सुशान्त सिंह राजपुतको मृत्युपछि 'मिडिया ट्रायल'बाट पीडित बनाइएकी रिया चक्रवर्ती

रिया चक्रवर्ती

तस्बिर स्रोत, Getty Images

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, लन्डन

बललिवूड अभिनेत्री रिया चक्रवर्तीलाई कुनै समय पैसाका लागि सम्बन्ध बनाएको आरोप मात्रै लगाइएन, "हत्यारा" नै भनियो।

उनका प्रेमी अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा उनको संलग्नताको आरोप लगाउँदै सन् २०२० मा सञ्चारमाध्यममार्फत् उनीविरुद्ध घृणा फैलाउने भयानक अभियान पनि चलाइए। उनलाई लज्जाजनक रूपमा २७ दिनसम्म जेलमा राखियो।

अहिले आएर भारतका सङ्घीय अनुसन्धानकर्ताहरूले भारतको लोकप्रिय हिन्दी चलचित्र उद्योगका उदीयमान कलाकारको मृत्यु आत्महत्याका कारण भएको र त्यसमा चक्रवर्ती वा उनको परिवारको कुनै भूमिका नरहेको बताएका छन्।

'अनुसन्धान समाप्त'

बीबीसीलाई प्राप्त बयानमा चक्रवर्तीको मुद्दा लडेका वरिष्ठ कानुन व्यवसायी सतीश मनशिन्देले भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले "सबै कोणबाट उक्त घटनालाई अनुसन्धान गरेको र बन्द गरेको" बताएका छन्।

अनुसन्धानबाट पत्ता लागेका तथ्यहरू मुम्बईको एक विशेष अदालतमा पेस गरिएका थिए। उक्त अदालतले यो मुद्दा अब बन्द गर्ने वा थप अनुसन्धानका लागि आदेश दिनेमध्ये एक निर्णय लिने छ।

चक्रवर्तीले "उनको कुनै पनि गल्तीबिना अथाह दुःख पाएको" मनशिन्देले बताएका छन्।

"सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट जसरी गलत कथनहरू प्रसारित गरियो, त्यो नहुनुपर्ने थियो," उनले भने। उनले सामाजिक सञ्जालका सञ्चालकहरूलाई "त्यहाँ भएका कुरा एक फरक दोहोर्‍याएर हेर्न" भनेका छन्।

"निर्दोष मानिसहरूलाई सिकार बनाएर अनुसन्धान निकाय र सञ्चारमाध्यमका अगाडि परेड गराइन्छ। मलाई अरू घटनामा यस्तो अवस्था नदोहोरियोस् भन्ने आशा छ।"

सुशान्त सिंह राजपुत

तस्बिर स्रोत, Getty Images

महिलावादी वकिल पायल चावला "महिलाविरोधी कथन चक्रवर्तीका हकमा" लागु भएको र त्यसले "गहिरो समस्या" निम्त्याउनुका साथै उक्त घटना "अरूबारे गरिने मूल्याङ्कनको खतराको एउटा जनाउ घण्टी" भएको बताउँछिन्।

परिवार नै 'पीडित'

सीबीआईले उक्त अनुसन्धान बन्द गर्न चाहेको समाचार सार्वजनिक भएपछि चक्रवर्तीले कुनै प्रतिक्रिया दिएकी छैनन्। सोमवार उनी आफ्ना भाइ र बुवासँग मन्दिर जाँदै गरेको देखिएकी थिइन्। उनीहरू दुवै जनालाई राजपुतको मृत्युपछि प्रहरीमा दिइएको जाहेरीमा विपक्षी बनाइएको थियो।

यो परिवारले राजपुतको घटनामा सफाइ पाएको सङ्केत उनका भाइ शोविक चक्रवर्तीको सामाजिक सञ्जाल पोस्टमा देखिन्छ। उनले रियासँगको तस्बिर राख्दै "सत्यमेव जयते" अर्थात् 'सत्यको नै जित हुन्छ' भनी लेखेका छन्। राजपुत मृत्युको घटना अनुसन्धानका क्रममा उनलाई पनि तीन महिना कैदमा राखिएको थियो र पछि धरौटीमा छुटेका थिए।

राजपुत सन् २०२० को १४ जुनमा मुम्बईको एक बहुतल्ले अपार्टमेन्टमा मृत भेटिएका थिए। मुम्बईको प्रहरीले ३४ वर्षका राजपुतमा मानसिक स्वास्थ्यको समस्या रहेको बताएको थियो। त्यसको उपचारसमेत गराइरहेका राजपुतले आत्महत्या गरेको हुनसक्ने देखिएको बताएको थियो।

