गाजामा जस्तो भोकमरी हुँदा शरीरमा पर्ने असरको लेखाजोखा

    • Author, रेबेका थोर्न र एन्जिला हेन्सल
    • Role, बीबीसी डब्ल्यूएस हेल्थ

गाजा स्ट्रिपका लगभग हरेक तीनमध्ये एक जना कैयौँ दिनदेखि भोकै रहेको संयुक्त राष्ट्रसङ्घको सहायता निकायले जनाएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले त्यहाँ त्यस्तो केही नभएकोमा जोड दिएलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा "वास्तविक भोकमरीको स्थिति" रहेको बताएका थिए।

गाजामा भोकमरीको स्थिति अस्वीकार गर्दै आएको इजरेलले आइतवारयता उक्त क्षेत्रमा थप सहायता प्रवेश गर्न दिन सैन्य गतिविधिमा "अस्थायी र सीमित" विराम गरेको बताएको छ।

तर संयुक्त राष्ट्रसङ्घका मानवीय निकाय प्रमुख टम फ्लेचरले गाजामा उक्त स्थितिलाई हल गर्न "ठूलो परिमाण"मा खानेकुराको खाँचो परेको बताएका छन्।

प्यालेस्टाइनका निम्ति राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनआरडब्ल्यूए)ले गाजा सहरका पाँचमध्ये एक बालबालिकामा कुपोषण देखिएको र यस्ता मामिला दिनहुँ बढ्दै गएको जनाएको छ।

भोजनको अभावका कारण मानिसहरू गम्भीर अवस्थामा अस्पताल भर्ना भइरहेका र कतिपय सडकमै ढलिराखेका राष्ट्रसङ्घको विवरणमा जनाइएको छ।

राष्ट्रसङ्घले उक्त क्षेत्रमा अनिकालको घोषणा गरिनसकेको भए पनि खाद्य सुरक्षास्तरको वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय निकाय 'आईपीसी'ले त्यहाँ अनिकालको गम्भीर खतरा रहेको चेतावनी दिएको छ।

अनिकाल र घोषणा गरिने अवस्था

पर्याप्त र पोषणयुक्त खानेकुरामाथिको पहुँचका निम्ति कुनै जनसाङ्ख्यिक समूहले भोगिरहेको कठिनाइलाई व्याख्या गर्न 'एकीकृत खाद्य सुरक्षा चरणको वर्गीकरण' (आईपीसी) भनिने एउटा विश्वव्यापी मानकको उपयोग गरिन्छ।

यसले पाँच चरणका गम्भीरताका आधारमा सम्बन्धित देशले भोगेको खाद्य अभाव वा असुरक्षाको स्थितिलाई वर्गीकरण गर्छ। त्यसको पाँचौँ वा सबैभन्दा खराब स्थिति भनेको अनिकाल हो। अनिकालको स्थिति हुन निम्तलिखित अवस्था हुनुपर्छ:

  • कम्तीमा २० प्रतिशत घरपरिवारमा खानेकुराको गम्भीर अभाव भएको
  • कम्तीमा ३० प्रतिशत बालबालिकामा गम्भीर कुपोषण देखिएको
  • गम्भीर भोकमरी वा कुपोषण र रोगको पारस्पारिक प्रभावका कारण प्रति १० हजार मानिसमध्ये दिनहुँ दुई वयस्क वा चार बालबालिकाको मृत्यु हुने गरेको

आईपीसीको १२ मेमा प्रकाशित प्रतिवेदनले गाजाको जनसङ्ख्या (तेस्रो वा त्योभन्दा माथिल्लो चरणको) सङ्कटमा रहेको उल्लेख छ।

आईपीसीले सन् २०२५ को मेदेखि सेप्टेम्बरबीचमा त्यहाँका करिब ४,६९,५०० मानिसहरूले गम्भीर खाद्य असुरक्षा (पाँचौँ चरण) को सामना गर्नुपर्ने प्रक्षेपण गरेको छ।

