तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पूर्णिमाको दिन विश्वभरि कस्ता पर्व मनाइन्छन्?
- Author, जेरमी होवेल
- Role, बीबीसी विश्व सेवा
प्रत्येक २९ दिनमा हाम्रो आकाशमा पूर्ण आकारको चन्द्रमा देखिन्छ। जब पृथ्वीको पछाडिपट्टिबाट सीधै सूर्यको प्रकाश चन्द्रमामा पर्छ यसको पूरा आकार उज्यालो हुन्छ।
शुक्रवार देखिएको चन्द्रमा अरू पूर्णिमाका दिन देखिने भन्दा केही भिन्न थियो।
यो “सुपरमुन”का चार शृङ्खलामध्ये अन्तिम थियो जसमा नियमित पूर्णिमा भन्दा चन्द्रमा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिएको थियो।
'सुपरमुन' वर्षमा तीन वा चार पटक मात्रै देखिन्छ र सधैँ लगातारका पूर्णिमाहरूमा देखा पर्छ।
विश्वभरि संस्कृति र परम्परासँग पूर्णिमाका दिन देखिने पूर्णचन्द्रको ठूलो भूमिका छ।
हामी यसबारे केही मिथक, गतिविधि र त्यससँग सम्बन्धित अर्थबारे यहाँ चर्चा गर्नेछौँ।
हाम्रा पुर्खाका लागि पूर्णिमा किन महत्त्वपूर्ण थियो?
हरेक महिना एक पटक खुम्चिँदै जाने र फेरि पूर्ण आकारमा फर्किने चन्द्रमाको लय आदिम समयदेखि नै समयको हिसाब राख्न प्रयोग हुँदै आएको थियो।
सन् १९५७ मा डीआर कङ्गोमा भेटिएको इशाङ्गो हड्डीलाई नै उदाहरणका रूपमा लिन सकिन्छ।
लङ्गुर प्रजातिको बबुनको पिँडुलाको ठानिएको यो हड्डी २०,००० वर्ष भन्दा पुरानो भएको पहिचान गरिएको छ। यसलाई पात्रोको सबैभन्दा प्रारम्भिक स्वरूप भएको विश्वास गरिन्छ।
एक जना बेल्जिअन भूगर्भविद्ले पत्ता लगाएको यो हड्डीमा विशिष्ट खोप पाइन्छन्।
तीमध्ये केही गोलाकार र केही आंशिक गोलाकार छन्। हार्वड विश्वविद्यालयका एक जना पुरातत्त्वविद्ले यसले चन्द्रमाका विभिन्न चरणहरूको प्रतिनिधित्व गर्ने र उक्त हड्डी छ महिनाको चन्द्र पात्रो बनाउन प्रयोग भएको हुन सक्ने बताएका छन्।
पूर्ण आकारको चन्द्रमालाई 'हार्भेस्ट मुन' अर्थात् बाली भित्र्याउने चन्द्रमा नाम दिइएको छ।
यो सेप्टेम्बर महिनाको अन्त्य वा अक्टोबरको सुरुमा पर्ने शरद् ऋतुको आसपास देखा पर्छ।
यस बेला समयमा घाम अस्ताउने बित्तिकै चन्द्रमा उदाउँछ।
त्यसैले बाली भित्र्याउने हतारोमा रहेका किसानहरूले चन्द्रमाको प्रकाशमा साँझ अबेरसम्म पनि काम गर्न पाउँछन्।
अहिलेको समयमा त पक्कै पनि मानिसहरूले विद्युतीय बत्तीहरू प्रयोग गर्छन्।
पूर्णचन्द्रका दिन कस्ता चाडपर्व मनाइन्छन्?
