लगातार एकपछि अर्को नेपाली चलचित्र 'लोकप्रिय' बन्नुका कारण

'पूर्णबहादुरको सारङ्गी' हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने नेपाली चलचित्र बनेको छ, उक्त फिल्म अहिले पनि हलहरूमा चलिरहेको छ

तस्बिर स्रोत, Bijaya Baral/Facebook

तस्बिरको क्याप्शन, 'पूर्णबहादुरको सारङ्गी' हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने नेपाली चलचित्र बनेको छ, उक्त फिल्म अहिले पनि हलहरूमा चलिरहेको छ
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

यो वर्षको सुरुदेखि हालसम्म प्रदर्शनमा आएका कैयौँ चलचित्रहरूले राम्रो आम्दानी गरेपछि नेपाली सिनेमा क्षेत्रबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्।

कतिपयले यो अवस्थालाई "नेपाली सिनेमाको स्वर्णयुग"समेत भनेका छन्।

केही समीक्षकहरू चाहिँ नेपाली सिनेमालाई लिएर अहिले नै "धेरै उत्साहित भइहाल्नु भन्दा अझै केही समयको प्रवृत्तिलाई विश्लेषण गर्नुपर्ने" बताउँछन्।

यद्यपि नेपाली चलचित्रहरूले पाइरहेको 'व्यावसायिक सफलता' तथा 'फिल्म हलहरूमा दर्शकको व्यापक उपस्थिति'ले स्वदेशी सिनेमा क्षेत्र 'उत्साहित' देखिएको धेरैको विश्लेषण छ।

कलाकार, निर्माता र चलचित्र समीक्षकहरूका भनाइमा पछिल्लो "लोकप्रियता"ले नेपाली सिनेमा क्षेत्रमा देखिएका केही प्रवृत्तिलाई उजागर पनि गरेको छ।

एकपछि अर्को चलचित्र 'लोकप्रिय'

नेपाली चलचित्रहरूले राम्रो कमाइ गरिरहेका छन्

केही महिनादेखि प्रदर्शनमा आएका एकपछि अर्को नेपाली चलचित्रहरू लोकप्रिय बनिरहेका जानकारहरू बताउँछन्।

फिल्म हलहरूमा देखिएको दर्शकहरूको चाप र प्रदर्शन भएका दिनहरूले पनि त्यसलाई पुष्टि गरेका छन्।

नेपालीहरूका मुख्य चाडपर्व दशैँ र तिहारका बेलामा सँगसँगै हलमा लागेका हिन्दी चलचित्रको तुलनामा नेपाली फिल्महरूले बढी कमाइ गरेको देखिएको विवरण पनि आएका छन्।

यो वर्षको सुरुमै प्रदर्शनमा आएको 'बोक्सीको घर'ले 'बक्स अफिस'मा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको सार्वजनिक भएको थियो।

उक्त फिल्मसँगै र त्यसपछि प्रदर्शनमा आएका अन्य नेपाली चलचित्रहरू 'मनसरा', 'पुजार सार्की', 'फर्कीफर्की', 'घरज्वाइँ', 'खुस्मा', 'बेहुली फ्रम मेघौली', 'गाउँ आएको बाटो'लगायतको पनि निकै चर्चा भएको थियो।

तीमध्ये अधिकांश चलचित्रहरूले नाफा कमाएको निर्माता र वितरकहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

दशैँको बेला प्रदर्शनमा आएका चलचित्रहरूले निकै राम्रो कमाइ गरेपछि ती नेपाली चलचित्रबारे व्यापक चर्चा जारी छ।

फूलपातीका दिन प्रदर्शन सुरु भएका 'छक्कापन्जा ५', '१२ गाउँ' र 'ज्वाइँ साब' तीनवटैलाई व्यावसायिक रूपमा सफल चलचित्र मानिएको छ।

निर्माता र वितरकहरूले सार्वजनिक गरेका विवरणहरूमा जनाइएअनुसार '१२ गाउँ'ले २५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो भने 'छक्कापन्जा ५'ले २० करोड रुपैयाँभन्दा बढी कमाएको थियो। 'ज्वाइँ साब'ले भने पाँच करोड रुपैयाँभन्दा बढी कमाएको बताइएको छ।

'पूर्णबहादुरको सारङ्गी'को कमाइ

चलिचित्र विकास बोर्डका अधिकारीहरू तथा चलचित्र वितरकका अनुसार हालसम्म देशभित्रै सबैभन्दा बढी कमाइ गर्ने चलचित्र 'पूर्णबहादुरको सारङ्गी' बनेको छ।

