यूकेमा शरण खोज्नेहरूलाई राख्ने 'जेलजस्तो पानीजहाज'

मानिसहरू बिबी स्टकहोम जाँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अगस्ट ८ मा मानिसहरू बिबी स्टकहोम सवार हुँदै गरेको तस्बिर
    • Author, सोरुस पक्जाद र ड्यान जोनसन
    • Role, बीबीसी पर्सियन र बीबीसी न्यूज

'बिबी स्टकहोम' नामक एक प्रकारको पानीजहाजमा बनाइएको आवासीय व्यवस्थामा राखिएका सबैभन्दा पहिलोमध्येको समूहका केही व्यक्तिहरूले २४ घण्टासम्म उक्त जहाजमा बिताएको समयबारे आफ्नो अनुभव सुनाएका छन्।

शरणका लागि आवेदन दिएका एक जना व्यक्तिले उक्त बार्ज अर्थात पानीजहाज जेल जस्तो भएको बताएका छन्। उनका अनुसार त्यहाँ यूकेको सरकारी योजना अनुसार ५०० जना मानिसहरू अटाउने पर्याप्त ठाउँ समेत छैन।

यूकेको गृह मन्त्रालयले भनेको छ: स-साना डुङ्गा चढेर युके आएर शरण दाबी गर्नेहरूको सङ्ख्या बढिरहेको अवस्थामा उक्त पानीजहाजमा बनाइएको आवासीय संरचनाले तिनको अभिलेख र सम्बद्ध प्रशासनिक प्रक्रियामाथि बढेको चाप व्यवस्थापन गर्न सघाएर सरकारी खर्च कम गर्दै करदाताहरूले तिरेको पैसाको सदुपयोग हुनेछ।

यूकेमा शरण खोज्नेहरूको बसोबासको व्यवस्थामा हुने खर्च कटौती गर्ने सरकारी योजना अन्तर्गत डोर्सेटस्थित पोर्टल्यान्ड बन्दरगाहमा समुद्री तट नजिकै राखिएको उक्त पानीजहाज पहिलो त्यस्तो आवासीय संरचना हो।

सुरक्षाको चिन्ताका कारण भएको ढिलाइमाझ सोमबार १५ जना शरण खोज्नेहरूको पहिलो खेपलाई बिबी स्टकहोममा राखिएको थियो।

शरणका लागि दिएको निवेदनको नतिजा नआउँदासम्म १८ वर्ष देखि ६५ वर्षसम्मका मानिसहरू उक्त पानीजहाजमा तयार पारिएका आवासीय संरचनामा बस्नेछन्।

'आल्काट्राज जेलमा प्रवेश गरेको जस्तै'

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिबी स्टकहोम डुङ्गाको भित्र यस्तो देखिन्छ

शरणका लागि आवेदन दिएका एक जना अफगान,जस्को बीबीसीले पहिचान गोप्य राखेका छ, उनले भने “ढोका खोल्दा र बन्द गर्दा निस्कने तालाचाबीको आवाज र सुरक्षा जाँचले मलाई (अमेरिकाको कुख्यात) आल्काट्राज बन्दीगृहमा प्रवेश गरेको जस्तै महसुस भयो।“

“मेरो कोठामा बस्ने साथी मध्यरातमा आत्तिए र उनले डुब्न लागेको जस्तो महसुस गरे। हामीमध्ये केहीलाई यहाँका डाक्टरहरूले डिप्रेशनको कडा औषधि दिएका छन्।”

उनका अनुसार उनलाई एउटा सानो कोठामा राखिएको थियो र खाना खाने ठाउँमा १५० जना भन्दा कम मानिसहरूमात्रै अटाउँथे।

”जेलमा जस्तै त्यहाँ प्रवेश गर्ने र बाहिरिने गेटहरू छन्। तोकिएको समयमा हामीहरूलाई त्यहाँबाट बस चढाएर केही टाढा लगिन्थ्यो र हिँड्न मिल्ने ठाउँमा पुर्‍याइन्थ्यो। हामीले एकदमै नराम्रो महसुस गर्‍यौँ,” ती व्यक्तिले भने।

उच्च सुरक्षा निगरानी

पोर्टल्यान्डमा प्रदर्शनकारीहरू

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, उक्ट डुङ्गा पोर्टल्यान्डमा ल्याइएकोबारे स्थानीयले निरन्तर विरोध जनाइरहेका छन्

