युरोपका सर्वाधिक खोजी गरिएका आप्रवासी तस्कर 'स्कोर्पिअन' यसरी पक्राउ परे

बर्जान मजिद अर्थात् स्कोर्पिअन
    • Author, सु मिचेल र बेन मिल्न
    • Role, बीबीसी न्यूज

युरोपका एकजना सबैभन्दा कुख्यात मानवतस्कर बर्जान मजिदलाई बीबीसीको एउटा अनुसन्धानपछि इराकमा पक्राउ गरिएको छ।

बर्जान मजिदलाई आइतबार बिहान इराकी कुर्दिस्तानबाट पक्राउ गरिएको एक जना वरिष्ठ सरकारी अधिकारीले बताए।

वर्षौँसम्म उनी र उनको समूह मानवतस्करीमा संलग्न थियो र उनीहरूले डुङ्गा र लरी प्रयोग गरी मानिसहरूलाई इङ्ग्लिश च्यानल पार गराउँथे।

स्कोर्पिअन उपनामले चर्चित उनलाई बीबीसीले सुलेमानिया भन्ने स्थानमा फेला पारेको थियो जहाँ उनले हजारौँ आप्रवासीलाई च्यानलमा पुर्‍याएको बताएका थिए।

बार्जान मजिदलाई यूकेसहित कैयौँ देशका प्रहरीहरूले खोजी गरिरहेका थिए।

बीबीसीको त्यो अनुसन्धान

गिरफ्तार हुनुअघि बीबीसीसँगको भेटमा आफूले इङ्ग्लिश च्यानल पार गराएका आप्रवासीको सङ्ख्या आफूलाई थाहा नभएको उनले बताए।

“सम्भवत: एक हजार वा हुन सक्छ १० हजार। मलाई थाहा छैन। मैले गनिनँ,”उनले भने। केही महिनासम्म असम्भव लाग्ने देखिएको एउटा कामको परिणाम उक्त भेटवार्ता थियो।

शरणार्थीहरूका लागि काम गर्ने एक जना पूर्वसैनिक रब लरीसँग मिलेर म स्कोर्पिअन उपनामले चर्चित ती व्यक्तिलाई खोज्न र प्रश्नहरू गर्न निस्किएकी थिए।

कैयौँ वर्षसम्म उनी र उनको समूहले इङ्ग्लिश च्यानलहुँदै डुङ्गा र लरीहरूमार्फत् हुने गरेको मानवतस्करीको अधिकांश व्यापार नियन्त्रण गर्ने गर्थ्यो।

सन् २०१८ यता डुङ्गा र लरीहरूमार्फत उक्त च्यानल पार गर्ने क्रममा ७० भन्दा बढी आप्रवासीको ज्यान गएको छ। त्यसमा एकजना सात वर्षकी बालिका पनि पर्छिन्।

त्यो खतरनाक यात्रा हो तर मानव तस्करहरूका लागि त्यो ज्यादै फाइदाको विषय बन्न सक्छ।

उनीहरूले डुङ्गाबाट पार गर्न प्रतिव्यक्ति ६,००० पाउन्ड ( करिब १० लाख रुपैयाँ) शुल्क लिन्छन् र सन् २०२३ मा मात्रै करिब ३०,००० जनाले त्यस्तो प्रयास गरेकाले यसबाट हुन सक्ने सम्भावित नाफा स्पष्ट देख्न सकिन्छ।

सन् २०१८ यता डुङ्गा र लरीमार्फत उक्त च्यानल पार गर्ने क्रममा ७० भन्दा बढी आप्रवासीको ज्यान गएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०१८ यता इङ्ग्लिश च्यानल पार गर्ने क्रममा ७० भन्दा बढी आप्रवासीको ज्यान गएको छ

उत्तरी फ्रान्सको क्यालेस्थित एउटा आप्रवासी शिविरमा एक सानी बालिकासँग भेटेपछि स्कोर्पिअनमा हाम्रो रुचि बढेको थियो।

ट्यूबले बनेको हावा भरेर तयार पारिने डुङ्गामा सवार भएर इङ्ग्लिश च्यानल पार गर्ने प्रयासमा ती बालिकाको झन्डै ज्यान गएको थियो।

उक्त रबरको डुङ्गा समुद्रका लागि योग्य थिएन। त्यो सस्तो थियो। पुरानो सामानका रूपमा बेल्जियममा त्यसलाई किनिएको थियो र त्यसमा सवार सबै १९ जनाले नै लाइफ ज्याकेट लगाएका थिएनन्।

समुद्रमा यसरी कसले मानिसहरूलाई पठाउँछ?

