भारतीयहरू पुराना चलचित्र हेर्न फेरि किन सिनेमाघर धाउँदैछन्

भारतीय चलचित्र

तस्बिर स्रोत, Balaji Motion Pictures/Instagram

    • Author, मेरिल सेबेस्टिअन र शरण्या ऋषिकेश
    • Role, बीबीसी न्यूज, दिल्ली

‘लैला मज्नु’ यो महिना सिनेमा घरहरूमा पुनः रिलिज हुन लागेको सुनेपछि २६ वर्षीय जाकिया रफिकी सन् २०१८ को यो बलिवूड चलचित्र दोहोर्‍याएर हेर्ने योजना बनाइन्।

“सन् २०१८ मा यो चलचित्र हेर्न जाँदा फिल्म हलमा औँलामा गन्न सकिने मानिसहरूमध्येमा म पनि थिएँ। यसपटक त धेरै मानिसहरू थिए। अनि त्यसमध्ये धेरैजना हाँसिरहेका र रोइरहेका थिए,” रफिकी भन्छिन्।

उनी आफ्नी बहिनीसँग दिल्लीको सिनेमा घरमा यो चलचित्र हेर्न गएकी थिइन्।

रफिकी यो चलचित्रसँग आफ्नो “भावनात्मक नाता” भएको बताउँछिन्।

चलचित्रको कथा भारत प्रशासित कश्मीरको एक वियोगात्मक प्रेम सम्बन्धबारे छ। रफिक पनि त्यही ठाउँकी हुन्।

“आफ्नो गाउँको सानो टुक्रा चलचित्रको ठूलो पर्दामा हेर्न मज्जा आउँछ। उनीहरूले कश्मीरका गल्लीहरूमा आफ्नो सवारी गुडाइरहँदा त्यहीँ पुगेको जस्तो महसुस हुन्छ,” उनी भन्छिन्।

लोकप्रिय चलचित्र निर्माता इम्तियाज अलीद्वारा लिखित यो चलचित्रले पहिलोपटक प्रदर्शनमा आउँदा निकै कम मात्रै कमाइ गरेको थियो। तर छ वर्षपछि दोस्रो पटक प्रदर्शनमा आउँदा भने राम्रो कमाइ गर्‍यो।

लामो समयपछि सिनेमा घरहरूमा पुन: प्रदर्शनमा आउँदा दुई दशकअघि भन्दा धेरै कमाई गर्ने कैयौँ चलचित्रमध्येको एक लैला मज्नु पनि हो।

कोरोनाभाइरस महामारीपछि कैयौँ महिनासम्म सिनेमा घरहरू बन्द रहँदा मानिसहरू स्ट्रीमिङ सेवातर्फ मोडिएपछि विश्वका अन्य चलचित्र बजारहरूजस्तै भारतीय चलचित्र उद्योगले पनि उतारचढावको सामना गरिरहेको छ।

“यो वर्ष विशेषगरी प्रदर्शनमा आएका नयाँ फिल्महरूका लागि खराब रह्यो,” विश्लेषक कोमल नाहटा भन्छन्।

स्ट्रीमिङ सेवाको चर्चा

भारतीय चलचित्र

तस्बिर स्रोत, Getty Images

हिन्दी भाषाका बलिवूड चलचित्रको आधिपत्य रहेको यस उद्योगले नियमित नयाँ चलचित्रहरू तयार गरिरहेको छ।

तर पनि मानिसहरू सिनेमा घर भन्दा नेटफ्लिक्स र एमजन प्राइम भिडिओ जस्ता स्ट्रीमिङ सेवाहरूमा चलचित्र प्रदर्शनमा आउने पर्खाइमा बसिरहेको चर्चा गर्ने गर्छन्।

केही नयाँ चलचित्रहरूले चाहिँ अपवादका रूपमा सफलता कमाइरहेका छन्।

अहिले प्रदर्शन भइरहेको हिन्दी 'हरर-कमेडी' चलचित्र स्ट्री-टूले करिब चार अर्ब भारतीय रुपैयाँ कमाई गरिसकेको छ।

यो चलचित्र भारतमा वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने बलिवूड चलचित्र बनेको छ।

तर देश बाहिरको समेत जोडेर समग्रमा धेरै कमाइ गर्ने चलचित्र चाहिँ 'कल्की २८९८ एडी' बनेको छ। यसमा बलिवूडका चर्चित हस्तीहरूले अभिनय गरेका छन्।