तिहारदेखि प्रदर्शनमा आएको उक्त चलचित्र अहिले पनि हलहरूमा चलिरहेको छ र दर्शकहरूले पालो कुरेर फिल्म हेरिरहेका छन्।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले भने, "अहिलेसम्म सबैभन्दा धेरै कमाउने चलचित्र कबड्डी ४ थियो। त्यो फिल्मले त्यस्तै २३/२४ करोड कमाएको थियो। पूर्णबहादुरको सारङ्गीले चाहिँ ५० करोडसम्म कमाइ गर्ने जस्तो देखिएको छ।"

विभिन्न विवरणमा जनाइएअनुसार हालसम्म उक्त फिल्मले ४० करोड हाराहारी कमाइ गरिसकेको छ।

यसै वर्ष प्रदर्शन भएका 'शाम्बाला' र 'गाउँ आएको बाटो'ले पनि व्यापक चर्चा पाए। ती दुवै फिल्महरू धेरैवटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भएका थिए।

राम्रो कमाइ गरेको पछिल्लो फिल्ममध्येको एक 'छक्कापन्जा ५' की निर्माता र त्यसमा प्रमुख भूमिकामा अभिनयसमेत गरेकी दीपाश्री निरौला राम्रो फिल्मलाई सबैले साथ दिने बताउँछिन्

तस्बिर स्रोत, Dipaa Shree Niroula/Facebook

तस्बिरको क्याप्शन, 'छक्कापन्जा ५' की निर्माता र त्यसमा प्रमुख भूमिकामा अभिनयसमेत गरेकी दीपाश्री निरौला राम्रो फिल्मलाई सबैले साथ दिने बताउँछिन्

'जागेको आशा'

नेपाली चलचित्रहरूले पाएको सफलताले "नेपाली फिल्म क्षेत्र व्यावसायिक उद्योगका रूपमा स्थापित हुने आशा जागेको" कतिपय निर्माताहरू बताउँछन्।

राम्रो कमाइ गरेको पछिल्लो फिल्ममध्येको एक 'छक्कापन्जा ५' की निर्माता र त्यसमा प्रमुख भूमिकामा अभिनयसमेत गरेकी दीपाश्री निरौला भन्छिन्, "राम्रो फिल्म बन्दा दर्शकहरूले साथ दिनुहुन्छ भन्ने देखिएको छ।"

"पछिल्ला सफलताले नेपालमा पनि फेरि कुनै बेला फिल्महरूले १०० दिनसम्म चलेको रेकर्ड बनाएकै जस्तो दिन फर्कने आशा जगाएको छ।"

उनी अहिले पहिले '५१ दिन' वा '१०० दिन' मनाएको भनेर हुनेजस्ता गतिविधि नहुने तर दर्शकहरू केही दिन झुम्मिएर फिल्म हेर्दा नै उल्लेख्य कमाइ हुने अवस्था आएको बताउँछिन्।

उनले भनिन्, "माटोसुहाउँदो चलचित्र भयो भने त्यसलाई दर्शकले मन पराउनुहुन्छ भन्ने अहिलेको बहावले देखाएको छ। अब हामीले छुट्टै प्रयोगात्मक चलचित्रहरूमा पनि लगानी गर्नुपर्छ र बनाउनुपर्छ भन्ने भएको छ।"

उनी अहिले फरकफरक विधाका चलचित्रहरू चल्नु र सफल व्यापार गर्नुले 'बहुविधामा चलचित्र बनाएर सफल हुन सकिन्छ' भन्ने स्थापित भएको बताउँछिन्।

'दायरा फराकिलो'

अभिनेत्री उषा रजक नेपालमा अहिले मौलिक कथामा चलचित्रहरू निर्माण हुन थालेको बताउँछिन्

तस्बिर स्रोत, Usha Rajak/Facebook

तस्बिरको क्याप्शन, अभिनेत्री उषा रजक नेपालमा अहिले मौलिक कथामा चलचित्रहरू निर्माण हुन थालेको बताउँछिन्

केही वर्ष अभिनय छाडेर पुन: अहिले नेपाली चलचित्रहरूमा अभिनय गरिरहेकी अभिनेत्री उषा रजक नेपालमा अहिले मुख्यत: दुई प्रकारका चलचित्रहरू बनिरहेको बताउँछिन्।

"पहिलो भनेको व्यावसायिक किसिमका चलचित्रहरू बनिरहेको देखिन्छ भने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरेर बनेका चलचित्र छन्," उनले भनिन्।

"दुवै खाले चलचित्रहरूले सफलता पाइरहेका छन् र त्यसरी सफलता पाउनुमा केही विशेष कारणहरू छन्।"