हिन्दू संस्कृतिमा पूर्णचन्द्रको दिनलाई पूर्णिमा भनिन्छ।
यो दिन व्रत बस्ने र पूजापाठ गर्ने प्रचलन हिन्दू समुदायहरूमा छ।
हिन्दू पात्रोअनुसार कार्तिक महिनाको अन्त्यमा पर्ने यो पूर्णिमाको दिन नदीहरूमा नुहाएर कार्तिक स्नान समाप्त गर्ने प्रचलन छ।
यो दिनलाई त्रिपूरासुर राक्षसमाथि भगवान् शिवको विजय र विष्णुको मत्स्य अवतार धारण गरेको दिनमा रूपमा पनि मनाउने चलन छ। यो दिन बत्ती बालेर उज्यालो बनाउने पनि प्रचलन हिन्दूहरूमा छ।
बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्ध २५०० वर्षअघि पूर्णिमाकै दिन जन्मिएको विश्वास गर्छन्।
बुद्धले पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेको र उनको मृत्यु पनि पूर्णिमाकै दिन भएको उनीहरूको विश्वास छ।
यी घटनाक्रमहरूलाई बुद्ध पूर्णिमाको रूपमा मनाउने गरिन्छ। बुद्ध पूर्णिमा चाहिँ वैशाख पूर्णिमा अर्थात् अप्रिल वा मे महिनामा पर्छ।
मुस्लिमहरूलाई पनि पूर्णिमाको समयमा तीन दिन व्रत बस्न सिफारिस गर्ने गरिन्छ। यसलाई सेतो दिन वा अल-आय्याम अल-बिदका रूपमा चिनिन्छ।
अँध्यारा रातहरूलाई उज्यालो बनाइदिएकोमा अल्लाहलाई धन्यवाद दिन पैगम्बर मोहम्मदले यी दिनहरूमा व्रत बसेको विश्वास गरिन्छ।
क्रिश्चियन धर्ममा पनि इस्टर पूर्णचन्द्रसँग जोडिएको छ। यो चाड वसन्त ऋतुमा दिनरात बराबर हुने दिनपछि आउने पूर्णिमा पछिको पहिलो आइतवार मनाइन्छ।
इन्डोनेसियाको बालीमा पूर्णचन्द्रको दिनलाई 'पूर्णमा' भनिन्छ।
यो दिन देवी र देउता मानिसहरूलाई आशीर्वाद दिन पृथ्वीमा आएको विश्वास गरिन्छ।
यो दिन पूजापाठ गर्ने, प्रसादहरू चढाउने र बगैँचामा फलफूलका रुखहरू रोप्ने चलन इन्डोनेसियाको यो टापुमा छ।
श्रीलङ्कामा हरेक महिनाको पूर्णिमामा सार्वजनिक बिदा दिइन्छ। पोया भनिने यो दिन मासु र रक्सीको बिक्री निषेध गरिएको छ।
चीनमा मध्य शरद् ऋतुमा 'जोङ् चू जिअ' पर्व मनाइन्छ।
यसको अर्थ पूर्णचन्द्र पर्व पनि हो र यो बाली भित्र्याउने समयको यो पूर्णिमाका दिन चीनमा सार्वजनिक बिदा दिइन्छ।
तीन हजार वर्ष पुरानो यो चाड र प्रशस्त बाली फल्ने अपेक्षा सहित मनाइन्छ।
कोरियामा पनि चीनमा जस्तै कार्तिक पूर्णिमा अर्थात् 'हार्भेस्ट मुन'कै समयमा तीन दिन चुसीओक पर्व मनाइन्छ।
यो दिन परिवारका सबै जना भेला भएर बाली भित्र्याउने समयको उत्सव मनाउँछन् र आफ्ना पुर्खाहरूप्रति कृतज्ञता जनाउँछन्।
मेक्सिकोसहित अन्य ल्याटिन अमेरिकी देशहरूमा पनि यो दिन महिलाहरूले चन्द्र नाच गर्छन् र पूजा र नाच सहितको तीन दिनको पर्व मनाइन्छ।
पूर्णचन्द्रबारे कस्ता मिथक प्रचलित छन्?
