नेपाल विद्यालय: विद्यार्थीलाई दिइने शारीरिक यातनाले कस्तो मानसिक समस्या निम्त्याउँछ?

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

सोशल मिडियामा भाइरल एउटा भिडिओमा केही विद्यार्थीहरू हात र खुट्टा भुइँमा टेकेर पिटाइ खाने पालो पर्खिरहेका देखिन्छन्। हातमा रुलर बोकेका एक व्यक्ति उनीहरूलाई गाली गर्दै पालैपालो शरीरको पृष्ठभागमा प्रहार गरिरहेका देखिन्छन्।

ललितपुरस्थित युनाइटेड एकेडेमी परिसरभित्र खिचिएको दाबी गरिएको भिडिओ रेडइट र ट्विटरलगायत सोशल मिडियामा भाइरल भएपछि कतिपय मानिसले आक्रोश व्यक्त गर्दै विद्यालयलाई कारबाहीको माग गरेका छन्।

विद्यालयको नाममा रहेको एक ट्विटर ह्यान्डलमा उक्त भिडिओ २०६९ सालको भएको र माफी माग्दै लेखिएको छ: "विद्यालय प्रशासनको अनुमतिबिना कर्मचारीले त्यस्तो व्यवहार गरे। हाल विद्यालयमा त्यस्तो सजाय प्रतिबन्धित छ र शैक्षिक र व्यावसायिक परामर्शदाताले हाम्रा विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्छन्।"

बीबीसीले उक्त भिडिओ र ट्विटर प्रतिक्रिया विद्यालयकै भएको पुष्टि गर्न सकेको छैन। विद्यालयमा पटकपटक सम्पर्कको प्रयास गरिए पनि कुनै जबाफ दिइएको छैन।

एउटा घटनाले परिवर्तन

शैक्षिक संस्थाहरूमा विद्यार्थीलाई दिइने शारीरिक यातनाबारे सार्वजनिक बहस सुरु भएको यो पहिलो पटक भने होइन।

गत असार २२ गते बागलुङको ढोरपाटन नगरपालिका-२ स्थित न्यू मोर्डन एकेडेमी अध्ययनरत एक विद्यार्थी टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेपछि विद्यालयमै बेहोस भएको विवरण आएका थिए।

विद्यालय र अभिभावकबीच लिखित सम्झौता भएपछि कक्षा नौमा अध्ययनरत ती विद्यार्थी विद्यालय फर्किएका छन्। यद्यपि उनले जे भोगे त्यसको प्रभाव नकारात्मक हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा बताउँछन्।

सापकोटाले भने, "त्यसपछि हामीले नगरभरका सम्पूर्ण विद्यालयहरूमा शारीरिक दण्डमा रोक लगाउन सचेतना कार्यक्रम अघि बढाएका छौँ।"

विद्यालयका प्रधानाध्यापक दीपक कुँवर भन्छन्: "कक्षा सञ्चालन भइरहँदा चलिरहेको पङ्खामा विद्यार्थीले स्यानिटाइजरको बट्टा फाल्दा त्यो बट्टाले लागेर शिक्षकको टाउकोमा टाँका नै लगाउनुपर्‍यो। त्यसैले म आक्रोशित भएँ र उसलाई सजाय दिएको हुँ।"

"तर मैले जे गरेँ, त्यो अलि बढी भएछ। उसले त गल्ती गर्‍योगर्‍यो, मैले पनि गरेँ।"

उक्त घटनापछि आफूले विद्यार्थी पक्षसँग माफी मागेको र विद्यालयमा शारीरिक सजाय प्रतिबन्धित गरेको उनले बीबीसीलाई बताए।

“अब हामी नैतिक शिक्षा र आलोचनात्मक सुझावहरूमा बढी जोड दिन्छौँ,” कुँवरले भने।

मनोचिकित्सक एवं मनोपरामर्शदाताले त्यस्तो यातनालाई नकारात्मक सजायको रूपमा व्याख्या गरेका छन्। जसले विद्यार्थीहरूलाई शारीरिक पीडा मात्र नभई मानसिक तनावमा पार्ने उनीहरूको भनाइ छ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ उपदफा ५ अनुसार त्यस्तो कार्य गैरकानुनी हो।

ऐनमा भनिएको छ: "प्रत्येक बालबालिकालाई निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षक तथा शिक्षक वा अन्य व्यक्तिबाट हुने हरेक किसिमका शारीरिक वा मानसिक हिंसा र यातना, हेला, अमानवीय व्यवहार, लैङ्गिक वा छुवाछुतजन्य दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार र शोषणविरुद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुनेछ।"

मनोवैज्ञानिकहरूले यातनालाई विद्यार्थीलाई शारीरिक पीडा मात्र नभई मानसिक तनावमा पार्ने नकारात्मक सजायको रूपमा व्याख्या गर्छन्।

कस्तो असर पर्छ?