रजकले आफैँले अभिनययात्रा सुरु गर्दाको अवस्थासँग तुलना गर्दै अहिले त्यसमा केही भिन्नता आएको बताइन्।

"पहिले बलीवुड वा हलीवुड सिनेमाबाट प्रभावित भएर नेपाली चलचित्र बनाउने चलन थियो। मौलिक कथाहरूमा फिल्म कम बन्थे," उनले भनिन्।

"अहिले फेरि म फर्केर आउँदा नेपाली मौलिक कथाहरूमा फिल्म बनिरहेको पाएँ। यहाँको मैलिक कथालाई नै फिल्म बनाएर त्यसलाई व्यावसायिक बनाउने काम भइरहेको छ र गर्नुपर्ने पनि यो नै हो।"

'सूपरस्टार होइन, कथाको खोजी'

 'छक्कापन्जा ५'ले २० करोड रुपैयाँभन्दा बढी कमाएको बताइएको छ

तस्बिर स्रोत, Deepak Raj Giree/Facebook

तस्बिरको क्याप्शन, दीपाश्री निरौला र दीपकराज गिरी दर्शकमाझ

रजकका अनुभवमा नेपाली दर्शकहरूले अहिले कुनै 'सूपरस्टार'भन्दा मौलिक कथाको खोजी गर्न थालेका छन्।

"पहिले कुनै बेला सुपरस्टारको खोजी हुन्थ्यो होला तर अहिले राम्रो कथा भयो भने त्यसमा को खेलेको छ नभनी दर्शकले हेर्ने चलन बढेको छ," उनले भनिन्।

"यसले हामीजस्ता कलाकारलाई पनि हौसला आएको छ।"

नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष सामीप्यराज तिमल्सेना पनि अहिले दर्शकले कुनै व्यक्ति वा कलाकारभन्दा कथा खोज्न थालेको बताउँछन्।

उनले भने, "हिजोका दिनमा केही व्यक्तिको मात्र फिल्म चल्छ भन्ने थियो। अहिले जोसुकैको चलेका छन्। अब कलाकारभन्दा कथाप्रधान भएको जस्तो देखिन्छ।"

"राम्रो कथामा राम्रो कलाकारको अनुहार मिसिएको ठिकै होला तर अब अनुहार मात्र ठूलो विषय होइन भन्ने सन्देश प्रवाहित भएको छ।"

हालसम्मको सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको 'पूर्णबहादुरको सारङ्गी'का शीर्ष कलाकार विजय बराल "नेपाली माटोअनुसार र नेपाली शैलीको कथा" दर्शकले मन पराउने देखिएको बताउँछन्।

उनले भने, "अहिले हाम्रो फिल्म यसरी चल्दा निकै खुसी लागेको छ। हाम्रो माटोसुहाउँदो कथामा कला भर्न सकियो भने त्यसले दर्शकहरूको मन जित्ने रहेछ भन्ने मलाई अनुभूत भएको छ।"

सामाजिक सञ्जालको प्रभाव

राजधानीको एक सिनेमा हलमा फिल्म हेर्न पुगेका दर्शकहरू

तिमल्सेना गत वैशाखयता हालसम्म प्रदर्शनमा आएकामध्ये १४ वटा चलचित्रले लागानी उठाउनु र त्यसमध्ये चारपाँच वटा चलचित्र 'ब्लक्बस्टर' हुनुले नेपाली फिल्मका लागि यो स्मरणीय वर्ष हुने बताउँछन्।

"यो वर्षलाई नेपाली सिनेमाबाट टाढिएका दर्शकहरूलाई एकै पटक हलमा ल्याउने वर्षका रूपमा स्मरण गर्न सकिन्छ," उनले भने।

चलचित्र विकास बोर्डका अनुसार नेपालमा प्रतिवर्ष १०० वटाको हाराहारीमा फिल्म बन्छन् भने ५० देखि ६० वटा प्रदर्शनमा जान्छन्।

त्यसमध्ये दुईचार फिल्मले मात्र उल्लेख्य नाफा कमाउने गरेकामा यस वर्ष त्यो प्रवृत्ति नै तोडिएको बताइएको छ।

नेपाली चलचित्रहरूको व्यापक प्रचारप्रसार हुनुमा सामाजिक सञ्जालको भूमिका पनि उल्लेख्य रहेको तिमल्सेना बताउँछन्।

उनले भने, "पछिल्लो समयमा विशेष गरी टिकटकले गर्दा मानिसहरूमा चलचित्रको प्रचार धेरै भएको देखिन्छ अनि कुनै पनि फिल्मको गीत चर्चित भएपछि त्यसको प्रभाव पनि दर्शकमा परेकोजस्तो देखिएको छ।"

