प्रतिभाशाली भारतीय चलचित्रकर्मी गुरु दत्तको वियोगान्त जीवन

गुरु दत्तले दर्शकहरूलाई सुन्दर सिनेमामार्फत असहज वास्तविकताको सामना गर्न आमन्त्रित गर्ने गर्थे

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, गुरु दत्तले दर्शकहरूलाई सुन्दर सिनेमामार्फत असहज वास्तविकताको सामना गर्न आमन्त्रित गर्ने गर्थे
    • Author, यासिर उस्मान
    • Role, चलचित्र लेखक

चेतावनी : यो लेखमा चर्चा गरिएका कतिपय विषयवस्तुले तपाईँलाई विचलित पनि पार्न सक्छन्।

प्रतिभाशाली भारतीय निर्देशक तथा अभिनेता गुरु दत्तको सन् १९६४ मा निधन हुँदा उनी ३९ वर्षका मात्र थिए। तर उनले चलचित्र क्षेत्रमा यस्तो प्रभाव छाडेका थिए कि त्यो उनको अवसानपछि पनि दशकौँसम्म मानिसहरूलाई प्रभावित पार्ने खालको थियो।

उनी सन् २०२५ जुलाई ९ मा भारतको दक्षिणी राज्य कर्नाटकामा जन्मिएका थिए। यसै साता उनको जन्म शतवार्षिकी मनाइँदै छ।

ती सफल र प्रभावशाली चलचित्रकर्मीको क्यामेरा पछाडिको जीवनबारे भने कमैलाई थाहा छ। उनको भावनात्मक र मानसिक सङ्घर्षको कथा खासै उजागर हुन सकेको छैन।

उनले बनाएका 'प्यासा' र 'कागज के फूल' जस्ता हिन्दी सिनेमा फिल्म स्कूलमा कालजयी मानिन्छन्। उनले ती चलचित्रहरूमा गहिरो आत्मपरक र आत्मनिरीक्षणात्मक शैलीको प्रयोग गरे। त्यो स्वतन्त्रतापछिको भारतका निम्ति नवीन शैली थियो।

जटिल पात्र, असहज वास्तविकता

उनका जटिल पात्रहरूले प्रायः उनको व्यक्तिगत सङ्घर्षलाई प्रतिबिम्बित गर्थे। उनका प्लटहरूले विश्वव्यापी आकृतिहरूलाई छुन्थे र उनी सुन्दर सिनेमामार्फत दर्शकहरूलाई त्रासदीपूर्ण सहज वास्तविकताको संसारमा पुर्‍याइदिन्थे।

दत्तको सुरुआत विनयी थियो तर उनको बाल्यकाल आर्थिक कठिनाई र अशान्त पारिवारिक पृष्ठभूमिमा बित्न पुग्यो।

उनको परिवार कामका लागि पूर्वी भारतको बङ्गालमा सरेपछि हुर्किँदै गरेका दत्त त्यस क्षेत्रको संस्कृतिबाट गहिरो रूपमा प्रभावित र प्रेरित भए। त्यसले उनको पछिल्लो जीवनमा चलचित्रसम्बन्धी दृष्टिकोणलाई आकार दिन भूमिका खेल्यो।

सन् १९४० को दशकमा बम्बई फिल्म उद्योगमा प्रवेश गरेपछि उनले आफ्नो थर पादुकोण त्यागे। उनको फिल्मी करिअर निर्देशकको नभई कोरियोग्राफरको रूपमा सुरु भएको थियो।

दत्तले आफ्नो गुजारा चलाउन टेलिफोन अपरेटरको रूपमा पनि काम गरे। दशकको अशान्ति र अनिश्चितताबीच भारतमा स्वतन्त्रताको आन्दोलन तीव्र भएको थियो र त्यसले फिल्म निर्माताका आकाङ्क्षीहरूलाई पनि असर गर्‍यो।

