कपाल खौरेर सरकारको विरोध गर्दै दक्षिण कोरियाली विपक्षी नेता

तस्बिर स्रोत, AFP
दक्षिण कोरियामा विपक्षी दलका नेता ह्वाङ ग्यो हान सरकारको विरोध जनाउँदै सार्वजनिक रूपमा कपाल खौरने पछिल्ला राजनीतिज्ञ बनेका छन्।
ह्वाङले आफ्ना समर्थक र सञ्चारकर्मीहरूबीच राष्ट्रपति भवन अगाडि कपाल खौरिएका छन्।
परिवारका सदस्य भ्रष्टाचारका मुद्दामा मुछिएका कारण विवादमा तानिएका न्यायिक मामिला हेर्ने मन्त्री चो कुकको नियुक्तिको विरोधमा सो प्रदर्शन गरिएको हो।
विरोधस्वरूप गत हप्ता दुईजना महिला सांसदले कपाल खौरिएका थिए। तीनै जना राष्ट्रपति मुन जे-इन ले नेतृत्व गरेको सरकारको विरुद्धमा छन्।
उनीहरू चोले राजीनामा गरुन् वा उनलाई पदबाट बर्खास्त गरियोस् भन्ने चाहन्छन्।
अनौठो विरोध शैली
गतहप्ता मात्र न्यायिक मामिला हेर्ने मन्त्रीका रूपमा पदभार ग्रहण गरेका चो कानुन विषयका पूर्व प्राध्यापक हुनुका साथै राष्ट्रपतिका सल्लाहकार हुन्।
तर उनको परिवारमाथि प्राज्ञिक विषयमा ठगीका साथै आर्थिक अपराधको आरोप लागेको छ।
उनकी श्रीमतीमाथि विश्वविद्यालयमा फट्याइँ गरेको आरोप छ। त्यसले उनकी छोरीलाई छात्रवृत्ति प्राप्त गर्न सहयोग पुगेको भन्ने गरिएको छ। चोकि पत्नी पनि प्राध्यापक हुन।

तस्बिर स्रोत, AFP
अभियोजनकर्ताहरुले उनका नातेदारसँग जोडिएको एउटा शङ्कास्पद कोषमा गरिएको लगानीबारे पनि छानबिन गरिरहेका छन्।
पछिल्ला हप्ताहरूमा चोको परिवारसँग जोडिएका थुप्रै स्थानहरूमा छापा मारिएको छ।
आफ्नी छोरीले लाभ पाएको भन्ने विषयमा पदभार ग्रहण गर्नु अघिको सुनुवाइका क्रममा उनले युवा पुस्तासँग माफी मागेका थिए।
उनले आफूले न्यायिक प्रणालीमा सुधार गर्न चाहेको बताएका थिए।
चोले आफू माथि लागेका आरोपको पुष्टि नभएको र आरोपकै आधारमा कसैको नियुक्ति नगरिनुले गलत नजिर बसाल्ने बताउँदै आएका छन्।
कपाल खौरनुको कारण
दक्षिण कोरियामा विरोधस्वरूप कपाल खौरने चलन नयाँ होइन। यो लामो समयदेखि चलेको परम्परा हो।
उक्त क्रियाकलाप परम्परागत कन्फ्युशियस शिक्षामा आधारित छ।
ऐतिहासिक रूपमा उक्त क्रियाकलापलाई कुनै पनि कुरामा प्रतिबद्धता प्रदर्शन गर्ने तरिकाका रूपमा हेरिन्छ।
सन् १९६० देखि १९७० मा दक्षिण कोरिया प्रत्यक्ष सैन्य शासन थियो। त्यति बेला असन्तुष्टि व्यक्त गर्न कपाल खौरिने गरिन्थ्यो।
पछिल्ला दशकमा राजनीतिज्ञ र अभियानकर्ता उक्त शैली प्रयोगमा ल्याएका छन्।

तस्बिर स्रोत, Getty Images
शौचालय र कपडा लगाउनका लागि बनाइएका कोठामा गोप्य क्यामेरा राख्ने र महिलाहरूको भिडियो कैद गरिने कार्यको विरोध गर्दै सन् २०१८ मा गरिएका प्रदर्शनका क्रममा महिलाहरूले आफ्नो कपाल खौरिएका थिए।
अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको विरोधस्वरूप दुई वर्ष अघि नौ सयभन्दा बढी कोरियाली नागरिकहरूले कपाल खौरिएका थिए।
सन् २००७ मा पनि नयाँ औद्योगिक क्षेत्र कहाँ बनाउने भन्ने विषयमा विवाद उत्पन्न भए पछि इचनका सयौँ बासिन्दाहरूले कपाल खौरिएका थिए।
राष्ट्रपति भवन अघि कपाल खौरिएका ह्वाङले चोलाई 'अपराधी'को संज्ञा दिँदै राजीनामा माग गरेका थिए।
उनको प्रदर्शनले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न गराएको थियो।








