रफाह घटनामा इजरेलको निन्दा, तर लडाइँ जारी राख्ने नेतन्याहूको उद्घोष

आइतवार रफाहमा कैयौँ प्यालेस्टिनीहरूको मृत्यु हुने गरी इजरेलले गरेको हवाई हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ। तर इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासविरुद्ध लडाइँ जारी राख्ने बताएका छन्।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त घटनामा कम्तीमा ४५ जनाको ज्यान गएको थियो भने सयौँ मानिस गम्भीर घाइते भएका छन्। शरीर जलेर, हड्डी भाँचिएर र छर्राका कारण चोटपटक लागेका मानिसहरूको उपचार भइरहेको हमासले जनाएको छ।

इजरेली संसद्‍मा बोल्दै नेतन्याहूले त्यसलाई “दुःखद दुर्घटना” भने। यद्यपि “सबै उद्देश्य हासिल नहुँदासम्म" आफूले युद्ध अन्त्य गर्ने विषयमा नसोचेको उनले बताए।

रफाहमा भएको आक्रमणबारे छलफल गर्न मङ्गलवार संयुक्त राष्ट्रसङ्घको आकस्मिक बैठक बस्न लागेको छ। एल्जिरिआको आग्रहमा उक्त बैठक बस्न लागेको हो।

राष्ट्रसङ्घका महासचिवले सोमवार एउटा विज्ञप्ति जारी गर्दै उक्त आक्रमणका कारण "यो द्वन्द्वबाट जोगिन आश्रय लिन खोजेका कैयौँ निर्दोष नागरिकहरूको मृत्यु भएको" टिप्पणी गरेका थिए।

"गाजामा कुनै सुरक्षित ठाउँ छैन। यो सन्त्रास रोकिनुपर्छ।"

नेतन्याहूले के भने

उनले इजरेलले सर्वसाधारण मानिसको सुरक्षाका लागि "यथासम्भव सावधानी" अपनाएको र इजरेल डिफेन्स फोर्सेस आईडीएफले द्वन्द्वमा "संलग्न नभएका मानिसलाई हानि नपुर्‍याउने प्रयास गरिरहेको" जनाए।

"हामीले रफाहबाट झन्डै १० लाख गैरसैनिक मानिसहरूलाई अन्यत्र सारिसकेका छौँ र गैरसैनिकहरूलाई हानि नपुर्‍याउने हाम्रो प्रयासबीच समेत दुर्भाग्यवश केही गल्ती हुन गयो," उनले भने।

"हामी उक्त घटनाको छानबिन गर्दै छौँ र निष्कर्ष निकाल्छौँ किनभने त्यो हाम्रो नीति हो।"

संसद्‌मा किन भयो नेतन्याहूको विरोध

नेतन्याहूले सम्बोधन गर्दा संसद्‌मा हमासले अक्टोबर ७ मा बन्धक बनाएर लगेका मानिसका परिवारजनहरू पनि उपस्थित थिए।

उनीहरूले चिच्याएर बेलाबेलामा उनलाई अवरोध गरेका थिए। तीमध्ये केहीले बन्धकहरूलाई घर फिर्ता ल्याउने सम्झौता गर्न नेतन्याहू विफल भएको भन्दै आलोचना गरेका छन्।

अन्तर्राष्ट्रिय निकायहरू के भन्छन्

अन्तर्राष्ट्रिय निकायहरूले रफाहमा भएको घातक घटनाको निन्दा गरेका छन्।

युरोपेली सङ्घ (ईयू)ले इजरेलले गत साता इन्टर्न्याश्नल कोर्ट अफ जस्टिस (आईसीजे)ले रफाहमा हमला रोक्न दिएको आदेशको सम्मान गर्नुपर्ने जनाएको छ।

ईयूका विदेशनीति प्रमुख जोसेप बोरेलले आइतवारको हमलालाई "भयानक" को सङ्ज्ञा दिएका छन्।

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुख भोल्कर टुर्कले उक्त हमलाले " पहिले नै धेरै नागरिकको मृत्यु भइसकेको युद्धमा इजरेलले आफूले प्रयोग गरेको विधि र माध्यमहरूमा कुनै स्पष्ट परिवर्तन नगरेको" देखाउने बताए।

अमेरिकाले घटनाका तस्बिरलाई "हृदयविदारक" भने पनि आफ्नो प्रतिरक्षा गर्नु इजरेलको अधिकार भएको जनाएको छ।

इजरेलले किन गर्‍यो आक्रमण

त्यसअघि आइतवार हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।

हमासको सैन्य एकाइ‍बाट भएको "नागरिकहरूको नरसंहार"को प्रत्युत्तर दिन आफूले आक्रमण गरेको इजरेली दाबी छ।

आईडीएफले सुराकी पाएपछि रफाहमा आक्रमण गरिएको र त्यसमा हमासका दुई वरिष्ठ हमास कमान्डर मारिएको दाबी गरेको छ।

प्यालेस्टिनी रेड क्रिसन्टले भने रफाहको मध्यभागबाट झन्डै दुई किलोमिटर पश्चिमोत्तर भागमा अवस्थित ताल अल-सुल्तानमा एउटा राष्ट्रसङ्घीय भवननजिकै विस्थापित मानिसहरू बस्ने पालहरूमा आक्रमण भएको बताएको छ।

उक्त क्षेत्रमा आइतवार राति खिचिएका भिडिओमा ठूलो विस्फोटन भएको र ठूलो आगो लागेको देखिन्छ।

रफाहमा तीन साताअघि इजरेलले लामो समयदेखि गर्ने भन्दै आएको सैन्य आक्रमण सुरु गरेको हो।

इजरेलले त्यहाँ हमासद्वारा बन्धक बनाइएका आफ्ना नागरिकहरूलाई राखिएको जनाएको छ।

अर्को साता पुनः इजरेल र हमासबीच युद्धविरामसम्बन्धी वार्ता सुरु हुने अपेक्षा भइरहँदा यी घटनाहरू भएका हुन्।

अक्टोबर ७ मा दक्षिणी इजरेलमा १,२०० जनाको ज्यान जाने र अन्य २५२ जनालाई बन्धक गराउने गरी हमासका लडाकुहरूले आक्रमण गरेका थिए। त्यसलगत्तै इजरेलले गाजामा हमला सुरु गरेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली सैन्य कारबाहीमा अहिलेसम्म गाजामा झन्डै ३६,००० प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।