‘हाम्रो डुङ्गाको पेट्रोल रित्तियो र समुद्रको माझमा अड्कियौँ’

- Author, निकोलस नेगज
- Role, बीबीसी विश्व सेवा, काफूटिन, सेनेगल
"मध्यरातमा झण्डै २ बजेतिर पानीजहाजमा चढ्नेमा हामी १४० जना जति थियौँ।"
सेनेगलका ३० वर्षीय डोउडु डिओपले युरोप तर्फको यात्रा गर्ने एउटा खतरनाक डुङ्गामा सबैखाले जोखिम उठाइरहेका थिए।
त्यो सेनेगलबाट स्पेनको कनेरी आइल्याण्ड्ससम्म १,७०० किलोमिटर लामो यात्रा थियो।
आन्ध्र महासागरमा रहेको त्यो जलमार्गमा जुन महिनाको अन्त्ययता कम्तीमा ३०० जना मानिसहरू रहेका तीनवटा डुङ्गा हराइरहेको भनेर एक गैरसरकारी संस्थाले जनाएपछि समाचारमा छाएको थियो।
म यसबारे खोजी गर्न उक्त यात्रा सुरु हुने ठाउँसम्म पुगेँ। त्यो दक्षिण सेनेगलको काफुन्टिन भनिने माझीहरूको एउटा दुर्गम गाउँ थियो।
युरोपमा राम्रो जीवनको खोजीमा डुङ्गाको लामो यात्रा सुरू गर्न मानिसहरू त्यहाँ आउँछन्।
डोउडु डिओपसँग म उनको एउटा मध्यमखाले घरको बरन्डामा बसेँ। चट्याङ र पानी परिरहेको त्यसबेला घरका सबै महिला उनका वरपर घेरिएका थिए।
उनले भने, "हामी कुनै समस्याबिनै निस्कियौँ र मोरक्कोसम्म पुग्न सक्यौँ।"
"कनेरी आइल्यान्ड्सभन्दा मात्र ५०० किलोमिटर पर रहँदा अचानक हाम्रो इन्जिनले काम गर्न छाड्यो। हामीहरूको डुङ्गामा पेट्रोल सकियो र समुद्रको बीचमा हामी अड्कियौँ र अघि बढ्न सकेनौँ।"
मोरक्कोका अधिकारीहरूले सबै १४० जनालाई लिएर नजिकैको मोरिटेनियाको बन्दरगाह सहर नोआदिबु पुर्याए।

"उनीहरूले हाम्रो नाम र परिचयका लागि अन्य विवरण टिपे र बसमा राखेर सेनेगल घर फर्काए।"
उनी एक सातादेखि हराइरहेका थिए। त्यसैले उनलाई जीवितै पाउँदा घर परिवारका मानिसहरू ढुक्क भए।
यसैबीच सेनेगल सरकार र वाकिङ बोडर्स नामक एक शरणार्थी सङ्गठनबीच समुद्रमा ज्यान गुमाएका आप्रवासीहरूको सङ्ख्यालाई लिएर विवाद उत्पन्न भएको छ।
मिडीया हङ्गामा
वाकिङ बोडर्सकी संस्थापक हेलेना मलिनोले यसबारे ९ जुलाईमा सचेत गराउन सुरु गरेकी थिइन्।
उनले सेनेगल, मोरिटेनिआ, मोरक्को र स्पेनका अधिकारीहरूलाई सम्पर्क गर्दै हराईरहेका डुङ्गाको खोजी गर्न आह्वान गरेको बताइन्।
स्पेनका अधिकारीहरूले कनेरी आइल्यान्ड्सका लागि अघि बढेका 'तीनवटा' हराइरहेका डुङ्गाको खोजी अभियानका क्रममा ८६ जना आप्रवासीहरूलाई उद्धार गरेको बताएका छन्।
त्यसपछि सेनेगलको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्यो।
"जाँचका क्रममा यो जानकारी पूर्णरूपमा आधारहिन देखियो," त्यसमा भनिएको छ।
उसले २८ जुन र ९ जुलाईका बीचमा मोरक्कोको जलक्षेत्रमा २६० जनाको उद्धार गरिएको दाबी गर्यो।
वाकिङ् बोडर्सले त्यसपछि थप विज्ञप्ति जारी गर्दै सेनेगल सरकारले उल्लेख गरेका उद्धारको पुष्टि गर्न नसकिएको जनाएको छ।
उसले सेनेगलको तटक्षेत्र छाडेको त्यस्तै डुङ्गा भए तापनि "त्यो ३०० जना मानिसहरू सवार डुङ्गा नभएको" दाबी गरेको छ।
एकचालिस जना आप्रवासीहरू बोकेको अर्को डुङ्गा १३ जुलाईमा सेनेगलबाट कनेरी आइल्यान्ड्स पुग्यो।