यसप्रकारको सङ्कट उत्पन्न भएमा सामान्यत: राष्ट्रसङ्घले अनिकालको घोषणा गर्छ र कतिपय अवस्थामा सम्बन्धित देशको सरकार तथा प्राय: अन्तर्राष्ट्रिय सहायता सङ्गठन तथा मानवीय निकायहरूसँग मिलेर त्यस्तो घोषणा गरिन्छ।

भोकै बस्दा शरीरमा पर्ने प्रभाव

लामो समयसम्म भोकै बस्दा भोकमरीको अवस्था सिर्जना हुन्छ र त्यसको अर्थ आधारभूत कार्यहरूका निम्ति शरीरले पर्याप्त क्यालोरी पाउन सक्दैन।

सामान्यतया: शरीरले खानालाई ग्लूकोजमा परिणत गर्छ तर भोजन रोकिँदा शरीरले कलेजो र मांशपेसीको ग्लाइकोजनलाई ग्लूकोजमा परिणत गरेर रगतमा पठाउन थाल्छ।

ती स्रोतहरू समाप्त भएपछि थप उर्जा उत्पादन गर्न शरीर सङ्ग्रहित बोसो र अन्तत: मांसपेसीतर्फ मोडिन्छ।

त्यसले फोक्सो, पेट र प्रजनन अङ्कहरूलाई सुकाइदिन सक्छ अनि मस्तिष्कमा असर पारेर भ्रम, अवसाद र चिन्तातर्फ धकेल्न सक्छ।

भोकका कारण गम्भीर रूपले कुपोषित मानिसहरू भने प्राय: श्वासप्रश्वास प्रणाली वा पाचन प्रणालीको सङ्क्रमणजस्ता जटिलताका कारण ज्यान गुमाउने गर्छन्। कुपोषणले मानिसको प्रतिरक्षा प्रणालीलाई क्षति पुर्‍याउने भएकाले त्यस्तो हुन्छ।

भोकमरीले पनि मानिसहरूलाई फरकफरक तरिकाले प्रभावित तुल्याउँछ।

"कोही अचानक गम्भीर रूपले कुपोषित हुँदैन, ती केटाकेटीमा पहिल्यैदेखि दादुरा, निमोनिया, पखाला वा त्यस्तै समस्या रहेको हुन सक्छ," यूकेको ग्लस्गो विश्वविद्यालयका मानव पोषणसम्बन्धी प्राध्यापक सालट राइटले भने।

"पहिले स्वस्थ रहेका तर हालै भोकै पर्न थालेका केटाकेटीमा अझै पनि खानेकुरा पाएमा खान र पचाउन सक्ने ऊर्जा हुन्छ तर अन्य मानिस चाहिँ सुकेनासका कारण दुर्बल हुने छन्।"

कुपोषणले केटाकेटीलाई कसरी प्रभाव पार्छ?

केटाकेटीमाथि कुपोषणको आजीवन असर पर्न सक्छ। त्यसमा सङ्ज्ञानात्मक विकासमा समस्यादेखि होचोपुड्को हुनेजस्ता समस्या पनि पर्छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार हुर्काइका क्रममा कमजोर पोषण, बारम्बारको सङ्क्रमण र पर्याप्त मनोवैज्ञानिक हेरचाह उपलब्ध नहुँदा होचोपुड्को हुने स्थिति पैदा हुन सक्छ। सामान्यतया: त्यस्ता शिशुहरू उमेरको तुलनामा अपेक्षाकृत होचा हुन्छन्।

यूनाइटेड नेशन्स फाउन्डेशनका अनुसार कुपोषणको समस्यामा परेका वयस्कहरूले कुपोषित शिशु जन्माउने सम्भावना उच्च हुन्छ।

यूनिसेफका अनुसार गर्भवती अवस्थामा पर्याप्त भोजन पुगेन भने रक्तअल्पता, प्री-एक्लेम्प्सिआ, रक्तस्राव र आमाको ज्यान जान सक्नुका साथै मृत तथा कम तौल भएको शिशुको जन्म, दुर्बलता र शिशुको विकासमा ढिलाइ हुने जस्ता समस्या हुन सक्छन्।