बिबी स्टकहोममा चौबिसै घण्टा सुरक्षा पहरा राखिएको छ र शरण खोज्नेहरूले त्यहाँ प्रवेश गर्न र बाहिरिन विमानस्थलको जस्तै सुरक्षा जाँच पार गर्नुपर्छ।

शरण खोज्नेहरूले सुरक्षाका कारण बन्दरगाहबाट बाहिर निस्कने ठाउँमा बस चढ्नुपर्छ। तिनीहरूका निम्ति कर्फ्यू नै लगाइएको त छैन तर उनीहरू समयमा फर्किएनन् भने 'हालखबर खोध्न' फोन गर्ने गरिन्छ।

गृह मन्त्रालयले उनीहरूलाई आधारभूत स्वास्थ्य सेवा, सामूहिक क्रियाकलाप र मनोरञ्जनका लागि सहयोग गरिरहेको जनाएको छ।

उनीहरूको पहिलो समूह सोमवार आइपुगेको थियो। ‘केयर फो क्याले’ च्यारिटीले उक्त सरकारी निर्णयलाई चुनौती दिँदै पोर्टल्यान्ड जान अस्वीकार गरेका थप २० जना शरण खोज्नेहरूलाई कानुनी सहायता दिइरहेको छ।

मङ्गलवार अर्थ मन्त्रालयका एकजना मन्त्री एन्ड्रू ग्रिफिथ्स्‌ले उक्त पानीजहाजमा मानिसहरूलाई राख्नु “विकल्प रोज्न सकिने विषय नभएको” बताएका छन्। उनले यदि कसैले जानाजान यस्को पालना नगरेमा “उनीहरूलाई शरण खोज्नेहरूलाई दिइने सहायता प्रणालीबाट बाहिरै राख्न सकिने” बताए।

“हामीमध्ये धेरै जना विमानबाट नौ देखि ११ महिना अघि ब्रिटेन प्रवेश गरेका हौँ। हामीमध्ये केहीले विमानस्थलमै शरणका लागि निवेदन दियौँ। हामी डुङ्गा चढेर यूके आएका थिएनौँ,” ती अफगान पुरुषले भने।

“हामी त्यहाँ जान सहमत नभएको अवस्थामा हामीले पाइरहेको सहायतामा कटौती हुने चेतावनीयुक्त पत्र पाएको दुई साता भइसकेको छ,” उनले भने।

“हामीमध्ये केहीले औषधि सेवन गरिरहेका छन्। हामीले त्यसलाई स्वीकार पनि गर्‍यौँ। हामीले दुई साता पर्खँदा पनि सफा लुगा ल्याउनका लागि समय पाएका छैनौ।”

प्रतिदिन ६० लाख पाउन्ड खर्च

बिबी स्टकहोम डुङ्गा

तस्बिर स्रोत, PA Media

सोमवार उक्त पानीजहाजमा सवार भएका अर्का एक जना व्यक्तिले पनि बीबीसीसँग आफू छ महिनाअघि विमानबाटै यूके पुगेको बताए।

उनका अनुसार उनकी श्रीमती अझै इरानमै छिन्।

बीबीसीले परिचय गोप्य राखेका ती व्यक्तिले आफूलाई बिहानको खाना 'राम्रो' दिइएको बताए।

सरकारले ५०,००० आप्रवासीहरूलाई राख्दा प्रतिदिन ६० लाख पाउन्ड रकम खर्च भइरहेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ताले भने ,"महँगा होटेलहरूको प्रयोग घटाउँदै अझै धेरै दिगो र स्थानीय समुदायका लागि व्यवस्थापन गर्न सकिने विकल्प अघि सारेर वैकल्पिक बसोबासको छनौट अघि सार्ने सरकारको काम एक कदम अघि बढेको यसले देखाउँछ।"

“यो यसअघि नै परीक्षण भइसकेको शैली हो र अरू युरोपेली छिमेकीहरू र स्कटिश सरकारले पनि यो शैली पछ्याएका छन्। यसले ब्रिटिश करदाताको पैसाको उच्च सदुपयोग भएको छ,” मन्त्रालयका प्रवक्ताले भनेका छन्।

गृह मन्त्रालयले आगामी शरद यामसम्म करिब ३००० शरण खोज्नेहरूलाई होटेल बाहेकका यस्ता पानीजहाज र विभिन्न भूतपूर्व सैन्य पूर्वाधारहरूमा राखिने जनाएको छ।

मारिता मोलोनीबाट थप रिपोर्टिङ