दशजना उत्तर कोरियाली धर्मपुत्र पालेका दक्षिण कोरियाली पिता

तस्बिर स्रोत, Kim Tae-hoon
- Author, जुली यूनयूङ ली
- Role, बीबीसी कोरियन
कोरोनाभाइरस सङ्कटले विश्वका दशौँ लाख बाबुआमा घरबाटै गर्ने र आफ्ना छोराछोरीको पढाइलाई सहयोग गर्नुपर्ने चुनौतीसँग जुझिरहेका छन्। दक्षिण कोरियाको राजधानी सोलका एकजना पितालाई यो झन् कठिन काम भएको छ।
किम टे-हुनले उत्तर कोरियाको दमनकारी व्यवस्थाका कारण बाबुआमाविना भागेका दशजना उत्तर कोरियाली बालकलाई शरण दिएका छन्। तीमध्ये सबैभन्दा कान्छा १० वर्षका र सबैभन्दा ठूला २२ वर्षका छन्।
सामान्यत: उनीहरू स्कूल वा विश्वविद्यालयमा पढिरहेका हुन्थे तर गत महिना दक्षिण कोरियाले विद्यार्थीहरूका लागि अनलाइन कक्षा शुरू गर्यो।
अनलाइन कक्षाको पहिलो दिन बीबीसीसँग भिडिओ लिङ्कमार्फत् कुरा गर्दा ४५ वर्षीय किमले वाइफाइ राम्ररी टिप्ने दोस्रो तलामा केटाहरूको रेखेदेख गरिरहेका थिए।
उनले केटाहरूलाई भने, "तिमीहरूले कानमा इअरफोन लगाउनु उचित हुन्छ।"
अनलाइन शिक्षाका आफ्नै समस्या छन्।
स्थानीय एउटा शिक्षा कार्यालयबाट भाडामा ल्याइएका प्राविधिक उपकरणसँग अभ्यस्त हुनु एउटा त्यस्तै समस्या हो।
एउटै कक्षामा रहेका दुई केटाको लग-इन सूचना मिसमास भएको छ। उत्तर कोरियाबाट एक वर्षअघि मात्रै भागेर आएका गीउम-सिओङलाई झन् बढी सहयोगको खाँचो छ किनभने उनी अनलाइनमा आफ्नो काम बुझाउन अभ्यस्त छैनन्।
यसैबीच परिवारका सबैभन्दा कान्छा जन-सिओङले यूट्युब हेरेको भनेर गाली खाएका छन्।
तर दुईदिन पछि किमले केटाहरू उनको रेखदेखमा नयाँ दैनिकीमा अभ्यस्त हुन थालेको बताए।

किमले पालेका आठजना बच्चाहरू दक्षिण कोरियामा कोही नभएपनि बाबुआमाविना एक्लै वा दाजुभाइ वा दिदीबहिनीसँग मिलेर भागेका हुन्।
उत्तर कोरियाबाट बाबुआमाविना भाग्नेहरूका विभिन्न कारण छन्। अति वृद्ध हजुरबाहजुरआमासँग बस्नुपर्ने अवस्था या बाबुआमा छुट्टै बस्नु या सबैजनाले एकैचोटी त्यो कठिन यात्रा गर्न मिलाउन नसक्ने हुनु केही कारणहरू हुन्।
किम भन्छन्, "उनीहरूले आफ्ना बच्चाले राम्रो जीवन जिउन पाउन् भनेर दक्षिणतिर पठाइदिन्छन्। यदि बच्चाहरू साना छन् भने त उत्तर कोरियाबाट दलालको पिठ्युँमा बोकिएर आइपुग्छन्।"
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार मार्च २०२० सम्ममा दक्षिण कोरियामा ३३,६५८ जना भागेर आएका उत्तर कोरियाली छन्। तीमध्ये १५ प्रतिशत १९ वर्ष मुनिका छन्।
सन् २०१७ सम्ममा सरकारले ९६ जना बालबालिका आफ्ना बाबुआमाविना दक्षिण कोरिया आएको जानकारी राखेको छ।