जब यूकेमा प्रहरीले गैरकानुनी हैसियतका आप्रवासीहरूलाई समाउँछ उनीहरूले तिनको फोन नियन्त्रणमा लिन्छन् र परीक्षण गर्छन्।

सन् २०१६ यता एउटै नम्बर बारम्बार देखा परिरह्यो।

अधिकांश अवस्थामा त्यस्तो नम्बर ‘स्कोर्पिअन’ भन्ने नाम दिएर राखिएको हुन्थ्यो। कतिपय अवस्थामा स्कोर्पिअनको तस्बिर पनि ती नम्बरमा राखिएको हुन्थ्यो।

यूकेको न्याश्नल क्राइम एजेन्सीका वरिष्ठ अनुसन्धान अधिकृत मार्टिन क्लार्कले अधिकारीहरूले ‘स्कोर्पिअन’ भनेको एक कुर्दिश र इराकी मूलका पुरुष बर्जान मजिद भएको बुझ्न थालेको बताए।

को हुन् मजिद ?

सन् २००६ मा २० वर्षको उमेरका मजिदलाई मानवतस्करहरूले लरीको पछिल्लो भागमा राखेर यूके पुर्‍याएका थिए।

एक वर्षपछि बस्नलाई रोक लगाइएको भएपनि उनले कैयौँ वर्ष यूकेमा बिताए। बन्दुक राखेको र लागुऔषधसम्बन्धी कसुरहरूमा उनले जेल जीवन समेत बिताए।

अन्तत: सन् २०१५ मा उनलाई यूकेबाट इराकमा देशनिकाला गरियो। त्यसको केही समयपछि नै उनले बेल्जियममा जेल जीवन बिताइरहेका आफ्ना दाइको मानवतस्करी पेसालाई अँगालेका थिए।

मजिद स्कोर्पिअन भनेर चिनिए। सन् २०१६ देखि सन् २०२१ सम्म उनको समूहले युरोप र यूकेबीचको अधिकांश मानवतस्करीको कारोबारमा प्रभुत्व जमाएको ठानिएको थियो।

सन् २०१२ मा उनी यूकेमा कार मेकानिकका रूपमा काम गर्थे

तस्बिर स्रोत, FACEBOOK

तस्बिरको क्याप्शन, सन् २०१२ मा उनी यूकेमा कार मेकानिकका रूपमा काम गर्थे

दुई वर्ष लामो एउटा अन्तर्राष्ट्रिय प्रहरी कारबाहीले सो समूहका २७ सदस्यलाई यूके, फ्रान्स र बेल्जियममा दोषी ठहर गराएको थियो।

तर स्कोर्पिअन स्वयं भने गिरफ्तारीबाट जोगिए र फरार भए।

स्वयं उपस्थित नभए पनि उनलाई बेल्जियमको एउटा अदालतमा मुद्दा चलाइयो र १२१ वटा मानवतस्करीका घटनामा दोषी ठहर गरिएको थियो। अक्टोबर २०२२ मा उनलाई १० वर्ष जेल सजाय सुनाइयो र एक करोड पाउन्ड (अर्थात् एक अर्ब ६७ करोड रुपैयाँभन्दा बढी) जरिवाना तिराइयो।

त्यसयता स्कोर्पिअन कहाँ थिए भन्ने कसैलाई थाहा थिएन। हामी त्यो रहस्योद्घाटन गर्न चाहन्थ्यौँ।

रबका एक सम्पर्कसूत्रले हामीलाई इङ्ग्लिश च्यानल पार गर्दा स्कोर्पिअनसँग काम गरेका एक इरानी पुरुषसँग सम्पर्क गराइदिए। स्कोर्पिअनले ती इरानीलाई आफू टर्कीमा बस्ने गरेको र त्यहाँबाट नै पर बसेर आफूले व्यवसायलाई संयोजन गर्ने गरेको बताएका थिए।

