ट्रम्प-पुटिनबीच टेलिफोन वार्ता: रुसले युक्रेनका उर्जा संरचनामा ३० दिनसम्म 'हमला नगर्ने'

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता समाप्त भएको ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सिबिएसलाई बताएका छन्।
अधिकारीहरूका अनुसार दुई राष्ट्रपतिबीच ९० मिनेट जति कुराकानी भएको थियो।
डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्तापछि दुवै पक्षबाट कुराकानी भएका विषयका बारे जानकारीहरू आइरहेका छन्।
क्रेमलिनको वक्तव्यमा भनिएको छः
पुटिन युक्रेन र रुसले आगामी ३० दिनका लागि उर्जा संरचनाहरूमा आक्रमण नगर्ने भन्ने ट्रम्पको प्रस्तावलाई समर्थन गर्दछन्।
ब्ल्याक सीमा मालवाहक पानीजहाजहरूको सुर
मार्च १९ मा रुस र युक्रेनले १७५ जना युद्धबन्दीहरू आदानप्रदान गर्नेछन् र गम्भीर चोट लागेर रुसमा उपचार भैरहेका २३ जना युक्रेनी सैनिकहरूलाई पनि स्थानान्तर गरिनेछ।
३० दिने युद्ध विरामको अवधिमा युक्रेनले थप सैन्य परिचालन गर्ने र पुनः हतियार प्राप्त गर्ने कार्य रोक्नु पर्ने माग गरेको छ।
वार्तापछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिका केही प्रमुख बुँदा यस्ता छन्ः
ट्रम्प र पुटिनबीच युक्रेन युद्धमा अब "शान्तिको आवश्यकता र युद्धविराम" का विषयमा कुराकानी भयो र युद्धको अन्त्य "दिगो शान्ति" सहित हुनु पर्नेमा सहमति भयो।
दुवैजनाले अमेरिकी रुस सम्बन्धमा सुधार हुनु पर्ने आवश्यकतामा पनि जोड दिए।
दुवै नेताबीच "शान्ति हासिल गर्ने गतिविधि तर्फको बाटो" उर्जा र पूर्वधारका संरचनाहरूमा युद्धविरामबाट आरम्भ हुने कुरामा सहमति भयो। साथै ब्ल्याक सीमा समुद्री आवागमनमा पनि युद्धविराम लागु गर्ने वार्ता पनि सुरु हुनु पर्ने सहमित भयो।
दुवै राष्ट्रपतिबीच मध्यपूर्वको विषयमा पनि त्यस क्षेत्र "भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्नका लागि सम्भावित सहकार्यको क्षेत्र" भएको भन्नेमा पनि कुराकानी भयो।
"रणनीतिक अस्त्रहरूको विस्तारलाई रोक्नु पर्ने " आवश्यकताका बारेमा पनि छलफल भयो।
र दुवै नेताले "इजरेललाई नष्ट गर्नसक्ने अवस्थामा इरानलाई कहिल्यै पनि पुग्न दिन नहुने साझा धारणा" पनि बन्यो।
ज्यानुअरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताहरूबीच थाहा भएको यो दोस्रो कुराकानी हो।
संवादअघि ट्रम्पले आफ्नो सोसल मिडियामा 'अब युद्ध रोकिनैपर्ने' लेखेका
क्रेम्लिनका प्रवक्ताले संवादको विषय द्विपक्षीय सम्बन्धको सामान्यीकरण र युक्रेन मामिलाको समाधानमा केन्द्रीत हुने बताएका थिए।
उनले दुई नेताले आवश्यकता महसुस गरुन्जेल संवाद गर्ने बताएका थिए।
मस्कोतिर ध्यान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अमेरिकी र रुसी नेताबीच वासिङ्टनले प्रस्ताव गरेको युक्रेन युद्धमा ३० दिने युद्धविरामलाई लिएर उक्त छलफल तय गरिएको थियो।
युद्धविरामसम्बन्धी उक्त प्रस्तावमा गत साता किएभ सहमत भए पनि मस्कोको पूर्ण जबाफ आउन बाँकी थियो।
क्रेम्लिनले खास के कुरामा दुई राष्ट्रपतिबीच कुरा हुने भनेर प्रतिक्रिया जनाउन अस्वीकार गर्दै आएको थियो।
आइतवार अमेरिकी राष्ट्रपतिले पत्रकारहरूसँग कुरा गर्दै युक्रेनको भूमि र ऊर्जा प्लान्टसहितका 'केही निश्चित सम्पत्तिहरू भाग लगाउने'बारे कुरा गर्ने बताएका थिए।
तर सम्पत्तिको भाग लगाउने भनेको के हो भन्ने ह्वाइटहाउसले प्रस्ट पारेको छैन।
यूएसन्यूज वेबसाइटले सन् २०१४ मा युक्रेनबाट कब्जा गरेको क्राइमियालाई ट्रम्प प्रशासनले रुसी क्षेत्रको रूपमा मान्यता दिने विचार गरिरहेको उल्लेख छ। तर त्यसको पुष्टि गरिएको छैन।
यसअघि मङ्गलवार पुटिनले मस्कोमा उद्योगपति र उद्यमीहरूको बैठकमा रुसमाथि पश्चिमा प्रतिबन्धहरूको विरोध गरेका थिए।
युक्रेनले चाहिँ रुसले साँच्चिकै शान्ति चाहेको भए त्यो देखाउन नि:सर्त ३० दिने युद्धविराममा सहमत हुनुपर्ने बताउँदै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








