रफाहमा कस्तो छ अवस्था, जारी इजरेली सैन्य कारबाहीबारे अमेरिका के भन्छ

संयुक्त राज्य अमेरिकाका एक अधिकारीले दक्षिणी गाजाको रफाहमा भइरहेको इजरेली सैन्य कारबाहीको प्रतिरक्षा गर्दै इजरेलले "सीमा ननाघेको" बताएका छन्।

इजरेली सैनिकहरू उक्त सहरको मध्यभागमा पुगेर रणनीतिक महत्त्वको एउटा डाँडा आफ्नो नियन्त्रणमा लिएको विवरण आएको केही घण्टापछि ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका हुन्। उक्त स्थानबाट नजिकै अवस्थित इजिप्टसँगको सीमा देखिन्छ।

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अझै लाखौँ सर्वसाधारण मानिसले आश्रय लिएको ठानिने रफाहमा इजरेलले पूर्ण आकारको हमला गरे त्यसलाई "सीमा नाघेको" मानिने बताएका थिए।

रफाहमा आइतवार विस्थापित मानिसहरूको शिविरमा कम्तीमा ४५ जना प्यालस्टिनीहरूको ज्यान जाने गरी भएको हवाई आक्रमण र त्यसपछि भएको ठूलो आगलागीबारे पनि किर्बीलाई प्रश्न सोधिएको थियो। मृतकमध्ये अधिकांश महिला, बालबालिका र बूढाबूढी थिए।

इजरेलले हमासका दुई नेतालाई निसाना बनाइएको दाबी गर्दै आफूले गरेको आक्रमणपछि नजिकै रहेको हमासको अस्त्रभण्डारबाट आगो फैलिएको हुन सक्ने जनाएको छ।

ह्वाइटहाउस प्रवक्ताले के भने?

ह्वाइटहाउस प्रवक्ता किर्बीले आइतवारको घटनाका तस्बिरहरू "हृदयविदारक" र "भयानक" भएको बताए।

"यो द्वन्द्वका कारण त्यहाँ कुनै पनि निर्दोष मानिसको जीवन जानु हुँदैन," उनले भने।

अमेरिकी विदेश मन्त्रालयले इजरेली सेनाले उक्त घटनाबारे गरेको छानबिनलाई आफूले नजिकैबाट नियालेको बताएको छ।

के पहिलाका त्यस्ता छानबिनहरूले उत्तरदायित्व बढाएका छन् भन्ने बीबीसी संवाददाता टम बेटमनको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले कुनै घटनाबारे उल्लेख गर्न चाहेनन्।

"द्वन्द्व चलिररहेको बेला यी छानबिनहरूको परिणामबारे निष्कर्षमा पुग्न सकिँदैन," उनले भने।

के रफाहमा भएको आक्रमणले राष्ट्रपतिद्वारा निर्धारित सीमा उल्लङ्घन भएको छ कि भन्ने प्रश्नमा ह्वाइट हाउसका प्रवक्ता किर्बीले आफूले "बोल्नुपर्ने कुनै नीतिगत परिवर्तन नभएको" बताए।

"हामी रफाहमा हुने ठूलो स्थल कारबाहीलाई समर्थन गर्दैनौँ र गर्ने छैनौँ," किर्बीले भने।

"त्यसो भएको खण्डमा राष्ट्रपतिले आफूले सहयोगको सन्दर्भमा भिन्न निर्णय गर्नुपर्ने हुन सक्ने भन्नुभएको थियो। अहिलेको बिन्दुमा हामीले (रफाहमा) त्यसो भएको देखेका छैनौँ," किर्बीले भने।

जो बाइडनले के भनेका थिए?

अमेरिकी राष्ट्रपति बाइडनले मे ८ मा सीएनएनसँग कुरा गर्दै "रफाहभित्र इजरेल प्रवेश गरे अमेरिकाले इजरेललाई हतियार आपूर्ति नगर्ने" कुरा इजरेली प्रधानमन्त्रीलाई स्पष्ट पारिसकेको बताएका थिए।

इजरेल रफाहमा "धेरै मानिस भएका ठाउँमा गइनसकेकाले" अस्त्र आपूर्ति नरोकेको तर इजरेली कारबाही "ठ्याक्क सीमामा" भएको बताएका थिए।

जारी द्वन्द्वका कारण पर्ने प्रभाव कम गर्न यथासम्भव सबै काम गर्न इजरेल सरकारमाथि दबाव सिर्जना गर्नु अमेरिकाभित्रै राष्ट्रपति बाइडनलाई आग्रह गरिँदै आएको छ।

रफाहमा के हुँदै छ?

इजरेलले रफाहलाई आफ्नो नियन्त्रणमा नलिई सात महिनादेखि चलेको युद्ध नजित्ने भन्दै त्यहाँ मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनीलाई बेवास्ता गर्दै आएको छ।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहको पूर्वी भेगमा मे महिनाको पहिलो साता हमासका लडाकु र संरचनालाई "लक्ष्य बनाउँदै" स्थल सैन्य कारबाही सुरु गरेको थियो।

त्यस बेलादेखि नै रफाहका मध्य र पूर्वी भागमा इजरेली ट्याङ्क र फौज क्रमशः थपिन थालेका छन्। त्यसबाहेक इजरेलले इजिप्टसँग सीमा जोडिएको १३ किलोमिटर लामो भागमा उत्तरपट्टि पनि स्थलसेना परिचालन गरेको छ।

प्रत्यक्षदर्शीहरूले रफाहको मुख्य केन्द्र अल-अउदा चोकमा इजरेली ट्याङ्कहरू देखिएको बताएका छन्।

त्यहाँका बासिन्दाहरूले सहरको पश्चिमी क्षेत्रमा सोमवार राति र मङ्गलवार भीषण बमबारी भएको बताएका छन्।

इजरेल के भन्छ

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आइतवारको घटनालाई "दुःखद दुर्घटना" भन्दै रफाहको कारबाही जारी राख्ने उद्घोष गरेका छन्।

इजरेलले आफ्नो सेनाले तीन सातादेखि "आतङ्कवादीका निसाना"विरुद्ध कारबाही जारी राखेको जनाएको छ।

इजरेली सेनाले मङ्गलवार आफ्ना ट्याङ्कले रफाहबाट पश्चिम भागमा पर्ने तटीय क्षेत्रमा अववस्थित अल-मवासीमा अर्को शिविरमा हमला गरेको भन्ने दाबी खण्डन गरेको छ।

उक्त घटनामा कम्तीमा २१ जना मारिएको स्थानीय अधिकारीहरूले बताएका थिए।

सामाजिक सञ्जालमा प्रेषित भिडिओको बीबीसी भेरिफाईले विश्लेषण गरेको छ। ती भिडिओमा उक्त घटनाका कारण धेरै मानिसहरू गम्भीर घाइते भएको देखिन्छ।

त्यहाँ विस्फोटन भएको देखिने वा ठूलो खाडल परेको स्पष्ट सङ्केत गर्ने प्रमाण नदेखिएकाले उक्त घटना कसरी भयो भन्ने पत्ता लगाउन असहज बनेको छ।

यद्यपि वरपरका भवनहरूको आधारमा घटनास्थल रफाह र अल-मवासीको बीचमा पर्ने निर्क्योल गरिएको छ। उक्त स्थान इजरेली सेनाले तोकेको मानवीय क्षेत्रको दक्षिणमा छ।

सम्बन्धित समाचार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।