दक्षिण कोरिया: अदालतद्वारा विवादास्पद राष्ट्रपति पदमुक्त

तस्बिर स्रोत, Reuters
दक्षिण कोरियाकी राष्ट्रपति पाक गुन हे उक्त मुलुककै इतिहासमा आफ्नो कार्यालयबाट हटाइने पहिलो निर्वाचित नेता भएकी छन्।
नजिककी मित्र च्वो सुन शिल संलग्न रहेको ठानिएको भ्रष्टाचार प्रकरणलाई लिएर उनीविरुद्ध महाभियोग लगाउने संसदको निर्णयलाई न्यायाधीशहरुले एकमतले अनुमोदन गरेका हुन्।
पाकको बहिर्गमनले मे महिनाको शुरुवाततिर नयाँ राष्ट्रपति चयन गर्नका लागि बाटो खोलेको छ।
कारबाही
उनले राष्ट्रपतिका रुपमा पाउने उन्मुक्ति पनि गुमाएकी छन् र उनलाई फौजदारी कारबाही पनि हुनसक्छ।
गत डिसेम्बरयता पाक राष्ट्रपतीय भूमिकाबाट निष्कासित छिन्।
त्यसयता उनको जिम्मेवारी देशका प्रधानमन्त्रीले सम्हालिरहेका छन्।
यसैबीच च्वोलाई घूसखोरी र भ्रष्टाचारको अभियोग लगाइएको छ।

तस्बिर स्रोत, AP

तस्बिर स्रोत, Getty Images
सरकारले गरिदिने कामबापत ठूला कम्पनीहरुलाई रकम दिन दबाब दिएको उनीमाथि आरोप छ।
पाकलाई पनि उनीसँग मिलेको आरोप लागेको छ।
दुवै महिलाले आरोपको खण्डन गरेका छन्।
नियमविपरीत
आठ न्यायधीशको सर्वोच्च संवैधानिक अदालतले पाकलाई हटाउनु उपयुक्त भएको निष्कर्ष निकाल्नुअघि उसले महाभियोगबारे छलफल गरेको थियो।
फैसला कुर्दै अदालतबाहिर सयौं मानिसहरु भेला भएका थिए।
पाकले नियमविपरीत कयौं गोप्य दस्तावेज चुहाएको र च्वोलाई राज्यका गतिविधिमा हस्तक्षेप गर्न दिएर कानून मिचेको अदालतले निर्णय सुनाएको योनहाप समाचार संस्थाले जनाएको छ।
संवैधानिक अदालतका प्रमुख ली जुंग मीले भनेका छन्, "पाकको कदमले प्रजातन्त्र र कानूनी शासनको मर्मलाई नराम्ररी कुल्चेको छ"।
उनले थप भनेका छन्, "च्वोले राज्यको गतिविधिमा हस्तक्षेप गर्दा समेत पाकले पूर्ण रुपमा उक्त विषय लुकाइन् र त्यसप्रति शंका जनाउँदा उनले अस्वीकारमात्रै गरिनन् तिनीहरुको आलोचना समेत गरिन्।"
तर प्रेस स्वतन्त्रता र २०१४ को डुंगा दुर्घटना प्रकरणमा उनीविरुद्ध ल्याइएका महाभियोगहरु भने अदालतले खारेज गरिदिएको छ।
अदालतको फैसलाको मिश्रित प्रतिक्रिया आएको छ।
कतिपयले फैसलाको स्वागत गरेका छन् भने पाकका समर्थकहरुले क्रुद्ध प्रतिक्रिया दिएका छन्।






