दर्शकहरूको आनीबानीमा आएको परिवर्तनका कारण भारतीय चलचित्र उद्योगमा निरन्तर उतारचढाव देखिएकोमा कुनै दुई मत छैन।

यो वर्ष भारतमा चलेका १० मुख्य चलचित्रमध्ये तीनवटा दक्षिण भारतीय राज्य केरलाका चलचित्रहरू थिए।

यस्ता चलचित्रको निर्माणमा तुलनात्मक रूपमा कम लगानी हुने गर्छ।

त्यसकारण चलचित्रका वितरक र दर्शकहरू दुवै आफ्नो अनुकूल र परिचित स्वादतर्फ आकर्षित हुन थालेका छन्।

यो वर्ष कस्ता पुराना चलचित्र पुनः प्रदर्शनमा आए

दक्षिण भारतीय चलचित्र

तस्बिर स्रोत, Facebook/Mohanlal

बलिवूडमा यो वर्ष पुनः प्रदर्शनमा आएका चलचित्रहरू भिन्नभिन्न विधाका छन्।

सन् १९९० को दशकमा बनेका भारतीय चलचित्रहरू दर्शकले निकै मन पराएका थिए।

'दिलवाले दुल्हनिया लेजाएङ्गे' र 'हम् आप्को हेँ कौन' जस्ता हास्यरस भएका प्रेम कहानी सम्बन्धी चलचित्रहरू तथा 'मेँ खेलाडी तु अनारी' र 'बाजीगर'जस्ता एक्सन थ्रिलर चलचित्रहरू यो वर्ष पुन प्रदर्शनमा आए।

साथै 'रकस्टार', 'जिन्दगी ना मिलेगी दोबारा' र 'जब ह्वी मेट' जस्ता चलचित्रले पनि मानिसहरूलाई पुन: सिनेमाघरसम्म पुर्‍याए।

विश्लेषकहरूका अनुसार लैला मज्नुको सफलता सबैभन्दा ठूलो आश्चर्यको विषय बन्यो।

कश्मीरमा दुई दशकसम्म बन्द रहेका सिनेमा घरहरू सन् २०२२ मा खुलेपछि त्यहाँका मानिसहरूले यस चलचित्र हेर्न पाएकोमा निर्माताहरू खुसी भएका थिए।

“यो चलचित्रले अन्ततः आफ्नो लगानी उठाएको छ वा अर्को शब्दमा भन्दा घाटा कम गरेको छ,” नाहटा भन्छन्।

उक्त चलचित्रको सफल व्यापारले अरू चलचित्रहरूलाई पनि पुन प्रदर्शनबाट फाइदा पुग्न सक्ने बाटो देखाएको उनको भनाई छ।

एकजना बलिवूड विश्लेषक तरण आदर्श पुराना चलचित्रहरूको पुन प्रदर्शनले नयाँ चलचित्रको अभाव र बक्स अफिसमा भइरहेको कमजोर कमाइमा भरथेग गर्ने बताउँछन्।

अर्को पक्ष के छ भने पुन: प्रदर्शनमा आएका चलचित्रहरूले धेरै प्रचार गरेका छैनन्।

सिनेमा घरको टिकट काट्ने ठाउँमा वा सामाजिक सञ्जालमा मात्रै चलचित्रका पोस्टर देखिन्छन्।

“मानिसहरूलाई विगतको संस्मरणमा लैजाने वा यसअघि नै प्रशंसकहरू कमाएका चलचित्रप्रति मानिसहरूको प्रेमका कारण यस्तो भएको हो,” आदर्श भन्छन्।

किन सफल भइरहेका छन् पुराना चलचित्र

भारतीय चलचित्र

तस्बिर स्रोत, Getty Images

तमिल र उर्दूमा पुनः प्रदर्शनमा आएका चलचित्रहरू यसका नायकका कारण पनि चलेका छन्।

हालैको भिडिओमा तलुगु महानायक चिरञ्जीवीका प्रशंसकहरू सन् २००२ को एक सफल चलचित्र इन्द्रको एक गीतमा सिनेमा घरहरूमा नाच्दै गरेको देखिएको छ।

“साधरणतया २० वर्षअघि चर्चाको शिखरमा उक्लँदै गरेका महानायक रहेका र यसअघि नै चर्चित चलचित्रहरू अहिले प्रदर्शनमा आएका छन्," दक्षिण भारतीय चलचित्रहरूबारे जानकार श्रीधर पिल्ले भन्छन्।

