कोभिड: के फाइजरका प्रमुखले खोपले ओमिक्रोनविरुद्ध काम गर्दैन भनेका हुन्?

फाइजरका प्रमुख कार्यकारी अधिकृत

तस्बिर स्रोत, Getty Images

"मैले अहिलेसम्म कहिल्यै पनि कोभिड खोपमाथि शङ्का गरेको थिइन।"

जेरोम ट्विटरमा धेरै समाचार राम्रोसँग हेर्दैनन् तर उनी खेलकुद र मन परेका पुस्तकबारे ट्वीट गर्छन्।

क्यानडाका यी ४१ वर्षीय बस चालकले अधिकांश कोभिड प्रतिबन्धहरू पालना गरेका छन्। यद्यपि उनी महामारीका दुई वर्षले आफू दिक्दार बनिसकेको बताउँछन्।

तर नयाँ वर्षको सुरुवातमा ट्विटर चलाइरहँदा उनले फाइजरका प्रमुख कार्यकारी अधिकृतको भनिएको एउटा भिडिओ फेला पारे जसमा उनले आफ्नो कम्पनीको खोपले ओमिक्रोन भेरिअन्टबाट सुरक्षा नदिने सङ्केत गरेका थिए।

गम्भीर रोग

अल्बर्ट बोउर्लाले उक्त भिडिओमा यस्तो भनिरहेको सुनिन्छ, "हामीलाई दुई मात्रा खोपले अधिकांश अवस्थामा न्यून वा एकदमै सीमित सुरक्षा दिइरहेको थाहा छ।"

जेरोमले ट्वीट गर्दै उक्त भिडिओ सही भने त्यसले चिन्ता जन्माएको उल्लेख गरे।

तर उक्त भिडिओ एउटा लामो अन्तरवार्ताबाट सन्दर्भ नदिईकनै झिकिइएको थियो। सो अन्तरवार्तामा बोउर्लाले ओमिक्रोनका कारण देखिएको उच्च सङ्क्रमण दरबारे धारणा राखेका थिए।

फाइजरका एक प्रतिनिधिले उनले 'दुई मात्रा (फाइजर-बायोएनटेकको) खोप ओमिक्रोन भेरिअन्टबाट सुरक्षा दिन पर्याप्त हुन नसक्ने' एउटा अनुसन्धानतर्फ सङ्केत गरेको तर खोप लगाएका व्यक्तिहरू गम्भीर बिरामीबाट अझै पनि जोगिने प्रष्टीकरण दिएका छन्।

कैयौँ अध्ययनहरूले सङ्क्रमणबाट सुरक्षा नदिएको अवस्थामा पनि खोपहरूले ओमिक्रोन भेरिअन्टको प्रभावलाई कम गर्ने उल्लेख गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सयौँ स्वास्थ्यकर्मीमा कोभिड, अस्पतालको सेवा पनि प्रभावित

जेरोमले पछि हेर्दा उक्त भिडिओ एउटा पूर्ण अन्तरवार्ताको सानो अंश मात्रै भएको थाहा पाएको बताए।

उनले भने,"मलाई प्रस्ट भयो कि सम्भवतः त्यो सानो भिडिणलाई लिएर धारणा बनाउनु उपयुक्त हुँदैन।”

तर उनी लगभग ‘दिग्भ्रमित हुनुपर्ने’ अवस्थामा पुगिसकेका थिए।

"म एकदमै आश्चर्यमा परेको थिए र स्तब्ध भएको थिए। जे सुनिरहेको थिए त्यसमा विश्वास नै लागिरहेको थिएँ।"

उनले खोपबारे आशङ्का व्यक्त गरेको उक्त ट्वीटमा ‘खोपको विपक्षमा उभिएका एन्टीभ्याक्स भनिने समुदाय’बाट कैयौँ प्रतिक्रियाहरू आएका थिए।

उनले आफ्नो ट्विटरमा कहिल्यै त्यति धेरै प्रतिक्रिया नआएको बताए।

ठूलो फड्को

जेरोमलाई ‘खोपबाट हुने अभूतपूर्व नकारात्मक असर’ भन्दै असङ्ख्य मिथ्या सूचनाका लिङ्कहरू पनि पठाइएको थियो।

मानिसहरूले ओमिक्रोनबाट खोपले राम्रो सुरक्षा नदिएको वा एकदमै दुर्लभ किसिमका नकारात्मक असरहरू देखा परिरहेको विषयबाहेक खोप पूर्ण रूपमा असुरक्षित रहेको र प्रभावकारी नरहेको जस्ता अप्रमाणित दाबीहरू गरिरहेका थिए।

