तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खानेकुराको लाइनमा बस्दा मारिने क्रम बढेपछि अमेरिकी-इजरेली सहयोग प्रणाली बन्द गर्न आह्वान
विश्वका केही सबभन्दा ठूला परोपकार तथा सहयोग निकायहरूले गाजामा अमेरिकी तथा इजरेली समर्थन प्राप्त खाद्य वितरण प्रणाली तत्काल बन्द गर्न संयुक्त आह्वान गरेका छन्।
अक्सफाम, सेभ द चिल्ड्रेन र एमनेस्टी इन्टर्न्याशनलसहित १३० संस्थाहरूले गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ)ले सबै अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्।
सयौँ प्यालेस्टीनीहरू मारिए
संयुक्त राष्ट्रसङ्घको निकायलाई विस्थापित गरेर एक महिना अघिदेखि उक्त जीएचएफले जिम्मा लिएयता सहयोग लिने क्रममा सयौँ प्यालेस्टीनीहरू गोली हानेर मारिएका छन्।
अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूले मानिसहरूलाई धेरै भिडभाडयुक्त, सैन्यकृत इलाकामा जान बाध्य पारिएको र त्यहाँ दिनहुँ गोली हानाहानको सामना तिनले गर्नु परिरहेको बताएका छन्।
इजरेलले गोली हानिएका घटनाको छानबिन गरिरहेको बताएको छ।
क्याफेमा हमला
गाजास्थित प्रत्यक्षदर्शी तथा मेडिकल कर्मचारीहरूका अनुसार पत्रकारहरू तथा सहयोग अभियानकर्मीहरू जमघट हुने गरेको समुद्र छेउको एक क्याफेमा सोमवार भएको इजरेली हवाई हमलाका कारण २० जनाभन्दा धेरैको ज्यान गएको छ।
अल-बका क्याफेमा क्षेप्यास्त्रले प्रहार भएको क्षण भिडिओमा देखिएका छन्।
उद्धार टोलीले २० वटा शव अनि दर्जनौँ घाइतेहरूलाई त्यहाँबाट अन्यत्र लगेको छ।
"म इन्टरनेट प्रयोग गर्नका लागि क्याफेतर्फ जाँदै थिएँ तर केही मिटर वर पुग्दा ठूलो विस्फोट भयो," स्थानीय प्रोडक्शन कम्पनीमा आबद्ध क्यामराम्यान अजिज अल-अफिफिले बीबीसीलाई भने।
"म घटनास्थलतर्फ दौडिएँ। मेरा साथीहरू जसलाई म हरेक दिन भेट्थेँ, उनीहरू त्यहीँ थिए। त्यो दृश्य भयानक थियो – छरपस्ट शरीर, रगत अनि जताततै मानिसहरू चिच्च्याइरहेका।"
इन्टरनेट, बस्ने र काम गर्न मिल्ने सुविधाका कारण अल-बका क्याफेमा प्राय: पत्रकारहरू, अभियानकर्मीहरू तथा रिमोट काम गर्न मिल्ने मानिसहरू भेला भइरहन्थे। उक्त क्याफे गाजाको भूमध्यसागरीय तटमा अवस्थित छ।
इजरेली सेनाले हमलाबारे कुनै टिप्पणी गरेको छैन।
सोमवार गाजामा इजरेली सेनाको आक्रमणमा करिब ६० जनाको ज्यान गएको छ। तीमध्ये केहीको ज्यान सहयोगमा प्राप्त खानेकुरा लिने क्रममा गएको हो।
इजरेली सेनाले केही पाठ सिकिएको भन्दै तिनको पालना गर्न नयाँ आदेशहरू दिइएको बताएको छ। त्यसको विस्तृत विवरण खुलाइएको छैन।
मार्चमा हमाससँगको युद्ध थप चर्किएयताकै गाजाभरि विस्तृत ठाउँ खाली गराउने आदेशहरू इजरेली सेनाले दिइरहेको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले हमला गरी इजरेलमा १२ सय मानिसको हत्या अनि २५१ जनालाई बन्धक बनाएपछि इजरेलले गाजामा निरन्तर गरिरहेको आक्रमणमा हालसम्म ५६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको त्यहाँ हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।