त्यही चरणमा उनले 'कश्मकश' लेखे। कलात्मक निराशा र सामाजिक मोहभङ्गको जरा कहाँ गाडिएको छ भन्ने कथा त्यसमा उतारिएको छ। सोही कथामा आधारित 'प्यासा' उनको चलचित्र करिअरको 'मास्टर पिस' बन्न पुग्यो।

सहकर्मी तथा तत्कालीन अवस्थामा चलचित्र क्षेत्रका लागि सङ्घर्षरत देव आनन्दसँग दत्तको मित्रताले उनले सन् १९५१ मा आफ्नो पहिलो फिल्म निर्देशन गर्ने मौका पाए। पछि देव आनन्द चाँडै नै एक उत्कृष्ट अभिनेताको रूपमा प्रसिद्ध बन्न पुगे। त्यस बेला नोअर थ्रिलर 'बाजी' चलचित्रले उनलाई चर्चामा ल्यायो।

पहिलो प्रेम र सफल चलचित्र

प्यासाले गुरु दत्तलाई सफलताको शिखरमा पुर्‍याएको थियो

तस्बिर स्रोत, Simon & Schuster

तस्बिरको क्याप्शन, 'प्यासा'ले गुरु दत्तलाई सफलताको शिखरमा पुर्‍याएको थियो

उनी त्यसपछि तत्कालीन समयकी प्रसिद्ध गायिका गीता रोयसँग प्रेममा परे। धेरै सन्दर्भ सामग्री र व्यक्तिहरूका अभिव्यक्तिअनुसार उनी प्रेममा परेका प्रारम्भिक वर्षहरू उनका लागि सबैभन्दा खुसीका वर्ष थिए।

दत्तले आफ्नै फिल्म कम्पनी सुरु गरेपछि लगातार 'आर-पार' र 'मिस्टर एन्ड मिसेस ५५' जस्ता सफल रोमान्टिक कमेडी फिल्महरू बनाए। दुवै फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत भएका थिए।

तर उनले कलात्मक गहिराइको चाहनामा 'प्यासा' बनाउने योजना बनाए र त्यो उनलाई परिभाषित गर्ने फिल्म बन्न पुग्यो।

उक्त फिल्मले भौतिकवादी संसारमा कलाकारको सङ्घर्षलाई उजागर गरेको थियो। उक्त फिल्म पछि टाइम पत्रिकाको २०औँ शताब्दीका १०० उत्कृष्ट फिल्महरूको सूचीमा पर्ने एक मात्र हिन्दी फिल्म बन्यो।

दत्तकी दिवङ्गत कान्छी बहिनी ललिता लाजमीसँग मैले उनको जीवनी लेख्दा सहकार्य गरेको थिएँ। उनले मसँग 'प्यासा' आफ्ना दाइको "सपनाको परियोजना" थियो अनि दत्त "यो उत्तम होस् भन्ने चाहन्थेँ" भनेर बताएकी थिइन्।

निर्देशकको रूपमा दत्तले फिल्मको सेटमा त्यसलाई कार्यान्वयन गर्दै गर्दा उनलाई थप त्यसलाई सृजनशील बनाउन मन लाग्थ्यो। उनी पटकथा र संवादहरूमा धेरै परिवर्तन गरिरहन्थे र क्यामेराको प्रयोग र प्रविधिमा पनि विभिन्न नयाँ प्रयोगहरू गरिरहन्थे।

उनी एक पटक खिचिसकेका दृश्यलाई पुनः बारम्बार खिचाइरहन्थे र 'प्यासा'को सुटिङका बेला त्यो एकदमै चिन्ताजनक अवस्थामा पुगेको थियो। उदाहरणका लागि अहिले 'क्लाइमेक्स' दृश्यका रूपमा प्रसिद्ध भएको 'प्यासा' फिल्मको दृश्य खिँच्न उनले १०४ टेक लिएका थिए।

