दक्षिण कोरियामा राम्रो देखिन मास्क लगाउँछन् युवायुवती, कोभिडको डरले हैन

सूयान पार्क

तस्बिर स्रोत, Sooyeun Park

तस्बिरको क्याप्शन, सूयान पार्क
    • Author, सेरिन हा
    • Role, बीबीसी विश्व सेवा

दक्षिण कोरियाले कोभिडसम्बन्धी प्रतिबन्धहरू खुकुलो पार्ने क्रममा मास्क लगाउनैपर्ने नियम हटाइएको छ।

खुला स्थानमा नाक र मुख छोप्नुपर्ने नियम सन् २०२२ को मे महिनामा नै हटेको थियो। केही बन्द स्थानमा मास्क लगाउनुपर्ने नियम ज्यानुअरी ३० देखि लागु हुनेगरी हटाइएको हो।

सार्वजनिक सवारीसाधन र स्वास्थ्यसेवा उपलब्ध गराउने स्थानमा भने मास्क लगाउनुपर्ने नियम अझै कायम रहनेछ।

तर धेरै दक्षिण कोरियाली युवाहरूले घरभित्र र बाहिर पनि मास्क लगाउने पक्षमा देखिएका छन्। किन त?

यसबारे उनीहरूले दिएको कारणले तपाईँ छक्क पर्न सक्नुहुन्छ।

'मास्क फिशिङ'

मिस यूनिभर्स कोरिया २०२२

तस्बिर स्रोत, Hanna Kim

तस्बिरको क्याप्शन, मिस यूनिभर्स कोरिया २०२२

कोरोनाभाइरस महामारीको बेला मास्क विश्वका अन्य ठाउँहरूमा जस्तै दक्षिण कोरियामा पनि अत्यावश्यक सामग्री बन्यो। धेरैले प्रयोग गरेको एन९५ सरहको केएफ९४ मास्क त्यहाँ निकै लोकप्रिय छ। यो मास्क लगाउँदा सास फेर्न कठिन हुनेबारे चर्चा भयो। तर शिशुकक्षाका बालबालिकादेखि वृद्धवृद्धाले पनि मास्क लगाइरहे।

महामारीको समयमा यो मास्क लोकप्रिय बन्नुको स्वाभाविक कारण हो: मानिसहरू आफूसँगै अरूलाई पनि सङ्क्रमणबाट जोगाउन चाहन्थे।

झन्डै तीन करोड दक्षिण कोरियालीलाई कोभिड भयो र ३३,००० जनाभन्दा बढीले ज्यान गुमाए।

बन्द स्थानमा मास्क लगाउने नियम हटाउने घोषणा तीन वर्षपछि गरिएको हो। त्यहाँ पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला परेको पुष्टि भएलगत्तै त्यो नियम लागु गरिएको थियो।

तर तन्नेरीहरूका लागि मास्क अर्को कारण पनि छ।

किशोरावस्था वा युवावस्थाका मानिसहरू आफ्नो रूपप्रति निकै सजग देखिन्छन्। दक्षिण कोरियाली सामाजिक सञ्जालमा “मागिक्कुन” भन्ने नयाँ शब्द चर्चित छ। यसको अर्थ ‘मास्क लगाउँदा धेरै राम्रो देखिने व्यक्ति’ हो।

यो “मास्क” र कोरियाली भाषामा “सागिक्कुन” अर्थात् छलकर्ता बुझाउने दुई शब्द मिलेर बनेको हो। मास्क लगाउँदा रूप वास्तविक स्वरूपभन्दा अझ आकर्षक देखिने भएकाले त्यसलाई छलको सङ्ज्ञा दिइएको हो।

उस्तै अर्थ लाग्ने अर्को शब्दावली “मास्क फिशिङ” हो। सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा यो प्रयोग भएको पाइन्छ।

टिकटकमा #maskfishing प्रयोग सहित हजारौँ भिडिओ बनेका छन्। तीमध्ये अधिकांश भिडिओमा किशोरकिशोरी र युवायुवतीले “के म मास्क फिशिङ गर्दैछु?” भन्ने चुनौती लिएका छन्।

दक्षिण कोरियाली मोडल तथा इन्फ्लूएन्सर हाना किमले मास्क लगाउने एक व्यक्तिले भेट्न बोलाउँदाको अनुभव बीबीसीलाई सुनाइन्।

