नेपाली चलचित्र: सामाजिक सञ्जालमा किन चर्चामा छ ‘ऐना झ्यालको पुतली’?

तस्बिर स्रोत, Local Cinema
आफ्नी आमाले "फिल्म खेल्ने" अनुमति दिँदा सङ्खुवासभा खाँदबारीकी कञ्चन चिमरिया दङ्ग परेकी थिइन्। उनी कलाकार बन्न लागेको खबर आफन्त, छरछिमेक, साथीभाइ सबैकहाँ पुग्यो।
चिटिक्क परेका लुगा, मुहारमा लपक्क शृङ्गार, अङ्ग्रेजी मिसिएको लवज अनि फरक चालढालसहितको हिँडाई- कञ्चनले यूट्यूबमा हेरेका केही चलचित्रका अभिनेत्रीहरूको ठाउँमा आफूलाई कल्पना गर्न थालेकी थिइन्।
तर जब छायाङ्कनको तयारी भयो तब उनी छाँगाबाट खसेसरह भइन्। त्यति बेला कसैले उनलाई हातमा केही थान थोत्रा कुर्था थमाउँदै भनेको थियो- "तिमीले यस्तै लुगा लगाउनु पर्छ।"
"मैले त फिल्म खेल्ने मान्छेले त्यस्तो लुगा लगाउँछन् भन्ने सोचेकी पनि थिइनँ। झन् स्कूलको फ्रकमुनि सुरुवाल लगाएर हिँड्नु पर्दा लाजले भुतुक्कै भएँ, "उनले आफ्नो अनुभव सुनाइन्।
"अनुहारमा पनि छाला राम्रो देखाउनुको साटो कालो बनाउने मेकअप गर्दा त सबै कुरा सोचेभन्दा उल्टो लाग्न थाल्यो।"
जसोतसो चलचित्रको छायाङ्कन सकियो। एक वर्ष बित्यो… दुई, तीन अनि चार वर्ष बित्यो तर उनले अभिनय गरेको चलचित्र न हेर्न पाइन् न त्यसबारे कुनै खबर नै सुनिन्। अभिनय र आफैलाई पर्दामा हेर्ने उत्साह कम हुँदै गयो।
पाँचौँ वर्ष अर्थात् यसै वर्ष उनको उच्च माध्यमिक तहको पढाइ सकियो। उनी स्नाताक तह अध्ययन गर्नका निम्ति अस्ट्रेलिया जाने योजनासहित अङ्ग्रेजी भाषा सम्बन्धी परीक्षा आईईएलटीएसको तयारीमा जुटिन्।
पढाइ र भविष्यको योजनाहरूमा अघि बढ्दै गरेकी उनलाई केही साताअघि एउटा फोन आयो। कसैले सोध्यो- "फुर्सद छ/छैन? तिमीले अभिनय गरेको चलचित्र चलाउन लागेका छौँ। केही समय दिन मिल्छ त?"