“या त त्यो चलचित्र मानिसहरूको अतीतसँग सम्बन्धित वा अहिले चर्चित नायक भएका व्यक्तिहरूले अभिनय गरेका हुनपर्छ।”

मलयालम महानायक मोहनलालका यस्ता दुई वटा चलचित्र छन्। सन् २००० को 'देवदूतन' र सन् १९९३ को 'मनिचित्रथाजू' अहिले केरलाका सिनेमा घरहरूमा प्रदर्शन भइरहेका छन्। संयोगले दुवै हरर चलचित्रहरू हुन्।

डरलाग्दा दृश्यहरू रहेको देवदूतन पहिलो पटक प्रदर्शनमा आउँदा असफल भएको थियो। तर अहिले पुनः प्रदर्शन भइरहँदा एक महिनादेखि दर्शकहरूको घुइँचो छ।

पिल्लेका अनुसार मनिचित्रथाजू यसअघि नै आफ्ना समर्थकहरू रहेको र पहिलो पटक प्रदर्शन हुँदा पनि बक्स अफिसमा अभूतपूर्व कमाइ गरेको थियो।

उनका अनुसार दक्षिण भारतीय चलचित्रहरूमा पुनः प्रदर्शनमा आउँदा पनि सफल भएको यो चलचित्र राम्रो उदाहरण बनेको छ।

“यो एउटा प्रतिष्ठित चलचित्र हो। पहिलोपटक प्रदर्शन हुँदा पनि अत्यधिक सफल थियो र पुनः प्रदर्शनमा आउँदा पनि यसले युवा दर्शहरू आकर्षित गरिरहेको छ,” उनी भन्छन्।

कहिलेकाहीँ एउटा सफल चलचित्रको दोस्रो शृङ्खलाले पनि पहिलो चलचित्रमा रुचि बढाउँछ।

गत वर्ष सन् २००१ को चलचित्र 'गद्दर: एक प्रेम कथा'ले चलचित्रहरूमा अर्को सफल व्यापार गर्‍यो। त्यसको कारण चाहिँ यसको अर्को शृङ्खला 'गद्दर २' अत्यधिक सफल हुनु पनि रहेको नाहटा बताउँछन्।

तर दोस्रो शृङ्खलाको रूपमा प्रदर्शनमा आएको इन्डियन २ ले राम्रोसँग व्यापार नगरेपछि कमल हसनको 'इन्डियन'ले पनि अरू पुराना चलचित्रहरूजस्तो सफलता पाउन सकेन।

किन पुराना चलचित्रमा रुचि बढ्यो

स्ट्रीमिङ सेवाहरूमा सहजै उपलब्ध हुने पुराना चलचित्रका मानिसहरू किन पैसा तिरेर सिनेमा घर धाइरहेका छन् त?

“तपाईँ अनलाइनमा चलचित्र हेर्दाको अनुभव र सिनेमा घरमा गएर हेर्दाको अनुभव तुलना गर्न सक्नुहुन्न। त्यसकारण पनि मानिसहरू सिनेमा घरसम्म पुगेका हुन्,” आदर्श भन्छन्।

श्रुति जेन्डे यो कुरामा सहमति जनाउँछिन्। महाराष्ट्रको पुणेकी ३० वर्षीय यी युवतीले गत वर्ष यता पुनः प्रदर्शनमा आएका केही चलचित्र हेरिसकेकी छिन्।

“कथाका लागि चलचित्र हेर्ने भन्दा पनि त्यो चलचित्र साँच्चिकै मन पराउने मानिसहरूको समूहसँग बसेर हेर्न राम्रो अनुभव हुन्छ,” उनी भन्छिन्।

मानिसहरूलाई कतिपय दृश्य र संवाद समेत याद हुने भएका कारण उनीहरूले चलचित्रमा त्यो देखाइनुअघि नै प्रतिक्रिया जनाउन सुरु गर्छन्।

उनी यसै साता तेलुगु महानायक नागार्जुनाको सन् २००४ को चलचित्र 'मास' हेर्ने तयारीमा छिन्।

पुनः प्रदर्शनमा आएका चलचित्रबारे उनको अन्तिम ठहरले दोधारमा रहेका चलचित्र निर्माताहरूमाझ आशाको सञ्चार गर्नेछ।

“म यो वर्ष अझै एउटा वा दुई वटा पुनः प्रदर्शनमा आएका चलचित्रहरू हेर्न सक्छु,” उनी भन्छिन्।

“तर त्यसपछि भने म नयाँ चलचित्र हेर्न चाहन्छु।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।