चौध वर्षपछि स्ववियू निर्वाचनको रौनक, सान्दर्भिकता र औचित्यमाथि प्रश्नैप्रश्न

त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा अहिले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको रौनक छाएको छ। २०६५ सालपछि पहिलो पटक त्रिवि अन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते निर्वाचन हुन लागेको हो।

चौध वर्षपछि निर्वाचन हुनु नै चर्चाको विषय बनिरहँदा विद्यार्थीदेखि विद्यार्थी नेताहरूमा भने उत्साह कम तर त्यसका कारण निम्तिएको विवादबारे चिन्ता बढी देखिएको छ। किनकि, चुनावको सङ्घारमा विभिन्न राजनीतिक दलका भातृसङ्गठनहरूबीच प्रतिस्पर्धा मात्र नभएर हिंसात्मक गतिविधि भएका विवरणहरू सार्वजनिक भएका छन्।

फागुन २७ गते काठमाण्डूस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा निर्वाचन सन्दर्भमा भएको झडपबीच एक जना व्यक्तिले गोजीबाट खुकुरी निकालेको भिडिओ सामाजिक सञ्जालमा छायो। घटना लगत्तै प्रहरीले नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका मनोज चन्दलाई पक्राउ गर्‍यो र अनुसन्धान थाल्यो।

“ती व्यक्तिले खुकुरी बोकेर हिँडेको पुष्टि भयो। अहिले उनीविरुद्ध मुद्दा चलिसकेको छ,” केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बीबीसीलाई बताए।

त्यस्तै फागुन २९ गते बागलुङस्थित धौलागिरि बहुमुखी क्याम्पसमा मनोनयन दर्ताको क्रममा मतभेद भएपछि विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका विवरणहरू सार्वजनिक भएका थिए।

विवाद केको सङ्केत?

काठमाण्डूकै ग्रामीण आदर्श, कोटेश्वर क्याम्पस, बानेश्वर क्याम्पस लगायतमा पनि विद्यार्थी सङ्गठनहरूबीच विवाद सिर्जना भएका छन्।

यस्ता विवादलाई चुनाव हार्ने डर र प्रतिशोधको नतिजाको रूपमा व्याख्या गर्छन् रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियू सभापति तपेन्द्र जङ्ग शाही।

“चुनाव अगावै सङ्गठनको नाममा शैक्षिक संस्थाभित्र प्रवेश गर्नु, हातहतियार बोक्नु, तालाबन्दीदेखि निर्वाचन अधिकृतलाई हातपात गर्नु खेदजनक छ। विद्यार्थीको निर्वाचनमा विद्यार्थी नै हिंसात्मक गतिविधिमा गर्नु कदापि स्वीकार्य हुँदैन,” शाहीले आफ्नो विचार बीबीसीसँग राखे।

वैचारिक मतभेदको बदलामा प्रहारमा उत्रनु अनुचित भएको उनको ठहर छ।

शाहीको जस्तै मत राख्छिन् अनेरास्वयूको अध्यक्षसमेत भइसकेकी वामपन्थी नेतृ रामकुमारी झाँक्री। विद्यार्थी नेताहरूले “सिद्धान्त, विचार र मुद्दा”मा नभई झैझगडामा केन्द्रित हुनुले उनीहरूलाई दिशाहीन बनाउने उनको तर्क छ।

क्रियाशीलता, सिर्जनात्मक र विश्वविद्यालयमा सङ्गठनको प्रभावकारिता स्थापित गर्न छलफल हुँदैन भने झडप वा विवाद तपसिलका गैर-राजनीतिक विषय हो। यस्तो कार्यले विद्यार्थीहरूलाई दिशाहीन बनाउँछ,” उनले भनिन्।

विद्यार्थी नेताबाट के अपेक्षा गर्ने?

विद्यार्थी नेताहरूले विद्यार्थी र शैक्षिक संस्थाको मुद्दा स्थापित गर्नुपर्ने जिकिर गर्छन् नेता तपेन्द्र जङ्ग शाही। विद्यार्थीको हकहित र उनीहरूको संरक्षण प्राथमिक विषय बन्नु पर्ने उनी बताउँछन्।

“विद्यार्थीको नाममा खुलेका सङ्गठनहरूले विशुद्ध विद्यार्थीका हकहितका लागि बोल्नुपर्ने हो। त्यसपछि जन जीविका र सामाजिक विकृतिकाविरुद्ध बोल्नुपर्ने हो। तर हाम्रा विद्यार्थी सङ्गठनले सकारात्मक सन्देश प्रवाह गर्नु पर्नेमा त्यस्तो भएको छैन,” उनले भने।

यस्ता सङ्गठनहरू विश्वविद्यालय प्रशासन र विद्यार्थीबीचको पुल बन्नु पर्ने विचार राख्छन् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा। कुनैबेला नेपाल विद्यार्थी सङ्घको सभापतिसमेत रहेका उनी विद्यार्थी राजनीतिलाई “विचार र विमर्शको साझा फोरम”को रूपमा व्याख्या गर्छन्।

उनी भन्छन्,”पढाइबाहेक अन्य क्रियाकलापमा हरेक विद्यार्थीको नेतृत्व वा प्रतिनिधित्व गर्न सक्छन् विद्यार्थी सङ्गठनहरूले। हरेक सङ्घको फरक राजनीतिक सम्बद्धता हुन्छ। तर शैक्षिक संस्थामा उनीहरूलाई विद्यार्थीको रूपमा छाता सङ्गठनले बाँध्छ।“