राजपुतसँग प्रेममा रहेकी चक्रवर्ती पनि सँगै बस्ने गरेकी थिइन्। तर उनको मृत्युभन्दा केही दिनअघि मात्रै उनी आफ्ना बुवाआमासँग बस्न पुगेकी थिइन्।

"मेरो भावनाको सामना गर्न अझै सङ्घर्ष गरिरहेकी छु... मेरो हृदयमा अपूरणीय शून्यता छ … तिमी यहाँ नभएको कुरा मैले स्वीकार गर्न सकिरहेकी छैन," उनको शोकमा चक्रवर्तीले सामाजिक सञ्जालमा लेखेकी थिइन्।

रिया चक्रवर्तीको परिवार

तस्बिर स्रोत, Getty Images

तर त्यसको एक सातामै राजपुतका बुवाले चक्रवर्तीले आफ्ना छोराको पैसा चोरेको र आत्महत्याको अवस्थामा पुर्‍याएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि ती नायिका मानिसहरूको आक्रोशको केन्द्र बनिन्। उनले आफ्ना छोराको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको कुरा पनि अस्वीकार गरे।

पछिल्ला घटनाक्रमपछि सुशान्तको मृत्युबारे राजपुत परिवारले कुनै पनि प्रतिक्रिया जनाएको छैन।

आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी चक्रवर्तीले भारत सरकारलाई उक्त मृत्युबारे निष्पक्ष छानबिन गरिदिन माग गरेकी थिइन्।

'घृणा फैलाउने अभियान'

कोरोनाभाइरस महामारीमा माझ भारत आफैँ उक्त भाइरससँग सङ्घर्ष गरिरहेका समयमा पनि उक्त दुःखद घटना टेलिभिजनहरूको प्रमुख समाचार बन्यो।

त्यससँगै चक्रवर्ती महिलाविरोधी भावना र दुर्व्यवहारको सिकार भइन्। उनलाई "बोक्सी" र "सम्पत्तिका लागि सम्बन्ध राखेको" जस्ता कैयौँ आरोप लगाइए। उनले बलात्कार गर्ने र ज्यान मार्ने धम्की पनि खेप्नुपर्‍यो।

भारतका कतिपय चर्चित टेलिभिजन प्रस्तोताहरूले आफ्नो कार्यक्रमको पूरा समय उक्त घटनाको चर्चामा खर्चिए। जसमा उनलाई "कालो जादु" गर्ने महिला र सुशान्तलाई "आत्महत्याको बाटोमा डोर्‍याउने" महिलाको रूपमा चित्रित गरियो।

उक्त समय सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा एक प्रख्यात समाचार प्रस्तोताले चक्रवर्तीलाई "लागुऔषध दुर्व्यसनी" सम्मको आरोप लगाए। अर्को एउटा समाचार च्यानलमा एक जना महिला प्रस्तोताले आफूसँग ती नायिका दोषी भएका पुष्टि गर्ने "एक झोला कागजात" भएको दाबी गरिन्।

राजपुतको मृत्युको तीन महिनासम्म यस्तो घृणा फैलाउने अभियान चलिरह्यो र त्यसपछि चक्रवर्ती पक्राउ परिन्।

'माफी दिन सक्दिनँ'

रिया चक्रवर्ती

तस्बिर स्रोत, Getty Images

त्यसको एक महिनापछि थुनामुक्त भएकी उनले आफूलाई सम्हालेर प्रेरक वक्ताका काम सुरु गरिन्। उनले कपडाको व्यापार सुरु गरेर व्यवसायमा पनि हात हालिन् र सेलिब्रिटीहरूसँग अन्तर्वार्ता लिएर पोड्कास्ट पनि सुरु गरिन्।

उनले 'रियालिटी टीभी शो' पनि चलाइरहेकी छन्।

चक्रवर्तीले आफूले सामना गर्नुपरेको कठिन समयबारे पनि बोलेकी छन्। उनले आफ्नो चरित्रहत्या गर्ने र नाम काढ्ने कुराले आफ्नो काममा पुगेको बाधादेखि परिवारसम्म पुगेको असरबारे पनि सुनाएकी छन्।

"मैले हिन्दी चलचित्र उद्योगका मानिसहरूलाई कुनै पनि भूमिका भए दिन भन्दै सम्पर्कको प्रयास गरेँ। त्यसपछि मात्रै मैले महसुस गरेँ कि त्यो घटनाका कारण मानिसहरूले मलाई आफ्नो चलचित्रमा देखाउन नचाहेका रहेछन्," उनले गत वर्ष 'ह्यूमन्स अफ बम्बई'सँग भनेकी थिइन्।

