के-पप: उदाइरहेको ‘भर्चुअल’ किशोरी ब्यान्ड

तस्बिर स्रोत, Pulse9
- Author, जुली युनयोङ लि र एमेलिया हेम्पहिल
- Role, बीबीसी १०० विमिन
के-पप समूह इटर्निटीले सन् २०२१ मा सार्वजनिक गरेको आफ्नो पहिलो एकल गीत "आई'एम रीअल" अनलाइन माध्यममा १० लाखभन्दा धेरै पटक हेरिएको छ।
उनीहरू गाउँछन्, नाच्छन् र अरू साङ्गीतिक समूहले जस्तै आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया गर्छन्।
अरू पप समूह र उनीहरूबीच तुलना गर्दा एउटा ठूलो फरक छ। त्यो के भने यसका सबै ११ सदस्य भर्चुअल अर्थात् अवास्तविक हुन्।
गैरमानव भए पनि उनीहरूलाई आर्टिफिसिअल इन्टेलिजेन्सको सहायताले एकदमै वास्तविक जस्तै बनाइएको छ।
"हामीले इटर्निटीबाट गरिरहेको कारोबार नयाँ खालको हो," उक्त अवधारणाकी परिकल्पनाकार पार्क जिउनले भनिन्।
गैरमानव कलाकार किन राखिएका हुन्
उनका अनुसार 'भर्चुअल कलाकार' हरू राख्दा कैयौँ फाइदाहरू छन्।
मानव भएकाले के-पपका स्टारहरू शारीरिक सीमितता वा मानसिक तनावका कारण सङ्घर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले गैरमानव भएकाले त्यस्ता कलाकारहरू स्वतन्त्र रहने बताइन्।

तस्बिर स्रोत, YG Entertainment
पछिल्लो दशकमा कोरियाली पपको साम्राज्य अर्बौँ डलर मूल्य बराबरको बनेको छ।
उत्कृष्ट ध्वनि, उच्च प्रविधिको उत्पादन र नृत्यका लागि पनि सुहाउँदो भएकाले कोरियाली पप मूलधार बनिसकेको छ।
यो दक्षिण कोरियाको एउटा आकर्षक र प्रभावशाली निर्यात बनेको छ।
तर के पपका सर्वोत्कृष्ट कलाकारहरू, उनीहरूका प्रतिबद्ध समर्थक र व्यवसायीहरू यो सफलताबाट भविष्यमा पनि कसरी लाभ लिने सोचिरहेका छन्।
आर्टिफिसिअल इन्टेलिजेन्स, डिपफेक र अभटार प्रविधिले व्यापकता पाएसँगै यी चर्चित पप गायकहरूले आफ्नो प्रसिद्धिलाई एउटा पूर्ण नयाँ उचाइमा लगिरहेका छन्।
कुन प्रविधि कम्पनीले यो क्षेत्रमा काम गरेको छ
इटरनिटीका गैरमानव सदस्यहरूलाई एउटा प्रविधि कम्पनी पल्स९ ले तयार पारेको हो। पार्क जीउन त्यसकी प्रमुख कार्यकारी अधिकृत हुन्।
प्रारम्भिक रूपमा उसले १०१ वटा काल्पनिक अनुहारहरू तयार पारेको थियो र त्यसलाई चारवटा समूहमा विभाजन गरेको थियो। त्यसमा प्यारो, आकर्षक, निर्दोष र बुद्धिमान समूह थिए।
समर्थकहरूलाई उनीहरूलाई मनपर्ने अनुहारलाई मत खसाल्न भनिएको थियो। त्यसपछि उक्त समूहका डिजाइनरहरूले समर्थकहरूका रोजाइका विजेता चरित्रहरूमा थप एनिमेशनको काम गरेका थिए।
समर्थकहरूले प्रत्यक्ष च्याट गर्ने, भिडिओ र अनलाइनमा भेट्न मिल्ने ती अनुहारहरूलाई पल्स९ ले करार गरेका परिचय नखुलाइने गायक, कलाकार र नृत्यकारका रूपमा प्रस्तुत गर्न मिल्छ।
यो प्रविधिले चरित्रहरूलाई जीवनमा उतार्छ।

तस्बिर स्रोत, Pulse9
पार्क जिउनले बीबीसी १०० विमिनसँग भनिन्, "भर्चुअल चरित्रहरू पूर्ण हुनसक्छन् र उनीहरू मानवभन्दा पनि अझ मानव बन्नसक्छन्।"
डिपफेक प्रविधि मूलधारतर्फ प्रवेश भइरहँदा यसले पूर्व अनुमति बेगर मानवको चरित्रलाई तोडमोड गर्नसक्ने र घातक मिथ्या सूचना सृजना गर्नसक्ने चिन्ताहरू पनि व्यक्त भएका छन्।
जोखिम के छन्
महिलाहरूले आफ्नो अनुहार यौन चलचित्रहरूमा राखिएका उजुरी दिएका छन्।
सामाजिक सञ्जालहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका डिपफेकहरू सार्वजनिक गरिएका छन्।
पार्क आफूले सधैँ ती काल्पनिक चरित्रहरू भएको प्रस्ट पार्ने प्रयास गरेको र युरोपेली सङ्घको मस्यौदा आर्टिफिसिअल इन्टेलिजेन्स सम्बन्धी आचारसंहिता प्रयोग गरेर अभटारहरू बनाएको बताउँछिन्।
उनले नयाँ प्रविधिलाई राम्रोसँग प्रयोग गर्न आफूले सक्ने भन्दै त्यसले सङ्गीत उद्योगको माग धान्नुपर्ने कारण तनाव र दबाबमा रहेका के-पप कलाकारहरूलाई राहत दिने बताइन्।