आत्महत्याको प्रयास

गुरु दत्त र मधुवाला मिस्टर एन्ड मिसेस ५५ मा

तस्बिर स्रोत, Simon & Schuster

तस्बिरको क्याप्शन, गुरु दत्त र मधुवाला 'मिस्टर एन्ड मिसेस ५५' मा

काम राम्रो नहुँदा र बिग्रिदा उनी चिच्याउँथे र रिसाउने गरेको लाजमीले बताएकी थिइन्।

"निद्राले उनलाई छाड्यो। त्यसपछि उनको निर्भरता मदिरामा सुरु भएको थियो। सबैभन्दा खराब अवस्थामा उनले आफ्नो ह्विस्कीमा मिसाएर निद्राको चक्की प्रयोग गर्न थाले। गुरु दत्तले 'प्यासा' बनाउन उनको निद्रा, उनका सपना र उनका सम्झनाहरू सबैलाई तिलाञ्जलि दिए," उनले भनेकी थिइन्।

सन् १९५६ मा उनको सपनाको परियोजना पूरा हुन लागेको र उनको उमेर ३१ वर्ष भएका बेला दत्तले आत्महत्याको प्रयास गरेका थिए।

"खबर आउने बित्तिकै हामी पालि हिल [जहाँ उनी बस्थे] पुग्यौँ," लाजमीले भनेकी थिइन्, "मलाई उनी अशान्त थिए भन्ने थाहा थियो। उनले मलाई प्रायः फोन गर्थे र हामी कुराकानी गर्नुपर्छ भन्थे तर म त्यहाँ पुगेपछि उनी एक शब्द पनि बोलेनन्," लाजमीले भनेकी थिइन्।

तर उनी अस्पतालबाट फर्किएपछि पनि परिवारले कुनै व्यावसायिक सहयोग खोजेनन्।

त्यस बेला मानसिक स्वास्थ्य "सामाजिक रूपमा कलङ्कको विषय" हुन्थ्यो। लाजमीका अनुसार'प्यासा'मा ठूलो पैसा लगानी भएकाले परिवारले उनका दाइको आन्तरिक सङ्घर्षका कारणहरूको पूर्ण निदान र त्यसको सामना नगरी अगाडि बढ्न खोज्यो।

सन् १९५७ मा रिलिज भएको 'प्यासा' आलोचनात्मक र व्यावसायिक रूपमा सफल भएपछि दत्तलाई चर्चाको शिखरमा पुर्‍यायो। तर पनि उक्त फिल्मका निर्माता उनी उक्त सफलतापछि पनि प्रायः आफू शून्य भएको भावना व्यक्त गर्थे।

'प्यासा'का प्रमुख छायाङ्कनकार वीके मूर्तिले दत्तलाई सम्झँदै र उनैलाई उद्धृत गर्दै भने, "म निर्देशक बन्न चाहन्थेँ, अभिनेता बन्न चाहन्थेँ, राम्रो फिल्म बनाउन चाहन्थेँ र मैले यो सबै पाएँ। मसँग पैसा छ, मसँग सबै कुरा छ तर पनि मसँग केही छैन।"

फिल्म र व्यक्तिगत जीवनबीच विरोधाभास

साहिब बिबी और गुलाम फिल्ममा गुरु दत्त र मीना कुमारी

तस्बिर स्रोत, Simon & Schuster

तस्बिरको क्याप्शन, 'साहिब बिबी और गुलाम' फिल्ममा गुरु दत्त र मीना कुमारी

दत्तका फिल्म र उनको व्यक्तिगत जीवनबीच एउटा अनौठो विरोधाभास थियो।

उनले आफ्ना फिल्ममा प्रायः कडा, स्वतन्त्र र स्वच्छन्द महिलाको चित्रण गर्थे तर पर्दाबाहिर उनको स्वभाव त्यस्तो नभएको लाजमीले स्मरण गरेकी थिइन्।

उनका भनाइमा दत्तले आफ्नी श्रीमतीले बढी परम्परागत भूमिकाहरू निभाउन् भन्ने अपेक्षा गर्थे र उनले आफ्नो कम्पनीबाट बनेका फिल्ममा मात्र गाउन् भन्ने चाहन्थे।