यद्यपि त्यसबारे अध्ययन गरेर मात्र यथार्थ पत्ता लगाउन सकिने उनी बताउँछन्।

विदेशमा बस्ने नेपालीको 'योगदान'

राजधानीको एक सिनेमा हलमा फिल्म हेर्न पुगेका दर्शकहरू
तस्बिरको क्याप्शन, राजधानीको एक सिनेमा हलमा फिल्म हेर्न पुगेका दर्शकहरू

नेपाली चलचित्रको व्यापार राम्रो हुनुमा पछिल्ला वर्षहरूमा विदेशमा बस्ने नेपालीको योगदानले पनि भूमिका खेलको जानकारहरू बताउँछन्।

उनीहरूका भनाइमा नेपालीको सङ्ख्या बढेसँगै विभिन्न देशका ठूला हलहरू नै भाडामा लिएर फिल्म देखाउन थालिएको छ।

विशेषगरी युरोप, अमेरिका, अस्ट्रेलिया र खाडी क्षेत्रका देशहरूमा चलचित्र वितरणको जिम्मा लिनेहरूले निर्मातालाई उल्लेख्य रकम तिर्ने गरेका छन्।

"विदेशमा नेपालीहरू धेरै हुँदा त्यहाँ पनि चलचित्रहरू चलेका छन्। डायस्पोरा समुदाय महत्त्वपूर्ण भएको छ। पहिले प्रोजेक्टरमा फिल्म देखाइन्थ्यो, अहिले त त्यहाँ पनि ठूलो पर्दामा देखाइन्छ," दीपाश्री निरौला भन्छिन्।

"राम्रो चलचित्र बनायो भने विदेशबाट रकम उठ्छ। विदेशबाट लगानी पनि भएको छ। कतिपय उद्योग छाडेर गएका कलाकारहरू पनि फर्किएका छन्।"

अर्की कलाकार उषा रजक पनि नेपाली फिल्मका लागि अब विदेशमा बस्ने नेपालीहरू महत्वपूर्ण बनेको बताउँछिन्।

उनले आफ्नै उदाहरण दिँदै भनिन्, "म पाँच जना छोरी भएको घरमा हुर्केको, अहिले चार जना बाहिर नै हुनुहुन्छ। म पनि विदेश नै बसेर आएकी हुँ।"

"मेरै परिवारका विभिन्न देशमा भएका दिदीबहिनीहरूले नेपाली फिल्म हेर्न खोज्नुहुन्छ र त्यहाँ लाग्नेबित्तिकै हेर्नुहुन्छ। यस्तो त अहिले धेरैको हुन्छ।"

'विदेशी चलचित्र विस्थापित हुने अवस्था आउन सक्छ'

पूर्णबहादुरको सारङ्गी चलचित्रको एउटा दृश्यमा अभिनेत्री अञ्जना बराइली
तस्बिरको क्याप्शन, 'पूर्णबहादुरको सारङ्गी' चलचित्रको एउटा दृश्यमा अभिनेत्री अञ्जना बराइली

कतिपयले अहिले नेपाली चलचित्रहरू व्यापक रूपमा चलेकाले नेपालमा विदेशी चलचित्रभन्दा नेपालीको बजार राम्रो हुँदै गएको पुष्टि गरेको बताइरहेका छन्।

तर समीक्षक तिमल्सेना अहिले नै "त्यसरी उत्साहित भइहाल्नुपर्ने अवस्था नआएको" बताउँछन्।

उनले भने, "अन्य भाषाका विदेशी सिनेमा विस्थापित गर्‍यौँ भनेर अहिले नै भन्न सकिँदैन। तिहारका बेलामा नेपाली फिल्मले हिन्दी सिनेमालाई विस्थापित गरेको देखियो तर यस्तो अवस्था कायम रहन्छ भन्नु हतार हुन्छ।"

"यसलाई स्वर्णिम युग हो भन्ने निष्कर्षमा पुग्नुहुँदैन किनभने यो मोटाएको होइन, सुन्निएको अवस्था हो।"

"सुन्निएको म किन भन्छु भने सिर्जनात्मक हिसाबले राम्रो भनिएका चलचित्र हेर्न दर्शक नगएको देखियो भने जुन सिनेमालाई औसत भनिएको थियो, त्यसमा दर्शक गए, त्यसैले उच्चतम फिल्म बनेका छन् भन्न सकिन्न।"

यद्यपि अहिलेकै जस्तो अवस्था रहेमा र नेपाली मौलिक कथाका अझ सशक्त फिल्महरू बन्दै गए भने बिस्तारै नेपाली फिल्म क्षेत्रले फड्को मार्न सक्ने सम्भावना रहेको उनी बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।