तस्बिर स्रोत, Local Media
चलचित्रकी विद्या अधिकारी उनी 'ऐना झ्यालको पुतली'को विशेष प्रदर्शनीको दिन विश्वज्योति सिनेमा हलमा देखिइन्। प्लस टू गर्न काठमाण्डू आएपनि पहिलो पटक चलचित्र हलमा टेकेकी उनले आफैलाई ठूलो पर्दामा हेरिन्।
उनै विद्याको सपना, सम्बन्ध र समस्याहरूको फेर समातेर चलचित्रको कथा अघि बढ्छ। हलबाट निस्किएपछि उनको अघिल्तिर दर्जनौँ क्यामरा र माइकसँगै प्रश्नहरू सोझिए।
अनि उनलाई बोध भयो- "जस्तो लुगा लगाए पनि फिल्म धेरैले मन पराएछन्। खोइ किन हो मलाई शुटिङ गर्दाका दिनहरू याद आए…" उनले वाक्य टुङ्गाउन नपाउँदै अलि पर बसेर सुनिरहेका क्षितिज लिम्बुले चर्को आवाजमा भने- "तिमी त रोएको देखेको थिएँ नि। त्यो पनि भन न।"
केही धक माने झैँ गरि रोएको स्विकारिन् तर कारण खुलाइनन्। बरु चलचित्रमा मिलन बनेका क्षितिजलाई उल्टै जिस्काइन्, "तिमी फिल्म नखेल्ने भनेर घरमै लुकेको हामीले बिर्सेका छैनौँ नि।" उपस्थित सबै गलल हाँसे।
आफू थोरै नकारात्मक भूमिकामा भएको थाहा पाएपछि छायाङ्कन स्थलबाट छुट्टी मनाउन घर गएका उनी केही समय फर्कनै नमानेको क्षितिज सुताउँछन्।
"हिरो बन्न भनेर बाबाको अनुमतिबिना फिल्म खेल्न गएको, भिलेन पो बन्नु पर्यो," उनले ठट्यौली शैलीमा भने।
चलचित्रमा सहपाठीहरूलाई थर्काउँदै, कुट्दै हिँड्ने यी पात्र अहिले इन्जिनियरिङ गर्दै छन्। पाँच वर्षमा हर्लक्क बढेका उनलाई चलचित्र युनिटका प्रायले पहिलो झलकमा चिनेनन्। "सबैजना कति धेरै फेरिएको के। फिल्ममा जस्तो थिएँ अहिले पनि त्यस्तै त म मात्रै होला," विद्याकी मितिनी बनेकी विशा राई बोलिन्।

तस्बिर स्रोत, Local Cinema
चलचित्रमा कक्षा ८ मा पढ्दापढ्दै गरेको विवाह वास्तविक जीवनमा भने कक्षा ११ मा पढ्दापढ्दै गर्न 'बाध्य' भइन् उनी।
भन्छिन्, "गाउँघरमा धेरै कुरा फेरिएको छ। तर मैले फिल्ममा जस्तो देखियो उस्तै अवस्था भोगेँ।"
समाजको कथा मानिसहरूले जस्तो भोगे त्यस्तै देखाएकै कारण चलचित्रलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको हुनसक्ने उनको बुझाइ छ।
नेपाली धावक सन्तोषी श्रेष्ठले यस चलचित्रले आफूलाई पुराना दिन सम्झाएको र आफूलाई प्रोत्साहित गरेको बताइन्।
"मलाई एक महिला, एक विद्यार्थी, गाउँमा हुर्किएकी एक छोरी, सपनाहरू पछ्याउँदै सहरमा बसिरहेकी एक महिला, एक युवा र एक मान्छे हुनुको नाताले यो चलचित्र आफूसँग सम्बन्धित भएको पाएँ," उनले सबै कलाकारहरूको तारिफ गर्दै लेखेकी छन्- यो चलचित्र होइन यथार्थ हो। हरेक दृश्यहरूमा जीवन भेटिन्छ।
रोचक त के भने सन्तोषीले इङ्गित गरेका कलाकारहरू परिचित अनुहार होइनन्। सङ्खुवासभाका विभिन्न भेगका विद्यालयहरूमा भेटिएका विद्यार्थीहरू हुन् जो लेखक तथा निर्देशक सुजित बिडारीको कल्पनाका पात्रहरू जस्तै देखिए। कसैको हाउभाउ ठ्याक्कै मिल्दो, कसैको बोली खोजेकै जस्तो।
बिडारी भन्छन्, "मैले कसैबाट प्रभावित भएर लेखेको होइन। समाजमा देखेर कसैलाई टपक्कै टिपेको भएर होला धेरैले दर्शकहरूले आफूसँग मिल्दो कथा भएको प्रतिक्रिया दिनुभएको छ।"