आफ्नो कम्पनीलाई फस्टाउन के गर्नुपर्छ वा हुनुपर्छ भन्ने दत्तको एउटा सरल नियम थियो। उनी आफूले खेलेका प्रत्येक कलात्मक जुवा नाफा कमाउने व्यावसायिक फिल्म हुनुपर्छ भन्ने ठान्थे।

तर 'प्यासा'को सफलताबाट उत्साहित भएर उनले त्यो आफ्नै नियमलाई बेवास्ता गरे र सबैभन्दा महँगो तथा आफ्नै अर्ध-आत्मकथामा आधारित 'कागज के फूल' फिल्म बनाउन तम्सिए।

उक्त फिल्म एक जना चलचित्र निर्माताको समस्यापूर्ण विवाह र आफ्नै चिन्तनसँगको भ्रमित सम्बन्धको कथामा बनेको छ। उक्त फिल्मका पात्र एक जना चलचित्र निर्माताको तीव्र एक्लोपन र बर्वाद भएका सम्बन्धहरूसँग सम्झौता गर्न असफल भएपछि उनको मृत्युसँगै समाप्त हुन्छ।

अहिले कालजयी चलचित्रका रूपमा प्रशंसा गरिए पनि त्यति बेला उक्त चलचित्र व्यावसायिकरूपमा असफल भएको थियो। उक्त झट्काबाट दत्त कहिल्यै बाहिर निस्कन सकेनन्।

च्यानल फोरको वृत्तचित्र 'इन सर्च अफ गुरु दत्त'मा उनकी सह-कलाकार वहीदा रहमानले उनलाई सम्झँदै भनेकी छन्, "जीवन में दो ही तो चीजें है- कामयाबी और फेलिअर (जीवनमा दुई चीजहरू मात्र हुन्छन् : सफलता र असफलता) बीचमा केही पनि छैन।"

'कागज के फूल' पछि उनले फेरि कहिल्यै फिल्म निर्देशन गरेनन्।

पुनरागमन

समय बितेसँगै उनको कम्पनीले पुनरागमन गर्‍यो र उनले आफ्नो करिअरको सबैभन्दा व्यावसायिक रूपमा सफल चलचित्र 'चौदहवी का चाँद' बनाएर निर्माताका रूपमा पुन: चलचित्र उद्योगमा उदाए।

त्यसपछि उनले आफ्ना विश्वसनीय पटकथा लेखक अबरर अल्वीद्वारा निर्देशित 'साहिब बीबी और गुलाम' बनाउन सुरु गरे। लाजमीले बताएअनुसार त्यस बेलासम्म उनको व्यक्तिगत जीवनमा गम्भीर उथलपुथल भएको थियो र उनको मनस्थिति बारम्बार परिवर्तन भइरहन्थ्यो।

फिल्ममा प्रेमहीन विवाहमा फसेकी र व्याभिचारको सिकार भएर एकान्तवासमा बस्न बाध्य एक महिलाको कथा प्रस्तुत गरिएको छ। त्यसमा सामन्ती संसारको एक धनी तर अत्याचारी घरबेटीसँग उनको साक्षात्कार भइरहन्छ।

उनलाई समयमा निद्रा नलाग्ने र निद्राका लागि औषधिको भर पर्नु परेकोबारे बताएको लेखक बिमल मित्र दत्त स्मरण गर्छन्। उनी त्यस्तो परिस्थितिबाट गुज्रिएका बेला दत्तको विवाह ध्वस्त भइसकेको थियो र मानसिक स्वास्थ्य बिग्रिएको थियो। मित्रले गुरु दत्तसँग भएको उनको लगातारको वार्तालाप सम्झँदै "मलाई लाग्छ, म पागल हुनेछु" भनेर दत्तले भन्ने गरेको स्मरण गरे।