कुपोषित आमालाई आफ्नो शिशुका निम्ति पर्याप्त पोषक दूध उत्पादन गर्न पनि कठिन हुन सक्छ।

कुपोषित शिशुको उपचारमा दख्खल राख्ने मेडिसिन्स सान्स फ्रन्टिअर्सका डा नुरादीन अलिबाबा कुषोपणको असर जीवनभर रहन सक्ने बताउँछन्।

"विकासमा आउने अवरोध अपरिवर्तनीय हुन्छ। त्यसको अर्थ कुपोषणको अवधिपछि पनि उनीहरू पुड्कै रहन सक्छन् भन्ने हो जसले उनीहरूलाई निकै कठिनाइमा पार्छ। सिकाइमा पनि स्थायी किसिमको समस्या देखिन सक्छ तर त्यो चाहिँ विद्यालय नजाँदासम्म यकिन हुँदैन।"

"यसले प्रतिरोधी प्रणालीलाई पनि कमजोर बनाइदिन्छ र उनीहरू सङ्क्रमणले छोइहाल्ने किसिमका हुन्छन्।"

"मानिसहरूले राम्ररी नबुझेको एउटा महत्त्वपूर्ण कुरा चाहिँ एउटा निश्चित स्तरको कुपोषणले किशोरीहरूमा बाँझोपनको समस्या उत्पन्न गराउन सक्छ। गर्भ बसिहालेमा पनि ती महिलाले कम तौल भएका शिशु जन्माउने सम्भावना उच्च रहन्छ।"

त्यस्तै पछि हड्डी कमजोर हुने समस्या पनि हुन सक्छ।

"पछि उनीहरूको हड्डी शरीरको भार नै थेग्न नसक्ने गरी कमजोर हुन सक्छ र थोरै तलमाथि हुँदा पनि हड्डी भाँचिन सक्छ," डा अलिबाबा भन्छन्।

कुपोषणको उपचार

"यो सङ्कटसँग जुध्ने दुईवटा तरिका छन्, त्यो भनेको गाजामा धेरै खाना पठाउनु र सँगसँगै अधिक महँगो औषधीय खानेकुरा पनि आपूर्ति गर्नु हो," प्राध्यापक राइट भन्छन्।

"तत्काल शिशु र तिनका आमासम्म भोजन पुर्‍याउन जरुरी छ।"

"स्तनपान शिशुका निम्ति सबैभन्दा स्वच्छ र सुरक्षित तरिका हो तर त्यसका निम्ति पहिले आमाले राम्रो भोजन पाउनुपर्छ र मूल चुनौती भनेको पुरुषलाई भन्दा अघि आमाहरूसम्म भोजन पुर्‍याउनुमा छ।"

"आमा र बच्चालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा मुख्य हो र उनीहरूलाई धेरै चाहिँदैन पनि।"

बीबीसी अरेबिककी स्वास्थ्य संवाददाता स्मिथा मुन्दासद (जो चिकित्सकका रूपमा समेत प्रशिक्षित छन्) विशेष गरी शिशुहरूमा कुपोषणको विनाशकारी प्रभाव हुन सक्ने र त्यसको उपचार सधैँ सरल नहुन सक्ने बताउँछिन्।

खाना निल्न पनि नसक्ने किसिमको गम्भीर समस्या भएकाहरूलाई क्लिनिक वा अस्पतालमा विशेष रूपमा तयार पारिएका पोषणयुक्त खानेकुरासहित "सङ्क्रमण तथा अन्य जटिल समस्याका निम्ति उपचार प्रदान गर्नु पर्न सक्ने" उनी बताउँछिन्।

"कुनै कुनै मामिलामा कसैलाई छिटोछिटो वा गलत खानेकुरा खुवाइयो भने पनि खतरनाक हुन सक्छ।"

"त्यसैले यो खाना प्राप्त गर्ने मात्रै कुरा होइन उचित खाना प्राप्त गर्ने र त्यसका निम्ति चालु अवस्थाको स्वास्थ्योपचार प्रणाली उपलब्ध हुनुसँग सम्बन्धित कुरा हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।