ट्रम्प र जेलेन्स्कीबीच एक घण्टा फोनवार्ता, 'दीर्घकालीन शान्ति' हुने युक्रेनको आश

जेलेन्स्की र ट्रम्प

तस्बिर स्रोत, Getty Images

    • Author, रोबर्ट ग्रेनल
    • Role, बीबीसी न्यूज

युक्रेनका परमाणु ऊर्जा केन्द्रहरूलाई सुरक्षा प्रदान गर्न संयुक्त राज्य अमेरिकाले तिनको स्वामित्व लिन सक्ने सङ्केत राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन्।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यो प्रस्ताव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको एक घण्टा लामो कुराकानीका क्रममा आएको थियो।

संयुक्त राज्य अमेरिकाले युक्रेनको महत्त्वपूर्ण खनिजहरूमाथि पहुँच प्राप्त गर्ने प्रयास गरिरहेको छ।

संवाददाताहरूसँग कुरा गर्दै जेलेन्स्कीले उक्त विषयमा छलफल भएको र रुसको कब्जामा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रका बारेमा मात्रै कुराकानी भएको बताए।

उनले ट्रम्पसँगको छलफललाई "अर्थपूर्ण र सकारात्मक" भनेका छन्।

गत महिना ह्वाइट हाउसको ओभल अफिसमा भएको तिक्ततापूर्ण वार्तापछि यो उनीहरूको पहिलो कुराकानी थियो।

वार्तामा ट्रम्प र जेलेन्स्कीले के कुरा गरे?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन्। ट्रम्पले "अत्यन्तै राम्रो" संवाद भएको जनाएका छन्।

आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा प्रेषित एउटा पोस्टमा ट्रम्पले रुस र युक्रेनका "अनुरोध र आवश्यकता"लाई एक ठाउँमा ल्याउन उक्त वार्ता महत्त्वपूर्ण भएको भन्दै युद्धविरामको प्रयास ठिक दिशामा अघि बढेको लेखेका छन्।

जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीलाई "सकारात्मक," "खुल्ला" र "अत्यन्त अर्थपूर्ण" भनेका छन्।

"हामी अमेरिका, राष्ट्रपति ट्रम्प र अमेरिकाको नेतृत्वसँग मिलेर यो वर्ष दीर्घकालीन शान्ति हासिल गर्न सक्छौँ भन्ने विश्वास गर्छौँ," उनले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।

एउटा अनलाइन ब्रीफिङका क्रममा जेलेन्स्कीले आफू र ट्रम्पबीच रुसी कब्जामा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सम्भावित अमेरिकी स्वामित्त्वबारे कुराकानी भएको बताए।

ऊर्जा केन्द्रबारे के छलफल भयो?

युरोपको सबैभन्दा ठूलो उक्त ऊर्जा केन्द्र अग्रमोर्चामा रहेको स्वीकार गरेको जेलेन्स्कीले त्यसलाई पुन: सञ्चालनमा ल्याउन दुई वर्षभन्दा बढी लाग्ने बताए। त्यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

उनले ऊर्जा पूर्वाधार, रेल र बन्दरगाहमाथिको आक्रमणमा रोक लगाउने विषयमा वाशिङ्टन र किएभबीच भएको सहमतिलाई तत्कालै आंशिक युद्धविरामको भाग बनाइनुपर्ने बताए। साथै मस्कोले युद्धविरामका सर्तहरू पालना नगरे आफूहरूले प्रतिकार गर्ने उनले चेतावनी दिए।

"मैले बुझेसम्म आंशिक युद्धविरामबारे पनि दस्तावेजमा हामीबीच सहमति नभएसम्म, मलाई लाग्छ सबैकुरा उड्ने क्रम चलि नै रहन्छ," ड्रोन र क्षेप्यास्त्रलाई सङ्केत गर्दै उनले भने।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, पुटिनले युक्रेन र अमेरिका सहमत भएको भनिएको एकमहिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका थिए

जेलेन्स्कीले आफूलाई मस्कोका मागहरू पूरा गर्न ट्रम्पले दबाव नदिएको पनि बताए। "त्यस्तो केही भएन र यो वास्तविकता हो। म खुला व्यक्ति भएको तपाईँहरूलाई थाहा छँदै छ, म तपाईँहरूलाई त्यस्तो भएको भए खुलेरै भन्थेँ।"

जेलेन्स्की र पुटिन दुवैले ऊर्जासँग सम्बन्धित भौतिक पूर्वाधारमाथिको हमला स्थगित गर्ने बताएका छन्। तर त्यसयता आक्रमणलाई निरन्तरता दिएको भन्दै दुवैले एकअर्कामाथि आरोप लगाएका छन्।

ट्रम्पले बृहत् युद्धविराम कायम गराउने प्रयास गरिरहेका छन् तर मङ्गलवार भएको फोनवार्तामा अमेरिका र युक्रेनको समर्थन पाएको ३० दिन लामो युद्धविरामको प्रस्ताव पुटिनले अस्वीकार गरेका थिए।

अब के हुन्छ?

ट्रम्पले राष्ट्रपति पुटिनसँग भएको आफ्नो कुराकानीमा केन्द्रित रहेर युक्रेनी राष्ट्रपति वार्ता गरेको अनि रुस र युक्रेनलाई एक ठाउँमा उभ्याउन प्रयास गरेको जनाएका छन्।

त्यसको केही बेरपछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पले विशेष गरी युरोपमा युक्रेनको हवाई सुरक्षा प्रणालीलाई थप सुनिश्चित गर्न सहयोग गर्न सहमति जानकारी दिए। दुवैबीच रक्षा सूचना आदानप्रदान बढाउने र रणभूमिमा विकसित परिस्थितिबारे जानकारी आदानप्रदान गर्ने सहमति भएको पनि भनिएको छ।

प्राविधिक समूहहरूले आगामी दिनमा साउदी अरबमा वार्ता गर्ने र त्यसमा युद्धविरामलाई ब्ल्याक सीसम्म विस्तार गर्नेबारे छलफल गर्ने रुबिओले बताएका छन्। युद्धलाई पूरै टुङ्ग्याउनका लागि त्यो पहिलो कदम हुनेबारे दुवै पक्ष सहमत भएको उनको भनाइ छ।

जेलेन्स्कीले फेब्रुअरीको अन्त्यमा ह्वाइट हाउसको भ्रमण गर्दा उनी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच वादविवाद भएको थियो। त्यस बेला ट्रम्पले अमेरिकाले उपलब्ध गराएको सैन्य र राजनीतिक समर्थनप्रति जेलेन्स्कीले पर्याप्त कृतज्ञता नदेखाएको टिप्पणी गरेका थिए।

त्यसपछि अमेरिकाले अस्थायी रूपमा युक्रेनलाई सैन्य सहयोग र गुप्तचर सूचना आदानप्रदान स्थगित गरेका थिए। मार्च ११ मा दुवै पक्षबीच युद्धविराममा सहमति भएपछि कूटनीतिज्ञहरू सम्बन्ध सुधार गर्न सफल भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।