स्क्विड गेम: सबैभन्दा सफल टेलिशृङ्खलाका आकर्षण

तस्बिर स्रोत, NETFLIX
स्क्विड गेम नामक कोरियाली टेलिशृङ्खला नेटफ्लीक्स को सबैभन्दा ठूलो र सफल शृङ्खला बनेको छ।
पहिलो २८ दिनमा यसको दर्शक सङ्ख्या ११ करोड १० लाख पुगेको छ जुन यसअघिको सबैभन्दा सफल शृङ्खला ब्रीजरटनभन्दा बढी हो।
ब्रीजरटन शृङ्खलालाई २८ दिनमा आठ करोड २० लाख मानिसले हेरेका थिए।
के हो त स्क्विड गेम? र यो किन यस्तो चर्चित भयो?
नौ भागको शृङ्खला बालबालिकाको खेललाई घातक प्रारूप दिइएको कथा हो।
यसमा ४५६ जना ऋणमा डुबेर पैसाका लागि जे पनि गर्न तयार मानिसहरूको समूहलाई विजेताले तीन करोड ९० लाख अमेरिकी डलर जित्ने खतरनाक छ वटा खेल खेल्नका लागि लोभ्याइन्छ।
तर खेलमा हार्नेहरू मर्नु पर्छ।
खेलहरू कोरियाली बालबालिकाले खेल्ने साधारण खेलाहरू हुन्। बालबालिकाका खेलहरूलाई हिंसात्मक रूप दिइएको कारण यो चर्चित भएको बताइन्छ।

तस्बिर स्रोत, NETFLIX
"हुर्केका मानिसहरूले बच्चाको खेल जित्न ज्यानको बाजी थापेको कारण मानिसहरू यसमा आकर्षित भएका हुन्," स्क्विड गेमका निर्देशक ह्वान डोङ्-ह्यूकले एक अन्तर्वार्तामा भनेका छन्।
"खेलहरू साधारण भएका कारण दर्शकहरू खेलका नियममा भन्दा चरित्रमा केन्द्रित हुन्छन्।"
यो किन चर्चित भयो?
यो चर्चित हङ्गर गेम र सन् २००० को चलचित्र ब्याटल रोयाल जस्तै छ।
तर यो शृङ्खलामा अन्य चलचित्रमा जस्तो अब के हुन्छ भन्ने कुरा अनुमान गर्न सहज छैन। त्यसै कारण पनि यो चर्चित भएको बताइन्छ।
कोरियाली दर्शकहरूका लागि बाल्यकालको खेलको सम्झना र कोरिया बाहिरका दर्शकहरूका लागि कोरियाको फरक रूपले पनि आकर्षण गरेको बताइन्छ।

तस्बिर स्रोत, NETFLIX
यसका कलाकारहरूको अभिनय र चरित्रले पनि यसलाई चर्चित बनाइएको यसका दर्शक बताउँछन्।
विज्ञहरूले यसका चरित्र पनि यसको सफलताको कारण भएको बताउँछन्। धेरै चरित्रहरू समाजमा सीमान्तकृत व्यक्तिहरू छन्।
सबै चरित्रहरू ठूलो आर्थिक समस्याले जेलिएका भए पनि उनीहरू धेरै उमेर समूहका छन्।
प्रमुख चरित्र आफ्नो परिवारबाट सम्मान खोजिरहेको र जुवाका कारण समस्यामा फसेको बेरोजगार व्यक्ति हो।

तस्बिर स्रोत, NETFLIX
शृङ्खलामा उसले दुखद कथा भएको उत्तर कोरियाली भगौटा र रोजगारदाताले दुर्व्यवहार गरेको पाकिस्तानी श्रमिकलाई भेट्छ।
अन्य देशहरूमा जस्तै कोरियाको प्रतिस्पर्धी समाजले धेरैलाई पीडित बनाएको छ।
उदाहरणका लागि कतिपय कोरियाली युवाहरूका लागि जति मिहेनत गरे पनि राम्रो विश्वविद्यालयमा पढ्न वा राम्रो जागिर पाउन सम्भव छैन।
शृङ्खलामा एक खेल अधिकारी भन्छन्: "यो खेलमा सबै प्रतिस्पर्धी बराबर छन्। हामी बाहिरी विश्वमा विभेद भोगेका सबैलाई एउटा निष्पक्ष खेल जित्ने अन्तिम मौका दिँदै छौँ।"