तस्बिर स्रोत, Kim Tae-hoon
किमले आफू केटाहरूको रेखदेकर्ता बनौँला भनेर कहिल्यै सोचेका थिएनन्।
पन्ध्र वर्ष अघि उनी एउटा प्रकाशन संस्थामा काम गर्थे। खाली समयमा उनले सरकारले सञ्चालन गरेको पुनर्वास केन्द्रमा स्वयम्सेवाको काम गर्थे।
त्यहाँ उत्तर कोरियाबाट भागेर आएकाहरूलाई तीन महिनासम्म राखिन्थ्यो र दक्षिण कोरियाली समाजमा घुलमिल हुन तयार पारिन्थ्यो।
उनले हा-र्योङ नामको एउटा सानो बच्चा भेटे जो उनकी आमासहित केही समय पहिले मात्र उक्त केन्द्रबाहिर गएका थिए।
आमाले आफू बस्ने ठाउँदेखि टाढा एउटा काम भेटिन्। काममा जाँदा बच्चा एक्लै घरमा छोड्नुपर्ने भयो।
त्यसबेला १० वर्षको हा-र्योङले किमलाई आफ्नो रेखदेख गरिदिन भने र यो भूमिका किमले अन्तत: स्थायी रूपमा गर्न थाले।

तस्बिर स्रोत, Kim Tae-hoon
किमका बाबुआमाले त्यो विचार पटक्कै मन पराएनन्। र कैयौँ वर्षसम्म उनीसँगको सम्पर्कविच्छेद गरे।
उनले एकपछि अर्को गर्दै उत्तर कोरियाली बच्चाहरू लिँदै गए।
उनीसँग सबभन्दा लामो समय बसेका र अझै उनीसँग रहेका व्यक्ति चीओल-ग्वङ हुन्।
उनी सन् २०१२ को क्रिसमशको अघिल्लो साँझ दक्षिण कोरिया आइपुग्दा जम्मा ११ वर्षका थिए। उनी र उनकी दिदीले आमासहित भाग्न खोज्दा पक्राउ परेर थुनामा परे।
उनी एक्लै रिहा गरिए। तीन महिनापछि दिदी रिहा भइन्। तर उनकी आमाको अझै पत्तो छैन।
अन्तिममा चीओल-ग्वङ र उनकी दिदी दक्षिणतिर भाग्न सफल भए।

तस्बिर स्रोत, Kim Tae-hoon
आफ्नो परिवार बढ्दै गएपछि किम दक्षिण कोरियाली स्वास्थ्य तथा समाज कल्याण मन्त्रालयमा दर्ता भए।
उनको संस्था 'ग्रूप होम' अर्थात् सामूहिक घर हो। यस्ता अरू पनि समूह छन् जसले बाबुआमा वा अभिभावक नभएका बच्चालाई वैकल्पिक पारिवारिक वातावरण प्रदान गर्छन्।
किम भन्छन्, "तर मेरा बच्चाहरू यसलाई सुविधा होइन कि आफ्नै घर भन्छन्।"
अहिले किमका बाबुआमा आफ्ना छोराका ठूला समर्थक बनेका छन्। र ती केटाहरूलाई आफ्ना नातिहरू जस्तो व्यवहार गर्छन्।
गीउम-सिओङ शुरूमा किमबाट डराएको बताउँछन्।
अझ पनि उत्तर कोरियाली लवज भएका उनले लजाउँदै भने, "जब मैले उनलाई शुरूमा देखेँ उनी खराब मान्छे हुन् भन्ने सोचेँ। किनभने उत्तर कोरियामा ठूलो पेट हुने मान्छे उच्च पदस्थ सरकारी अधिकारी हुन्छन्।"

बच्चाहरूको व्यवस्थापन चुनौतीपूर्ण रहेको किम बताउँछन् तर घरको सबै काम उनी आफै गर्छन्।
उनी भन्छन्, "सबभन्दा गाह्रो चाहिँ खानेकुरा किन्ने काम हुन्छ। सबैजना बढ्दो उमेरका बच्चा भएकाले उनीहरू घोडाले झैँ खान्छन्। म यति धेरै खानेकुरा किन्छु तर त्यो एकैदिनमा सकिन्छ।"
खानेकुरा ल्याएर छ वटा फ्रिजमा राखिन्छ। दुईवटा वाशिङ मेशिन निरन्तर चलिरहन्छन्। किमले निरन्तर घर सफा गरिरहनुपर्छ।
उनले बच्चाहरूसँग कुनै सहयोग माग्दैनन्। उनीहरूलाई हुर्काउनु महत्त्वपूर्ण कुरा भएको उनी बताउँछन्।
"म उनीहरूलाई राम्रो व्यवहार गर्ने व्यक्ति बन्दै हुर्कन भन्छु। अरू कुनै सहयोग माग्दिन…किनभने मलाई मेरा बाबुआमाले त्यसैगरी हुर्काउनुभएको हो।"
घरमा यति धेरै काम हुन्छ कि किमले नियमित रूपमा जागिर खान सक्दैनन् तर उनले केही सरकारी सहयोग र अन्य सहयोग प्राप्त गर्छन्।
उनले अरूबाट आर्थिक सहयोग लिँदा सहज महसुस गर्दैनन्। त्यसैले केही आर्थिक स्वतन्त्रता होस् भनेर हालै एउटा सानो क्याफे खोलेका छन्।