बेल्जियममा हामीले मजिदका दाइ पत्ता लगायौँ। उनी अहिले जेलबाहिर छन्। उनले पनि स्कोर्पिअन टर्कीमा रहेका हुन सक्ने बताएका थिए।

यूके आउने अधिकांश आप्रवासीका लागि टर्की एउटा प्रमुख बिन्दु हो। सहज आप्रवासनसम्बन्धी कानुनका कारण अफ्रिका, एशिया र मध्यपूर्वका मानिसका लागि टर्कीको भिसा लिन सजिलो छ।

हामीले प्राप्त गरेको सुराकले हामीलाई मानवतस्करहरूले निरन्तर भ्रमण गर्ने गरेको एउटा क्याफे पुर्‍यायो। बर्जान मजिदलाई हालै त्यहाँ देखिएको थियो।

हाम्रो प्रारम्भिक सोधखोज पनि राम्रो हुन सकेन। हामीले एक व्यवस्थापकलाई उक्त व्यापारबारे सोध्यौँ तर उनीबाट कुनै उत्तर प्राप्त भएन।

मजिदको त्यो फोन कल

केही बेरपछि नै एक व्यक्ति हाम्रो टेबलनजिकैबाट हिँडे। उनले हामीलाई आफूले बन्दुक बोकेको देखाउनकै लागि आफ्नो ज्याकेटको चेन खोले। हामीले खतरनाक मानिसहरूसँग सम्पर्क गरिरहेका छौँ भन्ने सम्झना त्यसले हामीलाई दिलायो।

हामी अर्को बिन्दुमा पुग्यौँ जसले केही उत्साहप्रद परिणाम दियो। हामीलाई मजिदले हालै केही परको चोकमा अवस्थित मनी एक्सचेन्जमा दुई लाख यूरो (अर्थात् दुई करोड ८८ लाख रुपैयाँजति) जम्मा गरेको जानकारी प्राप्त भयो। हामीले त्यहाँ हाम्रो नम्बर दियौँ र त्यसपछिको मध्यरातमा रबको फोनमा घण्टी बज्यो।

कलर आईडीमा नम्बर नदेखिने बनाइएको थियो भने अर्कोतर्फबाट बोल्ने व्यक्तिले आफूलाई बर्जान मजिद भएको दाबी गरिरहेका थिए।

एकदमै ढिला भइसकेको थियो र सबै कुरा अनपेक्षित थियो। उक्त फोन आउनासाथ रेकर्ड गर्ने समय पनि थिएन। रबले फोनको आवाज सम्झँदै भने, “उसले भन्यो - मैले तिमीले मलाई खोजिरहेका छौ भन्ने सुनेँ।”

मैले भनेँ, “तिमी को हौ? स्कोर्पिअन?” उसले भन्यो, “तिमी मलाई त्यो (नामले) बोलाउन चाहन्छौ? ठिक छ।”

तर फोन गर्ने व्यक्ति वास्तविक बर्जान मजिद भएको प्रमाणित गर्ने कुनै आधार थिएन। उनले दिएको विवरण हामीले थाहा पाएका कुराहरूसँग मेल खान्थ्यो। उनले आफू सन् २०१५ सम्म नटिङ्गममा बसेको बताए। त्यो साल उनलाई यूकेबाट निकालिएको थियो। तर उनले आफू मानवतस्करीमा संलग्न नरहेको बताए।

“यो सत्य होइन,” उनले असहमति जनाउँदै भने। “यो सञ्चारमाध्यमले भनेको मात्रै हो।”

त्यस बेला सम्पर्क टुटिरह्यो र हाम्रो नम्र प्रयासका माझ उनले आफू बसेको स्थानबारे कुनै भेउसम्म दिएनन्।

आफ्ना भाइहरूसँग स्कोर्पिअन
तस्बिरको क्याप्शन, आफ्ना भाइहरूसँग स्कोर्पिअन

अनि टर्कीमा खोजी

हामीलाई उनले कहिले वा फेरि सम्पर्क गर्लान् या नगर्लान् केही थाहा थिएन। यसैबीच रबका एक स्थानीय सूत्रले स्कोर्पिअन हाल टर्कीबाट आप्रवासीहरूलाई ग्रीस र इटलीमा तस्करी गर्न संलग्न रहेको पाइएको उल्लेख गरेको थियो।

