आप्रवासीहरू चढेको डुङ्गा समुद्रमा डुब्दा ४१ जनाको मृत्यु

केही समययता भूमध्यसागर तरेर युरोप जाने प्रयास गर्ने कैयौँ आप्रवासीहरूको उद्धार गरिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही समययता भूमध्यसागर तरेर युरोप जाने प्रयास गर्ने कैयौँ आप्रवासीहरूको उद्धार गरिएको छ (फाइल तस्बिर)

इटलीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्।

ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए।

बाँच्न सफलमध्ये तीन पुरुष र एक महिला छन्।

उनीहरू चढेको डुङ्गामा तीन जना बालबालिकासहित ४५ जना भएको उद्धारकर्मीहरूलाई बताएका छन्।

उत्तरी अफ्रिकाबाट समुद्री बाटो हुँदै युरोप जाने क्रममा यो वर्ष मात्रै १,८०० जनाले ज्यान गुमाइसकेका छन्।

लाम्पेडुसा

कसरी भयो दुर्घटना?

उक्त डुङ्गा सात मिटरजति लामो भएको बताइएको छ।

जीवित व्यक्तिहरूका अनुसार गत साता बिहीवार ट्यूनिशियाको स्फ्याक्सबाट निस्किएको उक्त डुङ्गा केही घण्टामै दुर्घटनामा परेको थियो।

एउटा ठूलो छाल बज्रिएपछि डुङ्गा केही बेरमै समुद्रमा डुबेको उनीहरूले बताएका छन्।

त्यसमा चढेकामध्ये केवल १७ जनाले 'लाइभ भेस्ट' लगाएको उनीहरूले बताएका छन्।

उनीहरूका अनुसार एउटा मालवाहक पानीजहाजले उनीहरूको उद्धार गरेर इटलीका तटरक्षकहरू जहाजलाई जिम्मा लगाएको थियो।

इटलीको तटरक्षक बलले उक्त क्षेत्रमा दुईवटा डुङ्गा दुर्घटनामा परेको जानकारी आइतवार दिएको छ। तर ४१ जनाको ज्यान जानेगरी भएको दुर्घटना उसको विवरणमा परे नपरेको स्पष्ट छैन।

ट्यूनिशियाका अधिकारीहरूका अनुसार लाम्पेडुसाबाट झन्डै १३० किलोमिटर टाढा रहेको स्फ्याक्स सुखद जीवनको अपेक्षामा युरोप प्रवेश गर्ने आप्रवासीहरूका लागि लोकप्रिय मार्गमा पर्छ।

हालैका दिनहरूमा इटलीले गस्तीमा खटाएका डुङ्गा र सेवामूलक समूहहरूले लाम्पेडुसा पुगेका झन्डै २,००० आप्रवासीको उद्धार गरेका छन्।

ट्यूनिशियामा अफ्रिकी मूलका अश्वेत जातिका मानिसहरूप्रति जातीय विभेद उच्च भएको छ र मानिसहरू डुङ्गा चढेर देशबाट बाहिरिने प्रयासहरू बढेका छन्।

ट्यूनिशियाका तटरक्षकहरूले इटलीतिर खोज्ने मानिसहरू चढेका डुङ्गा रोक्ने प्रयास गरिरहेका हुन्छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्यूनिशियाका तटरक्षकहरूले इटलीतिर जान खोज्ने मानिसहरू चढेका डुङ्गा रोक्ने प्रयास गरिरहेका हुन्छन् (फाइल तस्बिर)

नौ वर्षमा १७,००० जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ यता भूमध्यसागरमा मध्यभागमा १७,००० जनाको मृत्यु भएको जनाएको छ।

यो क्षेत्रमा आप्रवासीहरूले पार गर्ने सबैभन्दा खतरनाक मार्ग पर्छ।

इटलीको चरम दक्षिणपन्थी सरकारले उद्धार गरिएका आप्रवासीहरूलाई लाम्पेडुसा वा सिसिलीमा ओर्लिन दिनुको साटो उद्धारका लागि तैनाथ डुङ्गालाई टाढा रहेका बन्दरगाहमा रोकिन दबाव दिने नीति अवलम्बन गरेको छ।

इटली आउने डुङ्गाहरू एकै ठाउँमा केन्द्रित नहोऊन् भन्ने आफ्नो नीति भएको सरकारको दाबी छ। तर गैरसरकारी संस्थाहरूले इटली सरकारको नीतिका कारण डुङ्गा दुर्घटना भइरहने क्षेत्रमा गरिने गस्तीको समय घटेको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।