तस्बिर स्रोत, Kim Tae-hoon
आर्थिक मात्रै होइन किम र उनको परिवारले अरू पनि चुनौती झेल्नुपर्छ। किनभने भागेर आउने उत्तर कोरियालीप्रति दक्षिण कोरियाली समाजमा पूर्वाग्रह बाँकी छ।
बच्चाहरू थपिँदै जाँदा ठाउँ नपुगेर र भाडा बढ्दै गएपछि तिर्न नसकेर उनले डेरा सरिरहनुपर्छ।
"जब हामी डेरा सर्थ्यौँ छिमेकीहरूले पत्ता लगाइहाल्थे… केहीले त भागेर आएकाहरू चुपचाप बस्नुपर्छ भन्ने सन्देश पनि पठाए।"
एक साथीले आफ्नो साथी उत्तर कोरियाको जासुस भएको प्रहरीलाई चुक्ली लगाइदिएको थियो।
वास्तवमा कैयौँ उत्तर कोरियाबाट भागेर आएका बच्चाहरू स्कूल बीचैमा छोडिदिन्छन्।
उनी भन्छन्, "वैकल्पिक विद्यालयहरू नराम्रा छन् भन्न खोजेको होइन। तर हामीलाई त्यस्ता विद्यालय चाहिन्न किनभने मैले मेरा बच्चाहरूको हेरचाह गर्न सक्छु। यी बच्चाहरूलाई स्कूलमा दक्षिण कोरियाली साथी पाए भने कस्तो राम्रो हुन्थ्यो।"

सात वर्षअघि एकजना केटा जिन बीओमले स्कूलमा बच्चाहरूको अध्यक्षको उम्मेदवार बन्ने निर्णय गरे।
उनका शिक्षकले किमलाई फोन गरेर त्यो अनुभव ती केटाका लागि नराम्रफ हुनसक्ने बताए। किमले ती शिक्षकले फोन गरेको थाहा पाए भने जिन बीओमलाई असाध्यै दु:ख लाग्ने जवाफ दिए। त्यसो हुँदाहुँदै जिनले अध्यक्ष जिते।
हरेक वर्ष उक्त परिवारले सँगै गर्न मिल्ने एउटा योजना रोज्ने गर्छ। कहिले त्यो कला प्रदर्शनी हुन्छ त कहिले सङ्गीत। हालै केटाहरूले दक्षिण कोरियाली सुन्दर दृष्यहरू समेटिको यात्रा पुस्तक सार्वजनिक गरेका थिए।
किम भन्छ्न, "मेरा बच्चाहरू हानावन छोडेर कोरियाली समाजमा प्रवेश गर्नुअघि दुई कुरामा जिज्ञासु थिए।"
"एउटा दक्षिण कोरिया कस्तो छ भन्ने…र अर्को यदि दक्षिण कोरियालीले मलाई मन पराएनन् भने के होला भन्ने।"

तस्बिर स्रोत, Kim Tae-hoon
उनले भने "त्यसैले यताउता घुम्न जाँदा दक्षिण कोरियाली दृष्य सङ्कलन गर्ने निर्णय गर्यौँ।"
किमका बच्चाहरू दक्षिण कोरियामा आफ्नो भविष्यबारे रोमाञ्चित छन्। उनीहरूमध्ये कोही कार्टुनका किताब लेख्न चाहन्छन् कोही वास्तुविद् बन्न चाहन्छन् र कोही खेलाडी।
हा र्योङ किमकहाँ आउँदा असाध्यै साना थिए। उनी अहिले विश्वविद्यालयमा समाजशास्त्रका अन्तिम वर्षका विद्यार्थी हुन्।
भविष्यमा जे भएपनि उनको ढोका सँधैका लागि आफ्ना बच्चाहरूका लागि खुला हुनेछ। उनी भन्छन्, "हामी सँधै परिवारका रूपमा रहिरहनेछौँ।"