मौन पीडा

सन् १९५७ मा बीबीसी इस्ट्रन सर्भिसलाई अन्तर्वार्ता दिएका बेला गुरु दत्त
तस्बिरको क्याप्शन, सन् १९५७ मा गुरु दत्त

एक रात दत्तले फेरि आत्महत्या गर्ने प्रयास गरे। उनी तीन दिनसम्म बेहोस भए।

लाजमीका अनुसार त्यसपछि चिकित्सकको सल्लाहमा उनको परिवारले दत्तको उपचारबारे सोधपुछ गर्न मनोचिकित्सकलाई बोलाए तर उनीहरूले कहिल्यै फेरि त्यसमा निरन्तरता दिएनन्।

"हामीले फेरि कहिल्यै मनोचिकित्सकलाई बोलाएनौँ," उनले पछुतो मान्दै भनेकी थिइन्। वर्षौँसम्म उनलाई के लाग्थ्यो भने उनका दाइ सायद कसैले आफ्नो पीडा देख्न नसक्ने एउटा अँध्यारो स्थानमा फसेको महसुस गर्दै मद्दतका लागि मौनावस्थामै रोइरहेका थिए र सायद त्यो अँध्यारो यस्तो थियो कि त्यहाँबाट उनले बाहिर निस्कने बाटो फेला पार्न सकेनन्।

दत्त अस्पतालबाट फर्किएको केही दिनपछि 'साहिब बीबी और गुलाम'को छायाङ्कन फेरि सुरु भयो र त्यस बेला उनलाई केही भएकै छैन जस्तो माहौल थियो।

मित्रले उनलाई आत्महत्या प्रयासको घटनाबारे सोधेका थिए। त्यसमा दत्तले भने, "अचेल म प्रायः सोच्छु यो कस्तो अशान्ति हो, यो कस्तो बेचैनी हो र म आत्महत्या गर्न तम्तयार थिएँ? जब म यसको बारेमा सोच्छु- म डरले भयभीत हुन्छु। तर त्यो दिन मलाई ती निद्राका चक्की निल्न कुनै दुविधा महसुस भएको थिएन।"

उक्त फिल्म पनि सफल भयो र सन् १९६३ को बर्लिन फिल्म फेस्टिभलमा भारतबाट आधिकारिक रूपमा प्रवेश गर्ने फिल्म बन्यो अनि राष्ट्रिय पुरस्कार पनि जित्यो।

दत्तको व्यक्तिगत जीवनमा सङ्घर्ष बढ्दै गयो। उनी आफ्नी श्रीमतीबाट अलग भए। फिल्महरूमा अभिनय गरिरहे पनि उनले गहिरो एक्लोपनसँग लड्नुपर्‍यो अनि उनले प्रायः आरामका लागि रक्सी र निद्रा लाग्ने औषधिको सहारा लिनुपर्‍यो।

सन् १९६४ अक्टोबर १० मा ३९ वर्षीय दत्त आफ्नो कोठामा मृत फेला परे।

"मलाई थाहा छ कि उनी सधैँ यो [मृत्यु] चाहन्थे, यसको चाहना गर्थे... र उनले त्यो पाए," उनकी सहकर्मी कलाकार वहीदा रहमानले जर्नल अफ फिल्म इन्डस्ट्रीमा सन् १९६७ मा लेखेकी थिइन्।

'प्यासा'को नायकजस्तै दत्त गएपछि मात्र उनले वास्तविक प्रशंसा पाए।

सिनेमामा चासो राख्नेहरू प्रायः सोच्ने गर्छन्- यदि उनी लामो समयसम्म बाँचेका भए के हुन्थ्यो होला?

सायद उनले आफ्नो दूरदर्शी, काव्यात्मक कृतिहरूद्वारा भारतीय सिनेमाको परिदृश्यलाई पुनः आकार दिने कार्यलाई जारी राख्ने थिए।

यासिर उस्मान 'गुरु दत्त: एन अनफिनिस्ड स्टोरी' जीवनीका लेखक हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।