युरोपमा प्राचीन कालमा पूर्णचन्द्रको दिन मानिसहरूमा पागलपन आउने विश्वास गरिन्थ्यो।
पागलपन अर्थात् ‘लुनासी’ शब्द ल्याटिन भाषाको चन्द्रमा अर्थात् ‘लुना’ बाट व्युत्पत्ति भएको हो।
पूर्णचन्द्रको दिन मानिसहरू एक प्रकारको ब्वाँसो बनेर समुदायमा तर्साउँदै हिँड्ने विश्वास पनि गरिन्थ्यो।
इशापूर्व चौथो शताब्दीमा एक जना ग्रीक इतिहासकारले अहिलेको रुसमा पर्ने एक ठाउँका मानिसहरूको एक प्रजाति वर्षका कैयौँ दिन ब्वाँसोमा परिणत हुने दाबी गरेका थिए।
युरोपमा १५औँ र १७औँ शताब्दीमा कैयौँ मानिसहरूले ब्वाँसोमा परिणत हुने प्रयास पनि गरेका थिए।
सन् १५८९ मा जर्मनीका एक जना जमिनदार ब्वाँसोबाट मानिसमा परिणत भएको आफूहरूले देखेको स्थानीय सिकारीहरूले दाबी गरेका थिए।
यातना दिइएपछि उनले आफूसँग एउटा जादुमयी पेटी रहेको र त्यसले आफूलाई ‘वेरउल्फ’ भनिने एक प्रकारको ब्वाँसो बनेर मानिसहरूको सिकार गर्ने क्षमता विकास हुने बताएका थिए।
हाम्रो दैनिक जीवनमा पूर्णचन्द्रले कस्तो असर पार्छ?
केही पूर्णचन्द्रले निद्रा बिथोल्छ भन्ने विश्वास गर्छन्।अध्ययनहरूले पूर्णिमाका बेला वा त्यसको आसपास मानिसहरूलाई निदाउन समय लाग्ने, गहिरो निद्रामा धेरैबेर पर्न नसक्ने, थोरै समय मात्र निदाउने र मेलाटोनिन हर्मनको मात्र उनीहरूको शारीरिक प्रणालीमा कम हुने देखाएका छन्। उक्त हर्मनले मानिसहरूलाई सुत्नका लागि सहायकको भूमिका खेल्छ।
यस्ता अध्ययनहरूमा संलग्न भएका मानिसहरू कतैबाट प्रकाश नछिर्ने अध्यारो कोठामा सुत्दा पनि सन्तुष्ट हुनेगरी पूरा ननिदाएको बताउँछन्।
त्यस्तो स्थानमा उनीहरूको निद्रालाई प्रकाश वा पूर्ण आकारको चन्द्रमाका कारण बिथोल्ने अवस्था हुँदैन तर पनि उनीहरूले निद्रा कम लागेको अनुभव गर्छन्।
केही मालीहरू पूर्णिमाका रातमा वनस्पति तथा फूलहरूका बिउँ वा बेर्ना रोप्ने गर्छन्। जसरी बालीवासीहरू पूर्णिमाको दिन गर्छन् त्यस्तैगरी उनीहरू चन्द्रमाका कारण माटोको गुणस्तर बढ्ने ठान्छन्।
पूर्णचन्द्रका बेलामा चन्द्रमाको गुरुत्वाकर्षण बलले पृथ्वीको एक छेउलाई तान्छ भने अर्कोतर्फ सूर्यको त्यस्तै बलले अर्कोतर्फ तानिरहेको हुन्छ।
त्यसले गर्दा अधिक ज्वारभाटा उत्पन्न हुने र पृथ्वीको सतहमा आद्रता पनि बढ्छ।
यूकेको ब्राडफोर्डमा सन् २००० मा भएको एउटा अध्ययनअनुसार पूर्णचन्द्रका बेलामा जनावरहरूले टोक्ने सम्भावना पनि बढी हुन्छ।
सन् १९९७ देखि १९९९ मा जनावरहरूले टोकेका कारण अस्पतालमा आउने बिरामीको सङ्ख्याको तुलना गरेर त्यो अध्ययन गरिएको थियो।
उक्त अध्ययनअनुसार पूर्णिमा वा त्यसको आसपासमा जनावरहरूले टोकेर अस्पताल आउने बिरामीको सङ्ख्या निकै बढेको देखिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।