अमेरिकन आईडलका परिकल्पनाकार साईमन फुलर र टिकटक मिलेर नयाँ प्रतिभा खोज्ने अभियान

साईमन फुलर र टिकटक

तस्बिर स्रोत, Getty Images

पप आईडल र अमेरिकन आईडलजस्ता लोकप्रिय कार्यक्रमका परिकल्पनाकार साईमन फुलर भिडिओ शेअरिङ एप टिकटकसँग मिलेर प्रतिभाशाली कलाकारहरूको खोजीमा जुट्ने भएका छन्।

फुलरले महिला कलाकारहरूको चर्चित पप साङ्गीतिक समूह द स्पाईस गर्ल्सलाई पनि बाहिर ल्याएका थिए।

प्रतिभा खोजिने प्रतियोगितात्मक कार्यक्रममा इच्छुक कलाकारहरूले टिकटकबाट अडिशन दिन पाउनेछन्।

यो प्रक्रियाबाट "अहिलेसम्मकै सबैभन्दा संयोजित पप समूह" सिर्जना हुने फुलरको भनाइ छ।

"टिकटकले अभिव्यक्ति र सिर्जनशीलतालाई सबल बनाएको छ तथा करोडौँ अनुरागी प्रयोगकर्ताहरूको मन जितेको छ," उनले भने।

'पप लोकप्रियताको अर्को चरण'

मनोरञ्जन उद्योगमा स्थापित व्यक्तित्व फुलर ब्रिटिश नागरिक हुन्।

"पप स्टारहरूको अर्को पुस्ताले उक्त माध्यम उत्सुकतापूर्वक अँगालेको छ।"

बाइटडान्सले सन् २०१८ मा म्युलिकली एप किन्यो र त्यसलाई बन्द गरिदियो। अनि थाल्यो टिकटकको विश्वव्यापी विस्तार

तस्बिर स्रोत, Reuters

"टिकटकका दर्शकहरूको सहयोगमा अविश्वसनीय कलाकारहरूलाई एक ठाउँमा ल्याएर म पप लोकप्रियताको नयाँ चरणलाई साकार बनाउँछु।"

टिकटकमा आफ्नो साङ्गीतिक सिर्जना शेअर भएपछि एमएक्सएमटून, डोजा क्याट्स से सो, डबेबीज रक्स्टार र मेगन दी स्ट्यालिअन्ज स्याभेज जस्ता कलाकारहरू लोकप्रिय भएका छन्।

जेनिफर लोपेज, जस्टिन बीबर र लिजोजस्ता ख्यातिप्राप्त कलाकारका गीतहरू टिकटकमा नृत्यका लागि दिइने चुनौतीका कारण अझ फैलिएका छन्।

टिकटकका प्रमुख कार्यकारी केभिन मायरले फुलरसँग मिलेर सञ्चालित योजनाबाट नयाँ कलाकारहरू फेला पार्ने अवसर भएको बताएका छन्। तीमध्ये धेरै जना अहिले टिकटकमा भएको भन्दै उनी तिनलाई सशक्त बनाउन सकिने धारणा व्यक्त गर्छन्।

फुलरको कम्पनी एक्सआईएक्स एन्टर्टेन्मन्ट अमेरिकाको लस एन्जलीस र यूकेको लन्डनमा दर्ता भएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूलाई टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीसँग कारोबार नगर्न ४५ दिनको समयसीमा तोकेकै बेला यो घोषणा भएको हो।