“मैले निकै गाह्रोसँग उनको प्रस्ताव अस्वीकार गर्नुपर्‍यो। तर यस्तो गर्न सकिन्छ जस्तो मलाई लाग्दैन,” भूतपूर्व मिस यूनिभर्स कोरिया २०२२ समेत रहेकी उनले ती व्यक्तिले मास्क खोलेपछि आफू निराश भएको अनुभव साटिन्।

"म प्रायः मानिसहरूले मेरो मास्क लगाएको र नलगाएको अनुहार फरक छ भन्ठान्छन् भनेर चिन्तित थिएँ," उनले स्वीकार गरिन्।

"मैले मास्क लगाउनुको प्रमुख कारण स्पष्ट रूपमा कोभिड हो," हाना किमले भनिन्। "मेरा धेरै साथीहरू भन्छन् मास्क लगाउँदा शृङ्गार गर्नुपर्दैन वा छालाको समस्याहरू लुकाउन सकिन्छ। त्यसैले सजिलो छ," उनले भनिन्।

निम्न आत्मबल

युवतीहरू मास्क लगाउनुको फाइदाबारे बोल्दै

तस्बिर स्रोत, Giggle

तस्बिरको क्याप्शन, हाना किम र अर्की युवती मास्क लगाउनुको फाइदाबारे बोल्दै

दक्षिण कोरियाली अभिनेत्री तथा कन्टेन्ट क्रिएटर सूयान पार्क मिस यूनिभर्स कोरिया २०२२ को कुरामा सहमत छिन्। दक्षिण कोरियामा "मागिक्कुन"को प्रभाव "मास्क फिशिङ"को विश्वव्यापी प्रभावभन्दा बढी रहेको उनी बताउँछिन्।

"धेरै वयस्कहरूले सङ्क्रमण नियन्त्रण गर्न मास्क लगाउँछन् तर मलाई लाग्छ किशोरकिशोरी आकर्षक देखिन मास्क लगाउँछन्," उनी भन्छिन्।

एउटा यूट्यूब भिडिओमा केही माध्यमिक तहका केही विद्यार्थीले मास्क नफुकाल्नकै लागि खाजा खान छोडेको र केहीले मास्कलाई थोरै चिउँडोबाट उचालेर खाजा खाएको देखिन्छ।

हालसालै ४३५ जना किशोरकिशोरीमा गरिएको एउटा सर्वेक्षणले मास्कको प्रयोग कोभिड रोक्नका लागि मात्र नभई "अनुहार छोप्न" पनि भएको देखाउँछ। उक्त अध्ययनले कुनै व्यक्तिले आफ्नो मुहार जति मास्कले ढाक्छ उसको आत्मबल त्यति नै कम हुने समेत देखाएको छ।

मास्क लगाउने विषयबारे रमाइलो सामग्री बनाउने सूयान पार्कको टिकटक भिडिओहरू विशेषतः युवाले मन पराएका छन्।

"बालबालिकाले सानै उमेरदेखि लामो समयसम्म मास्क लगाएकाले उनीहरूमध्ये केहीलाई आफ्नो "वास्तविक अनुहार" देखाउन असहज महसुस हुन्छ। अरूले "मागिक्कुन" को सङ्ज्ञा दिएका व्यक्तिहरू हतपत मास्क फुकाल्न चाहँदैनन्," उनले भनिन्।

"हामी मानिसको रूपले धेरै प्रभाव पार्ने संस्कृतिमा बाँचिरहेका छौँ र बालबालिका त्यसबाट प्रभावित हुनसक्छन्।”

डेटिङ एपमा मास्क लगाएको तस्बिर प्रतिबन्धित

डेटिङ एपमा मास्क लगाएको पुरुषको प्रोफाइल

तस्बिर स्रोत, Getty Images

धेरै एपहरूले मास्क लगाएको तस्बिर राख्न दिँदैनन्।

केही एपहरूले प्रयोगकर्ताको “मागिक्कुन शक्ति” परीक्षण गर्न सक्ने दाबी गरेका छन्। तिनमा आर्टिफिशल इन्टेलिजन्स प्रयोग गरेर मास्क लगाएको अनुहार नियालेर सक्कली अनुहार कस्तो छ भन्ने अनुमान गरिन्छ।

अनि केही दक्षिण कोरियाली डेटिङ एपले आफ्ना प्रयोगकर्तालाई मास्क लगाएको तस्बिर मात्र राख्न प्रतिबन्धित गरेको छ।