तस्बिर स्रोत, Local Cinema
आर्थिक अभावबीच पिल्सिरहेको परिवार। छोराछोरीको पढाइदेखि भातभान्सा र मेलापात सम्हाल्ने आमा। धेरै पढ्ने र केही बन्ने सपना देखिरहेकी दिदी। रहरहरूबीच हुर्किरहेको भाइ। र, रक्सीको नशामा चुर्लुम्म डुबेका बाबु- सुजितले देखेका र अनुभव गरेका यस्ता भोगाइका कुनै न कुनै पक्ष अधिकांश ग्रामीण परिवारमा फेला पर्छन्।
त्यसमा बिडारीको आफ्नै बाल्यकालको भोगाइ पनि छ। उनले देखेको अनि बुझेका थप घटनाहरूमा काल्पनिक परिवेश र अवस्थाहरू जोड्दै फिल्म बनाउने निधो गरे। आर्थिक लगानीमा साथ दिए आकाश पौडेल, प्रवीण स्याङ्बो र रामकृष्ण पोखरेलले।
"कथा लेख्न बसेपछि सधैँ एउटा विन्दुमा पुगेर अल्छी लाग्थ्यो। च्यातेर फाल्थेँ। तर यो कथामा म कहीँ पनि अल्झिनँ। साथीहरूलाई पहिलो पटक सुनाउनासाथ लगानी गर्न तयार हुनुभयो," बिडारीले सुनाए।
"व्यक्तिगत जीवन, विगतको सम्झना र भावनालाई शब्दमा अविरल उतार्दै गएँ। पुनर्लेखन गर्दै जाँदा कथा झन् माझिँदै गयो। तर मैले त अरूलाई पनि त्यो कथा आफ्नै जस्तो लाग्ने गरी बनाउनु थियो।" अहिले चलचित्र हेरेकामध्ये धेरैले कथामा "आफूलाई पाएको" प्रतिक्रिया दिएका छन्।
साहित्यकार रामबाबु सुवेदीले चलचित्रको बारेमा हस्तलिखित प्रतिक्रिया जनाएका छन्। उनले भनेका छन्, "यसमा शारीरिक द्वन्द्व छैन। मनोवैज्ञानिक द्वन्द्व अथाह छ। यो मेरै जीवनको सिनेमा हो। वास्तवमा भन्नुपर्दा यो हाम्रै गाउँघरको मर्ममा उच्चतम अभिव्यक्तिको सार संक्षेप हो।"

तस्बिर स्रोत, Rambabu Subedi
पत्रकार सुशीला तामाङले चलचित्रले आफूलाई आफूलाई बालापन र गाउँ सम्झाएको लेखेकी छन्। "आमाहरूलाई आमाकै कथा छ, छोरीहरूलाई छोरीकै कथा छ, दिदी, भाइबीचको न्यानो ममता छ, बाल्यकाल, बाल सखा र त्यसैभित्र फुल्दै गरेका अनेक सपना र आकाङ्क्षाहरूले जो कोहीलाई आफ्नो विगतमा पुर्याउँछन्।"
केहीले यस सिनेमामा बाल मनोविज्ञानको दुरुस्त चित्रण भएको टिप्पणी गरेका छन्। यद्यपि, लेखक/निर्देशक बिडारी त्यति मै सीमित गर्न चाहँदैनन्, "किनकि यो भोगाइ हो। सानो परिधिमा राख्न जरुरी छैन।"
उनले यति बोल्दा चलचित्रका अर्का मुख्य पात्र वसन्त बनेका दिनेश खत्री बोले, "सानो त होइन नि। हाम्रो फिल्म देशभरि चल्छ रे।"
मसिनो आवाजमा यति बोलिसके पछि उनी केही लजाए र आफ्ना बुबातर्फ हेरे। सबैको आँखा उनको बुबातर्फ सोझिए पछि उनले हत्तपत्त थपे "झन्डै हामीले हेर्न नपाएको।"
कारण रहेछ- दिनेशकै पढाइको निम्ति मधेस झर्नु।