"लामो समय मलाई निकै रिस उठ्यो। त्यो कुराले मेरो शरीरमा एसिडिटी बढ्यो र मैले पेटको समस्या बेहोरेँ। त्यस कारण त्यो बिर्सिएर अघि बढ्नु नै उपयुक्त लाग्यो," उनले भनिन्।

"म सबैलाई चाहिँ माफी दिन सकिनँ। केही मान्छेहरूलाई मैले अझै पनि माफ गरिसकेकी छैन।"

उनले त्यस्ता मानिसहरूविरुद्ध कस्तो कदम चाल्छिन् भन्ने स्पष्ट छैन तर सामाजिक सञ्जालमार्फत् कतिपयले उनलाई पुगेको क्षतिबारे मानिसहरूलाई मुद्दा चलाउन सुझाव दिइरहेका छन्।

यी नायिका वा उनका वकिलले उनको कदमबारे केही नबताए पनि स्तम्भकार नमिता भण्डारी भारतका अदालतहरूमा कैयौँ मुद्दाहरू थाती रहेका कारण क्षतिपूर्ति पाउन सहज नभएको बताउँछिन्।

"मानहानिको मुद्दा एक दशकसम्म चल्न सक्छ र अन्त्यमा माफी मागेर सकिन सक्छ। त्यसकारण उनले त्यसो गर्ने झन्झट बेहोर्लिन् र?"

भण्डारीका अनुसार चक्रवर्ती "प्रभावशाली व्यक्ति थिइनन् र उनका पछाडि चलचित्र क्षेत्रका शक्तिशाली मानिसहरू थिएनन्" जसका कारण उनलाई "मसालेदार समाचार बनाउन प्रयोग गरियो।"

स्तम्भकार भण्डारी यस्ता घटनामा महिलालाई दोषी देखाइनुमा परम्परावादी भारतीय सोच जिम्मेवार रहेको ठान्छिन्। त्यससँगै उनी एक जना खलनायक खोजेर त्यसको छवि धुमिल बनाउने सामाजिक सञ्जालको अँध्यारो पक्षबारे पनि मानिसहरूलाई सचेत गराउँछिन्।

'कष्टपूर्ण वर्षहरू कसले फिर्ता ल्याइदिन्छ'

कतिपय प्रख्यात समाचार प्रस्तोताले चक्रवर्तीबारे गरेका अपमानजनक टिप्पणीबारेका भिडिओ अहिले पुनः देखा परेका छन् र सामाजिक सञ्जालमा व्यापक शेअर भइरहेका छन्।

बलिवूडका उनका सहकर्मीहरूसहित कैयौँ मानिसले ती प्रस्तोताले माफी माग्नुपर्ने बताइरहेका छन्।

"तिमीहरू बोक्सीको आरोप लगाउने हदसम्म गयौ। तिमीहरूले दर्शक बढाउनका लागि गहिरो पीडा र उत्पीडन निम्त्यायौ। अब क्षमा माग। तिमीहरूले गर्न सक्ने सबैभन्दा सहज कुरा यही हो," बलिवूड नायिका दिया मिर्जाले इन्स्टाग्र्याममा लेखेकी छन्।

पत्रकार रोहिणी सिंहले उनको मानहानि गर्ने टीभी च्यानलको नाम नै तोकेर उनीहरूले चक्रवर्तीसँग माफी माग्नुपर्ने बताएकी छन्।

"उनीहरूसँग कुनै लाज छ र मानव सभ्यताको कुनै अंश बचेको छ भने उनलाई गरेको निन्दा, झुट र उनलाई थुनाउने अजेन्डामा लागेकोमा माफी माग्नुपर्छ," उनले एक्समा पोस्ट गरेकी छन्।

यो विषय मङ्गलवार संसद्‌मा पनि उठेको थियो। पत्रकार पृष्ठभूमिकी सांसद सागरिका घोषले चक्रवर्तीको चरित्रहत्या गरिएको विषयमा प्रश्न गरेकी थिइन्।

"समाचार च्यानलहरूले उनका विरुद्ध नियोजित अभियान चलाए। आज उनी निर्दोष प्रमाणित भइन्। तर उनले सञ्चारमाध्यमबाट भोगेको अपमानका कारण सिर्जित कष्टपूर्ण वर्षहरू कसले फिर्ता ल्याइदिन्छ?" उनको प्रश्न छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।