मैले यी तथ्यहरूलाई एकसाथ राख्दा मैले काफुन्टिनमा एकजना मात्र महिला भेटेँ जसले त्यहाँ आफन्त गुमाएको बताइन्।
उनले आफ्नो परिचय खुलाउन चाहिनन् तर उनले आफ्नो १७ वर्षीय भदा गुमाएको बताइन्।
उनलाई ती तीनवटा मध्येको डुङ्गामा आफ्ना भदा भएझैँ लाग्थ्यो। "मलाई डर लागिरहेको छ। हामीसँग उनको कुनै खबर छैन," उनले भनिन्। "कैयौँ दिन भइसक्यो।"
नाम खुलाउन नचाहने एकजना स्थानिय सुरक्षाकर्मीले मलाई भने, "हराईरहेका ३०० जना मानिसहरूबारे साँच्चिकैको दोधार छ।"
ती अधिकारीले थपे, "ती एकजना महिलाबाहेक सहरका कोही पनि व्यक्ति सुरक्षाकर्मीसामु आएर आफ्ना छोराछोरी वा आफन्त हराएको बताएका छैनन्।"
तर त्यो आश्चर्यजनक नै पनि होइन। किनकि त्यहाँ अन्य ठाउँ र आसपासकै क्षेत्रका धेरै मानिसहरू आउँछन् जसको उक्त गाउँसँग कुनै सम्बन्ध हुँदैन।
संयुक्त राष्ट्रसङ्घका अनुसार सेनेगलबाट कनेरी आइल्यान्ड्स पुग्न खोज्दा गत वर्ष ५५९ जना मानिसहरूले ज्यान गुमाएका थिए।
र यो वर्षको आधा समयमै कनेरी आइल्यान्ड्समा ७,००० भन्दा धेरै आप्रवासीहरू थपिएका छन्।
धरासायी सपना
कठिन आर्थिक व्यवस्थाका कारण राम्रो जीवनको अवसर खोज्न युवाहरू जहिल्यै तल्लिन हुन्छन्।
डोउडोउ दक्षिणी सेनेगलको क्याजामस क्षेत्रमा जन्मे हुर्के। आफ्ना बुवाको निधनपछि उनलाई जेठो छोराको रूपमा घरको जिम्मेवारी आइपर्यो।
"मैले मेरी श्रीमती र छोरी, आमा र बाँकी परिवारको लागि राम्रो जीवन, पैसाको सपना देखिरहेको थिएँ," उनले त्यसरी यात्रा गर्ने डुङ्गामा सीट पाउन झण्डै ६८२ अमेरिकी डलर लाग्ने बताउँदै भने।
"म कसैलाई केही नभनिकन हिँडेँ। मेरा आफ्नै योजना थिए। म युरोप पुग्न चाहन्थेँ किनकि यहाँ केही छैन, मेरा लागि केही छैन।"

स्पेन पुग्न खोजिरहेका उनी त्यसमा सफल नहुँदा निकै निराश भएको बताउँछन्। "मेरा साथीहरू त्यहाँ पुग्न सफल भए र उनीहरू मलाई पर्खिरहेका छन्।"
काफुन्टिनको केन्द्रभागमा छायाँ परेको ठाउँमा युवाहरूको समूह बसिरहेको छ। त्यहाँ कोही परम्परागत खेल खेलिरहेका छन् भने कोही चर्का राजनीतिक गफ गरिरहेका छन्।
गारा दियाबाङ बा उपमेयर तथा विपक्षी दलकी सदस्य हुन्।
"हामी के भयौँ भन्ने कुराले मलाई निकै चिन्तित र दुःखित बनाउँछ। हामी युरोप जाने वा जान खोज्ने आप्रवासीका रूपमा निकै चर्चित भएका छौँ," उनी भन्छिन्।
"एक स्थानीय निर्वाचित अधिकारीका रूपमा म आफूलाई जिम्मेवार ठान्छु। यदि युवाहरूलाई यहीँ बस्न भन्ने हो भने हामीले उनीहरूलाई राम्रो शिक्षा सहितको जागिर उपलब्ध गराउन सक्नुपर्छ। यदी हामी त्यसो गर्न सक्दैनौँ भने हामी असफल भइरहेका छौँ।"
मेअर डेभिड डिआटा समेत सोही पार्टीका हुन् र उनले त्यहाँको भिन्नखाले सुरक्षा अवस्थाले समेत त्यस्तो अवस्था सिर्जना गरिरहेको बताउँछन्।
"काफुन्टिन नगरपालिकाको रणनीतिक अवस्थिति पनि आप्रवसनलाई बुझाउने एउटा पक्ष हो," उनी भन्छन्।
"हाम्रो यहाँ ९१ प्रतिशत टापुहरू छन् र ती ठाउँमा के भइरहेको छ भन्ने विषयमा सेना र नौसैनिकहरूको निकै कम पहुँच छ।"

विश्वविद्यालयको पढाई पूरा गरेका युवाहरूमा बेरोजगारी दर ४० प्रतिशत छ।
"हामीले यहाँ पीडा मात्र खेपिरहेका छौँ, जागिर छैन, कर्मचारीहरूबाट सहयोग छैन ," समाजशास्त्रको पढाई पूरा गरेकी २८ वर्षिया इब्राहिमा भन्छिन्।
"मेरा धेरै साथीहरू माछा मार्ने डुङ्गा चढेर कनेरी आइल्यान्ड्स पुग्न खोजे र उनीहरू सफल भए। हामीले उनीहरूलाई सोसल मिडियामा देख्छौँ र उनीहरूको जीवनमा वास्तविक परिवर्तन भइरहेको छ।"
"म पनि एक दिन जान पाउँछु भन्ने आशा छ तर मलाई त्यसका लागि पैसा चाहिन्छ।"