हामीले जे सुन्यौँ त्यो अत्यासलाग्दो थियो। बाह्र जनालाई बोक्ने अनुमति पाएको याटमा १०० जनासम्म पुरुष, महिला र बालबालिकालाई खाँदखुँद पारेर लैजान लगिएको सूचना थियो त्यो।

त्यस्ता डुङ्गा अधिकांश अवस्थामा खियाउने अनुभव नभएका मानवतस्करहरूले चलाउँछन् र तटरक्षकहरूको गस्तीबाट बच्न उनीहरूले साना टापुहरूबीचको खतरनाक मार्गको प्रयोग गर्छन्।

मनग्गे रकम आम्दानीको लक्ष्य राखिएको हुन्छ। यात्रुहरूले यी डुङ्गामा ठाउँ पाउनकै लागि एक व्यक्ति बराबर १० हजार यूरो (अर्थात् १४ लाख ३८ हजार रुपैयाँभन्दा बढी) तिर्नुपर्ने हुन्छ। पछिल्लो १० वर्षमा सात लाख २० हजारभन्दा बढी व्यक्तिले पूर्वी भूमध्यसागरहुँदै युरोप प्रवेश गर्ने प्रयास गरेको ठानिएको छ। तीमध्ये करिब २,५०० जनाको ज्यान गएको थियो। अधिकांशले डुबेर ज्यान गुमाएका थिए।

टर्कीमा उनको विलासी बङ्गला
तस्बिरको क्याप्शन, मार्मरिसमा उनको भील्ला रहेको टर्कीका प्रहरीको भनाइ थियो

एउटा परोपकारी संस्था एसओएस मेडिटरेनिअनकी जुलिया सेफर्मायर तस्करहरूले मानिसहरूको जीवनमा ठूलो खतरा पैदा गराएको बताउँछिन्। उनले भनिन्, “मलाई लाग्दैन की तिनीहरूलाई यी व्यक्तिहरू बाँचून् कि मरून् भन्ने कुराले केही फरक पार्छ।”

यही समय आसपास हामीलाई स्कोर्पिअनलाई सोझै यो प्रश्न राख्ने मौका मिल्यो। उनले अकस्मात् हामीलाई फेरि फोन गरेका थिए।

उनले फेरी आफू तस्कर भएको अस्वीकार गरे। उनको लागि उक्त शब्दको अर्थ भौतिक रूपमा आफू प्रत्यक्ष उपस्थित भएर त्यस्तो काम गर्ने व्यक्ति हो उनी जस्तो पछाडिबाट काम गर्ने मान्छे होइन भन्ने उनको बुझाइ रहेछ।

“तपाईँ त्यहाँ प्रत्यक्ष हुनुपर्‍यो,” उनले हामीसँग भने। “अहिले पनि म त्यहाँ छैन।”

आफू ‘पैसाका लागि काम गर्ने व्यक्ति’ भएको उनले सुनाए।

उनमा डुबेका आप्रवासीहरूप्रति कम सहानुभूति रहेकोजस्तो देख्न सकिन्थ्यो।

“ईश्वरले को कहिले बित्छन् त्यो लेखेका हुन्छन्। तर कहिलेकाहीँ त्यसमा तपाईँको गल्ती हुन्छ,” उनले भने। “ईश्वरले कसैलाई पनि डुङ्गाभित्र जान भन्दैनन्।”

हाम्रो यसपछाडिको गन्तव्य मार्मरिसमा अवस्थित रिसोर्ट थियो जहाँ स्कोर्पिअनको एउटा भिला रहेको प्रहरीको विश्वास छ। हामीले वरपर सोधपुछ गर्‍यौँ र हामीलाई एक जनाले सम्पर्क गरिन् जसले उनीहरू स्कोर्कपिअनसँग मित्रतामा रहेको बताइन्।

उनलाई मजिद मानवतस्करीमा संलग्न रहेको थाहा थियो। उक्त कामका कारण उनलाई तनाव रहे पनि प्रमुख चिन्ता आप्रवासीको भविष्य नभई पैसा हुने गरेको उनले सुनाइन्।

“उनले तिनीहरूलाई वास्ता गर्दैन थिए। त्यो धेरै दु:खद कुरा हो, हैन त,” उनले भनिन्। “त्यो त्यस्तो कुरा हो जसलाई सम्झिएर म बस्छु अनि लाज महसुस गर्छु। मैले कुराहरू सुनेकी छु र मलाई थाहा छ ती सही थिएनन्।”