त्यस्तो छाता सङ्गठनमा फरक विचारधाराका विद्यार्थीहरू हुने भएकाले विवादलाई स्वाभाविक ठान्छन् शर्मा।

“राजनीतिमा द्वन्द्वबाट विचार उत्पन्न हुने हो। विश्व राजनीतिमा पनि यस्तै हुन्छ। विद्यार्थीहरूमा त त झन् उमेरजन्य आवेग र समस्याहरू हुन्छन्। गल्तीबाट सिक्ने उमेर हो यो। बस् त्यसलाई सन्तुलन गर्न सक्नु पर्छ। त्यसो भयो भने उनीहरूमा नेतृत्वदायी क्षमता विकास हुन्छ,” उनले भने।

त्यस्ता विवाद मुद्दा केन्द्रित र विषयमाथिको बहस हुनुपर्ने उनको भनाइ छ।

“झगडा र आचार संहिता उलङ्घन गर्नु भएन। पैसा र पद दुरुपयोग भएको छ सङ्गठनमा नकारात्मक बल पुग्छ। विद्यार्थीले पोलिटिक्स डर्टी गेम होइन बरु राजनीतिमा भएको फोहोर सफा गर्न सक्छन् भन्ने कुरा स्थापित गर्नु सक्नुपर्‍यो,“ शर्माले आफ्नो धारणा राखे।

तर, केही नेता तथा विज्ञहरूले भने विद्यार्थी सङ्गठन र स्ववियू निर्वाचनको औचित्य तथा सान्दर्भिकतामाथि नै प्रश्न उठाइरहेका छन्।

निर्वाचनको औचित्यमाथि प्रश्न

विद्यार्थीको राजनीतिक गतिविधि प्रभाव शून्य भएको रामकुमारी झाँक्रीको निचोड छ। विद्यार्थी राजनीति नयाँ ढङ्गले विचरण नगरी पूरानै ढर्राबाट अगाडि बढ्ने हो भने स्ववियू चुनाव भए पनि उक्त सङ्गठनले आवश्यक गति लिन नसक्ने उनको ठम्याइ हो।

उनले बीबीसीसँग भनिन्,”स्ववियू प्रभावहीन बनेको छ। एजेन्डा एकातिर विद्यार्थी अर्कोतिर छन्। चालिस वर्षका विद्यार्थी नेता २०/२२ वर्षका विद्यार्थीहरूको नेतृत्व गर्दै छन्। त्यहीँ पुस्ताबीच खाडल भइसक्यो।“

स्ववियू र यसको निर्वाचनको सान्दर्भिकतामाथि प्रश्न उठ्नु आवश्यक ठान्छन् राजनीतिकशास्त्री कृष्ण खनाल पनि।

२०४६ को आन्दोलनअघि सम्म दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी सङ्गठनहरूमार्फत् आफ्नो आवाज उठाउने गरेको बताइन्छ। राजनीतिक असन्तुष्टि अभिव्यक्त गर्न विद्यार्थीहरू वैचारिक रूपमा अघि सर्ने गरेको उनी सम्झन्छन्। अब त्यसो गर्न नपर्ने भएकाले यस्ता सङ्गठन आवश्यक नहुने उनी बताउँछन्।

“यो सान्दर्भिक हुन्थ्यो भने यत्रो समय चुनाव नहुँदा विद्यार्थीहरू किन बोलेनन्? यसको उपयोगिताबारे किन चर्चा भएन,” उनी प्रश्न गर्छन्।

“देशको राजनीति सडकमा छताछुल्ल हुँदा पनि विद्यार्थीहरूको आवाज सार्वजनिक रूपमा नआउनुले स्ववियू स्वार्थको भर्‍याङ मात्र हो भन्ने पुष्टि गर्छ। विद्यार्थी नेताहरूले दलमा आफ्नो सक्रियता देखाउन र पदमा जान यो सङ्गठन प्रयोग गर्छन्,” खनालले आफ्नो राय राखे।

पहिले विद्यार्थी नेताहरू सैद्धान्तिक तवरले उग्र भए पनि अहिलेका नेताहरूमा त्यस्तो नभएको उनले ठानेका छन्।

“दलभित्रै दादागिरी हुन्छ। जो बलियो हुन्छ ऊ नै हाबी। सायद विद्यार्थी राजनीति त्यसैको विस्तारित रूप हो,” उनले भने।

अब विद्यार्थीहरू दलगत हिसाबभन्दा बढी विश्वविद्यालयको उन्नति, पाठ्यक्रम विकास, पढाइको गुणस्तर सुधारलगायत मुद्दामा केन्द्रित हुनुपर्ने उनको तर्क छ।

समयमा परीक्षा गराउन र नतिजा सार्वजनिक गर्न वर्षौँ लगाउने विश्वविद्यालयमा विद्यार्थीहरूको राजनीतिकभन्दा सिर्जनात्मक तथा रचनात्मक सक्रियता आवश्यक हुने कतिपय जानकार बताउँछन्।

“स्ववियूले आफ्नो उपयोगिता पुनर्पुष्टि गर्न आवश्यक छ। सङ्गठन शैक्षिक संरक्षणमा केन्द्रित भएर नेपालका विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कसरी जाने भन्ने सोच्नु पर्ने हो। तर, सबैले शक्तिमा पुग्ने बाटो मात्र बनाएका छन्,” राजनीतिशास्त्री खनालले भने।