जेरोमले भने, "यसले मलाई कसरी मिथ्या सूचनाका स्रोतहरूबाट मानिसहरूमा भ्रम परिरहेको छ भन्ने बुझ्न सहयोग गर्‍यो।"

आशङ्का

एउटा अनलाइन न्यूजलेटर लेखक जोर्डन साख्टेलले बोउर्लाको प्रतिक्रियाको अंशलाई उद्धृत गर्दै फाइजर खोपले अब कोभिड-१९ विरुद्ध सीमित सुरक्षा दिने उल्लेख गरेका थिए।

जेरोमले सुरुमा गरेको ट्विटले साख्टेलको न्यूजलेटरलाई उद्धृत गरेको पाइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड खोप लिन किन सन्देहः तपाईँको प्रश्नको उत्तर

अरू सामाजिक सञ्जालका पोस्ट, भिडिओ र पडकास्टले पनि सिधै त्यसलाई आधार मान्दै उनको प्रतिक्रियाले खोप 'सुरक्षित र प्रभावकारी रहेकोमा' आशङ्का जन्माएको उल्लेख गरिएको छ।

कतिपय पोस्टमा बोउर्लासँग असम्बन्धित प्रतिक्रिया समेत उल्लेख गरिएको छ।

'शून्य' सुरक्षा

उक्त अन्तरवार्तामा बोउर्लाले भाइरसविरुद्ध प्रभावकारी अर्को खोपको योजना बनाइरहेको बारे चर्चा गरेको देखिन्छ।

साख्टेलको न्यूजलेटरले सुरुमा गल्ती गरे पनि पछि त्यसलाई सच्याएको देखिन्छ।

अमेरिकी पूर्वसांसद रोन पलले यूट्युबमा मिथ्या सूचनाको आधारमा धारणा व्यक्त गरे

तस्बिर स्रोत, YouTube

तस्बिरको क्याप्शन, अमेरिकी पूर्वसांसद रोन पलले यूट्युबमा मिथ्या सूचनाको आधारमा धारणा व्यक्त गरे

तर त्यो अघि नै त्यो लेखलाई झन्डै २० लाखभन्दा बढीले सामाजिक सञ्जालमा पछ्याउने अमेरिकी पूर्वसांसद रोन पलले उद्धृत गरेको पाइएको छ।

एउटा यूट्युब भिडिओमा पलले साख्टेलको न्यूजलेटरलाई स्पष्ट उद्धृत गर्दै बोउर्लाले कोभिडको खोप सुरक्षित नभएको र त्यसले ओमिक्रोनबाट सुरक्षा नदिने बताएको दोहोर्‍याएका थिए।

त्यसपछि फाइजरले अहिलेका खोपले काम गर्दैन’’ वा कोभिड १९ विरुद्ध शून्य सुरक्षा दिन्छभनेर स्वीकार गरेकोभन्दै पलको यूट्युब च्यानलबाट व्यक्त धारणा कैयौँ अनलाइनमा विस्तार भएको छ।

कम मृत्यु

स्वतन्त्र वैज्ञानिक र जनस्वास्थ्य विज्ञहरूले गरेका अध्ययनले विशेष गरी ओमिक्रोन भेरिअन्टविरुद्ध गम्भीर रोग लाग्नबाट जोगाएर खोपहरूले सकारात्मक प्रभाव पारिरहेको उल्लेख गरेका छन्।

एउटा अध्ययनले दोस्रो मात्रा खोप लगाएको अवधिबाट तीन महिनापछि सम्म कसैलाई पनि ओमिक्रोन सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना ७० प्रतिशतले कम हुने उल्लेख गरिएको छ।

छ महिनाको अवधिपछि भने उक्त सम्भावना ५० प्रतिशतमा झर्ने उक्त अध्ययनमा भनिएको छ।

अर्को अध्ययनले ओमिक्रोन भएको अवस्थामा खोप नलगाएका व्यक्तिभन्दा दुवै मात्रा खोप लगाएका व्यक्तिहरू अस्पताल भर्ना हुनुपर्ने सम्भावना ६५ प्रतिशत कम हुने भनिएको छ।

उच्च खोप दर भएका धेरै देशहरूमा कोभिडको सङ्क्रमण दर एकदमै उच्च रहेको छ तर यसअघि सङ्क्रमण उत्कर्षमा पुग्दा भन्दा निक्कै कमले ज्यान गुमाएका छन्।