दक्षिण कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गर्ने नेपालीको सुझाव

महिला कामदार

तस्बिर स्रोत, Mitra Shova Rai

    • Author, ‏विनिता दाहाल
    • Role, बीबीसी नेपाली सेवा

सरकारले यो वर्ष एकै पटक ईपीएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्।

सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना नेपाली कामदार लैजाने बताइएको छ।

यति ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने बताइएका बेला आकर्षक गन्तव्य मानिएको कोरिया जानुअघि कामको प्रकृति र त्यहाँ भोग्नुपर्ने समस्याबारे अवगत हुन सुझाएका छन्।

आफूहरूले कोरिया जाँदा एक थरी सोचेको र पुग्दा सोचे भन्दा कठिन भएको भन्दै उनीहरूले त्यहाँ जस्तो काम परी आए पनि गर्नसक्ने हिम्मत राख्नुपर्ने बताएका छन्।

'शुरूमा धेरै परिश्रम'

त्यसरी सुझाउनेमध्ये एक हुन् दाङ्गकी मन्जु पन्थी।

काठमाण्डूस्थित एक निजी संस्थामा काम गर्दा दैनिक जीवनका आधारभूत आवश्यकता समेत पूरा गर्न नसकिने देखेपछि उनले कोरिया जाने तयारी थालिन्।

भाषा परीक्षामा उत्तीर्ण भएर सन् २०१७ मा कोरिया पुगिन्।

त्यहाँ पुगेपछि उनले फिनेल हाउसमा काम सुरु गरिन्। त्यहाँ काम गाह्रो भएपछि अहिले उनी कोरियाको सोलस्थित एउटा आश्रयस्थलामा रहेर तुलनात्मक रुपमा सजिलो कामको खोजी गरिरहेकी छन्।

"शुरूमा आउँदा धेरै परिश्रम पर्ने काम गर्नुपर्छ। त्यसको बारेमा विस्तारै थाहा हुन्छ अनि हामी अलि सहज विकल्प खोज्न थाल्छौँ। त्यसरी कम्पनी परिवर्तन गर्न खोज्दा निकै गाह्रो हुन्छ।"

उनी उदाहरण दिन्छिन्, "जस्तै हामीलाई फिनेल हाउसमा काम गर्न निकै गाह्रो हुन्छ। निकै गर्मी खेप्नु पर्ने हुन्छ। यहाँ यस्ता धेरै खालका समस्याहरू छन् तर पनि सङ्घर्ष गर्दै अघि बढ्नुपर्ने बाध्यता छ।"

एउटा कम्पनीबाट काम छोडेको तीन महिनाभित्र अर्को कम्पनीमा काम शुरू नगरे कोरियामा गैरकानूनी भइन्छ।

कोरियामा काम

तस्बिर स्रोत, Mitra Shova Rai

'बुझेर गए सजिलो'

उनी मात्रै होइन कोरियामा काम गर्न जानेमध्ये खासगरी कृषि क्षेत्रमा जाने महिलाहरूले कामको खोजीमा यस्ता समस्या भोग्नुपर्ने बताइन्छ।

नेपालबाट कोरिया जाँदा उत्पादन र कृषि तथा पशुपालन गरी दुई क्षेत्रमा कामदारहरू जान्छन्।

यी दुवै क्षेत्रमा जाँदा कामको प्रकृतिबारे बुझेर त्यो अनुसार आफूलाई तयार बनाउनुपर्ने बताउँछन् तीन वर्षअघि कोरिया पुगेका यदु लामिछाने।

उत्पादन क्षेत्रमा काम गरिरहेका उनी भन्छन्, "दुवै क्षेत्रमा काम गर्न गाह्रो छ। शारीरिक रूपमा पनि आफूलाई तयार पार्नुपर्छ र मानसिक रूपमा पनि जे परी आए पनि आफू गर्छु भन्ने सोच राख्नुपर्छ।"

खासगरी उत्पादन क्षेत्रमा जानेमा पुरुषहरू धेरै हुन्छन् भने कृषिमा महिला।

मासिक डेढदेखि दुई लाख रुपैँयासम्म कमाउन सकिने भएकोले धेरै नेपालीलाई कोरिया आम्दानीका लागि लोभलाग्दो देखिए पनि श्रम गर्न र मौसम अनुसार काम पाउन गाह्रो हुने बताउँछिन् इटहरीकी शारदा बराल।

"रोजगारीको अवसर खोज्ने नेपालीका लागि पैसा र सुरक्षाका दृष्टिकोणले निकै राम्रो छ। तर यहाँ आउनुअघि यहाँ गर्नुपर्ने कामबारे राम्रोसँग बुझ्नुपर्छ र त्यस्तै प्रकृतिका काम नेपालमै कम्तीमा अभ्यास गरेर आए सजिलो हुन्छ।"

कोरियामा कृषिमा काम गर्नेहरूले साग बारीमा, च्याउ खेतीमा, फिनेल हाउसमा, बङ्गुर फार्म जस्ता ठाउँमा काम गर्नुपर्छ।

कोरियामा काम

परामर्श दिन आवश्यक

उत्पादन क्षेत्रमा निश्चित रुपमा विदा तोकिने भए पनि कृषिमा प्रायःजसो महिनामा दुईपटक जस्तो मात्रै बिदा दिँदा पनि कामदारलाई गाह्रो हुने उनीहरू बताउँछन्।

