तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्कृष्ट हजारः त्रिविको स्तर कसरी उकास्ने
एउटा अन्तर्राष्ट्रिय संस्थाले गरेको मूल्याङ्कनमा विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सके स्तर अझै सुधार्न सकिने विज्ञले औँल्याएका छन्।
उत्कृष्ट पाँच सय विश्वविद्यालयमा पर्ने लक्ष्य राखेको त्रिविलाई सो लक्ष्य पूरा गर्न पदाधिकारी चयन खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था र शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ।
विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको वर्गीकरण गर्दै आएको ब्रिटेनस्थित टाइम्स हाइयर एडुकेशनले सन् २०१९ का लागि गरेको मूल्याङ्कनमा त्रिभुवन विश्वविद्यालय पहिलो पटक विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको जनाएको छ।
विभिन्न १३ वटा सूचकका आधारमा उक्त मूल्याङ्कन गरिएको छ।
सुधार
त्यसलाई सकारात्मक उपलब्धि ठानेका शिक्षाविद्हरूले अझै सुधारको खाँचो औँल्याएका छन्।
जसमध्ये सबैभन्दा पहिलो काम राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने ठान्छन् शिक्षाविद् केदारभक्त माथेमा।
उनले भने, "राजनीतिबाट मुक्त गर्नुपर्छ। विश्वविद्यालय सञ्चालन गर्ने पदाधिकारीहरूको चयनमा राजनीतिक हस्तक्षेप छ त्यो बन्द हुनुपर्छ। त्यस्तो हुनासाथ योग्य व्यक्तिहरू आउँछन्।"
विभिन्न संकाय अन्तर्गत झण्डै ३ लाख ७० हजार विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयसँग देशभरि एक हजारभन्दा बढी क्याम्पस आबद्ध छन्।
लक्ष्य
शिक्षाविद् मनप्रसाद वाग्ले विद्यार्थी सङ्ख्या र अन्य विषयसँगै शैक्षिक गुणस्तरमा पनि सुधारको आवश्यकता रहेको बताउँछन्।
उनले भने, "शैक्षिक सुधारको सम्भावना छ, त्यसका लागि पहल गर्नुपर्छ। त्यसको सबैभन्दा ठूलो तगारो भनेको दलीयकरण हो, विश्वविद्यालयमा दलीय राजनीतिलाई न्यून गर्न सकियो भने विश्वविद्यालय धेरै माथि जान्छ।"
उपकुलपति तीर्थ खनियाले अबको लक्ष्य विश्वका उत्कृष्ट पाँच सय विश्वविद्यालयमा पार्ने रहेको बताएका छन्।
यसपटकको मूल्याङ्कनमा त्रिभुवन विश्वविद्यालयका कमजोर देखिएका पक्षमा सुधार गरिने उनको भनाइ छ।