आफूले रोजेको मानिसको मुहार मास्क नलगाउँदा कल्पना गरेभन्दा भिन्न भएको धेरै गुनासो आएपछि त्यसो गरिएको हो।

सामाजिक दबाव

मास्क लगाएकी महिला

तस्बिर स्रोत, Sooyeun Park

कोरियालीहरूलाई मास्क लगाउन प्रेरित गर्ने अर्को प्रमुख कारण सामाजिक दबाव हो। मे महिनादेखि खुला ठाउँमा मास्क अनिवार्य नभए पनि धेरैले लगाउन छोडेका छैनन्।

कोरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (केसीसीआई) ले हालै गरेको एउटा सर्वेक्षणअनुसार सरकारले बन्द स्थानमा मास्क लगाउनुपर्ने नियम हटाउनुअघि चारमध्ये तीन कोरियालीहरू उक्त नियम हटोस् भन्ने चाहन्थे। तीमध्ये ४० प्रतिशतले “सास फेर्न पाउने अधिकार पुनः प्राप्त गर्नु”लाई प्रमुख कारणको रूपमा प्रस्तुत गरेका थिए।

तर सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरूले मास्क लगाउँदा सामाजिक रूपमा थप सहज महसुस गरेको देखाइएको छ। त्यस्ता भिडिओहरू लाखौँ पटक हेरिएका छन्। सबै जनाले मास्क लगाएको देखिएकाले त्यसो गर्न सामाजिक दबाव परेको ठानिएको छ।

सूयान पार्कले एउटा टिकटक भिडिओमा खुला ठाउँमा मास्क लगाउने नियम हटेपछि मास्क फुकालेर फ्याँकेको अभिनय गरेकी छन्। तर आफूबाहेक अरू कसैले पनि मास्क नखोलेको देखेपछि उनी फेरि लगाउँछिन्।

नियम बाध्यात्मक नभए पनि आफूले अझै केही समय मास्क लगाइराख्ने उनले बताइन्। “अरू कसैले मास्क नलगाउँदा आफूले मात्र लगाउनु अनौठो महसुस हुन थालेपछि सायद म पनि खोल्छु।”

दक्षिण कोरियामा शब्दबाट मात्र नभई सन्दर्भ र सङ्केतले सञ्चार गर्छ।

पश्चिमी संस्कृतिमा मास्क लगाउनु कहिलेकाहीँ अपराधसँग सम्बन्धित विषय हुनसक्छ वा त्यसको नकारात्मक अर्थ लाग्न सक्छ। तर धेरैजसो एशियाली समाजमा यो सकारात्मक नभएको खण्डमा पनि निरपेक्ष चाहिँ छ। मास्कले वास्तवमै आफू र अरूलाई भाइरसबाट जोगाउँछ र तपाईँ "असल नागरिक" हो भन्ने सङ्केत दिन्छ।

दक्षिण कोरियामा मास्क लगाउनुका अरू स्वाभाविक कारणहरू पनिन छन्। कोभिड देखा पर्नुअघि नै त्यहाँ केएफ९४ मास्क धुलोबाट जोगिन प्रयोग गरिन्थ्यो। अहिले त्यहाँ अधिक चिसो छ। त्यहाँको तापक्रम घटेर माइनस १७ सेल्सीअस पुगेको छ र सरकारले शीतलहरको चेतावनी दिएको छ।

“हिजोआझ धेरै चिसो छ त्यसैले सबैले मास्क लगाउँछन्। तपाईँले चिसो हावामा जति सकिन्छ कम देखिनु पर्छ,” एक सोलवासीले भने।

त्यसैगरी दक्षिण कोरियाली युवाहरूमा अर्को शब्द “माहेजा” निकै लोकप्रिय छ जुन “मागिक्कुन”को विपरीत हो र शाब्दिक रूपमा त्यसको अर्थ “मास्क भिक्टिम” हो जसको आकर्षक रूप मास्कले छोपिदिएको हुन्छ।

यदि मौसममा सुधार भयो र "माहेजा" बढी प्रचलनमा आयो भने सम्भवतः धेरै मानिसले मास्क खोल्न थाल्नेछन्

यस्ता कुरामा बिस्तारै समयसँगै परिवर्तन हुन्छ भन्ने सूयान पार्कको विश्वास छ।

"मास्क लगाउने बानी बस्न केही समय लागे जस्तै मास्क नलगाउने बानी पार्न पनि केही समय लाग्नु स्वाभाविक हो," उनले भनिन्।