त्यसबाहेक दिनमा १०/१२ घण्टा लगातार काम गर्नुपर्ने साथै पुरुषले गर्नुपर्ने काम कतिपय अवस्थामा महिलाले गर्नुपर्दा शारीरिक रुपमा गाह्रो हुने कोरियामा अहिले एउटा आश्रयस्थलमा बसेर रोजगारी खोजिरहेकी मात्री शोभा राईले बताइन्।

"वैदेशिक रोजगारीका लागि अन्य मुलुकमा जाने प्राय महिलाहरूले जस्तो यहाँ यौन तथा शारीरिक शोषण भोग्नुपर्दैन। यहाँ काम पाउन गाह्रो छैन आफूले गरिरहेको काम यदि परिवर्तन गर्न चाहेको खण्डमा काम छोडेको तीन महिनाभित्र अर्को काममा लागिसक्नुपर्छ। रोजगार केन्द्रले दिने म्यासेज धेरै छनोट गर्दा मात्रै हो गाह्रो," उनले भनिन्, "अझ राम्रो कामको प्रस्ताव आउँछ की भन्ने सोचले भने केही हदसम्म अवैधानिक हुनसक्ने सम्भावना रहन्छ। काम काम नै हो सजिलो अप्ठ्यारो जस्तो पनि गर्न सक्छु भनेर मानसिक रुपमा तयार भए काम गर्न र पाउन त्यति कठिन छैन।"

धेरैजसो कोरियन टेलिसिरियलमा देखिने दृश्यहरूबाट प्रभावित भएर र फेसबुकमा चिनेजानेकाले राखेका तस्बिरहरूबाट लोभिएर जाने गरेको त्यहाँ महिलाका लागि विमेन फर विमेन नामक आश्रयस्थलको अध्यक्ष रहेकी पद्मा श्रेष्ठले बताइन्।

काम गर्न गाह्रो भएकै कारण एउटा कम्पनी छोडेर अर्को कामको खोजिरहेका मञ्जु, हीरा छन्त्याल, लीला कार्की, सनम तामाङजस्ता करिब १ दर्जन महिला सोलस्थित विमेन फर विमेन आश्रयस्थलमा छन्।

यस्ता आश्रयस्थल कोरियाभरि करिब दुई दर्जन रहेको बताइन्छ।

१० वर्षमा ६० हजार

इपीएस प्रणालीबाट १० वर्षको बीचमा झन्डै ६० हजार कामदार दक्षिण कोरिया पुगेका छन्। तीमध्ये महिला कामदारको सङ्ख्या ३५ सयको हाराहारीमा रहेको बताइन्छ।

कोरियामा खासगरी महिलाले भोग्नुपर्ने समस्याबारे गैरआवासीय नेपाली सङ्घ कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले भनिन्, "नेपालबाट भर्खर कलेज पास गरेर आउने नानीहरूले त्यहाँ माटोमा कामै नगरेका पनि हुन्छन्। उनीहरूलाई यहाँको तरिकाले काम गर्न निकै गाह्रो हुन्छ।"

खेतीको मौसममा काम लगाएर बेमौसममा कामबाट निस्कनुपर्दा पनि रोजगारीको समस्या हुने गुरुङ बताउँछन्।

"शारीरिक रूपमा पुरुष सरह महिलाहरू बलियो नहुने भएकोले साहूहरूले कृषिमै पनि महिलालाई भन्दा रोजगारी दिन पुरुषलाई खोज्छन्।"

यस्तो अवस्थामा कम्तीमा कोरिया जानुअघि कामदारलाई यी विभिन्न पक्षबारे राम्रो परामर्श दिनुपर्ने उनीहरू बताउँछन्।

उनीहरूका अनुसार त्यसले आइपर्ने समस्यासँग जुध्न कामदारलाई मानसिक रूपमा बलियो बनाउँछ।

कोरिया जानका लागि भाषा परीक्षा दिन चैत ८ देखि चैत १७ भित्र आवेदन भर्न सरकारले सूचना जारी गरेको छ।

आवेदन भरेकाहरूको भाषा परीक्षा भने जेठको २५ र २६ गते हुनेछ।

कोरिया जाने नेपाली कामदारको आवेदन प्रक्रिया सहज बनाउन सरकारले यसपालि डिजिटल ब्याङ्किङ प्रणाली शुरु गरेको छ।

तर धेरै आकाङ्‍क्षीले त्यसबारे जानकारी नपाउँदा परीक्षा दस्तुर तिर्नका लागि घण्टौंसम्म लाईन लागेका थिए। रातभर लाइनमा बसे।

वर्षेनी झन्डै ८० देखि ९० हजारको हाराहारीमा निवेदन पर्ने गरेकोमा यो वर्ष पहिलो दिन झण्डै ६० हजार आवेदन परेको बताइन्छ।

नै र उनीहरूले आवेदन दस्तुर बुझाउन ब्याङ्कमा लामो लाइन लाग्नुपर्ने कठिनाई यो वर्षबाट सहज हुने इपीएस कोरिया शाखाका प्रमुखले बताएका छन्।