हालै मार्मरिसमा अवस्थित भिलामा उनलाई आफूले नदेखेको बताउँदै कसैले आफूलाई उनी इराकमा हुन सक्ने बताएको जानकारी दिइन्।

अर्का एक सम्पर्कसूत्रले पनि आफूहरूले इराकको कुर्दिस्तान क्षेत्रको सुलेमानिया क्षेत्रमा रहेको मनी एक्सचेन्जमा स्कोर्पिअनलाई देखेको बताएका थिए।

इराकको यात्रा

हामी उक्त ठाउँका लागि प्रस्थान गर्‍यौँ। यदि हामीले त्यहाँ स्कोर्पिअनलाई भेटाएनौँ भने हामीले आफ्नो प्रयास रोक्ने निर्णय लिएका थियौँ।

तर रबका सम्पर्क सूत्रले उनीसँग कुरा गर्न सके। सुरुमा उनले आशङ्काको दृष्टिले हेरेका थिए र हामीले उनलाई कसैगरी कब्जामा लिएर युरोप लैजाने योजना बनाएका छौँ भनेर चिन्ता जनाएका थिए।

त्यसपछि एकपछि अर्को सन्देश आदानप्रदान भयो। सुरुमा रबका सम्पर्क सूत्र र त्यसपछि स्वयं रब यसमा लागे। स्कोर्पिअनले उनले हामीसँग भेटिन सक्ने कुरा गरे तर त्यसका लागि उनले निर्धारण गरेको ठाउँमा हामी जानुपर्ने थियो। हामीले त्यसलाई अस्वीकार गर्‍यौँ। हामीलाई उनले अप्ठेरोमा पार्न सक्छन् भन्ने लाग्यो।

त्यसपछि फोनमा एउटा लिखित सन्देश आयो। त्यसमा “तपाईँ कहाँ हुनुहुन्छ?” भनेर सोधिएको थियो।

हामीले हामी एउटा नजिकैको मल जान लागिरहेको बतायौँ। स्कोर्पिअनले हामीलाई त्यहाँ भुइँ तल्लामा रहेको एउटा कफी पसलमा भेट्न बोलाए।

अन्ततः हामीले उनलाई देख्यौँ।

बर्जान मजिद एकजना धनाढ्य गल्फ खेलाडीजस्ता देखिन्थे। उनी राम्रो पहिरनमा ठाँटिएका थिए, नयाँ नीलो रङको जीन्स र हल्का नीलो रङको कमिज अनि कालो ज्याकेट लगाएका थिए।

उनले हात टेबलमा राखेपछि मैले उनले आफ्ना हातका नङहरू कसैबाट सफासुग्घर पार्न लगाएको देखेँ।

त्यसबीचमा तीन व्यक्तिहरू नजिकैको टेबलमा बसे। हामीले उनीहरू उनका सुरक्षाकर्मी भएको अनुमान लगायौँ।

सु र रबले स्कोर्पिअनलाई भेटेको तस्बिर गोप्य ढङ्गले उनीहरूका चालकले खिचेका थिए
तस्बिरको क्याप्शन, सु र रबले स्कोर्पिअनलाई भेटेको तस्बिर गोप्य ढङ्गले उनीहरूका चालकले खिचेका थिए

फेरि एक पटक उनले आफू एउटा ठूलो अपराधिक समूहको प्रमुख खेलाडी भएको कुरा अस्वीकार गरे। उनले अरू समूहका सदस्यहरूले आफूलाई आरोपित गर्न खोजेको बताए।

“केही मानिसहरू पक्राउ परेपछि ‘हामी उसको लागि काम गरिरहेका छौँ’ भन्छन्। उनीहरू कम सजाय होस् भन्ने चाहन्छन्।”

उनले भने, “तीन दिनमा एक व्यक्तिले १७० वा १८० मानिसलाई टर्कीबाट इटली पुर्‍याउँछन्। उनको साथमा ब्रिटिश राहदानी पनि छ,” उनले भने। “म अर्को कुनै देशमा गएर व्यवसाय गर्न चाहन्छु। तर म सक्दिनँ।”