तस्बिर स्रोत, Local Cinema
चलचित्र छायाङ्कन सकिएको केही समयपछि उनको परिवार मोरङमा बसाइँ सर्यो। उनीहरूले चलचित्र निर्माण टोलीलाई दिएको नम्बर भएको फोन गाउँमै छुट्यो। यस वर्ष अलैँची टिप्न घरमा पुग्दा पो त्यो फोनको स्विच अन गरेछन्।
"त्यही बेला फिल्म चल्न लागेको खबर आयो। अनि म छोरा लिएर काठमाण्डू आएँ। उसले अभिनय गरेको देख्दा गर्व लागेको छ," दिनेशका बुबाले सुनाए।
दिनेशसँगै पहिलो पटक काठमाण्डू आएका थिए उमेश श्रेष्ठ। चलचित्रमा बाङ्गे पात्र बनेका उनका निम्ति चलचित्रमा अभिनय गरेदेखि नै काठमाण्डु सपनाको सहर बनेको सुनाउँछन्। उनी भन्छन्, "कस्तो छ होला भन्ने लाग्थ्यो। गाडीहरू मैले सोचेभन्दा ठूल्ठूला रहेछन्। घरहरू पनि कति अग्ला।"
यसरी संयोगले कलाकार बनेका कन्चन, दिनेश, उमेश, क्षितिज, विशा र मल्लिकाका लागि अनुभव मात्र नभई सहर, सिनेमाघर, मानिसहरूको भिडलगायत हरेक कुरा नौलो बनेको छ।
उनीहरू निखारिएको कलाकार नहुनाले नै अभिनय गराउन सहज भएको बताउँछन्, पात्र छनौटमा संलग्न निर्देशक केदार श्रेष्ठ।
"कन्चनले आफूलाई बिर्सिएर विद्या भइदिइन्। मल्लिका पार्वती बनिदिइन्। कथाको पात्रहरूमा उनीहरूले आफूलाई खोजे। हामीले उनीहरूको अभिनयमा तिनै पात्र भेट्यौँ," श्रेष्ठले भने।
रहर र सपना दबाएर बाँच्न बाध्य बालबालिकाहरूको अवस्थालाई यिनै कलाकारले जीवन्तता दिएको चलचित्रका निर्देशक सुजित बिडारीको ठहर छ।
उनीहरूले सिसाभित्र थुनिएका पुतलीजस्तै प्रस्तुत भएको बताउँछन्।

तस्बिर स्रोत, Local Cinema
"सिसाभित्र भएको पुतलीले बाहिरको सुन्दर दुनियाँ देख्छ। स्वच्छन्द उड्न चाहन्छ। तर आफैलाई छेक्ने सिसा देख्दैन। हरेक पटक ठोक्किन्छ तर निस्कने प्रयास जारी राख्छ। हामीले भोग्ने नियति यस्तै होइन र?," बिडारीले भने।
आमा र दिदीलाई उनले विशेष प्रदर्शनीको विशेष अतिथि बनाए।
"घरमा घटेको घटना बिर्सेको रहेनछ र यसले पारिवारिक अवस्थालाई यसरी हेरेको रहेछ भन्ने थाहा पाउनु भयो। म व्यक्तिगत रूपमा सफल भएँ। यसले व्यावसायिक रूपमा पनि राम्रो गरे त लगानी, समय, ऊर्जा खेर जाँदैनथ्यो," उनले अपेक्षा सुनाए।कारण- पछिल्लो समय मौलिक भनिएका र समीक्षात्मक हिसाबले सफल ठहरिएका नेपाली चलचित्रहरूले राम्रो व्यावसायिक प्रदर्शन गर्न नसकेको बताइन्छ।
ऐना झ्यालको पुतली दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बाङ्लादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो।