तस्बिर स्रोत, SM Entertainment
पछिल्ला वर्षहरूमा के-पप डेटिङ हल्लाहरूदेखि अनलाइनमा हुने गालीगलौज, मोटोपनलाई मजाक बनाएको र ब्यान्डका सदस्यहरूले वजन घटाउन चरम कदम चालेका विषयका कारण चर्चामा छ।
के पप स्टारको असामयिक निधनपछि यो विधाले दक्षिण कोरियामा मानसिक स्वास्थ्य र साइबर दुर्व्यवहारको विषयमा बहस पनि जन्माएको छ।
सन् २०१९ मा २५ वर्षकी गायिका तथा कलाकार सल्ली आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी थिइन्।
उनले आफूबारे 'गलत मनसाय राखेर आएका र असत्य हल्लाका कारण' मनोरञ्जन उद्योगबाट विराम लिएकी थिइन्।
त्यसको केही समयपछि उनी निकटकी साथी तथा अर्की चर्चित के पप कलाकार गु हारा सोलस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन्।
गोप्य रूपमा आफ्नो प्रेमीले भिडिओ खिचेका उनले त्यसका कारण अनलाइनमा गम्भीर दुर्व्यवहार खेप्नु परेको थियो। आत्महत्या गर्नुअघि उनी न्यायका लागि लडिरहेकी थिइन्।
चेतावनी कि सहयोग?
समर्थकहरूका प्रस्तुति दिन र उनीहरूसँग अन्तरक्रिया गर्न चौबिसै घण्टा काम गर्नु पर्ने अवस्थाका कलाकारहरूलाई अवास्तविक चरित्रले केही राहत दिन सक्छ।

१९ वर्षकी हान येवान हालै घोषणा भएको किशोरीहरूको समूह मिमीरोजकी 'लिड भोकलिस्ट' वा प्रमुख गायिका हुन्।
चार वर्ष तालिम लिएकी उनले मासिक रूपमा कैयौँ मुल्याङ्कनहरूको सामना गर्नुपर्यो। त्यसमा उल्लेख्य प्रगति नदेखाउने व्यक्तिहरूलाई हटाउने गरिएको थियो।
"म त मौका नै पाउँदिन भनेर चिन्तित थिएँ," येवानले भनिन्।
के पप स्टार रातारात बन्न सकिदैँन। र नयाँ नयाँ समूह आइरहँदा आफूलाई स्थापित गर्न पनि कठिन छ।
आफूहरूले प्रत्येक दिन १२ घण्टा भन्दा बढी समय अभ्यास गरेको सुनाउने उनी प्रशंसकहरूले आफ्नो मौलिकता मन पराउने बताउँछिन्।

तस्बिर स्रोत, Pulse9
तर गैर मानवको प्रवेशले उनी चिन्तित छिन्।
"पछिल्लो समयमा प्रविधिमा यति सुधार भएको छ मलाई डर लाग्छ भर्चुअल चरित्रहरूले मानिसहरूले रुचाएका वास्तविक पात्रको स्थान लिनेछन्।"
तर अरू कतिपय के-पप समूहहरूले नयाँ प्रविधिलाई आत्मसात गरिसकेका छन् र यो व्यापार निरन्तर उकालो लाग्ने ठानिएको छ।
डिजिटल मानव र अभटारको बजारको आकार सन् २०३० सम्म ५२७.५८ अर्ब डलरको पुग्ने प्रक्षेपण एउटा परामर्श कम्पनी इमर्जेन रिसर्चले गरेको छ।

तस्बिर स्रोत, SK Telecom
कम्तीमा चारवटा के-पपका सबैभन्दा ठूला मनोरञ्जन कम्पनीहरूले आफ्ना चर्चित कलाकारका भर्चुअल आवरणका लागि व्यापक रूपमा लगानी गरिरहेका छन्।
सन् २०२२ मा सबैभन्दा बढी आम्दानी गर्ने पाँच वटा मुख्य समूहमा पनि त्यस्तो प्रवृत्ति देखिएको छ।
आफ्नो अवास्तविक प्रतिलिपि प्रस्तुत गर्ने अवसरले जिउँदा कलाकारले कहिल्यै पनि गर्न नसक्ने किसिमले समय र भाषाको अवरोध चिर्न उनीहरूलाई मद्दत गरिरहेको छ।









