डिकेट थियो, त्यो अन्त्य हुनुपर्छ र अब युवा पुस्ताले राजनीतिक दलहरूको नेतृत्व गरेर देशलाई सही बाटोमा ल्याउनुपर्छ।"

खबरदारी गर्ने आन्दोलनकारीको प्रण

आगो लागेको संसद् भवनको छत र बाहिर नेपालको नेपालको राष्ट्रिय झण्डा बोकेका केही प्रदर्शनकारी

तस्बिर स्रोत, Reuters

यसपालिको आन्दोलनमा युवाहरूलाई सङ्गठित गर्न भूमिका खेलेका कतिपय व्यक्तिहरू अवस्थामा सुधार नआएसम्म आफूहरूले निरन्तर खबरदारी गरिरहने बताएका छन्।

जनकपुरका २२ वर्षका आदित्य कर्ण यसै वर्षको मे महिनामा भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजिजबाट कम्प्युटर इन्जिनिअरिङमा स्नातक तह सकेर काठमाण्डू आएका थिए।

स्वतन्त्र रूपमा काम गर्ने गरेका उनी आफू आन्दोलनमा सक्रिय हुनुका साथै अरूलाई सङ्गठित गराउन पनि संलग्न भएको बताउँछन्।

"जुन मागले गर्दा युवाहरू सडकमा आउनुभयो, त्यो पूरा हुनुपर्‍यो," बीबीसीसँग कुरा गर्दै उनले भने।, " उहाँहरूप्रति त्योभन्दा राम्रो सम्मान के हुन सक्छ र?"

"सबै जना निराश भएको भ्रष्टाचारले नै हो। ठूला पार्टीका नेताहरूले जसरी सत्ता छाड्न खोजिरहनुभएको थिएन, नयाँ पुस्तालाई आउन दिइरहनुभएको थिएन, त्यो पनि हाम्रो निराशाको एउटा मुख्य कारण थियो। त्यो पनि परिवर्तन हुनुपर्छ। त्यो भयो भने शहीदहरूको मागलाई सम्बोधन हुन्छ।"

जेन जी आन्दोलनकारी आदित्य कर्ण। भ्रष्टाचारविरोधी प्लाकार्डसहित

तस्बिर स्रोत, Aditya Karna

तस्बिरको क्याप्शन, आदित्य कर्ण आफूहरूले निरन्तर आन्दोलनका माग पूरा गराउन खबरदारी गर्ने बताउँछन्

आदित्य अहिले बनेको सरकारको 'म्यान्डेट' नै निर्वाचन गराउनु र आन्दोलनमा उठेका मागहरू सम्बोधन गर्नु हो भन्छन्।

"निर्वाचनमा जो पनि उठ्न पाउँछ। म आफैँ उठ्छु भन्ने होइन, मेरो उमेर कम नै छ। हाम्रो अपेक्षा काहीँ गएर कुनै पदमा बसौँ भन्ने छैन। तर हामी आवाज उठाउने मान्छे हौँ। हामी खबरदारी चाहिँ गर्छौँ।"

धेरै जनामा अझै राजनीतिक चेतनाको अभाव रहेको ठान्ने उनी भन्छन्, "निर्वाचन हुन लागेको छ। तर कति जनालाई चुनाव कसरी गरिन्छ, मतदान कसरी हुन्छ त्यसबारे पनि कम जानकारी हुन सक्छ। कसैले भन्नुभयो भने यसमा हामी मद्दत गर्न तयार छौँ। तर हामीलाई नै संलग्न गराउनुपर्छ भनेर हामी भन्दैनौँ।"

उनी सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आन्दोलन हुने कुरा 'रेडिट'मार्फत्‌ आफूले थाहा पाएको बताउँछन्। उनका अनुसार पछि उनी र उनका साथीहरू सडक प्रदर्शनबारे छलफल र योजना बनाउन प्रयोग गरिएको 'डिस्कर्ड' नामक अर्को एपमा पनि जोडिए। तर नयाँबानेश्वर निषेधित क्षेत्र भएकाले आफूहरूले माइतीघरमा प्रदर्शन गर्न जोड दिएको उनी बताउँछन्।

युवा भावनानुसार अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्रपति निवासमा मन्त्रीहरूको शपथग्रहण समारोहका क्रममा प्रधानमन्त्री शुसीला कार्की र नेपाली सेनाका प्रधानसेनापती अशोकराज सिग्देल

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेपाली सेनाको समन्वयकारी भूमिकामा प्रदर्शनकारीहरूसँगको छलफलपछि अहिलेको सरकार गठन भएको हो

भाद्र २३ गते हजारौँ युवाहरूले माइतीघरबाट र्‍याली निकाले। ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू संसद् भवन भएको क्षेत्र नयाँबानेश्वरतिर अघि बढ्यो। केही प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गर्न थालेपछि प्रहरीले घातक बल प्रयोग गर्‍यो।

उक्त क्षेत्रमा त्यो दिन ठूलो सङ्ख्यामा मानिसहरू हताहत भएपछि आक्रोश बढ्यो र आन्दोलन चर्कियो। भोलिपल्ट आन्दोलनकारीहरूले व्यापक तोडफोड र आगजनी गरे।

उक्त आन्दोलनमा सहभागी भएका र त्यसलाई नजिकैबाट देखेका आदित्य कर्ण शहीदका परिवार र घाइतेहरूलाई अहिलेको र भविष्यको सरकारले हेर्नुपर्नेमा पनि जोड दिन्छन्। प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि युवाहरूको एउटा समूहले उनको निवासबाहिर घाइते तथा मृतक परिवारको उपस्थितिमा धर्ना समेत दिएको थियो।

त्यसपछि बीबीसीलाई दिएको एउटा अन्तर्वार्तामा कार्कीले भनेकी छन्, "उनीहरूले मागेको जुन माग छ - मुलुकमा धेरै भ्रष्टाचार भयो, आर्थिक अनियमितता भयो र एउटा जुन सुशासन भएन भनेर मागेको हो - यो पूरा गर्नका लागि हामी सक्षम छौँ भनेर हामी आएको हो। अब कुनै पनि काममा १०० प्रतिशत सफल हुने कुरा पनि आउँदैन।"

"अर्को कुरा गर्दागर्दै सबै काम पूरा नहुन पनि सक्छ। त्यो हुन्छ भन्ने पनि छैन। हामी काम गर्छौँ, आलोचना आइरहन्छ। तर सक्दो हामी राम्रो कोसिस गर्छौँ। भरसक हाम्रो हातबाट पूरा होस्। अब अधुरो भयो भने त निर्वाचनपछि आउने सरकार र संसद्ले पनि पूरा गर्छ।"

सरकारले जेन जी आन्दोलनमा भएको जनधनको क्षतिबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकबाटै गरेको छ।

भ्रष्टाचारको छानबिन गर्न पनि आयोग गठन गर्नेबारे मन्त्रिपरिषद्ले पूर्णता पाएपछि छलफल गरेर निर्णय गरिने प्रधानमन्त्री कार्कीले बीबीसीलाई बताएकी छन्।

 राष्ट्रिय शोक दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा आधा झुकाइएको नेपाली झण्डा
तस्बिरको क्याप्शन, भाद्र २३ र २४ गते आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्न असोज १ गते नेपालभरि र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय शोक दिवस मनाइएको छ

नेपालगन्जबाट विमला चौधरी र विराटनगरबाट विक्रम निरौलाको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।