हामीले उनलाई आप्रवासीहरूको मृत्युमा उनको जिम्मेवारीबारे प्रश्न सोध्यौँ। उनले फोनमा भनेकै कुरा दोहोर्‍याए। आफूले पैसा लिएको र सीट बुक गरिदिएको उनको दाबी थियो।

उनका लागि तस्कर भनेको डुङ्गा र लरीमा मानिसहरूलाई ‘लोड’ गरेर लैजाने मानिस हो। “मैले कहिल्यै पनि कसैलाई डुङ्गामा राखेको छैन र मैले कसैलाई मारेको छैन।”

उक्त संवाद सकियो तर स्कोर्पिअनले रबलाई आफूले सुलेमानियाबाट काम गर्ने गरेको एउटा मनी एक्सचेन्जको भ्रमणमा निम्त्याए।

त्यो एउटा सानो कार्यालय थियो। झ्यालमा केही कुराहरू अरबी भाषमा लेखिएको थियो। त्यहाँ केही मोबाइल फोन नम्बरहरू पनि थिए। मानिसहरू यात्राका लागि पैसा बुझाउन त्यहाँ आउने गर्थे।

उक्त समयमा स्कोर्पिअनले सन् २०१६ बाट आफू कसरी यो काममा आबद्ध भए भन्नेबारे पनि बताए। त्यस बेला हजारौँ मानिसहरू युरोपतर्फ गइरहेका थिए।

“कसैले पनि उनीहरूलाई बाध्य पारिरहेको थिएन। उनीहरू आफैँ जान चाहन्थे,” उनले भने। “उनीहरूले मानवतस्करहरूसँग याचना गरिरहेका थिए। कृपया, कृपया, हाम्रो लागि यसो गरिदिनुहोस् भनेर। कहिलेकाहीँ तस्करहरू भन्ने गर्थे- ईश्वरको नाम लिएका कारणले मात्रै म उनीहरूलाई मद्दत गरिरहेको छु।” तर त्यसपछि उनीहरूले गुनासा गर्छन्। उनीहरू यस्तो, उस्तो... भन्छन्। अहँ, त्यो साँचो होइन।”

बेल्जियमको अदालतले उनको अनुपस्थितिमा सजाय सुनाएको थियो
तस्बिरको क्याप्शन, बेल्जियमको अदालतले उनको अनुपस्थितिमा सजाय सुनाएको थियो

त्यो अन्तिम भेट

सन् २०१६ र २०१९ को बीचमा स्कोर्पिअनले बेल्जियम र फ्रान्समा दुईवटा प्रमुख कामहरू सम्हालेको र दशौँ लाख डलर बराबरको काम त्यसबेला हेरेको स्वीकार गरे।

“मैले विभिन्न खालका काम गरेको थिएँ। पैसा, ठेगाना, यात्रु, तस्कर…. म उनीहरू सबैको बीचमा थिएँ।”

उनले मानवतस्करीमा आफू संलग्न भएको अस्वीकार गरे तर उनका काम उनको भनाइसँग मेल खाँदैन।

स्कोर्पिअनले त्यसलाई बुझेनन् तर उनले आफ्नो फोन चलाइरहँदा रबले पछाडि पर्खालमा राखिएको एउटा तस्बिरको फ्रेममा स्क्रीनको छायाँ देखे।

त्यहाँ रबले पासपोर्ट नम्बरहरूको सूची देखेका थिए। हामीले पछि तस्करहरूले त्यसलाई इराकी अधिकारीहरूलाई उपलब्ध गराउने थाहा पायौँ। त्यसपछि उनीहरूलाई घुस दिएर यात्रुहरूले टर्की पुग्न सकून् भनेर नक्कली भिसा निकालिने गरिएको पनि हामीले थाहा पायौँ।

हामीले स्कोर्पिअनलाई अन्तिम पटक देखेको त्यही बेला हो।

हामीले प्रत्येक चरणमा आफूले फेला पारेका कुरा यूके र युरोपका अधिकारीहरूलाई जानकारी गराएका थियौँ।

बीबीसीले फेला नपारुन्जेलसम्म स्कोर्पिअन कहाँ छन् भन्ने अधिकारीहरूलाई थाहा थिएन।

बीबीसीको खोजका मद्दतले उनी रहेको स्थान पत्ता लगाउन सकिएको कुर्दिस्तान क्षेत्रीय सरकारका एक जना सदस्यले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।