बालमनोचिकित्सक डा. अरुणराज कुँवरका अनुसार विद्यालयमा दिइने शारीरिक यातनाहरूले बालबालिकालाई पढाइप्रति वितृष्णा जगाउँछ। त्यसले गर्दा उनीहरूमा विद्यालय जान नमान्ने, शिक्षकहरूसँग अस्वाभाविक डराउने र आत्तिनेजस्ता समस्या देखिने कुँवरले बताए।

उनी भन्छन्, "शारीरिक दण्ड भोगेका बालबालिकाहरूलाई घटनाको आघात हुन्छ जसका कारण मानसिक तनाव र चिन्ता बढ्छ।"

शारीरिक दण्ड भोग्नेलाई मात्र नभई देख्ने र त्यसबारे सुन्नेलाई समेत मानसिक रूपमा विचलित बनाउन सक्ने उनको भनाइ छ।

डा. कुँवर थप्छन्, "दण्ड सहनेलाई त गाह्रो हुन्छ नै, उसको वरपरका साथीहरूलाई समेत आघातको कारण बान्ता हुने , पेट दुख्नेजस्ता समस्या हुन सक्छन्। सिङ्गो कक्षाका विद्यार्थीहरू आत्तिन्छन्।"

सिक्ने सिकाउने ठाउँमै यस्ता घटनालाई सामान्यीकरण गर्दा "हिंसा ठिकै छ" भन्ने कुरा स्थापित हुने र सामाजिक मनोदशा नै प्रभावित हुन सक्ने डा. कुँवरको तर्क छ।

बाल्यकालमा पर्ने मानसिक चोटको प्रभाव दीर्घकालीन हुने पनि उनले बताए।

पीडाको रोष अरूमा

शारीरिक दण्ड पीडित बालबालिकाले प्राय: आफ्नो शिक्षकसँग प्रतिवाद गर्न नसक्ने हुँदा पीडा दबाउँदा आक्रोश जाग्ने र त्यो अभिभावक वा साथीमाथि व्यक्त गर्ने बालमनोविद् पुष्पा अधिकारीको भनाइ छ।

अधिकारी भन्छिन्, "आक्रोश पोख्दा अरूलाई गाली गर्ने, जिस्काउने, चर्को स्वरले बोल्ने वा हात हाल्नेजस्ता प्रवृत्ति देखिन्छ। प्राय: आफूभन्दा साना वा आफ्नो कुरा सजिलै सुन्ने मान्ने मानिसहरूसँग त्यस्तो व्यवहार देखाउँछन्।"

दण्डका कारण मनोवैज्ञानिक असर भोगेका बालबालिकामा आत्मविश्वास वा आत्मबलको कमी हुने, त्रास र अरूप्रति अविश्वास बढ्ने उनले बताइन्।

"मनोवैज्ञानिक रूपमा कमजोर हुँदा उनीहरूले कसैसँग प्रश्न सोध्न सक्दैनन्। निद्रामा समेत डराउने, काँप्ने, आफूविरुद्ध प्रयोग भएका गालीका शब्द अरूविरुद्ध प्रयोग गर्ने जस्ता समस्या देखिन्छ," अधिकारीले सुनाइन्।

दण्डित विद्यार्थीहरू पीडादायी परिस्थिति दोहोरिने डरका कारण बहाना बनाउने र अन्तर्क्रियाबाट भाग्ने समस्या व्यापक रहेको उनले बताइन्।

समाधानका उपाय कस्ता?

औपचारिक शिक्षाको केन्द्र विद्यालयमा सिकाइका क्रममा हुने गल्तीलाई सामान्य ढङ्गमा लिइनुपर्ने र त्रुटि गर्दा सजायभन्दा बढी सुदृढीकरणमा जोड दिनुपर्ने अधिकारीको मत छ।

अधिकारीका अनुसार "सजाय सकारात्मक पनि हुन सक्छ" जसअन्तर्गत थप कक्षाकार्य वा गृहकार्य, सरसफाइजस्ता थप कार्य पर्छन्।

उनी भन्छिन्, "सही व्यवहार सिकाउने र गलत व्यवहार सच्याउने तरिका पनि सही नै हुनु पर्छ। पिट्नु भनेको यातना दिनु हो। त्यसले गलत काम गर्नेलाई सही दिशा दिन्छ भन्ने अपेक्षा गर्न मिल्दैन।"

"गलत वा बेठिक काम गर्दा मैले यस्तो यस्तो जिम्मेवारी लिनुपर्छ भन्ने थाहा भयो भने हत्तपत्त गलत काम नै गर्दैनन्। गरिहाले पनि आफूले गर्नु पर्ने कार्यहरूबारे उनीहरू जानकार हुन्छन्। त्यसले पार्ने असर तुलनात्मक रूपमा कम हुन्छ," उनले बताइन्।

शिक्षक र अभिभावक बीचको छलफलमा विद्यार्थी पनि सामेल गराउँदा उनीहरूले आफ्नो कमजोरी र सुधार्नुपर्ने विषयहरूबारे थाहा पाउने उनको कथन छ।

दृष्टिकोणमा परिवर्तन

कतिपय अभिभावकले शिक्षकले विद्यार्थीलाई सजाय दिनुलाई सामान्य रूपमा स्वीकार्ने जानकारहरू बताउँछन्। यद्यपि त्यस्ता सजायहरूमा परम्परावादी दृष्टिकोणदेखि यौनजन्य दुर्व्यवहार वा हिंसाजस्ता विषयहरू जोडिने उनीहरूले बताएका छन्।

मनोविद् अधिकारीले भने कसैको अनुमतिबिना कुनै पनि व्यक्तिको शरीरमा छुनु "हिंसासँग सम्बन्धित ठूलो समस्या भएको" बताउँछिन्

डा. कुँवर शिक्षकले आफूसँग तर्सिने बनाउनु समस्याको समाधान नहुने बताउँछन्।

उनी भन्छन्, "शिक्षक बन्नकै निम्ति विशिष्टीकृत तालिम लिएका वा पढेका मानिस कम छ। त्यसो हुँदा उनीहरूलाई बालबालिकाको पढाइ साथै मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने थाहा हुँदैन।"

"सही तरिकाले उनीहरूको गल्ती महसुस गराउन र सही दिशानिर्देश गर्न परम्परावादी दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ।"

शारीरिक यातनाविरुद्ध बोल्न र कानुनी उपचारको खोजी गर्न पनि डा. कुँवर सुझाव दिन्छन्।

उनी भन्छन्, "शून्य सहनशीलताको नीति अपनाउनुपर्छ।"